घामकिरी: नयनराज पाण्डे (किताबकाे कथा)

Rated 1.76/5 (From 136 user)
रमण   4th Jun 2018   Other(अन्य विधा) 0 comments   Like ( 0)   257 reads  

Raman Paneru
0 followers | 0 followings | 3 articles




पोखराको साहित्य महोत्सवको क्रममा सहभागीहरुको माझबाट उभिएर सिवानीसिं थारुले नयनराज पाण्डेलाई लू र घामकिरीमा कुन प्रिय भनेर सोधिन् । नयनराज पाण्डेले तुरुन्तै जवाफ दिए, “घामकिरी!” सिवानीसिं थारुले पनि आफ्नो त्यस्तै धारणा रहेको कुरा सुनाइन । पाण्डेले थपे, “कसैले घामकिरीका बरेमा केही नराम्रो भन्दा म सोझै भन्ने गर्छु घामकिरी नगरकोटीलाई मनपरेको पुस्तक हो ।” छेउमै बसेका नगरकोटीले पनि उनको त्यो भनाइलाई मुस्कुराएरै अनुमोदित गरे । हो यहीँबाट सुरु भएको हो घामकिरी पढ्ने रहर ।

घामकिरी हात पार्न पनि त्यति सहज भएन । चिनजानका पुस्तकप्रेमी कसैसँग पनि घामकिरीको प्रति थिएन । ई–पुस्तक खरिद गर्न तुलनात्मक रुपमा सुलभ भए पनि २९९ पाना ल्यापटपमा पढ्न मन लागेन । निदाएँ जगदम्बाको ई प्रति नै पढ्न धौधौ भएको थियो । सँधै अरुलाई पुस्तक ल्याइ दिने आग्रह गर्नु भन्दा वैकल्पिक तरिका अपनाउने उद्देश्यले अनलाईनबाट पुस्तक मगाउने बाटो अपनाइयो । एउटै पुस्तक मगाउँदा पुस्तकको भन्दा हुलाकको खर्च बढि हुने देखियो । त्यसैले घामकिरी पढ्ने चाहले नै नारायण ढकालको प्रेतकल्प, सरुभक्तको तरुनी खेती देखि विप्लव प्रतिकको अविजित गरेर १४ वटा कृतिहरु मगाउन पुगेँ ।

घामकिरी अथवा झ्यालिञ्चा धेरै नेपालीहरुको वाल्यावस्थासँग जोडिएको छ । हामीले त्यसलाई हेलिकप्टर किरा भन्थ्यौँ । पुच्छर बाँधेर चंगा जस्तै उडाउन तिनलाई छोपिन्थ्यो । कति किराले त त्यहि क्रममा ज्यान पनि गुमाउँथे । अहिले सम्झँदा त्यो साह्रै क्रुर खेल लाग्छ । नयनराज पाण्डेयले त्यही क्रुर खेललाई ‘अरुबाट नियन्त्रित उड्न चाहने र व्यक्तिगत सपनाहरु’को प्रतिक बनाएर पुस्तकमा प्रयोग गरेका छन् ।

केके न पाइन्छ भनेर गएको थिएँ बम्बई । तर, त्यहाँ झोपडपट्टीमा बास भयो मेरो । पैसा सकिएर दिल्लीको फुटपाथमा रात बिताउनुप¥यो । चिया दुकानमा ‘चाय’ पकाएर पनि बस्नु प¥यो मैले । –यार पृ. ६६

उपन्यासमा नयनराज पाण्डे (म पात्रको नाम नै नयनराज पाण्डे छ) आफै पद्मीनी कोल्हापुरी भेट्न बम्बइ गएको र विभिन्न ठोकरहरु खाएर घर फर्कँदा सम्मको घटनाक्रमलाई समेटिएको छ । यो एक किसिमको संस्मरणात्मक कृति पनि हो । कारण पाण्डे साँच्चिकै नै बम्बै सम्म पुगेका थिए । यो प्रसंग उनले हालसालै प्रकासित उनको संस्मरणात्मक कृति यार भित्रको यार शीर्षक अन्तर्गत लेखेका छन् ।

उपन्यासमा कोल्हापुरीसँगको प्रेममा एक किसिमले दिवाना भएको व्यक्तिको प्रेम प्राप्तीको यात्रा समेटिएको छ भनाँै । असीको दसककी चर्चित नायिका पद्मिनी कोल्हापुरी मेरो लागी नौलो नाम थियो । त्यसैले पुस्तक सुरु गरेपछि त्यसताका र त्यस भन्दा अघिका केहि चलचित्र पनि हेरियो । अनारकली, मुगल ए आजम, पाकिजा, इन्साफका तराजु, प्रेम रोग, आदि चलचित्र घामकिरी नपढेको भए सायदै हेर्दो हुँ । घामकिरीमा लेखिएको दिवानगी बुझ्नका लागी त्यो जरुरी पनि थियो ।

तिनै चलचित्रहरुले त्यसबेलाको प्रेमको परिभाषा पनि समेटेका थिए । अनारकली र मुगल ए आजममा प्रेमका प्रतिक बनेका सलीम र अनारकलीको फरकफरक प्रेम गाथा थियो । सलीम अकबरका छोरा जहाँगिरलाई मानिए पनि अनारकलीको ऐतिहासिक प्रमाण भेटिँदैन ।  ऐतिहासिक रुपमा त्यो प्रमाणित नभएको भएपनि विना राईले अनारकली मार्फत र मधुवालाले मुगल ए आजम मार्फत सलीम–अनारकलीको कथालाई आदर्श प्रेम कथाको रुपमा स्थापित गराएका थिए । फरक सामाजिक र आर्थिक पृष्ठभूमीका भएर पनि सलिमले प्रेमको लागी आफ्नै पितासँग विद्रोह गरेर आदर्शतम प्रेमीको नमुना बन्यो भने प्रेमका लागी जिउँदै चुनिइन पनि स्वीकार गरेर अनारकली प्रेमकी देवी नै बनी ।

मै आपको कुछ याद दिलाउँ ? सायद आपकी डुबीहुई यादोँ मे से कोइ याद उभर आए । वर्षात की एक रात थी । आप रेल मे सफर कर रहीथीँ । मै इत्फाकसे आपके कम्पार्टमेन्टमे चला आया । आप सो रहीथीँ । आप सोती रहीँ मगर आपके पावँ जाग उट्ठे और मेरे होशोहवास से खेलने लगे । आपकी यिन्ही पावोँ के लिए मेरी एक अर्जी आपको अपने कदमोमे रख्खी हुई मिली होगी । आपने उसे पढा होगा । याद किजिए ।
स्मृतीमाः ‘आपके पाँव देखे । बहोत हसिन है । यिन्हे जमिनपर मत उतारिएगा । मैले होजाएँगे ।’ (यो सबै राजकुमारको आवाजमा मनमनै पढ्नुस्)

प्रेम सम्बन्ध सुरु हुनुको कारण पनि एकदमै सामान्य लाग्थे । पाकिजामा मुजरा गर्ने साहिब जानको (मिना कुमारी) पैतला हेरेर बन अधिकृत सलिम एहमद खानको(राज कुमार) प्रेम सुरु भयो र स्थापित सामाजिक मूल्य र मान्यतालाई चुनौती दिँदै सफल पनि भयो । त्यस्तै प्रेम रोगमा मनोरमा (पद्मीनी कोल्हापुरी)ले देवधर(ऋषि कपुर)को हात्केला टोकेको ठाउँमा  देवधरले चुम्दा ऊ प्रेमरोगले ग्रस्त भयो । विभिन्न उतार चढाव पश्चात मिलन पनि भयो । त्यसरी नै प्रेमको प्रतिकको रुपमा शमा र परवाना (बत्ती र पुतली), फुल र भमरा, मैकद र मैकश (भट्टी र जडेँहा), आदिलाई त्यसताका (अझै पनि) गितहरुमा उल्लेख गरिएको हुन्थ्यो । प्रेमका यी सबै आदर्शहरु स्थापित समाजमा पाण्डे कोल्हापुरीको लागी बम्बई पुग्नु ठूलो कुरा होइन ।

कोल्हापुरीसँगको मिलनको आशमा गरिएको यात्रासँगै उपन्यासमा विभिन्न प्रसंगहरु पनि आउँछन् । लिनक्सको आविस्कारको कथा, आइलभयु भाइरस, राजा भार्तृहरीको कथा, पहिलो पुरुष वेश्या लातुरामको प्रसंग, जनमत संग्रहको सन्दर्भमा विपिको भाषण, बैकल लेकमा फूल्ने जोडी फूलको प्रसंग, लगायतका थुप्रै रोचक प्रसंगले उपन्यास भरिएको छ । एक पटकको पढाइमा सबैको स्वाद लिन गाह्रो हुन्छ । यहि उपकथा र प्रसंगको प्रचुरताले पठन अलि असहज पनि हुन्छ । कारण हरेक प्रसंगले त्यसको पछाडिको कथा उत्खनन् गर्न प्रेरित गर्छ । त्यो क्रममा पठनको जुन सुर हुन्छ त्यो टुट्छ । त्यसैले पनि मलाई यो पुस्तक सक्न दश दिन लाग्यो । पहिलो दिन त पुस्तकलाई डाँडाकाँडै घुमाइयो ।


छाप तिलक सब छीनी रे मोसे नैना मिलाइके
 प्रेम भटी का मदवा पिलाइके 
मतवारी कर लीन्ही रे मोसे नैना मिलाइके 
गोरी गोरी बईयाँ, हरी हरी चूड़ियाँ 
बईयाँ पकड़ धर लीन्ही रे मोसे नैना मिलाइके
 बल बल जाऊं मैं तोरे रंग रजवा
अपनी सी रंग दीन्ही रे मोसे नैना मिलाइके 
खुसरो निजाम के बल बल जाए
 मोहे सुहागन कीन्ही रे मोसे नैना मिलाइके 
छाप तिलक सब छीनी रे मोसे नैना मिलाइके


यो उपन्यासले चलचित्र मात्रै हेराएन पहिले कहिल्यै ध्यान नदिइएका गितहरु पनि सुन्न लगायो । किङरियाले गाएको खुसरोको ‘छाप तिलक सब छिनी रे मोसे नैना मिलाइके’ को प्रसँगसँगै मैले पनि नुसरत फतेह अलि खान र अन्य थुप्रैले गाएको छाप तिलकको फरकफरक रुपलाई पृष्ठभूमीमा बजाएँ । पद्मीनी कोल्हापुरीसँगको बिछोडका बेलामा पश्र्वमा बजेको भायोलिन र विथोवेनको सिम्फोनी नं. ९ को प्रसंग आउँदा मैले पनि सोहि धुनलाई पृष्ठभूमीमा बजाएँ । ‘आन सुनाइ बासुरी कान्हा’ भन्ने ध्रुपद रागको गितको प्रसंगमा गुन्देचा ब्रदर्सको गित नसुनी रहन सकेन । त्यस अर्थमा यो उपन्यास एउटा प्रेम कथा मात्रै थिएन । बरु एउटा काल खण्डको सम्पूर्ण अनुभूति जस्तो थियो । एउटा भोगाइ या एउटा रुपान्तरणको प्रकृया थियो । फरक कालखण्डबाट आएर सन् ८० को दशकको माहौलमा भिज्ने प्रकृया थियो । यि सबै हेरेर र सुनेर म पनि त्यहि ८० को दशकको किशोरमा परिवर्तित हुँदै थिएँ ।


उपन्यासको प्रमुख पात्रले बम्बई पुग्दा बाटामा परिचय लुकाउन उनेका कथाहरु, त्यसपछि बम्बई पुगेपछि त्यहाँको झोपड पट्टिमा भेटिएका पात्रहरु र तिनका कथाको प्रसंगले एक पछि अर्को संसार देखाउँदै लैजान्छ । बम्बैको झोपड पट्टिमा बनेको अम्बानीको अन्टलीया अनाथाश्रमको जमिनमा बनेको प्रसंगले मनै कस्तो कस्तो बनाउँछ । बम्बईमा नेपली र भारतीय कामदारहरुले गरेको संघर्षको कथाले निराश भएसँगै सन् १९८१ मा बम्बइका पहिला डन करिम लालाका मान्छेले दाउद इब्राहिमका दाजुलाई मारेको प्रसंगले फेरी बम्बईको अर्को इतिहासका बारेमा जानकारी गराउँछ । बम्बइको गुण्डागिरीको इतिहासमा आधारित धेरै चलचित्रहरु हेरेको भएपनि शुटआउट एट वाडाला पहिले हेरेको थिएन । तर घामकिरीमा कोट्याइएको प्रसंग इन्टर्नेटमा खोज्दै जाँदा सो चलचित्र पनि हेर्न पुगे । सँगै विश्वविद्यालयमा ७८ प्रतिशत ल्याउने मानोहर सुरभे कसरी दाउद इब्राहिमको दाईलाई मार्ने मान्ये सुरभे बन्न पुग्यो भन्ने प्रसंग पनि जानियो ।

स्कुल जाने पैसा कहाँबाट ल्याउने ? कसले पढाउँछ फिरीमा हामीलाई ? हाम्रो दिमाग त दही भैसक्यो । त्यसैले अक्खा बस्तीका हामी येडे र चिरकुटहरु यसरी नै खाली पिली भङ्कस गरेर टाइम पास र्छौँ । फ्युचरको ज्यास्ती टेन्सन काइकु लिने ?

पाण्डेको भाषालाई बुझ्ने गरी समावेश गर्ने शील्प सल्लीपिरमै पनि देखिएको हो । यसमा पनि उनले मराठी भाषालाई त्यसै गरी बुझ्ने पारामा समावेश गराएका छन् । त्यसले एक किसिमले पठनमा फरक स्वाद पनि थपेको छ ।

मलाई घामकिरी पढ्दा केहि कुराहरु खड्किए । उपकथाको प्रचुरताले मुल कथा नै कम्जोर लाग्यो । सुरुवाती भागमा कोल्हापुरीसँगको प्रसंगहरुले वास्तविकता र कल्पना के हो भनेर छुट्याउनै गाह्रो बनाइ दियो । प्रेमरोग छायाङ्ककनका लागी नेपालगंज आएको र स्नेहा होटेलमा बसेको भन्ने प्रसंगको वास्तविकता पहिल्याउन चलचित्र हेर्दा कति प्रयास गरेँ तर सफल भइएन । पछि म पात्रको भ्रम तोडिने घटना उपन्यासको चरमको रुपमा हुनुपर्ने थियो जस्तो लागेको थियो तर त्यस्तो भएन ।

लेखकसँगको अर्को गुनासो भनेको लेखक पात्रहरुप्रति निकै क्रुर देखिए । लाग्यो यी ईश्वर भइदिएको भए यिनको श्रृष्टि साह्रै कष्टपूर्ण हुनेथियो । कथाहरु पढ्दै गर्दा एक दुई कथा मात्रै भएपनि केहि सुखान्त भइदिएका भए एउटा सन्तुलन हुन्थ्यो कि भन्ने पनि लागी रह्यो । चिठा पर्नु तर अद्कट्टी हराउनु, स्वास्नी सम्झेर घरजान खोज्ने पात्रको स्वास्नी नै पोइल जानु, मृगौला बेचेरै परिवारको गर्जो टार्न खोज्ने पात्रलाई संक्रमण हुनु र मर्नु, आदि जस्ता दुःखान्तहरुले उपन्यास भरी नै एउटा निराश माहोल कायम गरि रहन्छ । कोहि त खुशी होस् ! कोहि त सुखी होस् ! यथार्थको दुनियामा जे जस्तो भएपनि कल्पनाको संसारमा त सकेसम्म सुख होओस् !

घामकिरी पढ्नु एउटा  रहर थियो । भनिन्छ रहर पुरा हुँदाको क्षणमा भन्दा पनि रहर पुरा हुँदासम्मको क्षणहरु महत्वपूर्ण हुन्छन् । पुस्तक पढेर थन्काउँदा त्यहि अनुभूति भयो । यो समीक्षा लेखनका लागी पुस्तकका पानाहरु पल्टाउँदा घामकिरी एकपटक पढेर थन्काउन सकिने पुस्तक भने लागेन । मुल कथाको लागी भन्दा पनि उपकथा र उपन्यासका अनेकन प्रसंगहरु बारम्बार पढ्न सकिन्छ । अनि घामकिरीमा उल्लेख भएका गित र चलचित्रहरुमा त जति धेरै रमाउँदा पनि धित मर्दैन ।

  • नयनराज पाणडेकाे लू काे कथा यहाँ पढ्नुहाेस् । 

  • कृपया पढिसकेपछि प्रतिकृया  दिन नबिर्सिनुहाेला । साथै किताबकाे कथाहरू पछ्याइरहनका लागी मेराे फेसबुक पेज पनि मनपराइदिनु हाेला । 
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |