त्यस्तो बखत मलाई थाहा हुनुपर्ने,
आकाशको कुन कुनासम्म मेरो पहुँच हुन्छ।
कहीँ म हराइहालेँ भने, शाश्वततामा।
विकल्पहरूमध्ये तिमी उत्तमचाहिँ छान्नु,
म केही कुलीन समस्याहरू पस्किन्छु, चिरकालसम्म।
अझैसम्म उदारचेत भएको कोही इन्सानसँग, म
यस्ता उटपट्याङ इच्छाको सारांश राख्न सक्दिनँ।
मेरो दिमागभित्र ओस पसेको छ, कसैले चाहे पनि।
तिमीलाई के लाग्छ? म जित्न सक्छु?
मेरो सपनामा देखिएका ती महिलाहरू सुकुन्दा बोकेर
कतै अन्धकारतिर भागिरहेका छन्।
उनीहरू उज्यालोको भयंकरतादेखि तर्सिएका छन्,
उनीहरूले मेरो बिजुलीलाई कैद गरेका छन्।
सहानुभूतिको प्रतिमामा मेरो छाया टल्किएको कसैले देख्दैन,
म त्यस्तो बखत, आकाशको कुनै कुनामा हेरेर टोलाइरहेको हुन्छु।
मैले भेटेका इन्सानहरूले कोही अपरिचितको बयान दिएका छन्
र भन्छन्, तिनीहरूसँग ढुङ्गाका आँखाहरू थिए।
ती मार्बलझैँ सेता थिए र हेर्दाहेर्दै चकनाचुर भए।
देवताहरू, माझीझैँ किनारमा अलमलिएका छन्।
अनि, यहाँ बलिदान दिनेहरू यसै गरी मुख झुक्याएर उभिन्छन्।
म यहाँको हरेक बाटोमा जोडिएका बाटाहरूलाई चिन्छु।
तिमी उभिएको भूगोलबाट मेरो कल्पनालाई छुन सक्दैनौ।
यसैले, अब छायालाई मतिर फर्काऊ।
तिमी निदाएका छैनौ, मलाई थाहा छ।
हामीहरू आँधीझैँ आन्दोलित हुन्छौँ र पनि भित्र काँप्छौँ,
अफसोसहरू लहराहरूझैँ झाँगिन्छन् र मेरो घाँटीतिर बढ्छन्।
यस्ता बेतुकका स्वैरकल्पना मभित्र हजारौँ छन्,
काँचो सालको रुखजस्तो यिनीहरूको आफ्नै बास्ना छ
र म योजनाविहीन आफ्नै अन्तरङ्गमा हराउँछु।
मैले यतिखेर अब प्रेमको कुरा गरेँ भने, म आफैँ अलमलिन्छु।
यसैले, म एक साँझको कुरा सुनाउँछु, या म आफैँ साँझ हुँ।
अल्पज्ञानको मोक्ष-भयले म व्याकुल हुन्छु,
यस्ता कुराहरू आउँछन् र जान्छन्
यस्तो बेला हामी आकाशका कुनाकुनासम्म पहुँच होस् भन्छौँ।
लडाइँ, भोक र शून्य सिद्धान्तले गाँजेको किन हो,
मलाई यस्तो बेला संसारै जित्छु जस्तो हुन्छ।
Catch → जितको नजिकबाट के देखिन्छ ?
✓ Unlocked — enjoy the rest of the Catch

Comments (0)
No comments yet — be the first to say something.