Catch feed

Catch → दोगलापन

✓ Unlocked — enjoy the rest of the Catch
Philosophy

दोगलापन

एक मानिसभित्र बाँचेको कपटको विरोधाभास

मानिसको जीवनमा रहेको पाखण्डको जिउँदो 

मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभास

मानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी आफैंसँगै धोका गर्छौं। तपाईंलाई पनि कसैले भनेकै होला—“तपाईं दोग्ला हुनुहुन्छ।” एउटै कुरा बोल्ने, अर्को गर्ने; आजका वाचा भोलि फेर्ने; आफ्नै शब्द, आफ्नै प्रतिबद्धतासँग बेइमानी गर्ने। तर यो दोष केवल तपाईंको मात्र होइन। यो समयको, समाजको, भीडको र डरको साझा उत्पादन हो। आउनुहोस्, यो कथामा आफूलाई ऐनाजस्तै हेर्नुहोस्—र जहाँ आवश्यक छ, आत्मालोचनाको साहस गर्नुहोस्।

जोगो भुस्या कुकुर थियो। सानैमा कसैले घरमा पालेको—हेर्दा दाह्रीजस्तो कपाल भएको, कहिल्यै नकिनिएको तर माया पाएको। तर मालिक संसार छोडेपछि जोगो एक्लियो। घरबाट सडकमा खस्यो। सडकले उसलाई अपनायो—नयाँ वातावरण, नयाँ नियम, नयाँ निर्दयता। रूप अरू कुकुरसँग नमिले पनि व्यवहार उस्तै थियो—भोक लाग्दा कराउने, डर लाग्दा भाग्ने, माया भेटिँदा पग्लिने। कहिले भोकले छट्पटिन्थ्यो, कहिले ‘डग लभर’ को दयाबाट बिस्कुट पाउँथ्यो, कहिले रोटीको टुक्राका लागि झगडा गर्नुपर्थ्यो। जीवन उसलाई दयाको आश्वासन र निर्दयताको चोटबीच हल्लाइरहन्थ्यो।

यही बीच जोगोको भेट भयो—बोतल टिप्ने, बाटोमै सुत्ने, बाटोमै खाने, आधा-पागल जस्तो देखिने एक मान्छेसँग। त्यो मान्छे आउँदा जोजोका साथीहरू एकाएक भुक्न थाल्थे। जोगो पनि भीडसँगै भुक्थ्यो—नसोची, नबुझी। मानौं भुकाइमै प्रतियोगिता थियो—को बढी, को कडा। कहिले त मान्छेलाई झम्टिन आउँछन् जस्तो गर्थे, नजिकै पुगे पनि अरू मान्छेलाई केही नगर्ने। कुकुरहरू निर्णयकारी नहुनुपर्ने हो, तर दुर्गन्धले कि भ्रमले—“यो त हाम्रो जस्तै हो, मान्छे भएर झुक्किएको जनावर”—यस्तै तर्क बनाइन्थ्यो। “हाम्रो क्षेत्रमा आयो भने लखेट्छौं,” जोजोका साथीहरू गर्जिन्थे। जोजोले एकदिन सोध्यो—“हामी उसलाई देखेर किन भुक्छौं?” समय बित्यो, प्रश्न ओझेलमा पर्यो, भीडको आवाजले विवेक ढाकियो।

एकदिन जोगो अत्यन्तै भोकाएको थियो। कतै खाना भेटिएन। त्यही बेला उसले एउटा मान्छे नजिकै देख्यो—कारबाट झरेको। जोगो नजिक गयो—माग्न, झम्टिन होइन। तर त्यो मान्छेले ढुंगाले हानेर हाँस्यो। जोगो न भुक्यो, न दाँत देखायो—ऊ केवल भोकाएको थियो। चोट बोकेर ऊ हिँड्दै गयो, र बाटोमै बेहोस भयो।

आँखा खोल्दा ऊ उही आधा-पागल देखिने मान्छेसँग थियो। उसका घाउमा हल्का मलम लगाइएको थियो। खाना र पानी राखिएको थियो। धेरै दिनपछि होला—जोगोले पेटभरि खायो। मनमनै ऊ लज्जित भयो—“मैले उसलाई बेकारै न्याय गरेको रहेछु।” उसलाई लाग्यो—मान्छेहरूमा सायद यही नै सबैभन्दा राम्रो हो। उनीहरूबीच मौन मित्रता पलायो। “ला, अझ खान्छस्?” भन्दै उसले अर्को बिस्कुट पनि दियो। जोगोले खायो। मान्छे बोतल टिप्न लाग्यो, जोगो लंगडाउँदै पछ्यायो।

तर भीड कहाँ मौन बस्छ? टाढैबाट जोजोका साथीहरूले त्यो मान्छे देखे। भुक्न थाले, झम्टिन थाले। मान्छेले लाठीको सहाराले जोगिएर त्यहाँबाट हिँड्यो। उही बेला कारवाला मान्छे पनि आयो। जोगोले अघिको अपमान सम्झियो। ऊ भुक्न लाग्यो। साथीहरूले चिच्याए—“के भएको जोजो? राम्रो मान्छेलाई किन भुक्छस्?” जोगो रोकियो। ऊ बुझ्दै थियो—ऊ गलत गर्दैछ। तर बोल्न सक्दैनथ्यो—“यही मान्छेले मलाई हानेको थियो” भनेर। उसलाई लाग्यो—साथीहरूले विश्वास गर्ने छैनन्। सत्य सधैं आवाज पाउँदैन; भीडले अक्सर शोर मात्र सुन्छ।

दिन बिते। बेला–बेला जोजो र त्यो आधा-पागल मान्छे भेट्थे। ऊ खाना दिन्थ्यो, जोगो खुशी हुन्थ्यो। यो देखेर अरू कुकुरहरू फुसफुसाए—“किन भुक्दैनस्? उसले दिएको खाना खानु हुँदैन।” यस्तै गफले जोजोको दिमाग भरिन थाल्यो। बिस्तारै झुटो नै सत्यजस्तो लाग्न थाल्यो। र एकदिन—अरू कुकुरसँगै—जोगो पनि उसलाई देख्दा भुक्न थाल्यो। एक्लै हुँदा ऊसँगै बस्ने, माया पाउने; भीडमा भने उही मान्छेलाई धपाउने। भित्र कताकता गलत लाग्थ्यो, तर पछुतो बिना भुक्थ्यो। यही हो दोगलापन—सहयोग पाउनेसँग अर्को व्यवहार, भीडले देख्नेबित्तिकै अर्को अनुहार।

यही जोजो तपाईं–हामी नै हौं। जसले साथ दिन्छ, जसले घाउमा मलम लगाउँछ—उससँग गोप्य कृतज्ञता; र जो समाजले “ठीक” ठानेको छ—उससँग सार्वजनिक मिठास। शब्द र कर्मको दूरी यहीँबाट सुरु हुन्छ। हामी सत्यलाई मनभित्र राख्छौं, र भीडका लागि नाटक गर्छौं। हामी जसले मद्दत गर्छ, उसैलाई लुकिछिपी दुत्कार्छौं; र जसले केही नगरेको छ, उसैसँग आदर्शको अभिनय गर्छौं। कुरा त एउटै हुन्छ—तर अर्थ बदलिन्छ; वाचा त उही हुन्छ—तर व्यवहार पल्टिन्छ।

मानव दोगलापन कुनै आकस्मिक कमजोरी होइन; यो डरको उपज हो—अलग देखिने डर, अस्वीकार हुने डर, भीडबाट छुट्टिने डर। जोजोले भुक्यो, किनकि ऊ एक्लिन चाहँदैनथ्यो। हामी पनि त्यही गर्छौं—सत्य देख्दा पनि मौन बस्छौं, अन्याय बुझ्दा पनि तालि बजाउँछौं। हामी भित्रको विवेकलाई चुप लगाउँछौं, बाहिरको शोरसँग कदम मिलाउँछौं।

यदि यो कथा ऐना हो भने, त्यसमा देखिएको अनुहार असहज लाग्नु स्वाभाविक हो। तर यही असहजता परिवर्तनको सुरुवात हो। दोगलापन स्वीकार्नु आत्मघात होइन; आत्मसुधारको पहिलो पाइलो हो। जोजोले जस्तो—एक्लै हुँदा सत्यलाई माया गर्ने होइन, भीडमै उभिएर सत्यलाई जोगाउने साहस चाहिन्छ। शब्द र कर्म एउटै दिशामा हिँड्दा मात्र हामी मानिस हुन्छौं—नत्र त हामी पनि जोजो नै हौं, भुका

इमा हराएको विवेक बोकेर।

Comments (0)

No comments yet — be the first to say something.