भँगेराहरू
———————————-
कतैबाट भुर्र उडेर आयो
र थपक्क बस्यो
एउटा भँगेरो
आँगनीमा सुकाएको बिस्कुन माथि।
भोकको रनाहमा थियो सायद
हेरेन वरपर,
देखेन उसले
छेउमै गुलेली लिएर उभ्भिएको
व्याधा।
बडो कलात्मक पाराले उठायो
उसले आफ्नो धानको दानाजत्रै चुच्चोले
एउटा गेडो धान
र निल्यो बडो सन्तुष्टिले।
तर गोजेरोमा नपुग्दै चारो
बत्तिएर आयो
एउटा निर्दयी मट्याङ्ग्रो
र लाग्यो कोखमा
‘भ्याट्ट!’
ऊ
चोटले रन्थनियो,
भ्याट् भ्याट् गर्दै छट्पटायो
र निमेषभरमै शान्त भयो।
कहिलेकाहीँ
यसरी नै जीवन र मृत्यु सँगै निल्छन्
भँगेराहरू।
✍️ मनोज रेग्मी

Comments (1)
Perfect @manoj Regmi jee.