बिहानीको पहिलो किरणभन्दा पनि पहिला
तिमी देखिन्छौ
तिमीलाई जानिसकेको त होइन,
तर त्यति अन्जान पनि छैनौँ हामी।
टाढा हुन खोज्दा पनि
किन मेरो आँखाअघि आइबस्छौ?
नखोजेको बेला पनि
किन यादको कुनै कुनाबाट
चुपचाप निस्केर आउँछौ?
चुपचाप, शान्त छौ तिमी,
तर तिम्रो मौनता पनि
कहिलेकाहीँ धेरै कुरा गर्छ।
सामुन्ने हुँदा
शब्दहरू कतै हराएजस्ता हुन्छन्,
आँखाहरूले केही भन्न खोज्छन्,
तर ओठहरू भने
मौन बसिदिन्छन्।
फेरि थाहा छैन,
यो कस्तो सम्बन्ध हो हाम्रो
न त पूर्ण परिचय,
न त अपरिचित नै।
केही कुरा भनिँदैनन्,
तर महसुस भने हुन्छन्।
केही दूरी छ,
तर मनलाई भने
त्यो दूरी कहिल्यै टाढा लाग्दैन |
सायद त्यसैले होला,
तिमीलाई नहेर्ने सोच्दा पनि
आँखा तिमीमै पुग्छन्,
र तिमीलाई बिर्सने बहाना खोज्दा पनि
मनले तिमीलाई नै सम्झिन्छ!
Comments (2)
प्रेमिल ✍️❤️
Dhandyabad