Catch feed

Catch → ‎#मदन बन्न मन#

✓ Unlocked — enjoy the rest of the Catch

‎हातमा ‘मुनामदन’ का पानाहरू पल्टाउँदै गर्दा,

‎नजर तिनै पुराना हरफहरूमा अडिन पुग्छ,

‎”हातका मैला सुनका थैला, के गर्नु धनले…”

‎म पाना बन्द गर्छु, अनि अगाडि हेर्छु,

‎जहाँ तिमी साना-साना घरायसी धपेडीहरूमा व्यस्त छौ,

‎मेरो संसारलाई सहज र सुन्दर बनाउन।

‎अनि मेरो मनभित्र एउटा मधुर तरङ्ग चल्छ,

‎मलाई पनि ‘मदन’ बन्न मन छ, तर त्यो विरहको मदन होइन।

‎मदन त भोट गयो, सुनका थैलाको सपना बोकेर,

‎मुनालाई रोएर छोड्यो, आँसुको तलाउमा डुबाएर।

‎म सोध्छु आफैँलाई— के धन नै सबैथोक हो र?

‎मलाई सुनका थैला भर्न तिमीबाट टाढा जानु छैन,

‎तिमीलाई गाउँको शिरानमा रोवाएर, परदेश भौँतारिनु छैन।

‎मलाई त यहीँ, हाम्रै यो सानो आँगनमा,

‎साग र सिस्नु खाएरै भए पनि, आनन्दी मनले

‎तिम्रो ‘मदन’ भएर जिउनु छ।

‎तिमीमा म त्यही निश्छल ‘मुना’ को रूप देख्छु,

‎जसको त्याग, निष्ठा र प्रेमको अगाडि संसारका सबै वैभव फिका छन्।

‎मेरो हरेक सुख-दुःखमा तिमीले देखाएको त्यो असीम धैर्यता,

‎अनि मेरो आँखामा आँसु आउन नदिन तिमीले गरेका ती प्रयत्नहरू;

‎लाग्छ, देवकोटाले मुनाको परिकल्पना गर्दा—

‎पक्कै पनि तिम्रो जस्तै पवित्र हृदयको आभास पाएका थिए होलान्।

‎हाम्रो कथामा कुनै भोट (परदेश) को दूरी हुने छैन,

‎न त कुनै विछोडको कारुणिक रोदन नै हुनेछ।

‎म सधैँ तिम्रो सामीप्यमा रहनेछु, तिम्रो ओठको हाँसो बनेर।

‎आऊ, हामी साहित्यिक पानाका पात्र मात्र होइन,

‎यो आधुनिक युगका सच्चा ‘मुनामदन’ बनौँ,

‎जहाँ प्रेम अमर त हुनेछ, तर कथाको अन्त्य दुःखद हुने छैन।

‎मेरी उनी, मेरी मुना— मलाई जुनी-जुनी तिम्रै मदन बन्न मन छ।

‎किताबका पानामा मदन त फर्कियो, तर ढिलो भइसकेको थियो,

‎हातमा सुनका थैला त थिए, तर मुनाको सास गइसकेको थियो।

‎म त्यो ढिलो हुने मदन बन्न चाहन्नँ, मेरी उनी,

‎म त तिम्रो हरेक सुस्केरामा, तिम्रो हरेक हाँसोमा,

‎हरेक पल, हरेक प्रहर तिम्रै छेउमा उभिन चाहन्छु।

‎मलाई धनको महल खडा गर्नु छैन जहाँ तिमी एक्ली होऊ,

‎मलाई त यो सानो झुपडी नै प्यारो छ, जहाँ तिमी मेरो साथ होऊ।

‎संसारले भन्छ “पैसा बिना जिन्दगी चल्दैन,”

‎हो होला, तर तिमी बिना त मेरो यो मुटु नै धड्किँदैन।

‎दिनभरिको दौडधुप र हतारोबाट जब म घर फर्कन्छु,

‎तिम्रो त्यो आत्मीय नजरले मलाई ब्युँझाउँछ,

‎मदनले भोटमा भोगेको त्यो एक्लोपन र छटपटी,

‎मलाई यहीँ तिम्रो न्यानो अँगालोमा पग्लिएको महसुस हुन्छ।

‎तिमी मेरो जीवनको त्यो छहारी हौ,

‎जहाँ पुगेपछि संसारका सारा आँधीबेहरीहरू थामिन्छन्।

‎हाम्रो प्रेम कुनै दुःखान्त काव्यको कथा बन्ने छैन,

‎यहाँ आँसुका धारा र विरहका गीतहरू गुञ्जने छैनन्।

‎म लेख्नेछु हाम्रै नाममा एउटा नयाँ र सुखी इतिहास,

‎जहाँ मदन सधैँ मुनाकै सिउँदोको सिन्दूर जोगाउन लागिरहनेछ।

‎हातका मैला त आउँछन्, जान्छन्, फेरि कमाइँला,

‎तर तिम्रो यो निश्चल सामिप्य र भरोसा,

‎संसारको कुनै पनि बजारमा किन्न पाइँदैन।

‎त्यसैले त भन्छु, मेरी जीवनसङ्गीनी, मेरी उनी,

‎मलाई इतिहासको पानामा अमर हुनु छैन,

‎मलाई त तिम्रो वर्तमानको सुख र भविष्यको भरोसा बन्नु छ।

‎तिमी मुना बनेर मेरो घर उज्यालो पारिरहनू,

‎म मदन बनेर, तिम्रो संसारमा खुसीका रङ्गहरू भरिरहनेछु।

‎यो जुनी मात्र कहाँ हो र, आउने हरेक जुनीमा,

‎मलाई केवल र केवल, तिम्रै मदन बन्ने रहर छ।

Comments (2)

Anju Chalise Rupanjali 1 week ago

मुनामदनको दुःखान्त कथालाई प्रेम, साथ र जीवनको वास्तविक प्राथमिकतासँग जोडेर गरिएको यो प्रस्तुति निकै मन छुने लाग्यो। धनभन्दा प्रियजनको साथ ठूलो हुन्छ भन्ने भाव अत्यन्त आत्मीय रूपमा आएको छ। ‘मलाई इतिहासको पानामा अमर हुनु छैन, मलाई त तिम्रो वर्तमानको सुख र भविष्यको भरोसा बन्नु छ’—यही भावले रचनाको सार बोलेको छ। सुन्दर र भावपूर्ण लेखाइ।शुभकामना भाई 🙏❤️

Reply
आर.के दिलिप 1 week ago

धन्यवाद🙏🏼🙏🏼🙏🏼

Reply