समय बित्दै थियो। मेरो दिनचर्या यसरी अघि बढ्दै थियो कि म आफैँलाई एउटा अन्योलमा परेको यात्रीझैँ महसुस गर्न थालेकी थिएँ। यो नौलो सहरमा आफ्नो भन्ने कोही थिएन। म बिस्तारै यस सहरलाई बुझ्ने र यसका गल्लीहरूलाई नजिकबाट चिन्ने प्रयास गर्दै थिएँ।
बाहिर सडकमा सवारीसाधनहरू आ-आफ्नै गतिमा गुडिरहेका थिए। सडक शान्त थिएन। गाउँभन्दा बिल्कुलै फरक, यहाँको अनुभूति पनि भिन्न थियो। नौलोपन, अत्यास र एक्लोपन सबै आ-आफ्नै तालमा चलिरहेका थिए। सबै जना हतारमा देखिन्थे, तर म भने आफ्नै संसारमा हराइरहेकी थिएँ।
म एक्लै थिएँ। बिस्तारै एक्लोपनले मलाई चारैतिरबाट घेर्दै थियो।
त्यस दिन बिहानै कामबाट छुट्टी लिएर कोठामा बसेकी थिएँ। बिहानदेखि बेलुकासम्म कोठाबाट बाहिर निस्कन मनै लागेन। ढोका बन्द, झ्याल बन्द। कोठा अँध्यारो थियो। बत्तीसमेत बालेकी थिइनँ। मोबाइलबाट एउटा धुन बजिरहेको थियो, अनि म त्यही धुनसँगै आफ्नै सोचमा हराइरहेकी थिएँ।
बाहिर होहल्ला थियो, रौनक थियो, चहलपहल थियो। तर पनि बाहिर निस्कने आँट जुटाउन सकिरहेकी थिइनँ।
बिहानदेखि बेलुका पाँच बजेसम्म कोठाभित्रै बसेपछि दिक्क लाग्न थाल्यो। त्यसपछि बल्ल बाहिर निस्किएँ।
दुईचार दिनअघिसम्म शान्त र कम हल्ला हुने त्यो सडक आज मानिसहरूको भीडले भरिएको थियो। सायद दसैँका लागि किनमेल गरेर घर फर्कने तयारीमा थिए होलान् मानिसहरू। मैले त्यसतर्फ धेरै ध्यान दिइनँ। म त लुरुलुरु एउटा होटलतिर लागेँ।
दसैँ!
वर्षमा एकपटक आउने हाम्रो महान् चाड।
अघिल्लो वर्षको दसैँ हामीले निकै रमाइलो गरी मनाएका थियौँ। त्यो समय सम्झिँदा आज पनि मनमा अनेकौँ कुरा खेल्छन्। तर यसपालि भने किनकिन दसैँ नै नआए पनि हुन्थ्यो जस्तो लागिरहेको थियो। मनमा कुनै उत्साह थिएन। दसैँ आएको र नआएको बराबर थियो।
नयाँ कपडा लगाउन, मीठो खान र रमाइलो गर्न हतारिएका मानिसहरूलाई हेर्दा आफ्ना पुराना दिनहरू याद आउँथे। ती पुराना दिनहरूको कुरा बेग्लै थियो।
एउटा नयाँ कपडा किन्नका लागि आमालाई पिरोल्ने ती दिनहरू कति रमाइला थिए! आज सम्झिँदा ती साना-साना खुसीहरू पनि कति अमूल्य रहेछन् भन्ने लाग्छ।
तर आज म आफैँ व्यावहारिक बन्दै थिएँ। आफ्ना खर्च र आवश्यकताहरू आफैँ धान्न सिक्दै थिएँ। कम खर्च होला, कम आम्दानी होला, तर कम्तीमा आफ्नो कारणले परिवारलाई आर्थिक भार त बनाएकी छैन भन्ने लाग्थ्यो।
खै! के भनूँ? म आफैँ अन्योलमा थिएँ।
होटलकी दिदीलाई एक हाफ चाउमिन बनाउन लगाएँ र फेरि आफ्नै सोचाइमा हराएँ।
हुन त तपाईंहरूलाई लाग्ला, कोठामा खाना हुँदाहुँदै किन बाहिर फास्टफुड खाएर हिँडेकी होला भनेर। तर कुरा त्यस्तो थिएन। मेरो कोठामा खाना पकाउने भाँडाकुँडा केही थिएनन्। काम गर्ने ठाउँमा खाना खायो, कोठामा आयो। मन लागे मोबाइल हेर्यो, नलागे सुत्यो। बस्, मेरो दिनचर्या यतिमै सीमित थियो।
एक्लै बस्न मन लाग्थ्यो। कतै जान मन लाग्दैनथ्यो। आज म कुन सोचको भुमरीमा परेकी थिएँ, आफैँलाई थाहा थिएन।
कोठाबाट काम, कामबाट कोठा गर्दै महिनौँ बितिसकेछन्। कुन दिन कसरी बित्यो, समय कसरी अघि बढ्यो, केही पत्तै भएन।
कसैको अनुहार हेर्न मन लाग्दैनथ्यो। कसैसँग बोल्न मन लाग्दैनथ्यो। कसैले मेरो अनुहार हेरेर मेरो मनभित्रको पीडा बुझिहाल्छ कि भन्ने डर लाग्थ्यो। कतै मेरा भित्रका अत्यासलाग्दा भावनाहरू आँखाबाट पोखिएर बाहिर आउलान् कि भन्ने डरले कसैसँग आँखा जुधाउनसमेत मन लाग्दैनथ्यो।
मलाई त दिन पनि रातजस्तै लाग्न थालेको थियो।
कसैले सोध्दैनन्, कसैले बोलाउँदैनन्, कसैले खोज्दैनन्। हुन त म को नै हुँ र, कसैले खोजून् जस्तो लाग्थ्यो।
सायद यही सोचले गर्दा होला, दिन पनि अँध्यारोजस्तै लाग्थ्यो। कोठामा एक्लै बसेर बाहिरको चहलपहल सुन्दा पनि मनभित्र सन्नाटा छाएको महसुस हुन्थ्यो।
दिन कसरी बित्छ, रात कसरी बित्छ, मलाई केही थाहा हुँदैनथ्यो। फरक यति मात्रै थियो—दिन उज्यालो हुन्थ्यो, रात अँध्यारो। तर मेरो मनका लागि दुवै बराबर थिए।
कहिलेकाहीँ लाग्थ्यो, मेरो जिन्दगीमा घामको किरण नै आउन छोडेको छ। नयाँ दिन सुरु भएको अनुभूतिसमेत हुन छोडेको छ। मनमा हजारौँ कुरा खेलिरहन्थे, तर ती कुरा कसैलाई भन्न सक्दिनथेँ। यस्तै सोच्दासोच्दै निद्रा नलागेको एउटा लामो रातजस्तै मेरो जीवन बन्दै गएको थियो।
ए, साँचै!
म त होटलमा पो छु नि!
मैले अर्डर गरेको चाउमिन त चिसिनै लागिसकेछ। आफ्नै सोचाइमा हराउँदा समय बितेको पत्तै भएन।
अब भने त्यतैतिर ध्यान दिन्छु।
आजलाई मेरा मनका कुरा यतिमै छोडौँ। बाँकी कुरा अर्को दिन गरौँला, है त?
शुभरात्रि।

Comments (1)
आहा ! स्पर्शी ✍️🌸