Books → Novel(उपन्यास) → फकिर/Phakir

एड्सबारे उपन्यास
एड्स लाग्या छ। एड्स लाग्या मान्छेले शुभ कार्यमा जानु हुन्न रे। सबैले
त्यस्तै भनेका छन्। ब्रतबन्ध, विवाह, मेलामा नगएको दुई वर्ष भयो। देवताले
पनि त्यही भन्नुभएको छ। ज्योतिषले पनि त्यही भन्नुभयो। घरमै बस्ने, मेलापात
मात्रै गर्ने। शुभ कार्यमा जान हुन्न रे। म गए अशुभ हुन्छ रे।

बच्चु विकको उपन्यास फकिर को एक अंश हो यो। कामका लागि मुम्बई, दिल्ली,
कलकत्ता लगायतका भारतीय शहरमा पुगेका सुदूरपश्चिम पहाडका पुरूषहरू एचआईभी
संक्रमित हुँदा त्यसको पीडा निर्दोष महिला र बालबालिकाले भोगेको
वास्तविकतामा केन्द्रित रहेर लेखिएको उपन्यासले संक्रमितहरूले भोग्नुपर्ने
सामाजिक विभेद उतारेको छ। सुदूरपश्चिमका गाउँहरूमा 'दिल्लीको रोग' भनिने
एचआईभी/एड्स लागेर भारतमै मृत्यु भएकाहरूका श्रीमती र बालबच्चा समेत
संक्रमित भएर नेपाली समाजमा अपमान सहँदै मृत्यु कुरेको तीतो यथार्थले जो
कोही पाठकलाई द्रवित बनाउँछ।

कामका लागि भारतीय शहरहरूमा पुगेका नेपाली यौनेच्छा पूरा गर्न
वेश्यालयहरूमा जान्छन् र एचआईभी संक्रमणमा पर्छन्। विदामा घर आएका त्यस्ता
संक्रमितहरूले थाहै नपाई श्रीमतीलाई एड्स कोसेली दिन्छन्। यसरी गाउँमा
'दिल्लीको रोग' फैलन्छ र परिवारहरूको सपना भताभुंग हुन्छ। उपन्यासकारले
एड्स रोगले मृत्युको दिन तोकिदिएको मानिसको मनस्थिति कस्तो होला? उसले
आफ्नो दैनिकी कसरी चलाउला? भन्ने जस्ता पक्षमा निकै संवेदनशील भएर कथा
बुनेका छन्। वेश्यालय धाएका श्रीमान्बाट एचआईभी संक्रमित भएकी निर्दोष
पत्नी गर्भवती भएको लक्षण देखिंदा खुशी हुन्छिन्। त्यो पढ्दा आँखा
रसाउँछन्। श्रीमान्को मृत्यु पछि संक्रमित श्रीमतीले समाजसँग गर्नुपर्ने
संघर्षको कथा दर्दनाक छ।
एचआईभी/एड्स संक्रमित उपन्यासका केन्द्रीय पात्र गोरश काठमाडौंमा
महीनैपिच्छे डेरा सर्छन्। उपन्यासमा गोरश मृत्युलाई बिर्सन सुदूरपश्चिम
पहाडका विभिन्न स्थान चहार्दै भारत पुगेको मार्मिक वर्णन छ। त्यही क्रममा
वेश्यालय पुग्दा गोरशले सुदूरपश्चिमका युवा कसरी यो प्राणघातक रोगको संवाहक
भइरहेका छन् भनेर बुझ्छन्। केन्द्रले सुदूरपश्चिमलाई ध्यान दिन नसक्दा यो
क्षेत्र एड्सको चपेटामा परेको यथार्थ उपन्यासमा छ। यो अवस्थाले
सुदूरपश्चिमका बालबालिकालाई जीवनको सुरुआत नहुँदै मृत्युको मुखमा पारेको
निष्कर्ष फकिर ले दिन्छ।

एउटा युवा पत्रकारको पहिलो उपन्यास भए पनि फकिर पठनीय छ।

मीना शर्मा (हिमाल खबरपत्रिका)

No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.