अब कुन बाटो?
दोबाटो कट्दै गर्दा उसले बैठक देखेछ
कुल्चिरहेछ एक महामानव लथालिङ्ग किताब
प्रस्टोक्ती दिइरहेछ घमण्डी स्वरमा ब्राण्डेड जुत्ताको नाम
ताली बजाईरहेछन एक हुल नवजवान
एकटक लाएर हेरिरहेछ एक अधवैंसे मानव
जो गरीब हो, खाते हो अनि पाखे हो
नजिक बस्ने अनुमती नपाएर छेउमा झोक्राईरहेछ
सोंच्दैछ उ एक जोर जुत्ता र उसको पेटको मोल
किनकी जुत्ताको मोलले उ आधा वर्ष वाँच्न सक्छ
गलल्ल एकतमास हाँसो चल्दा उ झसङ्ग झस्कियो
हराएछ उ आफ्नो भोक मेटिएको कल्पनामा
पेटको गर्जन सम्हाल्दै उ कतै हिड्न खोज्यो
फेरि एक फोहोरा हाँसोले चोक हल्लियो
रिसाउन निकै मन आएको रहेछ उसमा पनि
बजार्न मन थियो छातीमा लात नै लातको वर्षा
निमोठ्न मन थियो प्रत्येक हाँसो हाँस्नेको गला
खैर… रिसाउन पनि सकेन उ पेट खाली थियो
रिसले रन्थनिन सकेन उ
किनकी भोकले रन्थनिएको थियो उ
मनमा एउटा प्रश्न थियो
अब कुन बाटो?

Comments (0)
No comments yet — be the first to say something.