पुस्तक समीक्षा : सल्लीपिर
लेखक : नयनराज पाण्डे
विधा : उपन्यास
नयनराज पाण्डेको सल्लीपिर पढ्दा , यो केवल एउटा हिमाली गाउँको कथा होइन, यो त त्यहाँ बाँचिरहेका मानिसहरूको दुःख, सपना, संघर्ष र अस्तित्वको कथा हो भन्ने लाग्छ ।
उपन्यासको परिवेश खुम्बु क्षेत्र हो। हिमालको सुन्दरता, शेर्पा समुदायको संस्कृति, परम्परा र धार्मिक विश्वाससँगै त्यहाँको कठोर जीवनलाई लेखकले कथामा बुनेका छन्। बाहिरबाट हेर्दा हिमाल सुन्दर देखिन्छ, तर त्यही हिमालको काखमा बाँच्ने मानिसहरूको जीवन कति कठिन छ भन्ने कुरा सल्लीपिर ले नजिकबाट महसुस गराउँछ। लेखक स्वयंले पनि यो कृति विकट हिमाली भेगका मानिसहरूको जीवन, शेर्पा संस्कृति, संघर्ष, सपना र राज्यको उदासीनतालाई समेट्ने प्रयास भएको बताएका छन्।
यस उपन्यासकी प्रमुख पात्र पेमा हुन्। उनको जीवनमार्फत एउटा हिमाली महिलाको बाल्यकालदेखि जीवनका विभिन्न उतारचढावसम्मको कथा अघि बढ्छ। आर्थिक अभाव, अशिक्षा, सामाजिक परिस्थितिका बीच पनि उनीभित्रको माया, मातृत्व र आफ्नो सन्तानप्रतिको सपना अत्यन्त मार्मिक लाग्छ। विशेषगरी छोरालाई अक्षरबाट टाढा राख्न खोज्ने पेमाको सोचमा आउने परिवर्तनले शिक्षाको महत्त्वलाई निकै गहिरो ढङ्गले प्रस्तुत गर्छ।
मलाई सल्लीपिर को सबैभन्दा मन परेको पक्ष यसको परिवेश र मानवीय संवेदना हो। हिमाल यहाँ केवल पृष्ठभूमि होइन; हिमालसँगै मानिसहरूको जीवन, दुःख र संघर्ष पनि उभिएको छ। शेर्पा समुदायको संस्कृति, लोककथा, जीवनशैली र परम्परालाई कथासँग जोडेर लेखकले एउटा फरक संसार पाठकसामु ल्याएका छन्।
मेरो विचारमा सल्लीपिर को मूल्य केवल कथामा छैन; यसको मूल्य हामीले कम देखेको नेपालको एउटा जीवनलाई देखाइदिनुमा छ।
हामी हिमाललाई प्रायः सुन्दर दृश्यका रूपमा हेर्छौँ।
तर सल्लीपिर पढेपछि लाग्छ कि हिमाल सुन्दर मात्र छैन, हिमालले धेरै पीडा पनि बोकेको छ।
यो पुस्तक पढ्दा मैले एउटा कुरा महसुस गरेको कुरा चाहि के हो भने कसैको जीवनलाई बाहिरबाट हेरेर उसको सुख दुःखको अनुमान गर्न सकिँदैन। कसैका लागि हिमाल पर्यटनको सुन्दर दृश्य होला, तर त्यही हिमाल कसैका लागि जीवनभरको संघर्ष हुन सक्छ।
त्यसैले सल्लीपिर मेरो लागि केवल एउटा उपन्यास रहेन। यो नेपालको भूगोलभित्र लुकेका फरक फरक जीवन बुझ्ने एउटा यात्रा बन्यो। पढिसकेपछि पुस्तक बन्द भयो, तर पेमाको जीवन र हिमालको त्यो कठोर संसार भने केही समयसम्म मनभित्रै रहिरह्यो।
मेरो विचारमा सल्लीपिर सुन्दर हिमाल हेर्न होइन, हिमालभित्रको मान्छे बुझ्न पढ्नुपर्ने पुस्तक हो।

Comments (2)
मैले यो पढेको छैन अहिले सम्म तर समीक्षा पढिसकेपछि सल्लीपिर पढ्ने इच्छा जाग्यो । पुस्तक नपढी पनि यो समीक्षाले मनमा छोयो । पढेपछि के अनुभव हुन्छ लेखुँला पनि ।
सुन्दर पुस्तकको सुन्दर समीक्षा ।