अध्याय १
अपरिचित आगमन
सधैं झैं उ कोठाको बत्ती निभाइ सुतेको थियो । कोठामा उ एक्लै थियो । वास्तवमा उ त्यस दिन घर मै एक्लै थियो । घरका अरु सबै सदस्यहरू रातिको समयमा चलचित्र हेर्न फिल्म हल तिर गएका थिए । उसलाई अलि बिसन्चो भएका कारण उ जान सकेन ।
केही दिन अघि उ १२ कक्षा को अन्तिम परीक्षा दिएर घर फर्किंदा घन घोर ठूलो वर्षा भएको थियो । उ हिडिरहेको मार्गमा कुनै रूख, अथवा घरहरू नभएको हुँदा उसले वर्षाबाट जोगिनका लागि ओत लाग्न पाएन । उ ओत लाग्ने ठाउँ सम्म पुग्दा निथ्रुक्कै बिझिसकेको थियो । त्यसपछि उ ओत नलागी सरासर बेमौसमी वर्षामा रुझ्दै घर पुगेको थियो । त्यसै रात उसलाई हनहनी ज्वरो आयो । पछिल्लो दिन उसका बुबाले उसलाई आफू विद्यालयको कार्यालय विदा लिई उसलाई उपचारका लागि नगरहस्पिटल लिएर गए ।
लामो बिरामीको लाइनमा पर्खे पछि उसको पालो आएको थियो । चिकित्सकले उसलाई केही दिन आराम गर्ने सुझाव दिएका दिए । केही औषधि पनि लेखिदिएका दिए ।
” वर्षायाम सुरु भएकै छैन । मौसम परिर्वतन हुँदै छ । वसन्त ऋतु , ग्रीष्म ऋतु हुँदै वर्षा ऋतुमा प्रवेश गर्ने चरणमा रहेको छ । यस्तो समयमा परेको बेमौसमी वर्षा मा रुज्नु हुँदैन । अब यस कुराको ख्याल राख निश्छल भाई । मैले मेडिसिन लेखिदिएको छु। समयमै नबिराई खानु । सकेसम्म एक हप्तासम्म आराम गर्नु ।” पर्चा दिँदै ४० वर्ष उमेर जतिका चिकित्सक वर्मा नविनले एक मुस्कान दिए । उनको टाउकोको कपाल झरेको थियो । कपालका नामका एक दुई केश मात्रै हुँदा हुन् । उनी त्यस अस्पतालका नामी चिकित्सक थिए । उनले बिरामीलाई नम्र बोली वचनमा सम्झाउथे।
” हस सर । म ध्यान राख्ने छु । तपाईंले भने झै अबको एक हप्ता आराम मात्रै गर्ने छु । ज्वरोले रातभर निद्रा लागेको छैन । टाउको भारी भएको छ । धेरै अफ्ठेरो भयो । अब म कहिल्यै बेमौसमी वर्षामा रुझ्ने छैन ।” निश्छलले टाउको मा हात राख्दै भन्यो ।
” सानो मा पनि ज्वरो आउँदा, अरु यसको दाई दिदी भन्दा पनि बढी च्याप्छ यसलाई । किन यस्तो भएको होला ?” कपाल सेतै फुलेका अनुमानमा ४५ उमेर कटेका निश्छलका बुबाले कुरा राखे । अनि लगाइरहेको पावर चश्मा खोलेर आँखा मिचे झै गरे र फेरि चश्मा लगाए ।
” सबैलाई ज्वरो को असर फरक स्वरूपमा देखा पर्छ । दुब्ला पातला छन् । यस्तो लाई अझ बढी ज्वरोले च्याप्छ। हामी आफैले ध्यान पुर्याउनुपर्छ। ससाना कुरा पनि भोलिका दिनमा घातक हुन्छन्। बेलैमा होस पुर्याउनुपर्छ। उसको खानपानमा विशेष ध्यान राख्नुहोला।” चिकित्सक वर्मा नविनले आवश्यक सरसल्लाह दिई अरु बिरामी हेर्न थाले।
चिकित्सककोले दिएको सल्लाहका कारण उ त्यस रात एक्लै थियो । यसलाई छिटो निको हुनु थियो । निश्छल कुनै पनि त्रुटी चाहँदैनथ्यो । ऊ साथीहरूसँग दुई हप्ता पछि योजना अनुरूप हाइकिङमा जान चाहन्थ्यो । विद्यालयमा उनीहरूको छलफल भएको थियो। अन्तिम परीक्षा सकिएपछि एक माइल टाढा रहेको सुप्रसिद्ध मसाने डाँडोमा रमाइलो गर्न जाने योजना बनाएका थिए ।
निश्छललाई लागेको थियो कि ऊ त्यो रात एक्लै कटाउन सक्छ । एक्लै घरमा बस्न सक्छ । एक्लै अँध्यारो सँग जुध्न सक्छ । एक्लै सन्नाटालाई बिथोल्न सक्छ । त्यसैले उसले एक हप्ता अगाडि आफ्नै लागि भनेर परिवारले किनेको रातभरको ३ शो को अनलाइन चलचित्रको टिकट खेर जाने हुँदा आफ्नो परिवार सँग छिमेकी मित्र प्रयास लाई पठाएको थियो ।
“निश्छल, के तिमीले मलाई बोलाएका हौ । केही काम थियो र । अहिले तिमीलाई कस्तो छ ?” साँझ पख उसको छिमेकी साथी प्रयासले एकै पटक सबै कुरा सिध्याउने झै गरी निश्छल को कोठामा पुग्न नपाउँदै भन्यो ।
” अलि सञ्चो छैन । डक्टरले आराम गर्न भनेका छन् । राती कतै जाने काम त छैन तिम्रो ?” निश्छल ले कुरा बुझ्न चाह्यो ।
” राती पनि कहि काम पर्छ त ? ” प्रयास मुस्कुरायो ।
” घरका सबै दाइदिदि बुवा मम्मी फिल्म हल जाँदै छन् । म जान पाउँदैन । गए पछि अझै ज्वरोले च्यप्छ भन्ने डर छ । तिमी जाउ न । मेरो टिकट मा ।” निश्छल ले आफूले बोल्नुको कुरा प्रस्ट राख्यो ।
परिवारले त चलचित्र हेर्ने योजना रद्द गर्ने सोचेका थिए तर निश्छलले आफ्नो कारण रमाइलो बाट नपन्छिन भनेर पठाएको थियो । त्यो निर्णय नै उसको भुल भइदियो ।
अँध्यारो कोठामा एकदमै सन्नाटा छाएको थियो । छिमेकमा पनि सबै सुतिरहेका थिए । कहि कतै बाट कुनै आवाज आएको थिएन ।
एक्कासी उसको कोठाको ढोका ढक ढकाएको आवाज आयो । उ तर्सियो । घरको मुख्य ढोका बन्द थियो । माथि छतको ढोका पनि बन्द थियो । कसरी कोही घर भित्र आउन सक्छ ।
” को हो ?”
” कसले ढोका ढक ढाकेको हो ?”
कसैले जवाफ दिएन।
परिवारका सदस्य फर्केर आउने समय भएकै थिएन । यदि फर्किएका भए पनि मुख्य ढोकाको बेल बजाउने थिए । बेल बजेको थिएन तर उसको कोठाको ढोका भने कसैले ढक ढकाउदै थियो । निश्छललाई घरमा कोही चोर, डाँकु वा अपरिचित व्यक्ति आएको हुन् सक्ने शङ्का पर्यो ।
” के भएको यो ? कतै चोर त आएको होइन । चोरले त उस्तै पर्यो भने मान्छे लाई पनि अपरहण गर्छ । कतै लगेर बेचिदिन सक्छ ।” निश्छल मनमनै नानाथरी कुरा सोच्न थाल्यो । भर्खरै १९ वर्ष पुगेको उसलाई दुनियादारी केही पनि थाहा थिएन । त्यस अवस्थामा के गर्ने भनेर पनि संयम राख्न सकेको थिएन । पटक पटक कुनै भूत त होइन पनि तर्सिरहेको थियो । भूत हो । चोर हो । या कोही अपराधी । जसले बिना अनुमति घरमा प्रवेश गरेको थियो ।
उ डरायो । आत्तियो । उसको मुटु आवश्यकता भन्दा बढी धड्किन थाल्यो । छाती नै फुट्ला झै । उसको निधारबाट खलखली पसिना आइरहेको थियो । प्रत्येक ढोका ढकाईको आवाजमा उ चिल्याउन थालेको थियो। कराउन थालेको थियो । जोड जोडले हेल्प माग्न थालेको थियो ।
उसलाई लागेको थियो । कहि कतै उसका छिमेकी घरकाले सुन्ने छन् र उसको मद्दतका लागि आउनेछन् तर मद्दतको कुनै पनि आशा देखा परेको थिएन । छिमेकमा शान्त सन्नाटा छाएकै थियो। कसैले पनि उसको गुहारको आवाज सुनेका थिएनन् या त छिमेकीहरू सबै गहिरो निन्द्रामा डुबेका थिए या त उसका परिवारका झैँ कतै बाहिर गएका हुन सक्थे, चलचित्र हेर्न, कुनै कार्यक्रममा भाग लिन या कसैको निमन्त्रणामा ।
केवल त्यस अँध्यारो रातमा ढोका ढक ढकाएको आवाज र उसको डरको चिल्लावट मात्रै सुनिन्थ्यो ।
क्रमश……….
लेखक – एक रावल
अध्याय २ अर्को भागमा ।

Comments (3)
कथाले सुरुदेखि नै एउटा बेग्लै कौतूहल र त्रासको वातावरण सिर्जना गरेको छ। निश्छलको बिरामी अवस्था, उसको सरलता र त्यो सुनसान रातको सन्नाटालाई धेरै जीवन्त ढङ्गले प्रस्तुत गर्नुभएको छ। विशेष गरी अन्तिमतिर ढोका ढक्ढक्याएको प्रसङ्गले पाठकलाई आगामी अध्यायप्रति निकै उत्सुक बनाएको छ। अति नै रोचक र रहस्यमय सुरुवात! "त्यस रात जब ढोकामा ठोकिएको आवाज आयो, लाग्थ्यो ढोका मात्र होइन, मेरो आफ्नै मुटुको धडकन पनि फुटेर बाहिर आउन खोज्दैछ—त्यो सन्नाटा र डरको क्षण म कहिल्यै बिर्सन सक्दिनँ।" आगामी अध्याय २ को पर्खाइमा छौँ, सफलताको शुभकामना लेखक ज्यू!
धन्यावाद ! मेरो लेखनमा रुचि देखाउनु भएको मा । चाँडै अध्याय दुई पनि publish गर्ने छु।
Waiting for the second one. Thanks 👍