Catch feed

Catch → निलो प्रेम

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

निलो प्रेम

“निलो प्रेम”

प्रेम शब्द सुन्ने वा भन्ने बित्तिकै हाम्रो मनमा प्रायः रातो रङको झल्को आउँछ। तर “निलो प्रेम” सुन्ने बित्तिकै मनमा एउटा जिज्ञासा जाग्छ—
के प्रेम पनि निलो हुन सक्छ ?

पुरुषोत्तम बजगाईं द्वारा लिखित “ नीलो प्रेम” उपन्यासले यही जिज्ञासाको उत्तर खोज्ने प्रयास गर्छ। यो केवल प्रेमको कथा मात्र होइन, भावनाको गहिराइ, सम्झनाको मिठास र बिछोडको पीडाले बनेको एउटा सुन्दर संसार हो।

यस उपन्यासले प्रेमलाई आकाशसँग तुलना गर्छ—
आकाश जस्तै फराकिलो, आकाश जस्तै गहिरो र कहिल्यै पूर्ण रूपमा समेट्न नसकिने। निलो प्रेम भनेको त्यही प्रेम हो, जसले जीवनलाई आकाशझैँ उज्यालो बनाइराख्छ, चाहे त्यसमा बादल किन नआऊन्।

उपन्यासमा आकाश र वर्षाको सम्बन्ध केवल प्रेमी–प्रेमिकाको सम्बन्ध मात्र होइन, भावनाको यात्राजस्तो लाग्छ। उनीहरूको प्रेमले पाठकलाई सिकाउँछ कि प्रेम भनेको केवल सँगै हुनु मात्र होइन। कहिलेकाहीँ प्रेम भनेको त्याग पनि हो, सम्झनामा बाँच्नु पनि हो, र कहिलेकाहीँ आफ्नोभन्दा अरूको खुशीलाई रोज्नु पनि हो।
वर्षा, जसले आकाशलाई प्रेमको अर्थ सिकाउँछे , अन्त्यमा भने उसैबाट टाढा हुन्छे। तर उसको अनुपस्थिति पनि आकाशको जीवनमा सधैं उपस्थित रहिरहन्छ। यही नै सायद निलो प्रेम हो, जहाँ दूरी भए पनि भावना कहिल्यै मर्दैन।

यो उपन्यास पढ्दै जाँदा कहिलेकाहीँ मुस्कान आउँछ, कहिलेकाहीँ आँखा रसाउँछ। कतिपय क्षणमा लाग्छ, यो केवल कथाका पात्रहरूको कथा होइन, हामी सबैको जीवनसँग कतै न कतै जोडिएको अनुभूति हो।

“निलो प्रेम” केवल प्रेमकथा मात्र होइन। यसले मित्रता, पारिवारिक सम्बन्ध, सपनाहरू र जीवनका कठिन मोडहरूमा अघि बढ्ने संघर्षलाई पनि अत्यन्त संवेदनशील तरिकाले प्रस्तुत गरेको छ।

त्यसैले, “निलो प्रेम” केवल पढ्ने कथा होइन, मनले महसुस गर्ने, सम्झनाले बाँचिरहने कथा हो।

Comments (2)

Anju Chalise Rupanjali 1 week ago

सुन्दर समीक्षा! 💙 प्रेमलाई आकाशको निलोपनसँग जोडेर हेर्ने दृष्टिकोण निकै मन छुने छ। आकाश र वर्षाको सम्बन्धले प्रेम सधैँ प्राप्तिमा मात्र सीमित हुँदैन, कहिलेकाहीँ दूरी, त्याग र सम्झनामै पनि प्रेम जीवित रहन्छ भन्ने गहिरो अनुभूति गराउँछ। केही प्रेमकथा सँगै रहेर पूरा हुन्छन्, त केही टाढिएर पनि जीवनभर मनमा रहिरहन्छन्। सायद त्यही अनुभूतिको नाम हो—‘निलो प्रेम’। 💙📖🙏

Reply
Rawal Yek 7 days ago

प्रेमील उपन्यास

Reply