हातमा ‘मुनामदन’ का पानाहरू पल्टाउँदै गर्दा,
नजर तिनै पुराना हरफहरूमा अडिन पुग्छ,
”हातका मैला सुनका थैला, के गर्नु धनले…”
म पाना बन्द गर्छु, अनि अगाडि हेर्छु,
जहाँ तिमी साना-साना घरायसी धपेडीहरूमा व्यस्त छौ,
मेरो संसारलाई सहज र सुन्दर बनाउन।
अनि मेरो मनभित्र एउटा मधुर तरङ्ग चल्छ,
मलाई पनि ‘मदन’ बन्न मन छ, तर त्यो विरहको मदन होइन।
मदन त भोट गयो, सुनका थैलाको सपना बोकेर,
मुनालाई रोएर छोड्यो, आँसुको तलाउमा डुबाएर।
म सोध्छु आफैँलाई— के धन नै सबैथोक हो र?
मलाई सुनका थैला भर्न तिमीबाट टाढा जानु छैन,
तिमीलाई गाउँको शिरानमा रोवाएर, परदेश भौँतारिनु छैन।
मलाई त यहीँ, हाम्रै यो सानो आँगनमा,
साग र सिस्नु खाएरै भए पनि, आनन्दी मनले
तिम्रो ‘मदन’ भएर जिउनु छ।
तिमीमा म त्यही निश्छल ‘मुना’ को रूप देख्छु,
जसको त्याग, निष्ठा र प्रेमको अगाडि संसारका सबै वैभव फिका छन्।
मेरो हरेक सुख-दुःखमा तिमीले देखाएको त्यो असीम धैर्यता,
अनि मेरो आँखामा आँसु आउन नदिन तिमीले गरेका ती प्रयत्नहरू;
लाग्छ, देवकोटाले मुनाको परिकल्पना गर्दा—
पक्कै पनि तिम्रो जस्तै पवित्र हृदयको आभास पाएका थिए होलान्।
हाम्रो कथामा कुनै भोट (परदेश) को दूरी हुने छैन,
न त कुनै विछोडको कारुणिक रोदन नै हुनेछ।
म सधैँ तिम्रो सामीप्यमा रहनेछु, तिम्रो ओठको हाँसो बनेर।
आऊ, हामी साहित्यिक पानाका पात्र मात्र होइन,
यो आधुनिक युगका सच्चा ‘मुनामदन’ बनौँ,
जहाँ प्रेम अमर त हुनेछ, तर कथाको अन्त्य दुःखद हुने छैन।
मेरी उनी, मेरी मुना— मलाई जुनी-जुनी तिम्रै मदन बन्न मन छ।
किताबका पानामा मदन त फर्कियो, तर ढिलो भइसकेको थियो,
हातमा सुनका थैला त थिए, तर मुनाको सास गइसकेको थियो।
म त्यो ढिलो हुने मदन बन्न चाहन्नँ, मेरी उनी,
म त तिम्रो हरेक सुस्केरामा, तिम्रो हरेक हाँसोमा,
हरेक पल, हरेक प्रहर तिम्रै छेउमा उभिन चाहन्छु।
मलाई धनको महल खडा गर्नु छैन जहाँ तिमी एक्ली होऊ,
मलाई त यो सानो झुपडी नै प्यारो छ, जहाँ तिमी मेरो साथ होऊ।
संसारले भन्छ “पैसा बिना जिन्दगी चल्दैन,”
हो होला, तर तिमी बिना त मेरो यो मुटु नै धड्किँदैन।
दिनभरिको दौडधुप र हतारोबाट जब म घर फर्कन्छु,
तिम्रो त्यो आत्मीय नजरले मलाई ब्युँझाउँछ,
मदनले भोटमा भोगेको त्यो एक्लोपन र छटपटी,
मलाई यहीँ तिम्रो न्यानो अँगालोमा पग्लिएको महसुस हुन्छ।
तिमी मेरो जीवनको त्यो छहारी हौ,
जहाँ पुगेपछि संसारका सारा आँधीबेहरीहरू थामिन्छन्।
हाम्रो प्रेम कुनै दुःखान्त काव्यको कथा बन्ने छैन,
यहाँ आँसुका धारा र विरहका गीतहरू गुञ्जने छैनन्।
म लेख्नेछु हाम्रै नाममा एउटा नयाँ र सुखी इतिहास,
जहाँ मदन सधैँ मुनाकै सिउँदोको सिन्दूर जोगाउन लागिरहनेछ।
हातका मैला त आउँछन्, जान्छन्, फेरि कमाइँला,
तर तिम्रो यो निश्चल सामिप्य र भरोसा,
संसारको कुनै पनि बजारमा किन्न पाइँदैन।
त्यसैले त भन्छु, मेरी जीवनसङ्गीनी, मेरी उनी,
मलाई इतिहासको पानामा अमर हुनु छैन,
मलाई त तिम्रो वर्तमानको सुख र भविष्यको भरोसा बन्नु छ।
तिमी मुना बनेर मेरो घर उज्यालो पारिरहनू,
म मदन बनेर, तिम्रो संसारमा खुसीका रङ्गहरू भरिरहनेछु।
यो जुनी मात्र कहाँ हो र, आउने हरेक जुनीमा,
मलाई केवल र केवल, तिम्रै मदन बन्ने रहर छ।
Comments (2)
मुनामदनको दुःखान्त कथालाई प्रेम, साथ र जीवनको वास्तविक प्राथमिकतासँग जोडेर गरिएको यो प्रस्तुति निकै मन छुने लाग्यो। धनभन्दा प्रियजनको साथ ठूलो हुन्छ भन्ने भाव अत्यन्त आत्मीय रूपमा आएको छ। ‘मलाई इतिहासको पानामा अमर हुनु छैन, मलाई त तिम्रो वर्तमानको सुख र भविष्यको भरोसा बन्नु छ’—यही भावले रचनाको सार बोलेको छ। सुन्दर र भावपूर्ण लेखाइ।शुभकामना भाई 🙏❤️
धन्यवाद🙏🏼🙏🏼🙏🏼