परिचय
दौलत विक्रम बिष्टको जन्म ९ अक्टोबर १९२५ (६ असोज १९८३ वि.सं.) मा भोजपुरमा बुबा सोमराज र आमा मानकुमारीका जेठा छोराका रूपमा भयो। पुर्ख्यौली घर लमजुङमा भए पनि बुबा सरकारी जागिरका लागि काठमाडौं बसिसकेका थिए; बदलीका कारण नै बिष्टको जन्म भोजपुरमा भएको हो। बुबाको बारम्बार सरुवा हुने जागिरका कारण उनले साल्यानको गुरुकुल, झापाको गोश्वारा मुन्सी र सरकारी स्कुल, अनि काठमाडौंको दरबार हाईस्कुल गरी धेरै ठाउँमा पढे। २००४ वि.सं. मा हाईस्कुल पास गरेपछि त्रिभुवन विश्वविद्यालयबाट बी.ए. र बी.एड. गरे।
साहित्यिक यात्रा
‘आँखा’ शीर्षकको कविताबाट वि.सं. २००४ मा लेखन सुरु गरेका बिष्टको लेखनको मूल सर्वदा समाजका शोषित र उपेक्षित वर्गको दुःखकष्ट रहृयो। उनको उपन्यास ज्योति ज्योति महाज्योति (१९८८, रोयल नेपाल एकेडेमी, ५१२ पृष्ठ) ले सोही सालको मदन पुरस्कार जित्यो। कथासङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छले वि.सं. २०४८ को साझा पुरस्कार जित्यो। चपाइएका अनुहार र भोक र भित्ताहरू पनि उनका उल्लेखनीय कृति हुन्।
साहित्यबाहेक उनको परिवार सङ्गीत क्षेत्रमा पनि चिनिन्छ — उनका छोरा ओमविक्रम बिष्ट नेपालका ‘पप सम्राट’ भनेर चिनिने लोकप्रिय गायक हुन्।