परेको झरीलाई हेर
तिम्रो मन चिसिएन भने
मलाई भन
तिम्रो थाकेको शरिरले
त्यो वर्षाको पहिलो स्पर्श बिर्सियो सायद
सायद तिमीले भुल्यौ
तिमि तल्लीन भयौ आफ्नो कर्तव्यमा
कर्तव्य छोड भन्दिन म
काममा तल्लीन नहोऊ भन्दिन म
ओसिएको यो जमीनको
मिठो सुगन्ध लिई हेर
तिमीले जीवनको स्वाद पाएनौ भने
मलाई भन
झरीको झिनो थोपा
हत्केलामा संगाली हेर
तिमीले आनन्दको प्याला पिएनौ भने
मलाई भन
तिम्रो त्यो निरस जीवनमा
अबोध बालकको मुस्कान बिछ्याई हेर
तिम्रो त्यो कोमल ओठले उसको शब्द बोली हेर
तिमीमा सन्तुस्टीको लहर चलेन भने
मलाई भन
अतीतको संघर्षले शून्य बनाएको
तिम्रो जीवन फेरी फर्की आउने छ
एकचोटि जीवनलाई पुनः आमन्त्रण गर
तिमीमा बांच्ने इच्छा जागेन भने
मलाई भन
खुसी छु तिमीले मलाई बिर्से पनि
सन्तुष्ट छु तिमीले मलाई मनको कुनामा राखेको छौ
विश्वास छ तिमीले मलाई सम्मान गर्छौ
आस्था छ तिम्रो जीवनमा
खुसी, हर्ष, हाँसो र आनन्दको लहर जाग्ने छ
कहिले कतै कूनै समयमा
तिम्रो त्यो क्षणमा रमाउन चाहने म
कहिँ त्यतिखेर मलाई सम्झ्यौ भने
मलाई भन ……
Comments (2)
निकै राम्रो छ !
परेको झरीलाई हेर तिम्रो मन चिसिएन भने मलाई भन...gajab!