1लेख्न कसरी सुरु गर्नुभयो? पहिलो रचना सम्झनुहुन्छ?
सानैदेखि विद्यालयमा पढ्दा मलाई गीति नाटकहरू निकै प्रिय लाग्थे। तिनै नाटकहरू पढ्ने क्रममा कक्षा ६ मा हुँदा मैले पहिलोपटक ‘आजकी चेली’ शीर्षकको एउटा नाटक लेखेकी थिएँ। सायद त्यही नै मेरो लेखनयात्राको पहिलो पाइला थियो। त्यसपछि बिस्तारै शब्दहरूसँग नजिकिँदै गएँ र फाट्टफुट्ट लेख्न थालेँ। यसरी नै मेरो लेखनप्रतिको रुचि विस्तारै अभिव्यक्तिको यात्रामा रूपान्तरण हुँदै गयो।
2तपाईंको पछिल्लो किताब को कथा के हो — यो किन लेख्नुभयो?
मेरो पहिलो प्रकाशित कृति उपन्यास ‘बैकिनी’ हो। यो नारी मनोविज्ञानमा आधारित उपन्यास हो। यसमा कर्णालीका महिलाहरूले भोग्दै आएका दुःख, पीडा, संघर्ष, सामाजिक उत्पीडन र मनभित्र गुम्सिएका अव्यक्त अनुभूतिहरूलाई मनोवैज्ञानिक दृष्टिकोणबाट चित्रण गरेकी छु।
कर्णालीका महिलाहरूको जीवनका अनेकन् कथा र व्यथाहरू समाजका आँखाले देख्न नसके पनि उनीहरूको मनले वर्षौंदेखि बोकेर हिँडिरहेको हुन्छ। तिनै अदृश्य पीडा, मौनता र अदम्य साहसलाई साहित्यमा अभिलेखित गर्ने अभिप्रायले मैले ‘बैकिनी’ लेखेकी हुँ। यो उपन्यास मेरा लागि केवल आख्यान होइन, कर्णालीका ती मौन र अदृश्य महिलाहरूप्रतिको साहित्यिक सम्मान पनि हो।
3लेख्दा तपाईंको दिनचर्या कस्तो हुन्छ? कहाँ, कहिले लेख्नुहुन्छ?
म लेखनका लागि कुनै निश्चित समयतालिका बनाएर बस्ने गर्दिनँ। प्रायः घरमै बसेर लेख्छु। दिनको व्यस्ततापछि रातको शान्त र एकान्त समय मलाई बढी प्रिय लाग्छ। विशेषगरी राति विचारहरूलाई एकाग्र भएर शब्दमा उतार्न सहज हुन्छ। कहिलेकाहीँ कुनै विचार वा भावले छोयो भने समय र परिस्थिति नमिल्दा पनि त्यसलाई टिपोट गरेर राख्ने गर्छु।
4तपाईंलाई सबैभन्दा प्रभाव पारेका लेखक वा किताब कुन हुन्?
मलाई विशेषगरी मनोवैज्ञानिक गहिराइ, मानवीय संवेदना र अस्तित्वका जटिल प्रश्नहरूलाई साहित्यमा उतार्ने लेखकहरूका कृतिले प्रभाव पार्छन्। पारिजात, प्रेमा शाह र अभि सुवेदीका लेखनबाट म प्रभावित छु। त्यसैगरी एनी कार्सनका प्रयोगधर्मी र विम्बात्मक लेखनशैलीप्रति पनि मेरो विशेष रुचि छ।
पुस्तकको कुरा गर्दा मनोविज्ञान, दर्शन, नारी अस्तित्व र मानवीय चेतनासँग सम्बन्धित पुस्तकहरू पढ्न मन पराउँछु। मलाई लाग्छ, राम्रा पुस्तकले कथा मात्र सुनाउँदैनन्, बरु संसार र आफूलाई हेर्ने दृष्टिकोणसमेत बदलिदिन्छन ।
5नयाँ लेखकलाई एउटा सुझाव?
म आफैँ पनि लेखनयात्राको सुरुवाती चरणमै छु। त्यसैले नयाँ लेखकलाई सुझाव दिनुभन्दा एउटा आग्रह गर्न चाहन्छु ।
हामीभन्दा अग्रज लेखकहरूले नयाँ पुस्तालाई निरुत्साहित होइन, उत्साहित र प्रेरित गर्नुपर्छ। नयाँ लेखकका खुट्टा तान्ने होइन, हात समातेर अघि बढ्न हौसला दिनुपर्छ। राम्रा सिर्जनाको खुलेर प्रशंसा गर्ने र सुधार गर्नुपर्ने पक्षमा सकारात्मक तथा रचनात्मक पृष्ठपोषण दिने संस्कारको विकास हुनुपर्छ।
किनकि एउटा नयाँ लेखकलाई स्थापित हुन सबैभन्दा पहिले आवश्यक पर्ने कुरा अवसर, हौसला र आत्मविश्वास हो ।
अन्त्यमा
एक नदीले अर्को नदीसँग ईर्ष्या गर्दैन,
ताराले अर्को ताराको
उज्यालो देखेर चम्किन छोड्दैन ।
प्रकृतिले जस्तै
उदार हुन मान्छे किन सक्दैन र ?
एउटा दीपले अर्को दीप बाल्दा
उज्यालो घट्दैन, फैलिन्छ होइन र?
धन्यवाद । 🙏

Comments · 1
आहा ।