Catch feed

Catch → ‘त्यागको मूल्य’ लेख्दै छु : झापा आन्दोलनको ओझेलमा परेको इतिहास

✓ Unlocked — enjoy the rest of the Catch
Creative Writing

‘त्यागको मूल्य’ लेख्दै छु : झापा आन्दोलनको ओझेलमा परेको इतिहास

तीर्थ सिग्देल

अहिले म झापा आन्दोलनका एक योद्धा मानकुमार तामाङको जीवनकथा लेखिरहेको छु। पुस्तकको नाम ‘त्यागको मूल्य’ राखेको छु। यो पुस्तक उहाँको व्यक्तिगत जीवनको कथा मात्र होइन, झापा आन्दोलनको एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज पनि बनोस् भन्ने मेरो प्रयास हो।

झापा आन्दोलन नेपालको राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो। यो आन्दोलन केवल राजनीतिक विद्रोह वा सत्ता परिवर्तनको प्रयास थिएन, तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिविरुद्ध परिवर्तनको सपना बोकेर अघि बढेको एउटा ऐतिहासिक अभियान पनि थियो। यसमा सहभागी धेरै मानिसले आफ्नो जवानी, पारिवारिक सुख, व्यक्तिगत स्वतन्त्रता र जीवनका अमूल्य समय परिवर्तनको सपनाका लागि समर्पण गरे। कतिपयले लामो समय जेलनेल र यातना भोगे, कतिपयले भूमिगत जीवन बिताए र कतिपयले आफ्नो सम्पूर्ण जीवन नै आन्दोलनमा अर्पण गरे।

मैले मानकुमार तामाङलाई नै किन छानेँ भन्ने प्रश्नको जवाफ उहाँको जीवन र संघर्षभित्रै छ। उहाँ झापा आन्दोलनका त्यस्ता पात्र हुनुहुन्छ, जसको जीवनकथाबाट तत्कालीन राजनीतिक परिवेश, आन्दोलनको कठिन यात्रा, जेलभित्रका अनुभव, राजनीतिक प्रतिबद्धता, पारिवारिक विछोड र व्यक्तिगत त्यागका अनेक पाटाहरू बुझ्न सकिन्छ।  

विडम्बना के छ भने, आन्दोलनमा योगदान गरेका सबै व्यक्तिको जीवन, संघर्ष र त्याग इतिहासमा समान रूपमा अभिलेखित हुन सकेको छैन। केही चर्चित पात्र र घटनाले इतिहासमा पर्याप्त स्थान पाए पनि धेरै महत्त्वपूर्ण योद्धाहरूको योगदान समयक्रममा ओझेलमा पर्दै गएको छ। उनीहरूले भोगेका पीडा, गरेका संघर्ष र देखेका सपनाहरू नयाँ पुस्तासम्म पुग्न सकेका छैनन्।

मैले मानकुमार तामाङलाई नै किन छानेँ भन्ने प्रश्नको जवाफ उहाँको जीवन र संघर्षभित्रै छ। उहाँ झापा आन्दोलनका त्यस्ता पात्र हुनुहुन्छ, जसको जीवनकथाबाट तत्कालीन राजनीतिक परिवेश, आन्दोलनको कठिन यात्रा, जेलभित्रका अनुभव, राजनीतिक प्रतिबद्धता, पारिवारिक विछोड र व्यक्तिगत त्यागका अनेक पाटाहरू बुझ्न सकिन्छ। उहाँको जीवनलाई बुझ्नु भनेको झापा आन्दोलनको एउटा महत्त्वपूर्ण पक्षलाई नजिकबाट बुझ्नु पनि हो। मलाई लाग्छ, उहाँजस्ता पात्रहरूको जीवनकथा अभिलेख गर्न सकिएन भने हाम्रो राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण हिस्सा अधुरै रहनेछ।

यो पुस्तक लेख्ने क्रममा म उहाँसँग प्रत्यक्ष संवाद गरिरहेको छु। उहाँका जीवनका विभिन्न घटनाक्रम, जेल जीवन, राजनीतिक गतिविधि, भूमिगत संघर्ष, पारिवारिक अवस्था, आन्दोलनभित्रका अनुभव र उहाँले देखेका अनेक ऐतिहासिक प्रसङ्गलाई उहाँकै स्मृतिका आधारमा लिपिबद्ध गरिरहेको छु। स्मृतिमा आधारित विवरणलाई उपलब्ध ऐतिहासिक सामग्री, दस्तावेज, समकालीन सन्दर्भ र अन्य व्यक्तिहरूसँगका संवादबाट थप पुष्टि र तथ्यपरक बनाउने प्रयास पनि गरिरहेको छु।

मेरो उद्देश्य कसैको देवत्वकरण गर्नु, कुनै राजनीतिक विचारधाराको प्रचार गर्नु वा विगतका घटनालाई आफ्नो अनुकूल व्याख्या गर्नु होइन। एउटा संघर्षशील मानिसको जीवनलाई सकेसम्म सत्य, इमानदार र मानवीय दृष्टिकोणबाट प्रस्तुत गर्नु हो। उहाँका जीवनका उज्याला पक्षसँगै पीडा, कमजोरी, असहमति र विरोधाभासलाई पनि स्वाभाविक रूपमा समेट्ने मेरो प्रयास रहनेछ।

मलाई लाग्छ, इतिहास ठूला नेता, ठूला घटना र राजनीतिक निर्णयहरूको विवरण मात्र होइन। इतिहास त ती घटनाहरू निर्माण गर्ने सामान्य मानिसहरूको पसिना, आँसु, त्याग र संघर्षको अभिलेख पनि हो। त्यसैले ‘त्यागको मूल्य’ मार्फत एउटा व्यक्तिको जीवनकथा लेख्दै गर्दा म एउटा समय, एउटा आन्दोलन र एउटा पुस्ताको सपना तथा संघर्षलाई पनि अभिलेख गर्ने प्रयास गरिरहेको छु।

अन्ततः यो पुस्तक मानकुमार तामाङको जीवनकथा मात्र होइन, परिवर्तनको सपना देखेर आफ्नो जीवन समर्पण गर्ने एउटा पुस्ताप्रति गरिएको सम्मान र इतिहासले बिर्सन सक्ने पात्रहरूलाई सम्झने एउटा इमानदार प्रयास पनि हो।

Comments (0)

No comments yet — be the first to say something.