शहर झिलीमिली छ ,
नियोन लाइट र आतिसबाजीले
झङ्कारित छन् टोलहरू ।
सँगसँगै, दियो बलेको चाहिँ देखिन्छ,
तर हराएकैछ
तिहार बोकेर ल्याउने दियो ।
घर-आँगन, चुला-चौका
देखिएकै हुन् सफा तर,
हरियो गोबरले लिपेको आँगन,
रातोमाटोको घेरो लगाएर,
गोबरले लिपेको पिंढी,
गाउँ नै थर्किने गरी ढुक-ढुक पारेर,
दुधराज धानको चामललाई,
ढिकीमा कुटी नाङलामा छिन्किएर,
बनाएको पिठोमा,
कैली गाइको नौनीको दाउन हालेर पकाएका, हराएकै हुन सेलरोटी,
सँगसँगै, तिहार बोकेर ल्याउने
दियो हराएकैछ ।
सयपत्री फुलेकै हुन तर,
कोदोबारीको काँल्लाको छेउ हुँदै
आँगनको डिलसम्म
ढकमक्क फुलेका सयपत्री फूलसंगै
केराको दाम्चोमा
सपुरका बात्ती बालेर
गाईगोठ, ढिकी-जाँतो गर्दै,
आँगन छेउको तुलसीको मोठबाट,
केराको थाममा सजाउँदै
भण्डारकोठा भित्रिने
लक्ष्मी हराएकै हुन् ।
सँगसँगै, हराएकैछ
तिहार बोकेर ल्याउने दियो ।
पेट्रोम्याक्स र लालटिन बालेर,
कात्तिकको सितमा लडदै पड्दै,
आँगनमा पुगेर,
मादलको तालमा भट्याउँदै खेलिने,
हराएकै हो देइसी-भैलो,
सँगसँगै, डर लागिरहेकोछ
तिहार बोकेर ल्याउने दियो हराएर्झैं,
झ्याप्प निभ्ने त होइन “जीवन´´??

Comments (8)
तिहार बोकेर ल्याउने दियो हराएर्झैं, झ्याप्प निभ्ने त होइन “जीवन´´??❤️❤️
हार्दिक धन्यवाद ,हजुर 🙏
समयसँगै उज्यालो त बढ्दै गयो, तर तिहारको आत्मा बोकेको त्यो गाउँलेपन र अपनत्व कतै हराउँदै गयो।
हार्दिक धन्यवाद 🙏
परम्परा राम्राे थियाे, आधुनिकताले विस्थापित गर्याे
धन्यवाद हजुर 🙏
सबै कुरा परिवर्तन हुनु हुदैन भन्ने भाव सुन्दर छ।
धन्यवाद , हजुर 🙏