आज घरका देउलीमा दियोहरू बलिरहेका छन्,
आँगनमा सयपत्री मुस्कुराएको छ,
लक्ष्मीका पाइलाको प्रतीक्षामा
उज्यालोले घरको निधार सजाएको छ।
सायद लक्ष्मीले अँध्यारो देखेर
आफ्नो बाटो नबदलून् भनेर।
घर उज्यालो छ, भित्ताहरू उज्याला छन्,
चारैतिर झिलिमिली प्रकाशका आभूषण छन्,
तर उज्यालोको पहुँचबाहिर
एउटा मौन संसार अझै अँध्यारो छ।
जहाँ दीपावलीको घाम पुग्दैन,
जहाँ उत्सवले पीडाको नाम लिँदैन,
त्यहीँ एउटा दियो बलिरहेछ—
देउलीमा होइन, मनको अतल गहिराइमा।
ऊ मौनताको अविरल साक्षी,
अटल धैर्यको सानो शिखर,
रौद्र बतासमा पनि नझुक्ने ज्वाला,
विनयशील प्रकाशको प्रतिमूर्ति।
तेल घट्दै छ, बत्तीमा कालो जम्दै छ,
ज्योतिको देहमा समयका धर्सा छन्,
हावाको गर्जनले शिखर धर्मराउँछ,
तर उसको स्वाभिमान निभ्न जान्दैन।
निभ्नुअघिको त्यो कम्पन सायद साहसको अन्तिम परिभाषा होइन,
आफू रित्तिएर पनि
अँध्यारोलाई पूर्ण हुन नदिने प्रतिरोध हो।
लक्ष्मी आउलिन् कि नआउलिन्,
दियोलाई कुनै खबर छैन,
न स्वर्गको आकाङ्क्षा,
न आफ्नै प्रकाशको अभिमान।
ऊ आफ्नै नियतिको अँध्यारोमा
आफ्नै उज्यालोको अर्थ खोजिरहेछ।
उज्यालो हुनु अँध्यारोलाई जित्नु हो,
कि आफ्नै रिक्तताको रहस्य चिन्नु?
मेरो कोठामा त्यो दियो अझै बल्छ,
झ्यालबाहिर अँध्यारो उस्तै छ,
त्यसैको मधुरो प्रकाशमा
आज मैले आफ्नै छाया भेटेँ।
सायद दियोको रहस्य यही हो,
आफू निभ्ने संघारमा पुगेर पनि
अँध्यारोलाई आफ्नो सम्पूर्णता सुम्पिन नसक्नु।

Comments (0)
No comments yet — be the first to say something.