लघुकथा : दीप्ति
लक्ष्मीपूजाको साँझ थियो। गाउँका घरआँगनमा माटाका दियोहरू झिलिमिली बलिरहेका थिए। झ्याल, ढोका र छतमा रङ्गीचङ्गी विद्युतीय बत्तीका झालर टल्किरहेका थिए। तुलसीको मठदेखि घरका बार्दलीसम्म सजिएका दियो र बत्तीले टोल नै झकिझकाउ देखिएको थियो। रामप्रसादको घरमा पनि दियो र रङ्गीचङ्गी बत्तीले सजावट गरिएको थियो, तर उनको अनुहारमा उज्यालो थिएन। छोरीको विवाहको कुरा अघि बढेको थियो। केटापक्ष आजै आउने खबर पाएदेखि उनको मनमा एउटै प्रश्न घुमिरहेको थियो—दाइजोको कुरा उठ्यो भने के गर्ने? आफ्नो हैसियतले उनीहरूको अपेक्षा पूरा गर्न सकिएन भने कतै छोरीका लागि आएको सम्भ्रान्त परिवारको विवाह प्रस्ताव नै बिग्रिने त होइन? अथवा दाइजो कम भएको निहुँमा छोरीको जीवनमा दुःखको सुरुवात हुने त होइन?
छोरी दीप्तिको विवाहको कुरा सम्पन्न परिवारसँग चलेको थियो। केटा पढेलेखेको र जागिरे थियो। परिवार पनि गाउँमा प्रतिष्ठित र सम्पन्न मानिन्थ्यो। दीप्तिले पनि स्वीकृति दिएकी थिई। यस्तो सम्बन्ध आएकोमा रामप्रसाद र उनकी श्रीमती खुसी थिए। तर आफ्नो आर्थिक अवस्थाले केटापक्षका अपेक्षा पूरा गर्न सकिएला कि नसकिएला भन्ने चिन्ताले खुसी ओझेलमा परेको थियो।
गाउँमा कसैले छोरीलाई सुनले ढाकेर बिदा गरेका थिए, कसैले गाडी वा मोटरसाइकल दिएका थिए। कसैले नगद र फर्निचरको लामो सूची पूरा गरेका थिए। तर केही महिनाअघि मात्रै छिमेकी गाउँकी एउटी छोरीलाई दाइजो कम भएको निहुँमा ससुरालीले माइती फर्काइदिएका थिए। विवाह गरेर गएको घरबाट फर्किएकी ती छोरीको मलिन अनुहार रामप्रसादको आँखामा अझै घुमिरहेको थियो। छोरीले माइतीबाट के ल्याई भन्ने चर्चा उसको पढाइ र स्वभावभन्दा ठूलो हुने गरेको उनले देखेका थिए। त्यही सम्झनाले उनको मन झन् चिसिन्थ्यो। कतै भोलि आफ्नी छोरीको भागमा पनि त्यस्तै दिन आउने त होइन?
सामान्य सरकारी जागिरबाट घर चलाउँदै रामप्रसादले एक छोरी र दुई छोरालाई हुर्काएका थिए। तीनै सन्तानको पढाइमा उनले कुनै भेदभाव गरेका थिएनन्। दीप्तिको पढाइका लागि श्रीमतीका पुराना गहना बेच्नुपरेको थियो भने छोराहरूको पढाइका लागि पनि उनले आफ्ना रहर थाती राखेका थिए। जेठो छोरो भर्खरै काम गर्न थालेको थियो, कान्छो अझै पढ्दै थियो। तीनै सन्तानलाई सक्षम बनाउने उनको चाहना थियो। त्यही छोरीको विवाहमा भने उनी ऋणको हिसाब गर्दै थिए।
“आज दीपावली, सबैको घरमा उज्यालो छ। तपाईंको अनुहार किन अँध्यारो?” श्रीमतीले सोधिन्।
“केटापक्षले केही मागे भने के गर्ने?”
“अहिलेसम्म त केही भनेका छैनन्।”
“मागेनन् भने पनि समाजले के भन्ला? छोरीलाई खाली हात पठायो भन्लान्।”
श्रीमतीले दियोमा तेल थप्दै भनिन्, “छोरीलाई खाली हात कहाँ पठाएका छौँ र? पढाएका छौँ, आफ्नै खुट्टामा उभिन सिकाएका छौँ। आफ्नै घरकी लक्ष्मी, आँखाकी ज्योति उनीहरूलाई सुम्पिँदै छौँ। अरू के चाहियो?”
रामप्रसादले लामो सास फेरे। “समाजले त सामानको पोको हेर्छ नि!”
एकातिर लक्ष्मीपूजाको तयारी चल्दै थियो, अर्कोतिर पाहुनाका लागि चिया–खाजा तयार हुँदै थियो। दीप्ति आमालाई सघाइरहेकी थिई। रामप्रसादले घरआँगन सफा गरे र सफा लुगा लगाए। खल्तीमा ऋणको हिसाब लेखिएको कागज राखे। बाहिर दियोको उज्यालोले जगत् नै झिलिमिली देखिन्थ्यो, तर उनको मनको अँध्यारो भने उस्तै थियो।
केही बेरमै केटाका बुबाआमा आइपुगे। सामान्य भलाकुसारीपछि पढाइ, जागिर र विवाहको मितिबारे कुरा चल्यो। रामप्रसादको ध्यान भने दाइजोको प्रसङ्ग कहिले उठ्ला भन्नेमै थियो। चियाको कप समातिरहेका उनका औँला काँपिरहेका थिए।
चिया सकिनै लाग्दा केटाका बुबाले भने, “सम्धीजी, अब विवाहको तयारी गर्नुपर्ने भयो। जन्ती र दाइजोको विषयमा पनि कुरा गरौँ। तपाईंले चाहिँ के–के तयारी गर्नुभएको छ?”
रामप्रसादको अनुहार मलिन भयो। उनले खल्तीबाट कागज निकालेर अघि सारे।
“हजुर, मेरो हैसियत त थाहै छ। सकेसम्म केही सुनका गहना, नगद र घरायसी सामानको व्यवस्था गरेको छु। बाँकीका लागि ऋण लिनुपर्ने हुन्छ।”
केटाका बुबाले कागज नियाले। “यो सबै कसैले मागेको हो र?”
“मागेको त कसैले छैन। आजकल यस्तै चलन छ। छोरीलाई खाली हात पठाउन पनि मन लाग्दैन।”
केटाका बुबाले आश्चर्य मान्दै सोधे, “माग्दै नमागेको कुरा दिनकै लागि किन ऋण लिनुपर्ने? तपाईंहरूले हाम्रा लागि छोरी जन्माएर हुर्काई योग्य बनाउँदासम्म हामीले कुनै लगानी गरेका थियौँ र? आफ्नै मुटुको टुक्रा हामीलाई सुम्पिँदा फेरि दाइजो किन दिनुपर्ने?”
रामप्रसाद चुप लागे।
केटाका बुबाले कागज टेबलमा राखे। “सम्धीजी, तपाईंले छोरीलाई पढाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुभयो। मैले पनि छोरालाई पढाएर आफ्नो जिम्मेवारी आफैँ सम्हाल्न सक्ने बनाएको छु। उनीहरूलाई सक्षम बनाउनु हामी दुवै अभिभावकको कर्तव्य थियो। अब यी दुईले मिलेर आफ्नो गृहस्थी आफैँ सम्हाल्नुपर्छ। उनीहरूको सुखी जीवनका लागि आशीर्वाद दिनु नै हाम्रो जिम्मेवारी हो। हामीलाई तपाईंकी छोरी चाहिएको हो, यो कागजमा लेखिएका सामान होइनन्।”
भान्साको ढोकामा उभिएकी दीप्ति सबै कुरा सुनिरहेकी थिई। ऊ अघि बढी र कागज टिपी।
“बुबा, यो के हो?”
“केही होइन, छोरी।”
“मेरो बिहेका लागि ऋण लिन लाग्नुभएको?”
रामप्रसादले उत्तर दिएनन्।
“मलाई पढाउन आमाका गहना बेच्नुभयो। दाजुभाइको पढाइ र घरखर्चका लागि पनि कति दुःख गर्नुभयो। अब मेरो विवाहका लागि फेरि ऋण बोक्नुहुन्छ? म आफ्नै खुट्टामा उभिएकी छु, बुबा। श्रीमान्सँग काँधमा काँध मिलाएर गृहस्थी सम्हाल्न सक्छु। मेरा कारण तपाईंहरू र दाजुभाइ ऋणको बोझमा पर्नु पर्दैन। मेरो खुसीका लागि तपाईंहरूको बाँकी जीवन ऋण तिर्दै बितोस् भन्ने म चाहन्नँ।”
रामप्रसादले छोरीतिर हेरे। “तर छोरीको विवाहमा बाबुले केही न केही दिनैपर्छ नि!”
“दिनुपर्ने कुरा त तपाईंले मलाई पहिल्यै दिइसक्नुभएको छ, बुबा। अब मलाई सामान होइन, तपाईंहरूको आशीर्वाद चाहिन्छ।”
केटाका बुबाले दीप्तितिर हेरे। “छोरी, तिमीसँग भएको विद्या, सीप र संस्कार नै हाम्रो घरको सम्पत्ति हो। हाम्रो घरमा आउँदा कुनै सामान ल्याउनुपर्दैन। आफ्नो क्षमता र आत्मसम्मान लिएर आउनू। रथका दुई पाङ्ग्राझैँ बनेर आफ्नो संसार सजाउनु।”
रामप्रसादले उनको हात समाते। “आज तपाईंले मेरो ठूलो बोझ हलुका गरिदिनुभयो।”
“बोझ त तपाईंकी छोरीले हलुका गरिन्, सम्धीजी।”
पाहुनाहरू बिदा भए। रामप्रसादले खल्तीबाट ऋणको हिसाब लेखिएको कागज निकाले। केही बेर त्यसलाई हेरिरहे र दीप्तिलाई दिए।
“तिम्रो विवाहका लागि ऋण लिन तयार पारेको हिसाब हो, छोरी। अब यसको कुनै आवश्यकता रहेन।”
दीप्तिले कागज च्यातेर टुक्राटुक्रा पारी। रामप्रसादले छोरीलाई अँगालो हाले।
“ल, अब सबैजना दियो बालौँ, लक्ष्मीपूजाको साइत भयो,” आमाले भनिन्।
दीप्तिले एउटा दियो बुबाको हातमा थमाई, अर्को आमालाई र बाँकी दाजुभाइलाई। सबैले आँगनभरि दियो बाले। रामप्रसादले एउटा दियो तुलसीको मठमा राखे। त्यसको ज्योतिमा उनको अनुहार उज्यालियो। उनले दीप्तितिर हेरे। आँगनमा धेरै दियो बलिरहेका थिए; तर आज उनले सबैभन्दा उज्यालो आफ्नै छोरीमा देखे।
— अन्जु चालिसे रूपान्जली
१६ कात्तिक २०८३, सोमवार

Comments (0)
No comments yet — be the first to say something.