Catch feed

Catch → निभेको दियो।

✓ Unlocked — enjoy the rest of the Catch

आमा,यो तिहार भनेको के हो ?
दियोको मधुरो उज्यालोमा कखरा पढ्दै गरेकी बालिका स्मृतिले आमासँग प्रश्न गरि।
केही समय अगाडिको बाढीले सर्वस्व बगाएपछि शरण मागेर बसेकी रुन्दाताले भक्कानिएको स्वरमा जवाफ दिइन्, "समय आएपछि आफैँ बुझ्नेछिस। अब तेरा दाजुभाइ पनि छैनन्, तिहारको रमाइलो मनाउने हैसियत पनि छैन। बा कहाँ छन्, के गर्दै छन्, केही अत्तोपत्तो छैन।
माथि रसुवातिर कता काम पाइएको छ भन्दै हिँडेको पनि महिनौँ भयो। अहिलेसम्म केही खबर आएको छैन!"
स्मृतिले आमाको कुरा बुझ्न सकिन। उ कापी बन्द गरेर त्यहीँ लुपुक्क निदाइ। तर, रुन्दाताको मन र आँखाले भने रातभरि आराम पाउन सकेनन्।

झ्यालबाट चिसो सिरेठो भित्र आइरहेको थियो।जसले गर्दा निदाउनु उनको निमित्त झन् कष्टकर बन्यो।

भोलिपल्ट कुकुर तिहारको दिन थियो।
रुन्दाता एकाबिहानै उठेर जिल्ला प्रशासन कार्यालयतिर लागिन्। आफ्नो पतिको विवरण देखाउँदै उनले एउटा कर्मचारीलाई सोधिन्, "मेरो बुढाको केही अत्तोपत्तो पाइयो कि सर?"
कर्मचारीले कम्प्युटरमा केही टाइप गरे र एकैछिन घोरिएर हेरे। अनि लामो सास तान्दै भने, "तपाईँले दिनुभएको डिएनए स्याम्पलसँग मेल खाने एउटा हातको टुक्रा पहिचान भएको छ। त्यसैले तपाईँको श्रीमानलाई मृत घोषित गरिएको छ। सम्बन्धित ठाउँमा आवश्यक प्रक्रिया मिलाएर अवशेष लैजान सक्नुहुन्छ।"
कर्मचारीको कुरा सुनेपछि रुन्दाता अक्क न बक्क भइन्। हातको थैलो भुइँमा फ्यात्त फालेर उनी त्यहीँ थचक्क बसिन्। एकाएक संसारबाट केही हराएको जस्तो लाग्न थाल्यो। जिवनबाट केही लुटिएको जस्तो आभाष हुन थाल्यो। केवल एक्लो र निर्दो अनुभुती भयो। साथै उनका आँखा वरिपरि स्मृतिको त्यो निर्दोष अनुहार नाचिरह्यो।

प्रक्रिया पूरा गरेर अवशेष बुझ्दासम्म उनी होसमै थिइनन्। हातमा हात राखेर, अग्निलाई सात फेरो घुम्दै सात जुनीसम्म सँगै बाँच्ने र मर्ने कसम खाएको मान्छेको हात! जुन हातले परिवारको पेट पाल्न अहोरात्र मिहिनेत गर्‍यो, आज त्यही हात मात्र उनको हातमा आइपुगेको थियो। एकपटक उनले त्यो हात बिस्तारै सुम्सुम्याइन। आखाबाट बगिरहेको पिडाको वर्षा थामिने छाट नै थिएन। जनतन उनी हात लिएर कार्यालय बाहिर निस्किइन। आफ्नो भन्ने कोहि थिएन।
कहाँ जाने?
कसलाई गुहार्ने?

घाटमा पुगेर उनले त्यो हातको एक्लै सदगत गरिन्। निकै बेरसम्म उनी घाटको एक छेउमा टोलाइरहिन्। उठौँ भन्दा पनि उनको शरीरमा तागत थिएन, उनी उठ्न सकिरहेकी थिइनन्।
साँझ पर्नै आँटेको थियो।
घरमा स्मृतिले अँध्यारो हटाउनका लागि दियो बाल्ने प्रयास गरि । तर दियोमा तेल सकिएको थियो। घरमा तेल ल्याउने त्यो भरपर्दो हात पनि सधैँका लागि अग्निको ज्वालामा समाहित भइसकेको थियो।

Why is the writer's name hidden?WritingNepal judges entries without looking at the writer's name: connection to the theme, language and craft, originality, and impact on the reader. The name appears when the results are announced.

Comments (0)

No comments yet — be the first to say something.