Catch feed

Catch → विचार:

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

विचार:

पुरुषको नजरमा स्त्री: एउटा शाश्वत विरोधाभास, स्वप्न र भ्रम

मानवीय संवेदनाका अनगिन्ती पत्रहरूलाई पल्टाउँदा पुरुष र स्त्रीबीचको सम्बन्ध सधैँ एक जटिल, गहिरो र रहस्यमय आयामको रूपमा उभिने गरेको छ। पुरुषको अस्तित्व र यसको सम्पूर्ण यात्रा कतै न कतै स्त्रीकै वरिपरि घुमिरहेको हुन्छ। जीवनको यो दार्शनिक धरातलमा उभिएर हेर्दा, पुरुषको मानसपटलमा स्त्री कुनै साधारण पात्र वा भौतिक वस्तु मात्र होइन, बरु यो त एउटा यस्तो गहन विरोधाभास हो जहाँ प्रेम र विडम्बना एकसाथ अङ्कमाल गरेर बसेका हुन्छन्।

पुरुषले आफ्नो जीवनमा जसलाई सबैभन्दा अगाध प्रेम गर्छ, जसका लागि रात-रातभर जागेर आफ्ना भावनाहरूलाई कविताका अक्षरमा उतार्छ र पृथ्वीका सारा सुन्दर फूलहरू उसका पाउमा अर्पण गर्न तयार हुन्छ, त्यो उही प्रिय स्त्री नै हो। विरहको गहिरो पीडामा रुँदा होस् या आफ्ना मनका रंगीन सपनाहरू सजाउँदा होस्, पुरुषको हर खुसी र वेदनाको केन्द्रबिन्दुमा स्त्री नै उपस्थित हुन्छिन्। यसको अजर-अमर पौराणिक दृष्टान्त हामी रामायणमा पाउँछौँ, जहाँ मर्यादा पुरुषोत्तम रामले आफ्नी प्रियतमाको पुनरागमनका लागि समुद्रमा पुल बाँधे र विराट युद्ध जिते। त्यस्तै, ऐतिहासिक पाटोमा नजर लगाउँदा मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नीको विरहमा विश्वकै अनुपम कलाकृति ‘ताजमहल’ निर्माण गरे। यी दृष्टान्तहरू प्रेम, समर्पण र त्यागको पराकाष्ठा हुन्, जहाँ पुरुषले आफ्नो सर्वस्व न्यौछावर गरेको पाइन्छ।

तर, यसै प्रेमको ठीक विपरीत यो सम्बन्धभित्र एउटा असाध्यै पीडादायक र कालो यथार्थ पनि लुकेको छ। जुन स्त्रीलाई पुरुष आफ्नो जीवनको प्राण मान्छ, विडम्बनाको कुरा— इतिहासदेखि वर्तमानसम्म उही पुरुषबाट स्त्री हिंसा, अविश्वास, अपमान र क्रूरताको सिकार पनि हुनुपरेको छ। यसको ज्वलन्त पौराणिक दृष्टान्त महाभारतको कौरव सभा हो, जहाँ द्रौपदीको अपमान र चीरहरणको घटना पुरुषवादी अहङ्कारको विडम्बनापूर्ण रूप बनेर देखियो। अगाध प्रेमका बाबजुद सीताले भोग्नुपरेको संशय र अग्निपरीक्षाले स्त्रीमाथि हुने अविश्वासको गहिरो पाटोलाई उजागार गर्छ। आधुनिक युगमा आइपुग्दा पनि एकातिर स्त्रीलाई देवी मानेर पूजा गर्ने परम्परा छ भने, अर्कोतिर समाजका विभिन्न तहमा हुने हिंसा, उत्पीडन र अपमानका घटनाले पुरुषको चरित्रभित्रको यही विरोधाभासलाई छर्लङ्ग पार्छ।

यी सम्पूर्ण अन्तर्द्वन्द्व, शंका र विडम्बनाका बाबजुद पनि पुरुष कहिल्यै स्त्रीबाट अलग रहन सक्दैन। जब प्रियतमा टाढा हुन्छिन्, तब उ फेरि तिनै स्त्रीलाई प्राप्त गर्नका लागि दुनियाँको अन्तिम कुनासम्म पुग्न तयार हुन्छन्। पौराणिक र लोककथाहरूमा झैँ दुर्लभ नीलो कमल खोज्न निस्कने यात्रीजस्तै पुरुष सधैँ स्त्रीको सामीप्य र प्रेमको खोजीमा भौंतारिरहन्छ।

अन्त्यमा, पुरुषको नजरमा स्त्री एउटा सुन्दर स्वप्न हो, भ्रमको एउटा मोहक जालो हो र जीवनभर नसुल्झिने गहन विरोधाभास हो। यही विरोधाभासले नै मानव जीवनलाई सङ्घर्षपूर्ण, रङ्गीन र अर्थपूर्ण बनाएको छ।

योगी नारायण नाथ 

सुन्दर कञ्चन कोलोनी 

इटहरी१,सुनसरी

Comments (0)

No comments yet — be the first to say something.