पाखण्ड, दमन र आत्मस्वीकारको ओशो-दर्शन
भगवान् ओशोले पाखण्डको तमासा देख्दा सायद मनमनै मुस्कुराउँदा हुन्! हाम्रो समाजमा ‘मुखमा रामराम, बगलीमा छुरा’ बोकेर हिँड्नेहरूको कुनै कमी छैन। बाहिरबाट हेर्दा भद्र, शान्त, त्यागी र आदर्शको प्रतिमूर्ति देखिने मान्छेको भित्री संसारमा भने लोभ, ईर्ष्या, क्रोध र अहङ्कारको आगो दन्किरहेको हुन सक्छ। भगवान् ओशोको चिन्तनमा पाखण्ड केवल अरूलाई झुक्याउने एउटा चालबाजी होइन, यो त आफ्नै वास्तविकतालाई छोपेर समाजको आँखामा असल देखिने प्रयत्नमा मान्छेले आफैँमाथि ओढेको कृत्रिम मुखुण्डो हो।
हामी बाल्यकालदेखि नै समाज, धर्म र संस्कारका अनेकौँ साँचोमा ढालिँदै आउँछौँ। ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नु हुँदैन’ भन्ने उपदेश सुन्दासुन्दै आफ्ना स्वाभाविक भावनालाई दबाउन सिक्छौँ। मनमा रिस उठिरहेको हुन्छ, तर ओठमा मुस्कान सजाउनुपर्छ। भित्र तृष्णाको आगो बलिरहेको हुन्छ, तर बाहिर वैराग्यको प्रवचन दिनुपर्छ। प्रश्न उठ्छ—दबाउँदैमा भावना कहाँ मर्छन् र? ती त खरानीमुनिको आगोझैँ भित्रभित्रै सल्किरहन्छन् र अनुकूल अवसर पाउनासाथ विस्फोट हुन्छन्। यसरी मान्छेको व्यक्तित्व दुई भागमा विभाजित हुन्छ—एउटा समाजलाई देखाउन तयार पारिएको कृत्रिम अनुहार र अर्को आफ्नै अन्तरमनमा लुकेको वास्तविक स्वरूप। अन्ततः मान्छे अरूलाई छल्न खोज्दाखोज्दै आफ्नै वास्तविकताबाट टाढिँदै जान्छ।
त्याग र नैतिकताको ढोल पिट्नेहरूको अवस्था झन् विचारणीय छ। संसार त्यागेको घोषणा गर्नेहरूकै मनमा भोगको तृष्णा जीवित हुन सक्छ। बाहिर संयमको आवरण ओढेर भित्र इच्छाको बजार सजाइरहेको व्यक्तिले आफूलाई कसरी विरक्त भन्न सक्छ? ओशोको दर्शनले औँल्याउने एउटा महत्त्वपूर्ण पक्ष यही हो—दमनले इच्छाको अन्त्य गर्दैन, बरु त्यसलाई अर्को रूप र अर्को भेषमा प्रकट हुने बाटो दिन्छ। दबाइएको वासना कहिले धार्मिक अहङ्कार बनेर निस्कन्छ, कहिले ज्ञानको प्रदर्शन बनेर, त कहिले त्यागको प्रतिष्ठा बनेर। विनम्रता, सेवा र साधनाको मुखुण्डो यति कसिलो हुन्छ कि लगाउने व्यक्ति आफैँ पनि त्यसैलाई आफ्नो वास्तविक अनुहार ठान्न थाल्छ। तर बाहिरी आवरण र भित्री यथार्थबीचको दूरी हेर्ने हो भने हात्तीका देखाउने र खाने दाँतको अन्तरभन्दा कम हुँदैन। मुखले ‘म केही होइन’ भन्ने, तर मनभित्र ‘मभन्दा ठूलो कोही छैन’ भन्ने अहङ्कार पाल्ने प्रवृत्ति पनि पाखण्डकै एउटा सूक्ष्म रूप हो।
हाम्रो समाजमा साँच्चिकै असल हुनुको तुलनामा असल देखिनु ठूलो उपलब्धि बनेको छ। कामभन्दा कुरा र आचरणभन्दा प्रचारको मूल्य बढेको छ। मान्छे आफ्नै अन्तरात्माको सन्तुष्टिका लागि होइन, अरूको ताली र प्रशंसाका लागि बाँच्न थालेको छ। मनमा नभएको कुरा बोल्छ, मनमा भएको सत्य लुकाउँछ। आफ्नै आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा देख्ने प्रवृत्तिले गर्दा अरूलाई उपदेश दिन हामी सधैँ तयार हुन्छौँ, तर आफ्नै कमजोरीको सामना गर्ने बेला भने अनेकौँ बहाना खोज्छौँ। अरूको चरित्रमाथि औँला उठाउनुअघि आफ्नै आचरणको ऐनामा हेर्ने साहस हामीमा कति छ? भित्री बेइमानीलाई लुकाएर बाहिर आदर्शको रङ पोत्नु भनेको अरूलाई मात्र होइन, अन्ततः आफैँलाई धोका दिनु हो।
नक्कली साधु बन्नुभन्दा आफ्ना कमजोरी स्वीकार गर्न सक्ने साँचो मान्छे हुनु धेरै उत्तम हो। मभित्र रिस छ, लोभ छ, ईर्ष्या छ, भय छ र अहङ्कार पनि छ भनेर इमानदारीपूर्वक स्वीकार गर्नु नै रूपान्तरणको पहिलो खुड्किलो हो। आफूभित्र जे छ, त्यसलाई नकारेर वा दबाएर चेतना निर्मल हुँदैन। ओशोको दर्शनले जोड दिने साक्षीभावको मर्म पनि यही हो—आफ्ना विचार, भावना, इच्छा र प्रतिक्रियालाई कुनै पूर्वाग्रह नराखी सजगतापूर्वक हेर्नु। अँध्यारो कोठामा ढुङ्गा हानेर अँध्यारो हट्दैन; त्यहाँ बत्ती बाल्नुपर्छ। त्यसरी नै आफ्ना विकारसँग युद्ध गरेर होइन, तिनलाई स्पष्ट रूपमा चिन्न र बुझ्न सकेर मात्र तिनको प्रभावबाट मुक्त हुने बाटो खुल्छ।
आखिर पाखण्डको अन्त्य अरूलाई सुधार्ने उपदेशबाट होइन, आफ्नै भित्री यथार्थसँग साक्षात्कार गर्ने साहसबाट सुरु हुन्छ। जब मान्छे अरूको आँखामा असल देखिने लालसा त्यागेर आफ्नै आँखामा इमानदार बन्न सिक्छ, तब मुखुण्डोको आवश्यकता क्रमशः हराउँदै जान्छ। त्यसपछि उसलाई न त त्यागको प्रदर्शन गर्नुपर्छ, न विनम्रताको अभिनय। उसको व्यवहार नै उसको परिचय बन्न थाल्छ।
किनकि मानिसको वास्तविक उचाइ उसले समाजसामु कति पवित्र देखिन सक्छ भन्ने कुराले होइन, एकान्तमा आफ्नै भित्री ऐनाअगाडि उभिँदा आफूलाई कति इमानदारीपूर्वक स्वीकार गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ।
कन्चन पुडासैनी ( Heart Shine )
टाउँजी ‘ म्यन्मार


Comments (0)
No comments yet — be the first to say something.