Catch feed

Catch → प्रश्न गर्न कहिल्यै नछोड्नुहोस्। उत्तर खोज्ने यात्रामै ज्ञानको सुरुवात हुन्छ।

✓ Unlocked — enjoy the rest of the Catch
free writes

प्रश्न गर्न कहिल्यै नछोड्नुहोस्। उत्तर खोज्ने यात्रामै ज्ञानको सुरुवात हुन्छ।

के यो ब्रह्माण्डको कुनै अदृश्य ढोका छ ?

ईश्वर, विज्ञान, मृत्यु, प्राचीन सभ्यता र मानिसको अधुरो जिज्ञासा

कहिलेकाहीँ मानिसको दिमागमा यस्ता प्रश्नहरू जन्मिन्छन्, जसको उत्तर खोज्न ऊ आफैँ सँग पनि अलमलिन्छ । प्रश्नहरू सामान्य हुन्छन्, तर तिनले छोएको विषय असामान्य हुन्छ । एउटा प्रश्नले धर्मसम्म पुर्‍याउँछ, अर्कोले विज्ञानसम्म, अर्कोले ब्रह्माण्डको अन्तिम सीमासम्म तान्छ ।

आज म पनि यस्तै केही प्रश्नहरूसँग अल्झिएको छु ।

मलाई भगवान सँग केही माग्नु छैन । म सँग हात छन्, खुट्टा छन्, सोच्न सक्ने थोरै दिमाग छ, महसुस गर्न सक्ने मन छ, धड्किरहने मुटु छ । म स्वस्थ छु, सकुशल छु र आफू सँग भएको कुरामा सन्तुष्ट छु । तर सन्तुष्ट हुनु भनेको जिज्ञासाहीन हुनु होइन रहेछ ।

मलाई जान्न मन लाग्छ—यो संसार कसरी चलिरहेको छ ? कसले चलाइरहेको छ ? हामीले देखेको संसार बाहेक अरू कति संसार छन् ? हामीले नदेखेको कुनै शक्ति छ कि छैन ? अनि छ भने त्यो शक्ति सँग हाम्रो सम्बन्ध के हो ?

१. अदृश्य शक्ति मैले मान्ने “महादेव” ! तपाईं कहाँ हुनुहुन्छ ?

हामी शिवलाई महादेव भन्छौँ । सर्वशक्तिमान् भन्छौँ । सृष्टिको संहारकर्ता भन्छौँ । अदृश्य शक्ति भन्छौँ । कैलाश पर्वतमा विराजमान हुनुहुन्छ भन्छौँ ।

तर मेरो मनमा एउटा सीधा प्रश्न उठ्छ—यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने आफूले सिर्जना गरेको मानिसको अगाडि आउन किन सक्नुहुन्न ?

तपाईंले नै मानिस सृष्टि  बनाउनु भयो । उसलाई बुद्धि दिनुभयो, भावना दिनुभयो, कल्पना गर्न सक्ने क्षमता दिनुभयो । उसलाई राम्रो र नराम्रो छुट्याउन सक्ने विवेक दिनुभयो । तर आज त्यही मानिस तपाईंको अस्तित्व खोजिरहेको छ ।

के तपाईं मानिस सँग डराउनुहुन्छ ? कि मानिसले तपाईंलाई चिन्न सकेको छैन ?

तपाईं अदृश्य भएर माथिबाट सबै कुरा हेरिरहनु भएको छ भन्ने हाम्रो विश्वास छ । तर आफैँले सिर्जना गरेको एउटा जीवसँग आफ्नो अस्तित्व प्रमाणित गर्न नसक्ने अवस्था किन आयो ?

यदि तपाईं हुनुहुन्छ भने तपाईंको उपस्थितिको कुनै स्पष्ट अनुभूति किन छैन ? यदि हुनुहुन्न भने हजारौँ वर्ष देखि मानिसले तपाईंको खोजी किन गरिरहेको छ ?

मलाई तपाईंको पूजा गर्नुभन्दा पहिले तपाईंलाई बुझ्न मन छ ।

२. ब्रह्मा, विष्णु र महेशको संसारमा पनि राजनीति चल्छ ?

हामीले सुन्दै आएका छौँ—ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता र महेश संहारकर्ता ।

तर पुराणका कथाहरू पढ्दा देवताहरूबीच पनि विवाद, प्रतिस्पर्धा, अहंकार, श्राप, वरदान र शक्ति-सङ्घर्षका प्रसङ्ग भेटिन्छन् ।

त्यसो भए देवताहरूको संसारमा पनि राजनीति चल्छ ?

यदि मानिसको संसारमा सत्ता, अधिकार र स्वार्थका लागि लडाइँ हुन्छ भने देवताहरूका कथामा पनि त्यस्ता द्वन्द्व किन देखाइएका छन् ?

के यी कथाहरूले देवताहरूको वास्तविक संसार देखाउन खोजेका हुन्, कि मानिसकै स्वभावलाई देवताका पात्रमार्फत बुझाउन खोजेका हुन् ?

कहिलेकाहीँ लाग्छ, मानिसले आफ्नो संसार बुझाउन देवताहरूको संसार पनि आफ्नै जस्तै बनाएर कल्पना गरेको त होइन ?

३. शिवलाई भेट्न जाँदा पनि यति धेरै अनुमति लिनुपर्ने ?

कल्पना गर्नुस्, म एक दिन शिवजीलाई भेट्न निस्किएँ ।

पहिले पृथ्वीबाट स्वर्ग र नर्कको ढोका पार गर्नुपर्ला। त्यहाँबाट इन्द्रको शासन भएको ठाउँ पुग्नुपर्ला । इन्द्रको दरबारमा चौकीदारी गर्नुपर्ने हो कि अप्सराहरूको नाचमा मादल बजाउनुपर्ने हो, त्यो पनि थाहा छैन !

त्यहाँबाट सिधै कैलाश पुग्न पाए हुन्थ्यो । तर कैलाशमा नन्दी छन्, भृङ्गी छन् । पार्वती माताको अनुमति लिनुपर्ने होला । गणेशजी र कुमार पनि हुनुहुन्छ ।

अब यति धेरै ढोका, पाले र अनुमति पार गरेर टुप्पोमा बस्नुभएका महादेवलाई भेट्न कसरी पुग्ने ?

तर मेरो प्रश्न त धेरै सामान्य छ—म उहाँसँग कुनै वरदान माग्न गएको होइन । केवल केही कुरा सोध्न गएको हुँ ।

म सोध्न चाहन्छु, हे महादेव, मानिसले आफ्नो जीवन अरूका लागि खर्च गर्दा पनि अन्त्यमा एक्लोपन पाउनुपर्ने किन ? मानिसले सही र गलत छुट्याउन खोज्दा पनि किन यति धेरै अन्योलमा पर्नुपर्छ ? अनि आफूले नसक्ने कुरा तपाईंले गर्न सक्नुहुन्छ भने मानिसको विवशता किन यति लामो हुन्छ ?

४. मानिसको संसारमा मात्रै राजनीति छ कि माथि पनि ?

हामी पृथ्वीमा राजनीति देख्छौँ । देश, सीमा, सत्ता, शासन, अधिकार र स्वार्थका लागि मानिसहरू विभाजित हुन्छन् ।

तर देवताहरूको कथामा पनि शक्ति र अधिकारका विषयमा विवाद देखिन्छन् ।

त्यसो भए के राजनीति मानिसको स्वभाव हो ? कि जहाँ शक्ति हुन्छ, त्यहाँ प्रतिस्पर्धा जन्मिन्छ ?

यदि स्वर्गको शासन छ, इन्द्रको दरबार छ, ब्रह्मा, विष्णु र महेशका अलग-अलग भूमिका छन् भने के त्यो पनि कुनै व्यवस्थापन प्रणाली हो ?

कि यी सबै मानिसले संसारको व्यवस्था बुझ्न बनाएका प्रतीकात्मक कथा हुन् ?

मलाई यी प्रश्नहरूको उत्तर थाहा छैन । तर प्रश्न गर्न मन लाग्छ ।

५. पृथ्वीबाहेक अरू पृथ्वी छन् ?

हामी बसेको पृथ्वी एउटा विशाल ब्रह्माण्डको सानो ग्रह हो । राति आकाशतिर हेर्दा देखिने ताराहरू आफैँमा अलग-अलग संसार हुन सक्छन् ।

विज्ञानले हाम्रो सौर्यमण्डलबाहिर हजारौँ ग्रहहरू पत्ता लगाइसकेको छ । तिनलाई एक्सोप्लानेट भनिन्छ ।

तर प्रश्न अझै बाँकी छ—के ती ग्रहहरूमा पनि हामीजस्तै सास फेर्ने प्राणी छन् ?

के त्यहाँ पनि मानिसजस्तै परिवार हुन्छ ? कसैले माया गर्छ? कसैले दुःख भोग्छ ? कसैले आफ्नो भगवान् खोज्छ ? कसैले मृत्युको अर्थ बुझ्न खोज्छ ?

के त्यहाँ पनि कुनै प्राणी राति आकाश हेरेर पृथ्वीलाई खोजिरहेको होला ?

हामी यहाँबाट उनीहरूलाई सम्पर्क गर्न सकिरहेका छैनौँ । उनीहरू पनि हामीसँग सम्पर्क गर्न सकिरहेका छैनन् ।

हाम्रो प्रविधिले नभ्याएको हो कि उनीहरूको प्रविधिले ? दूरीले रोकेको हो कि समयले ? हामीले पठाएका सङ्केत उनीहरूसम्म पुगेका छैनन् कि उनीहरूको भाषा र सञ्चार प्रणाली नै हामीले बुझ्न नसक्ने खालको छ ?

अहिलेसम्म पृथ्वीबाहिर जीवन रहेको पुष्टि भएको छैन । तर पुष्टि नभएको कुरा असम्भव नै हो भन्ने पनि होइन ।

वैज्ञानिकहरूले यसैलाई फर्मी विरोधाभासको रूपमा अध्ययन गर्छन्—यदि ब्रह्माण्डमा यति धेरै तारा र ग्रह छन् भने बुद्धिमान् जीवनको स्पष्ट सङ्केत किन भेटिएको छैन ?

कहिलेकाहीँ त मजाकमै सोच्न मन लाग्छ—कतै ब्रह्मा, विष्णु र महेशले ब्रह्माण्डको बीचमा कुनै अदृश्य गेट बनाइदिएर त्यसको पाले हेमराजलाई राखेका त छैनन् ? हामीले उता जान खोज्दा गेट नै नखुल्ने !

तर त्यो केवल कल्पना हो । वास्तविकता के हो, विज्ञानले अझै पत्ता लगाउन सकेको छैन ।

६. विज्ञानले चन्द्रमा पुग्यो, तर मृत्यु बुझ्न किन सकेन ?

हामी भन्छौँ—यो विज्ञानको युग हो । प्रविधिको युग हो । मानिसले आकाशमा उड्न सक्ने यान बनायो । चन्द्रमासम्म पुग्यो । अन्तरिक्षमा यान पठायो । समुद्रको गहिराइ नाप्यो । शरीरभित्रका कोष र अणुसम्म अध्ययन गर्‍यो ।

तर एउटा प्रश्न अझै अधुरो छ—मृत्यु के हो ?

शरीर कसरी मर्छ भन्ने कुरा विज्ञानले धेरै हदसम्म बुझिसकेको छ । मुटु रोकिन्छ, मस्तिष्कका कार्यहरू बन्द हुन्छन्, शरीरका प्रणालीहरू काम गर्न छोड्छन् ।

तर चेतना के हो? म हुँ भन्ने अनुभूति कहाँबाट आउँछ ? माया, पीडा, सम्झना र आत्मबोध कसरी जन्मिन्छन् ? मृत्युपछि चेतनाको कुनै अस्तित्व रहन्छ कि रहँदैन ?

यी प्रश्नहरूको अन्तिम, सर्वमान्य उत्तर हामीसँग छैन । यो बिज्ञान संग छैन !

मानिसले चन्द्रमाको दूरी नाप्न सक्यो, तर आफ्नै अस्तित्वको अन्तिम रहस्य अझै नाप्न सकेको छैन ।

यही कुरा अचम्म लाग्छ ।

७. प्राचीन सभ्यताको ज्ञान कहाँ गयो ?

हामीले इतिहासमा राजाहरू, महाराजाहरू, विशाल दरबारहरू, रथहरू, मन्दिरहरू, सुरुङहरू, जलप्रणालीहरू र आश्चर्यजनक वास्तुकलाका विवरण पढ्छौँ ।

प्राचीन मानिससँग कस्तो ज्ञान थियो ? उनीहरूले यति ठूला संरचना कसरी बनाए ? त्यतिबेलाको गणित, खगोलशास्त्र, धातुकर्म र निर्माण प्रविधि कसरी विकसित भयो ?

कतिपय ज्ञान समयसँगै हराए । कतिपय ज्ञान पुस्तौँसम्म हस्तान्तरण भए । कतिपय कुरा आज पनि अनुसन्धानकै विषय छन् ।

तर एउटा प्रश्न उठ्छ—हामीले आधुनिक प्रविधि बनायौँ भन्दैमा पुराना पुस्ताको ज्ञानलाई किन कम आँक्ने ?

अनि पुरानो सभ्यता महान् थियो भन्दैमा प्रमाणबिना त्यसका सबै कथालाई वैज्ञानिक तथ्य किन मान्ने ?

हामीले इतिहासलाई न त अन्धविश्वास बनाएर छोड्न मिल्छ, न त अहंकारका कारण त्यसलाई अस्वीकार गर्न मिल्छ ।

हामीले खोज्नुपर्ने कुरा प्रमाण हो, र खुला राख्नुपर्ने कुरा जिज्ञासा हो ।

८. मानिसले मानिसका लागि आफ्नो जीवन किन बिर्सिन्छ ?

यी सबै ब्रह्माण्डीय प्रश्नभन्दा पनि एउटा प्रश्न मेरो आफ्नै जीवनसँग जोडिएको छ ।

मानिसले परिवारको खुसीका लागि आफ्नो खुसी त्याग्छ । आफ्ना रहरहरू रोक्छ । आफ्नो सहज जीवन छोड्छ । आफूले राम्रो जीवन बाँच्न सक्ने सम्भावनालाई पछाडि राखेर परिवारको भविष्य बनाउन खोज्छ ।

तर अन्त्यमा त्यही परिवारले उसको अभाव महसुस गरेन भने ?

जसका लागि आफूले जीवनको ठूलो हिस्सा खर्च गर्‍यो, उनीहरूले नै उसलाई खोजेनन् भने ?

त्यसपछि मानिसले आफ्नो त्यागलाई कसरी बुझ्ने ?

के परिवारका लागि आफ्नो जीवन बिर्सनु नै धर्म हो ? कि आफूलाई पनि खुसी राख्नु धर्म हो ?

के अरूको खुसी रोज्नु गलत हो ? होइन । तर त्यसो गर्दा आफूलाई पूर्ण रूपमा हराउनु आवश्यक छ र ?

मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तर जिम्मेवारीको नाममा आफ्नो अस्तित्व नै मेटाउनुपर्ने हो र?

सायद यही ठाउँमा धर्म, दर्शन र जीवन एकअर्कासँग जोडिन्छन् ।

९. भगवान् हुनुहुन्छ भने सही र गलतको बाटो किन स्पष्ट छैन ?

मानिस गल्ती गर्न सक्छ । उसलाई सबै कुरा थाहा हुँदैन । उसले आफ्नो निर्णयबाट अरूलाई दुःख दिन पनि सक्छ ।

तर यदि भगवान् सर्वज्ञ हुनुहुन्छ भने मानिस गलत बाटोमा जानुअघि एउटा स्पष्ट सङ्केत किन दिनुहुन्न ?

यदि कुनै काम गलत छ भने त्यो गर्नुअघि नै बुझ्न सक्ने माध्यम किन छैन ?

यदि मानिसले कसैलाई सुधार्न खोज्दा आफ्नो जीवन नै गुमाउने अवस्था आउँछ भने उसलाई त्यो कुरा पहिल्यै बुझ्ने क्षमता किन दिइएन ?

धर्मले कर्मको कुरा गर्छ । दर्शनले विवेकको कुरा गर्छ । विज्ञानले कारण र परिणामको कुरा गर्छ ।

तर जीवनमा कतिपय परिस्थिति यस्ता हुन्छन्, जहाँ सही निर्णय के हो भन्ने कुरा परिणाम आएपछि पनि स्पष्ट हुँदैन ।

त्यसैले मानिसले प्रश्न गर्न पाउनुपर्छ । भगवान्सँग पनि प्रश्न गर्न पाउनुपर्छ ।

प्रश्न गर्नु भनेको अपमान गर्नु होइन । सत्य खोज्नु भनेको विश्वासको शत्रु हुनु होइन ।

१०. अन्तिम प्रश्न—हामीलाई थाहा भएको संसारबाहिर के छ ?

हामी जन्मिन्छौँ । हुर्किन्छौँ । पढ्छौँ । काम गर्छौँ । परिवार बनाउँछौँ । सपना देख्छौँ । माया गर्छौँ । दुःख भोग्छौँ । सफलता खोज्छौँ । अनि एक दिन मृत्यु हुन्छ ।

तर यो सबैको अन्तिम अर्थ के हो ?

हामी कहाँबाट आयौँ ? किन आयौँ ? हामीले देखेको ब्रह्माण्डबाहेक अरू कति ब्रह्माण्ड छन् ? समयको सुरुवात कसरी भयो ? चेतना के हो ? मृत्यु अन्त्य हो कि अर्को कुनै अज्ञात अवस्थाको सुरुवात ?

हामीले यी प्रश्नहरूको उत्तर नपाएको भन्दै प्रश्न गर्न छोड्ने हो ?

सायद होइन ।

मानिसको सबैभन्दा ठूलो शक्ति उसले बनाएको मेसिन होइन । उसले उडाएको यान होइन । उसले बनाएको कृत्रिम बुद्धिमत्ता पनि होइनन।

मानिसको सबैभन्दा ठूलो शक्ति हो—उसले प्रश्न गर्न सक्छ ।

एउटा सानो मानिसले विशाल आकाशतिर हेरेर सोध्न सक्छ—यो सबै कसले बनायो ? किन बनायो ? हामी मात्रै छौँ कि अरू पनि छन् ?

उसले भगवान्सँग प्रश्न गर्न सक्छ । विज्ञानसँग प्रश्न गर्न सक्छ । इतिहाससँग प्रश्न गर्न सक्छ । आफ्नै जीवनसँग प्रश्न गर्न सक्छ ।

र सायद यही प्रश्न गर्ने क्षमताले मानिसलाई अझै अगाडि बढाइरहेको छ ।

—

अन्त्यमा…

मलाई न स्वर्ग चाहिएको छ, न नर्कको डर छ । न कुनै देवताको दरबारमा पद चाहिएको छ, न इन्द्रको शासनमा चौकीदारी गर्नुछ । अप्सराहरूको नाचमा मादल बजाउने रहर पनि छैन ।

म त केवल कैलाश पुगेर महादेवलाई केही प्रश्न सोध्न चाहन्छु ।

यदि उहाँ भेटिनुभएन भने ब्रह्माण्डलाई सोधूँला । ब्रह्माण्डले उत्तर दिएन भने विज्ञानलाई सोधूँला । विज्ञानसँग पनि उत्तर नभए प्रकृतिलाई हेरेर फेरि सोचूँला ।

तर प्रश्न गर्न भने छोड्दिनँ ।

किनकि मसँग माग्न केही छैन, तर जान्न धेरै कुरा छन् ।

मलाई उत्तरभन्दा पहिले सत्य चाहिएको छ । विश्वास भन्दा पहिले बुझाइ चाहिएको छ । अनि जीवनले जति प्रश्न दिए पनि तिनलाई सोध्न सक्ने साहस चाहिएको छ ।

सायद यही एउटा जिज्ञासु मनको सबैभन्दा ठूलो सम्पत्ति हो ।

— सुरज गैह्रे ‘विवश’

लेख्न मन पर्ने पागल मान्छे 🙏

3shares
Share this Catch:

Comments (0)

No comments yet — be the first to say something.