कथा – दृश्य
"अलि आँखा देख्दिन बाबै ।" हजुर आमाले नदेखेकोमा पीडा जाहेर गर्नु भयो ।
"होइन हजुर आमा देख्दैमा सुन्दरता मिल्छ र ? " घाँगर लगाएकी सुन्तलिले आँगनको डिलमा बसेर प्रश्न गरिन् । हुन पनि हो आठ बर्ष भन्दा पहिला तर्कको बिकास भएको हुन्न थ्यो । बच्चाहरु जिज्ञासु हुन्थे ।
सानी सुन्तलीको बालहठ प्रश्नले शिवराजलाई आश्चर्य जनायो । सुन्तली दिनहुँ बढ्दै गइन । शहरका अन्य जस्तै नयाँ – नयाँ उमंग लिएर अगाडि बढिन् । समय बित्दै गयो ।
हजुरआमाले सुन्तलीलाई अत्याधिक माया गर्नु हुन्थ्यो । नसक्ने भएपछि साउँको भन्दा ब्याजको माया लाग्ने । छोरा शिवराजलाई भन्दा सुन्तलीलाई बढी माया लाग्ने नै भयो ।
सुन्तलीको त्यो परिवार सुकुमबासी बस्तिमा बस्थे । सुकुम्बासी बस्तिमा राती अचानक डोजर चल्यो । बोल्नेले बास पाए । बोल्न नसक्नेका आवाज टालियो । लगभग मेलम्ची पीडित जस्तै । सामान्य पीडितले करोडौँ ठगे राज्यबाट । जो शरणार्थी बने, तिनलाई कस्ले हेर्नू र ?
नेपाली समाजले जो महिलालाई गरिब देख्यो – बोक्सी भन्यो । जुन यूवा गरिव तथा पीडित बन्यो – उसलाई बहुला भन्यो । शिवराजलाई देख्ने बित्तिक्कै शहरका धेरै मान्छेले बहुला भने । तर होस गुमाएकाहरुको आरोप उनले वास्था गरेनन् ।
डोजरको कोलाहलपछि शीवराजले जब बस्ने बास गुमाए उनी सडकमा चिच्याउन थाले, "जसको कोही हुँदैन । उसको सबै हुन्छ ।"
वरिपरि बस्नेहरु रमिते बने । बलेको आगो ताप्ने हजार हुन्थे । निभ्न लागेको आगो कसैले खोस्रेर बाल्ने चेष्ठा गरेनन् । संघर्षको बिचमा सुन्तलीले बाह्र कक्षामा पढ्दै थिइन् । घर नभएपछि उनले सडकको छेउमा इट्टाको चम्का बनाएर तरकारी ओइरीन् । नालीको दुर्गन्ध नाकमै ठोकिन्थ्यो । तर पनि उनलाई नाली गन्हाएन । शाषकको गलत प्रथा गन्हायो ।
सुन्तलिले बा लाई जान्ने कोसिस गरिन्, "हो र बाबा ?"
"हो छोरी ।" आँखाबाट आँसु खसालेर शिवराज सुस्काए ।
मध्यान्हको खाना खान लाग्दै थिए । अचानक हावा हुरी आयो । त्यो बास स्थान उडाएर पारीपटिको महलमा पुर्यायो । सुन्तलीको परिवारले त्यस दिन पक्की पुल मुनि ओत लिएर रात काटे । न खानु न पिउनु । मौसमले पनि साथ दिएन ।
"कमजोर भएपछि सबैले हेप्दा रहेछन् । म भोलि पर्सि शक्तिशाली बनेर देखाउँछु है, बाबा। " सुन्तलीले एउटा बाल प्रतिज्ञा गरिन् ।
जस- जसले प्रतिज्ञा गरे – बुध्द बने । राजकाज चलाउन सम्राट बने । ज्ञानभएकाहरु ज्ञानी बने । ध्यानमग्न सन्तहरु ध्यानी बने । खोजमा लागेका बैज्ञानिक बने । कारण -एक प्रतिज्ञा । शीवराजको मनमा खुल्दुली भयो ।
"छोरी भनेको तिमी जस्तो हुनु पर्छ नानी ।" फरियाले टाउको छोप्दै सुन्तलीको आमाले सहानुभूति प्रकट गर्नु भयो ।
सडकको बास । भन्नै परेन ! धनाड्य चिच्यायो, " यो बहुलाको सन्तानले कति दुख: दिन सकेका ?"
बिचरा ! शिवराजको के दोष ? हावाले छाप्रो उढाएर लग्यो । धनको अर्थ अहंकार कि सहयोग ? सुन्तलीलाई थाहा थिएन । न थाहा थियो सहरको त्यो कुरुपता । उनलाई लाग्थ्यो धनी भनेका त्यागी हुन्छन् । पीडामा सहयोग गर्छन् र सद्भाव पोख्छन् । धनको सदुपयोग गर्छन् ।
तर उल्टै ती परिवार माथी खनियो धनको दुर्गन्ध। रातको दस बजेपछि रक्सीको मातमा त्यो धनाड्यले शिवराज माथी कार चढायो । निहुँ – जस्ता उडाएर उनको बरण्डामा पुगेको थियो । सुन्तली छाप्रोमा पढिरहेकी थिइन् । उनकी आमा गिट्टी बोक्न टाढा गएकी थिइन् । आउन अलि ढिला नै भयो ।
बाहिर नपुग्दै कार जोडले दौडियो । कसैले नम्बर नोट गर्न पाएनन् । सुन्तलीलाई शंका त लाग्यो । शंकाको आधारमा कसैलाई आरोप लगाउन पाइएन । हतार-हतार सुन्तलीले वरिपरिका छिमेकीको सहयोगमा अस्पताल लगिन् । उपचारको क्रममा शिवराजको मृत्यु भयो । छोराको मृत्युको पीडा सहन नसकेर सुन्तलीको हजुरआमा पनि बित्नु भयो ।
त्यो परिवार अत्यन्त पीडामा पर्यो । महिला मान्छे । कति भारी बोक्न सक्नु ? उनकी आमाले दिनभरी काम गर्दा पनि खान पुग्दैनथ्यो । उता घरमा श्रीमान र शाशुको मृत्यु । त्यसमाथीको झन् गरिबी । नहुनेलाई कसले सहयोग गर्नु र ?
टुहुरो सुन्तलीले बाह्र कक्षामा टप गरिन् । तर पढाइ छोड्न पर्ने बाध्यता आइलाग्यो । यदि आमालाई सुख दिने हो भने जसरी पनि पढेर ठूलो जागिर खानु नै थियो । धनको अर्थ धन कमाउन सक्ने – कला, क्षमता, प्रतिष्ठा, इज्जत र सम्मान हो भनेर प्रमाणित गर्नु थियो ।
जब उनलाई हजुरआमाको याद आयो । उनले अचानक खाटमुनि राखेको हजुरआमाको पूरानो ट्याङ्का उघारिन् । ट्याङ्का भित्र हजुरआमाले नातीनीको लागि जोर जम्मा गरेको दुई लाख फेला पर्यो । उक्त रकम भए उनले सहजै पढ्न सक्थिन् । सुल्क तिर्ने छाँटकाँट देखेपछि सुन्तली भित्र पूर्ण शाहस आयो । उनले केही रकम आमालाई दिइन् । केही रकम बोकेर चुपचा कलेज गइन । उनले सम्भावना देखिन् । आत्म बिश्वास चुलियो । हिम्मत बढ्यो ।
उनले सोचे झैँ भयो । कलेजमा छात्रवृत्ति मिल्यो । तर कापि, कलम, प्रयोगात्मक शुल्क आदिलाई उक्त पैसाले पुग्यो । स्नातक सक्ने बित्तिक्कै सुन्तलीले लोकसेवाको परीक्षा दिइन् ।
परिक्षाको नतिजा नआउँदै देशभरी हल्ला फैलियो, "सुन्तलीले चारवटा भिन्न- भिन्न क्षेत्रका सबै परीक्षामा अधिकृत बनेर नाम निकालिन् ।"
सुन्तली भनेकै सफलता मानियो । चार क्षेत्रको भिन्ना- भिन्नै अधिकृतमा उनको नाम निस्कियो । जागिर खाएको बर्ष दिनमा बढुवा भएर उप-सचिव तहमा पुगिन् । तेस्रो बर्षमा सचिव तहमा बढुवा भइन् । उनलाई घर किन्न समस्या परेन । केही बर्ष भित्रमा सहरमा सुन्तलीले ठूलो घर किनिन् ।
घरको धुमधाम पुजा सकियो। तर सुन्तलीले हजुर आमाको थोत्रो ट्याङ्कालाई सजाएर भित्तामा राखिन् । मानौँ कि खरबौँ पर्ने हीरा थियो । हेर्नै पर्ने कुनै आठौँ आश्चर्य थियो ।
थोत्रो ट्याङ्का देखेपछि सुन्तलीको आमालाई अचम्म लाग्यो । उहाँले सोध्नु भयो, "नयाँ घरमा किन कवाडी समान राखेउ र छोरी ?"
हजुर आमाको याद गर्दै केहीबेर सुन्तली सुँक्क सुँक्क गरि रोइन् । जब उनले आफूले आफैँलाई सम्हालिन् तब उनी बोल्न सक्ने भइन् । उनले गुनगुनाउँदै भनिन्, "देख्नु नै सबैभन्दा ठूदो बिषय रहेछ, आमा । खुला आँखाले देखे वरिपरिका संसार देखिँदो रहेछ । बन्द आँखाले देखे सपना बन्दो रहेछ । चिन्तन गर्दा अझै गहिरिए दर्शन जन्मिदो रहेछ । यो प्रगती सबै हजुर आमाले अँध्यारो कोठामा जलाउनु भएको दीयोको रुपान्तरण हो । "
– हेलम्बु-६, सिन्धुपाल्चोक

Comments (0)
No comments yet — be the first to say something.