Catch feed

Catch → कर्म र भाग्य

✓ Unlocked — enjoy the rest of the Catch
विचार

कर्म र भाग्य

कर्मको बाटो, भाग्यको मोड

मानिसको जीवन दुई अदृश्य शक्तिबीच निरन्तर चलिरहेको यात्राजस्तो लाग्छ—एउटा कर्म र अर्को भाग्य। कर्म मानिसको हातमा हुन्छ भनिन्छ, भाग्य उसको नियन्त्रणबाहिर। तर प्रश्न उठ्छ, मानिसले आफ्नो जीवनमा जे प्राप्त गर्छ, त्यो उसको कर्मको परिणाम हो कि भाग्यले तय गरिदिएको संयोग?

हामी प्रायः सफल मानिसलाई देखेर भन्छौँ, उसले धेरै मिहिनेत गर्‍यो, त्यसैले सफल भयो। असफल मानिसलाई देखेर भन्छौँ, सायद उसको भाग्यमा थिएन। तर के यति सजिलै जीवनको हिसाब गर्न सकिन्छ?

एउटै माटोमा रोपिएका दुई बीउमध्ये एउटा बिरुवा बनेर हुर्किन्छ, अर्को उम्रनै पाउँदैन। के एउटा बीउले बढी मेहनत गरेको थियो? कि दुवैले समान सम्भावना बोकेर पनि परिस्थितिले फरक परिणाम दियो? सायद जीवनको वास्तविकता पनि यहीँ कतै लुकेको छ।

मानिस कर्म गर्न स्वतन्त्र छ भन्ने विश्वास गर्छ, तर उसले जन्मिने घर, समाज, परिवेश, अवसर र समय आफैँ रोजेको हुँदैन। कसैले जन्मँदै अवसरहरूको ढोका खुला पाउँछ, कसैले जीवनभर एउटा ढोका खोल्न संघर्ष गर्नुपर्छ। कसैको सानो प्रयासले ठूलो उपलब्धि दिन्छ, कसैको जीवनभरको परिश्रम पनि सामान्य आवश्यकताभन्दा माथि उठ्न सक्दैन।

त्यसो भए के सबै उपलब्धिको श्रेय कर्मलाई र सबै अभावको दोष भाग्यलाई दिन मिल्छ?

मलाई लाग्छ, कर्म मानिसको प्रयास हो, भाग्य उसले नियन्त्रण गर्न नसक्ने परिस्थितिहरूको अर्को नाम। हामी बाटो रोज्न सक्छौँ, पाइला चाल्न सक्छौँ, गन्तव्यसम्म पुग्ने प्रयत्न गर्न सक्छौँ, तर बाटोमा आउने हरेक मोड हाम्रो इच्छाअनुसार हुन्छ भन्ने छैन।

कहिलेकाहीँ मानिस हार्दाहार्दै पनि जितिरहेको हुन्छ, किनकि उसले हारभित्रबाट अनुभव र धैर्य कमाइरहेको हुन्छ। कहिलेकाहीँ जितेको मानिस पनि हारिरहेको हुन्छ, किनकि सफलताको शिखरमा पुग्दा उसले आफ्नै मानवीयता गुमाइसकेको हुन्छ।

भाग्यलाई दोष दिएर कर्मबाट भाग्नु जति गलत हो, कर्मकै अहङ्कारमा अरूको परिस्थितिलाई तुच्छ ठान्नु पनि त्यति नै गलत हो। किनकि सबै मानिस एउटै सुरुवाती बिन्दुबाट यात्रा सुरु गर्दैनन्। सबैका काँधमा समान जिम्मेवारी हुँदैनन्। सबैसँग समान अवसर र समान समय पनि हुँदैन।

अचम्म त के छ भने, मानिस सफल हुँदा आफ्नो कर्म सम्झन्छ, असफल हुँदा भाग्यलाई सम्झन्छ। आफूले पाएको उपलब्धिलाई आफ्नो क्षमताको प्रमाण ठान्छ, तर अरूले भोगेको अभावलाई उसको कमजोरीसँग जोडिदिन्छ। सायद मानिसको सबैभन्दा ठूलो भ्रम यही हो—आफ्नो सफलतामा आफूलाई सम्पूर्ण श्रेय दिनु र अरूको असफलतामा परिस्थितिको भूमिका बिर्सनु।

तर जीवन कुनै गणित होइन, जहाँ हरेक प्रयासको परिणाम निश्चित हुन्छ। यहाँ इमानदार प्रयासले पनि कहिलेकाहीँ अपेक्षित परिणाम दिँदैन। गलत बाटो हिँड्नेले पनि कहिलेकाहीँ सफलता प्राप्त गर्छ। यही असमानताले कर्म र भाग्यबीचको बहसलाई अझ जटिल बनाउँछ।

अन्ततः मानिसको हातमा परिणाम होइन, प्रयास हुन्छ। भोलि के हुन्छ भन्ने निश्चितता कसैसँग छैन। तर आज आफूले गर्ने कर्मप्रति इमानदार रहनु, अरूको भाग्यसँग आफ्नो जीवनको तुलना नगर्नु र प्राप्त सफलतामा अहङ्कार नगर्नुचाहिँ मानिसको आफ्नै छनोट हो।

सायद भाग्यले मानिसलाई कहाँ पुर्‍याउँछ भन्ने प्रश्नभन्दा पनि उसले त्यहाँ पुग्दा आफूलाई कस्तो मानिस बनाएको हुन्छ भन्ने प्रश्न बढी महत्त्वपूर्ण छ।

किनकि जीवनको सम्पूर्ण हिसाब उपलब्धिले मात्र गर्दैन; त्यसका पछाडि बाँचेको संघर्ष, भोगेको समय र जोगाइराखेको मानवीयताले पनि गर्छ।


अञ्जु चालिसे रूपान्जली

२०८३ मंसिर १३

2shares
Share this Catch:

Comments (0)

No comments yet — be the first to say something.