Catch feed

Catch → यन्त्रमानव

✓ Unlocked — enjoy the rest of the Catch

कसरी दुई वटा भेडाहरू हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरी मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिएँ क्यार । नाफा नोक्सानको मलाई त्यति हेक्का थिएन । तर बाको धमिलो अनुहार भाको बेला पक्कै फेरि भेडाहरू पुरिए भन्ने लाग्थ्यो ।

मलाई त्यति बेलै यन्त्र मानवको चाहना भएको हो । मलाई ती हामीलाई आवश्यक छन् भन्ने लाग्थ्यो । मलाई तिनले हिउँमा पुरिएका भेडाहरू निकाल्न बालाई मद्दत गर्लान भन्ने लाग्थ्यो ।

मैले छालामा बेरिएको त्यो किताबलाई कहिले पनि चलाईन । जुन छालाको खोलमा जतन साथ बेरिएको हुन्थ्यो । घर ओसिलो र सानो हुने भएकोले किताब चाँडै मक्किन्थे र च्यातिन्थे । त्यसैले आमाले त्यसलाई छालाको खोल बनाई हालिदिनु हुन्थ्यो । घरको कामदेखि फुर्सद भए मैले ती कथाहरू सुन्न पाउँथे । मलाई त्यो किताब चलाउन अनुमति थिएन । त्यसैले मलाई आमाको चुलो फुक्न ती यन्त्र मानवले सघाउलान् भन्ने सोच्थें ।

मलाई ती कुराहरू सोच्न र बुझ्न स्वतन्त्र थियो । मैले कति पटक आमालाई त्यो ईच्छाहरू बताएको पनि थिएँ । तर कथाहरूमा मात्र ती यन्त्रमानवहरू हुन्छन् भनी निरास पारिदिनु हुन्थ्यो । ती त संवेदना, महत्वकांक्षा नभएका खेलौना मात्र हुन् भनेर आमाले मेरो बाल मष्तिस्कलाई शान्त पारिदिन्थिन् ।

बास्तबमा मैले कहिले पनि बुझीन यन्त्रमानव कस्ता हुन्थे । संवेदना नभएका ती फलामे धुनदेखि म कहिले निस्किए थाहा नै भएन ।

आजकाल मौनता दोहरिरहन्छ । शहर बोल्न छोडेको छ । हल्ला गर्छ । त्रान्त छ । त्रुद्ध छ । दुख पुर्ण चिच्याहट, बिलाप, रुवाई, क्रन्दनको झमेलामा म पनि फस्न थालेको छु । हिजो भर्खर हो मैले तलब समाएको । म त्रियात्मक सोचहरूलाई किर्यान्वयन गर्न एउटा क्याफे भित्र छिर्छु । आज एउटा कथा लेख्ने ईच्छा चलेको छ । म कथाहरू यस्तै ठाउँमा बसेर लेख्न रुचाउँछु । प्रेमिको क्याम्पामा थुनिएर क्युरियो बनिसकेको यो सहरको प्रेमले मलाई पनि अराजक बनाई सकेको छ । म पनि मानिसको कुशलतालाई तौलिन थालेको छु । म कथाकार भै दिएको भए । मलाई बिश्वास छैन जिन्दगी कतै पुगेर फर्किएला । बियर पिउँछु । चुरोट निकाल्छु ।

क्याफेमा आज कोही पनि छैनन् । क्यानरी चराको बोली मात्र सुनिन्छ । छिरबिरे लोर्खकेहरू यताउति दर्गुछन् । कसको कथा लेखुँ ? यो सहरको ? यो बिलाशिताको ? छिमेकीको कथा लेख्न म डराँउछु । आफन्त कतै भेटिएको छैन । म आफ्नो कथा भन्छु । होईन । एउटा कथाकारको कथा लेख्छु । म यहाँको नियमित ग्राहक हुँ । मलाई वेईटरहरूले चिन्छन् । मलाई यहाँको म्यानेजरले चिन्छ । सेफहरूले ? म भन्न सक्दिन । यो सहरमा मेरो परिचय फराकिलो नभए पनि क्यानरी क्याफेमा मेरो परिचय राम्रै छ ।

शौचालय पुग्छु र फर्कन्छु । एउटा साधा पेपर मार्बल टेबलमा फैलाउँछु । कथा सुरु गर्छु । पहिले जस्तो कौतुहलता छैन । लेखनमा प्रखरता पनि हराए जस्तो । कौर्मायता गुमाईसकेकी स्त्री जस्तो क्लान्त छु । आफ्नै कथालाई परिभाषित गर्न मुस्किल भए जस्तो । वेटर, सेफ, त्यो म्यानेजर दौडिएर शौचालय छेउ पुग्छन् । म हेर्छ अब कौतुहल भएर ।

“कोही मरेछ ,” एउटा सेफ कराउँछ ।

यो अनिश्चयबोधक शब्द कसको लागि हो । म उठ्छु । शौचालय छेउ पुगेर अडिन्छु । मेरो लास उत्तानो पल्टिएको छ । म आफू बसेको टेबल छेउ फर्किएर हेर्छु । मेरो एक टुक्रा हसिँलो अनुहार त्यहीँ टाँसिएको छ । सस्तो फिल्मी कथामा जस्तो मेरो अनेकन अनुहार क्यानरी क्याफेभरि छरिएको छ । स्वार्थ, कुन्ठा, महत्वकाक्षांले भरिएको यो सहरमा मैले आफूलाई हराएको निकै बर्ष भईसक्यो । मैले खोजेको यन्त्र मानवहरू मेरो भौतिक सहरमा प्रशस्तै भेटिन्छन् । मैले पनि आफूलाई यिनै यन्त्रमानवको हुलमा आफ्नो नैतिक, आध्यात्मिक बडी मानसिक कुशलता गुमाई सकेको थिएँ । मलाई मेरो मुत्युको अफसोच छैन । किनकि प्रेमालाप/ संबेदना/ भावना गुमाई सकेको मानिस कति दिन बाँच्न सक्छ ।

तैपनि, मेरो लाश उठाउन कुनै यन्त्रमानव देखिएनन् ।

Comments (6)

WritingNepal (Legacy Archive) 13 years ago

ramroo lagyoo .. !

Reply Edit
चूडा निर्भीक 13 years ago

अत्यन्त राम्रो भाव तर वुझ्न अलिक मुश्किल पर्ने रछ सर ।

Reply
रुमन न्यौपान 13 years ago

धन्यबाद भरत जी!

Reply
अश्रु 13 years ago

amant ji ko saili ATI man parna thaleko cha purai katha ko kuro na bujhe pani katha ko churo bhane bujhine raicha.... dherai mitho sabda ra bhahav... ATI man paryo..

Reply
रुमन न्यौपान 13 years ago

Thank you anjita!

Reply