माघ महिनाको त्यो चिसो रात थियो।
बाहिर सेतै हिउँ परिरहेको थियो, झ्यालको सिसामा ठोक्किएर पग्लिँदै, बिस्तारै हराउँदै।
सागर आफ्नो कोठामा कुर्सीमा बसेर केही लेख्दै थियो।
एउटा हातमा चुरोट, अर्को हातमा कलम।
कहिले चुरोट, कहिले कलम—दुवै हातका औँलाहरूलाई दुवै खेलौनासँग उत्तिकै सिप थियो।
पचास वर्षको उमेरले शरीरलाई थकाएको भए पनि औँलाहरू अझै जवान जस्तै लाग्थे, जस्तै उनीहरूलाई अझै पनि केही लेख्नैपर्ने बाध्यता होस्।
डायरीका पानाहरूमा उसले आफ्नो जीवनलाई तीन–चार चरणमा बाँडेर बुझ्ने प्रयास गर्दै थियो।
बाल्यकाल—जहाँ ऊ कम बोल्थ्यो, धेरै हेर्थ्यो।
यौवन—जहाँ ऊ अझै कम बोल्थ्यो, तर किताबसँग धेरै कुरा गर्थ्यो।
र अहिले—जहाँ ऊ बोल्दैन, लेख्छ।
कलम रोकियो।
दिमाग रोकिएन।
अचानक सम्झनाहरू बल्झिन थाले।
उसको नजर छेउको बुक–र्याकतिर गयो।
काठ पुरानो भइसकेको थियो, कुनामा धुलो जमेको।
त्यहाँ राखिएका किताबहरू उसले कहिले, किन, कसरी किनेको—सबै याद आउँथ्यो।
कतिपय किताब ऊ आफैंले खोज्दै किनेको थियो।
कतिपय किताब उसले भेटको साटो पाएको थियो।
ती पाँच–छ वटा किताब… जसको गन्ध अलि फरक थियो।
ती किताबहरू शिशिरका थिए।
शिशिरसँग सागरको नाता किताबमै सीमित थियो।
तर त्यो सीमितता गहिरो थियो—शब्दभन्दा गहिरो।
सागर सानैदेखि इन्ट्रोभर्ट।
मानिससँग बोल्न ऊ अलमलिन्थ्यो।
तर किताबसँग कहिल्यै डराएन।
अठार–उन्नाइसको उमेरतिर ऊ अनलाइन धेरै सक्रिय हुन्थ्यो।
त्यहीँ कतै, कुनै बहसको कमेन्ट सेक्सनमा, उसले शिशिरलाई भेटेको थियो।
राजनीति, दर्शन, साहित्य—कुरा त्यहीँबाट सुरु भएको थियो।
नामभन्दा पहिला विचार चिनेका थिए उनीहरूले।
उनीहरूको भेट कहिले महिनामा एकपटक, कहिले वर्षमा एकपटक हुन्थ्यो।
तर कुल मिलाएर बाह्र पटक भेटेका थिए—गनेर।
बाह्र भेट, बाह्र मौन सम्झौता।
भेट हुँदा उनीहरू किताब साट्थे।
नियम केही थिएन।
तर एउटा अलिखित नियम थियो—
कुनै किताब साट्दा त्यसको बारेमा धेरै कुरा नगर्ने।
“यो किताब पढ,”
यत्ति मात्र।
कहिले सागरले भन्थ्यो—
“तिमीले यो लेखकको अनुवाद पढ्यौ? उही किताब हो, तर यो अनुवाद फेरि पढ्नुपर्छ।”
कहिले शिशिरले भन्थ्यो—
“यो किताब माया लागेर दिएको होइन, तिमीलाई चाहिन्छ जस्तो लागेर दिएको।”
कुनै दबाब थिएन।
नपढे पनि ठीक।
पढेर फेरि पढे पनि ठीक।
सागरले पछि थाहा पायो—
त्यो किताब साट्नु किताबको आदान–प्रदान थिएन।
त्यो त उनीहरूले आफ्ना मौन भावना साटिरहेका थिए।
त्यही रात, डायरी पल्टाउँदै गर्दा, सागरले आफ्नो पुरानो डायरी भेट्टायो।
त्यसमा लेखिएको थियो—
कुन किताब कहिले दिएको, कुन किताब कहिले पाएको।
नाम थिएन, मिति थिएन—
सिर्फ अनुभूति थियो।
“आज शिशिरले मलाई किताब दियो।
मलाई लाग्छ ऊ आज अलि थकित थियो।”
“आज मैले शिशिरलाई किताब दिएँ।
मलाई लाग्छ उसले त्यो बुझ्छ।”
त्यो मित्रता कुनै नामभन्दा माथि थियो।
न साथी, न प्रेम, न परिवार।
सिर्फ किताबले बाँधिएको नाता।
समय बग्यो।
शिशिर विदेश गयो।
किताब साट्ने क्रम रोकियो।
सन्देश कम हुँदै गयो।
अनि एक दिन—बिल्कुलै रोकियो।
तर सागरको बुक–र्याकमा शिशिर अझै बाँचेको थियो।
हरेक किताबमा उसको छायाँ थियो।
हरेक पानामा उसको मौन आवाज।
चुरोट निभिसकेको थियो।
कलम अझै चलिरहेको थियो।
सागरले डायरीमा अन्तिम लाइन लेख्यो—
“केही मानिसहरू जीवनमा आउँछन्,
हात समात्न होइन,
किताब छोड्न।
र त्यो किताब नै उनीहरूको उपस्थितिको प्रमाण बन्छ।”
बाहिर हिउँ अझै परिरहेको थियो।
भित्र सागर शान्त थियो।
पचास वर्षको उमेरमा उसले महसुस गर्यो—
उसको सबैभन्दा साँचो मित्रता कहिल्यै बोलेन,
तर आजसम्म पनि उसँगै पढिरहेकै छ।
Comments (0)
No comments yet — be the first to say something.