Catch feed

Catch → अन्धकारका देवता – एक काल्पनिक किवदन्ती

✓ Unlocked — enjoy the rest of the Catch
Catch

अन्धकारका देवता – एक काल्पनिक किवदन्ती

मायानगर, देउताको बास रहेको एक दुर्गम पहाडी भेगको सुन्दर गाउँ । रहस्यमयी गाउँ । जहाँ त्री शक्ति देवताका देवता महादेव, वैकुण्ठ विष्णु,ब्रह्म लोकका ब्रह्मा भन्दा पनि माथिका देवता रहेको जनविश्वास रहेको छ । एक यस्ता देवता, जसको पूजा मायानगर भन्दा बाहिर भएकै थिएन। किनकि ती देवता माया नगरका मात्रै थिए। माया नगरका हर्ता कर्ता।

परापुर्व कालमा त्री शक्ति सँग युद्ध गरी छिनेका थिए एक भूमिको टुक्रा । धरती को टुक्रा। जसलाई ती देवताले आकाश गंगा बाट दुर एक अन्धकारको संसारमा लिएर गएका थिए । धरतीको टुक्रालाई लिएर जाने क्रममा पृथ्वीमा इतिहास कै ठूलो विनाशकारी भूकम्प गएको थियो, महादेवको क्रोदले । भयानक ज्वालामुखी विष्फोट भएको थियो, महादेवको तेस्रो आँखाले । हिम पहिरो गएको थियो, विष्णु द्वारा भूलवश भएको प्रहारले, प्राचीन देवगण बासी र त्यसबेलाका आम प्राचीन मानव पृथ्वीमा गएको प्रलय देखि मतिभ्रस्ट भई भाग्न थाले, प्रलय सँगै नष्ट हुन थाले, ज्ञानी ब्रह्माले टुलुटुलु हेर्नाले ।

त्रिशक्तिको असफलताले पृथ्वी बाट प्राचीन युगको अन्त्य भयो।

पृथ्वीको टुक्रालाई अन्धकारको संसारमा लिएर गएका अन्जान देवता अन्धकारका देवता कहलाए । आजको दिन सम्म पनि ती देवताको दियो बाली पूजा गरिएन किनकि ती देवता कहिल्यै धरतीमा देखा परेनन् । उत्पति भएका नयाँ मानवले शिव पुराण, विष्णु पुराण लगाएतका पुराण, रामायण, महाभारतको रचना त गरे तर अन्धकारको देवताका बारेमा कुनै ग्रन्थ लेखेनन् । ब्रह्माले त्यो ग्रन्थ लेख्ने ज्ञान नै प्रसारण गरेनन् । अनि अन्धकारका देवता लुप्त भए सधैँ सधैंका लागी तर ती अन्धकारका देवताले अन्धकारको आडमा पृथ्वी नियाल्न कहिल्यै छाडेनन् ।

माया नगर पृथ्वीकै एक टुक्रा थियो । जहाँ प्राचीन मानवको वंशले शासन गरिरहेका थिए । उनीहरूले पनि कहिल्यै दियो बाली अन्धकारका देवताले पूजा गरेनन् । तिनलाई सबै यथार्थ थाहा थियो । तिनीहरू धरती बाट कहिल्यै अलग हुन चाहँदैनथेँ ।

कालचक्र बित्यो । युग बित्यो । प्राचीन समय बित्यो । तर अन्धकारका देवताको नाममा कहिल्यै दियो बलेनन् । बलेनन् त्री शक्तिको नाममा पनि । किनकि उनीहरू प्राचीन देवताहरूको आपसी स्वार्थमा पिल्सिएका थिए। उनीहरुले त्यो विनाशकारी देवताहरूको युद्धका बारेमा आफ्ना पुस्ता दर पुस्ता किवदन्तीको रूपमा हस्तान्तरण गरेका थिए । उनीहरूको सन्तानमा पनि घृणा थियो, त्री शक्ति र अन्धकारका देवता लाई लिएर ।

माया नगरमा मात्रै प्रकृतिको आत्म पूजा हुन्थ्यो । जसले उनीहरूलाई जीवन प्रदान गरेको थियो ।

एक पटक माया नगरमा रहस्यमय घटनाहरू घट्न थाले । एका एक प्राचीन मानव गायब हुन थाले । कालो धुवाँ जस्तो केहि चिज उडेर आउँथ्यो र प्राचीन मानवलाई क्षणभरमै आँखा सामुबाट गायब गर्थ्यो । यसका कारण मायानगरमा अराजकता फैलिन थाल्यो। जताततै हाहाकार मच्चिन थाल्यो । प्राचीन मानवको अस्तित्व संकटमा पर्ला भन्ने डर फैलिन थाल्यो।

“के यो हाम्रो अन्त्यको सुरुवात हो ?”
“प्राचीन कालमा आएको विनाशकारी प्रलयले पृथ्वी लोकबाट हामी प्राचीन मानवको वंश नाश गर्यो। अन्धकारका देवता थिए जसले, त्यो प्राचीन मानवको वंशलाई सकुशल अन्धकारको संसारमा लिएर आए ।”
“ त्रिशक्तिका तेस्रा नयन नखुलेका भए सम्पूर्ण धरतीलाई नै यहाँ ल्याएर बसाउने थिए । मति भ्रष्ट भएका प्राचीन मानवको प्रलय सँगै विनाश हुने थिएन। हामी झै सकुशल हुने थिए।”
“ तर यो कुन रहस्य हो, जो हाम्रो वंश मेटाउन आएको छ । कतै कालो धुँवाको आडमा अन्धकारका देवता क्रोधित भएर आएका त होइनन् ?”
“ हो, हो । हुन सक्छ । युगौँदेखि हामीले उनको दियो बाली पूजा गरेनौ। आरती गरेनौ । हामीलाई प्राणदान दिने देवाताको अनादर गर्यौ । कतै अन्धकारका देवता हामीदेखि क्रोधित भएका त छैन ?”

माया नगरका भलादमी बीच गम्भीर छलफल हुन थाल्यो।

“ एकपटक हामी सबैले आफ्नो घरमा अन्धकारका देवताको मूर्ति बनाई नित्य पूजा गर्नुपर्छ । प्रत्येक साँझ दियो बाल्न छुट्याउनु हुँदैन ।”
“ के यति गरेपछि कालो धुँवाको प्रकोपबाट हामी प्राचीन मानव बच्ने छौँ त ?”
“ हो । हो ।”
“ के हामी सुरक्षित हुने छौ त ?”
“ त्यसको जिम्मा कसले लिने ?”
“ आज सम्म हामीले अन्धकार का देवतालाई देखेका छैनौं । कसरी तिनको मूर्ति बनाउने ? अनि के आज सम्म पनि अन्धकारका देवता जीवित छन् त ?”

पछिल्लो प्रश्नले सम्पूर्ण मायानगरका बासीमा एक शून्य सन्नाटा छायो ।

विषय गम्भीर थियो। प्रश्न गम्भीर थियो। त्यो छलफल पनि सम्पूर्ण रूपमा गम्भीर थियो।

अमृत मन्थन हुदाँ अन्धकारका देवता त्यस महासागरमा थिएनन् । अन्धकारका देवतालाई विशेष कार्य हेतु अमृत मन्थ सुरु हुनु अघि नै कतै दूरदराजमा पठाइएको थियो । अमृत मन्थन सकिएको कैयौँ दिनसम्म पनी अन्धकारका देवता देखा परेका थिएनन्।
सम्पूर्ण देवताले अमृतपान गरेका हुँदा ती अमर थिए । असुर, राक्षस, दानव लाई अमृतको एक थोपा पनि चाख्न दिइएन । एकले छल द्वारा अमृत पान गर्न खोजेको थियो तर उसको शिर छेदन गरियो ।

“अमृत मन्थन अघि देवाशुर सङ्ग्राम भएको थियो। त्यस युद्धमा पनि अन्धकारका देवतालाई कतै पठाइएको थियो । के यो सबै षड्यन्त्र त्रिशक्तिको या अन्य कुनै देवताको हो त ? किन अन्धकारको देवतालाई पौराणिक इतिहास बन्न दिइएन ।”

“ ति देवता थिए । अमर हुन उनले पनि केही गरे होलान् । या जीवित नै छैनन् ।”

“ अन्धकारका देवताको अस्तित्व नै छैन भनी यकिन हुन सक्दैन । यदि ती अमर थिएनन् भने उनको सन्तान त होला। सन्तानको वंशज त होला । उनको पनि गन्धर्व विवाह भयो होला ।”
“ जे जस्तो भए पनि एक पटक हामीले दियो बाल्नै पर्छ । अन्धकारका देवतालाई उनको स्थान दिनुपर्छ।”

अन्तिम निष्कर्ष दियो बाल्नु नै भयो।

प्राचीनकालमै छाडिएको प्राचीन नित्य पूजा कर्म लाई फेरि एकपटक माया नगरमा दियो बाली प्रकट गर्न थालियो ।

रातमा दियोको प्रकाशले माया नगर टिलपिल टिलपिल देखिन थाल्यो ।

अनि दियो बालेको क्षण देखि नै प्राचीन मानव गायब हुने सिलसिला पनि रोकियो ।

Comments (0)

No comments yet — be the first to say something.