धेरै वर्षअघि वरिष्ठ साहित्यकार डायमण्डशमशेर राणा विदेश भ्रमणमा हुँदा एउटा दृश्यले उहाँलाई गहिरोसँग छोयो। रेल र ट्राममा यात्रा गरिरहेका मानिसहरू हात-हातमा किताब बोकेर पानामा हराइरहेका थिए। भीड, कोलाहल र गन्तव्यको हतारोबिच पनि उनीहरू पढिरहेका थिए। त्यो दृश्यपछि उहाँले भन्नुभएको थियो, “देश विकास भनेको नपढी नहुने रहेछ, बाबु नानीहरू! पहिला किताब पढ्न थाल।”
सडक, पुल र अग्ला भवन विकासका देखिने चिह्न हुन्, तर विकासको जरा देखिँदैन । त्यो जरा नागरिकको चेतनामा हुन्छ। उसले कसरी सोच्छ, कसरी प्रश्न गर्छ र अर्काको दृष्टिकोण कति बुझ्छ भन्नेमा हुन्छ । अनि चेतनाको त्यो ढोका खोल्ने सबैभन्दा भरपर्दो साँचो पठन संस्कृति हो, यो मेरो मात्र बिश्वास नबनि सबैको हुनुपर्छ । त्यसैले डायमण्डशमशेरको उतिबेलाको त्यो वाक्य आज पनि उपदेश मात्र होइन, हामीलाई घचघचाउने प्रश्न हो ।
यही प्रश्नको उत्तर खोज्ने हुटहुटीले हामीले सन् २०१० मा ‘राइटिङ नेपाल’ सुरु गरेका थियौँ। त्यति बेला इन्टरनेट सबैको पहुँचमा थिएन, डिजिटल माध्यममा लेख्ने-पढ्ने बानी पनि बसिसकेको थिएन । समयभन्दा अगाडि सोचिएको त्यो प्रयासले अनेक चुनौती भोग्यो । मञ्च कसरी प्रयोग गर्ने भन्ने हेक्का धेरैलाई थिएन । लेखक, ब्लगर र पाठकबाट अपेक्षित साथ पनि मिलेन । छ-सात वर्षको निरन्तर प्रयासपछि थकित र निराश हुँदै हामीले त्यो यात्रा बिचमै रोक्यौँ ।
तर शब्दप्रतिको निष्ठा सजिलै मर्दैन । झन्डै डेढ दशकअघि बलेको त्यो बत्ती मनभित्र निभेन । त्यही दायित्वबोधले केही हप्ताअघि हामीले ‘राइटिङ नेपाल’लाई नयाँ रूपमा फेरि ब्युँताएका छौँ । यी वर्षहरूमा प्रविधि धेरै अघि बढ्यो, हरेक हातमा स्मार्टफोन पुग्यो । तर विडम्बना, पठनप्रतिको रुचि त्यही गतिमा बढेन । पुनरागमनपछि पनि देखिएको सुस्त प्रतिक्रियाले मनमा केही निराशा ल्याउनु स्वाभाविकै हो ।
यो प्रयासको मूल प्रेरणा नाफा होइन । डेढ दशकभन्दा लामो समयदेखि प्रतिफलको हिसाब नगरी समय र साधन लगाई रहनुको पछाडि साहित्य र समाजप्रतिको समर्पण नै छ ।
निराशाबिच पनि आशाको दियो बलिरहेकै छ । ठुला परिवर्तन रातारात हुँदैनन् । एउटा पाठकले अर्को पाठक जन्माउँछ, एउटा किताबले अर्को किताबतर्फ डोर्याउँछ । आज पाठकको सङ्ख्या थोरै होला, तर यो दायरा बिस्तारै फराकिलो हुँदै जानेछ भन्ने हाम्रो विश्वास हो । डायमण्डशमशेरले ट्राममा देखेको दृश्य एक दिन हाम्रा माइक्रो बस, चिया पसल र गल्लीहरूमा पनि देखिनेछ भन्ने विश्वास हामीले छाडेका छैनौँ ।
‘राइटिङ नेपाल’ केवल एउटा डिजिटल मञ्च होइन, नेपाली पठन संस्कृतिलाई जोगाउने र फैलाउने अभियान हो । जबसम्म एउटा पनि निष्ठावान् पाठक र लेखक रहन्छ, यो यात्रा जारी रहनेछ ।

Comments (0)
No comments yet — be the first to say something.