Catch feed

Catch → दशैं : एउटै पर्व, अनेक अर्थ

✓ Unlocked — enjoy the rest of the Catch
Essays & Opinion

दशैं : एउटै पर्व, अनेक अर्थ

दशैं : एउटै पर्व, अनेक अर्थ

बच्चैदेखि मेरो मनमा दशैंको एउटा छुट्टै चित्र थियो—घरआँगनका घाँस उखालेर सफासुग्घर गर्ने, पिङ खेल्ने, नयाँ लुगा लगाउने, निधारमा रातो टीका र जमराले सजिने अनि मान्यजनबाट दक्षिणा थाप्दै हिँड्ने। दशैं आउनुअघि नै घर सफा गर्ने चटारो, नयाँ कपडाको उत्साह र पिङमा मच्चिँदाको आनन्द—मेरो बाल्य कालको दशैं यिनै सम्झनाले भरिएको छ।

त्यतिबेला मैले दशैंलाई यतिमै बुझेँ। मेरा लागि दशैं भनेको टीका, जमरा, नयाँ लुगा, पिङ, मान्यजनसँग टीका–जमरा र दक्षिणा थियो। सबैभन्दा रमाइलो त घरको टीका सिध्याएर मामाघरको टीका लगाउन जाने समयको प्रतीक्षा हुन्थ्यो। बालमनले देखेको संसार त्यतिमै पूरा हुन्थ्यो।

तर उमेरसँगै दशैंलाई हेर्ने मेरो दृष्टि पनि फेरिँदै गयो। पढ्दै जाँदा, अरूका अनुभव सुन्दै जाँदा र नेपालको फरक–फरक समुदायका परम्पराबारे जान्दै जाँदा थाहा भयो—मैले बाल्यकालमा बुझेको दशैं त दशैंको एउटा सानो रूप मात्र रहेछ।

एउटै नामले चिनिने यो पर्व सबै ठाउँमा एउटै तरिकाले मनाइँदैन रहेछ। कतै यसको केन्द्रमा देवीको आराधना छ, कतै स्थानीय देवताको पूजा; कतै पुर्खाको सम्झना, कतै परिवारसँगको पुनर्मिलन। कतै रातो टीका लगाइन्छ, कतै सेतो। कतै दशैं ‘मोहनी’का रूपमा आउँछ भने कतै यही समयमा आफ्नै मौलिक जात्रा प्रमुख हुन्छ।

यही कुरा खोज्दै जाँदा मलाई ललितपुरको खोकनाबारे थाहा भयो।

दशैंको समयमा देशका धेरै ठाउँमा टीका–जमराको चहलपहल भइरहँदा खोकनामा भने परम्परागत रूपमा दशैं मनाइँदैन। त्यहाँ यही समयमा सिकाली जात्रा मनाइन्छ। सुरुमा सुन्दा मलाई अचम्म लाग्यो—दशैंको समयमा पनि दशैं नमनाउने ठाउँ?

तर यसको पछाडि पनि एउटा रोचक सांस्कृतिक इतिहास रहेछ।

खोकनावासीका अनुसार, कुनै समय त्यहाँ दशैं अर्थात् ‘मोहनी’ मनाउने चलन थियो। पछि खोकनाको आफ्नै संरक्षक देवी रुद्रायणीसँग सम्बन्धित सिकाली जात्राको समय दशैंसँगै पर्न थाल्यो। एउटै समयमा दुईवटा पर्व मनाउँदा समय, श्रम र खर्च दुईतिर बाँडिने भयो। दुवैलाई आफ्नै परम्पराअनुसार राम्रोसँग निरन्तरता दिन कठिन भएपछि खोकनावासीले आफ्नै संरक्षक देवी रुद्रायणीसँग जोडिएको सिकाली जात्रालाई प्राथमिकता दिए।

त्यसपछि सिकाली जात्रा नै खोकनाको दशैंको मुख्य सांस्कृतिक पर्व बन्यो। आज पनि दशैंका दिन देशका अन्य ठाउँमा टीका–जमरा लगाइरहँदा खोकनामा भने आफ्नै परम्पराअनुसार सिकाली जात्रा सम्पन्न गरिन्छ। त्यहाँ परम्परागत रूपमा दशैंको टीका–जमरा लगाउने चलन छैन।

यस विषयमा पढ्दै जाँदा मलाई झन् रोचक कुरा के लाग्यो भने—खोकनाले दशैंलाई ‘अस्वीकार’ गरेको होइन रहेछ; उसले आफ्नै सांस्कृतिक पहिचान र परम्परालाई निरन्तरता दिएको रहेछ। एउटा पर्व छोडेर अर्को रोज्नुको पछाडि पनि आफ्नो समुदाय, आफ्नो देवता र आफ्नै परम्पराप्रतिको गहिरो सम्बन्ध रहेछ।

यही प्रसंगले मलाई एउटा गहिरो प्रश्नतर्फ पुर्‍यायो—हामीले एउटै नामले बोलाउने दशैं के साँच्चै सबैका लागि एउटै हो?

सायद होइन।

हामीले दशैंलाई प्रायः देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक आख्यानसँग जोडेर बुझ्छौँ। तर दशैंको इतिहास त्यतिमै सीमित छैन। नेपालको धार्मिक इतिहासबारे भएका अध्ययनहरूले शरद् ऋतुमा गरिने नवरात्र तथा दुर्गा आराधनाको सम्बन्ध मध्यकालीन नेपालका राजकीय परम्परासँग जोडिएको देखाउँछन्। मल्लकालमा यो उपत्यकाका शहर–राज्यको धार्मिक तथा राजकीय संस्कृतिको महत्वपूर्ण हिस्सा थियो। पछि शाहकालमा राज्य विस्तार र राज्य निर्माणसँगै दशैंको राजकीय स्वरूप अझ बलियो हुँदै गयो र यो राज्य–अनुष्ठानको प्रमुख पर्व बन्न पुग्यो।

यसरी हेर्दा आज हामीले ‘राष्ट्रिय पर्व’का रूपमा सहजै स्वीकार गरेको दशैं केवल घर–घरमा पुस्तौँदेखि एउटै ढाँचामा चलिआएको संस्कार मात्र होइन रहेछ। यसको वर्तमान स्वरूप धार्मिक आस्था, स्थानीय संस्कृति र राज्यको इतिहाससँगै निर्माण भएको रहेछ।

तर इतिहासको यो ठूलो यात्राभन्दा पनि सामान्य मानिसको जीवनमा दशैंले बोकेको अर्थ अझ फरक छ।

कसैका लागि दशैं भनेको वर्षभरि टाढा रहेका परिवारका सदस्य घर फर्किने समय हो। रोजगारी वा अध्ययनका लागि शहर तथा विदेश पुगेकाहरू केही दिनका लागि भए पनि आफ्ना बुबाआमा, दाजुभाइ, दिदीबहिनी र आफन्तको बीचमा फर्किन्छन्। त्यसैले दशैं धार्मिक पर्व मात्र होइन, सम्बन्धहरूलाई फेरि नजिक ल्याउने सामाजिक अवसर पनि बनेको छ।

सायद त्यसैले मेरो बाल्यकालको दशैंमा पिङ र नयाँ लुगाभन्दा पनि ठूलो कुरा मैले पछि मात्र बुझ्न सकेँ—दशैंले मानिसलाई घरतर्फ फर्काउँदो रहेछ।

तर दशैंको विविधता टीकाको रङमै पनि देखिन्छ।

हामीमध्ये धेरैका लागि रातो टीका दशैंको पहिचानजस्तै हो। तर नेपालका सबै समुदाय र परिवारमा टीकाको रङ एउटै छैन। कतिपय परिवार तथा समुदायमा सेतो टीकाको परम्परा छ। चामल र दहीबाट बनाइने सेतो टीकाको चलन पुरानो रहेको बताइन्छ। यसको एउटा सम्भावित कारण तत्कालीन समयको भौगोलिक र आर्थिक अवस्था पनि हुन सक्छ। सांस्कृतिक अध्येता डा. जगमान गुरुङका अनुसार, पहिले सिन्दूर वा रातो रङ सजिलै उपलब्ध हुँदैनथ्यो; नेपालमा यसको उत्पादन पनि उल्लेख्य थिएन र भारत वा अन्य ठाउँबाट ल्याउनुपर्ने अवस्था थियो। पछि यातायात, बजार र आयात सहज हुँदै गएपछि सिन्दूरको पहुँच बढ्यो र चामल–दहीको सेतो टीकामा रातो सिन्दूर मिसाउने चलन विस्तार हुँदै गएको हुन सक्ने उहाँको मत छ।

यसलाई हेर्दा आज हामीले टीकाको रङलाई केवल धार्मिक वा सामुदायिक पहिचानका रूपमा बुझ्ने गरेका छौँ; तर त्यसको पछाडि भौगोलिक पहुँच, बजार, यातायात र उपलब्धताको इतिहास पनि जोडिएको हुन सक्ने रहेछ। अर्थात्, कुनै परम्परा केवल आस्थाले मात्र होइन, मानिसले आफ्नो समय र परिस्थितिमा के सहजै पाउन सक्थ्यो भन्ने कुराले पनि आकार दिन सक्दोरहेछ।

त्यसैले रातो र सेतो टीकाको भिन्नतालाई एउटा मात्र कारणले व्याख्या गर्न मिल्दैन। सांस्कृतिक पहिचान, स्थानीय परम्परा र ऐतिहासिक रूपमा रङको उपलब्धता—यी सबैले आ–आफ्नो भूमिका खेलेका हुन सक्छन्।

रातो टीका मात्र दशैंको ‘सही’ रूप र सेतो टीका त्यसको अपवाद हो भन्ने सोचले नेपालको सांस्कृतिक विविधता समेट्न सक्दैन। टीकाको रङ बदलिँदा आशीर्वादको अर्थ हराउँदैन। संस्कारको रूप फरक हुन सक्छ, तर त्यसले बोकेको आत्मीयता फरक हुनैपर्छ भन्ने छैन।

काठमाडौं उपत्यकाका नेवार समुदायमा दशैंलाई ‘मोहनी’को सांस्कृतिक सन्दर्भमा बुझिन्छ। यहाँ पनि दशैं केवल टीका लगाउने दिनमा सीमित छैन। विभिन्न पूजा, खड्ग जात्रा, स्थानीय देवदेवीसँग सम्बन्धित अनुष्ठान र पारिवारिक परम्पराले मोहनीलाई आफ्नै सांस्कृतिक स्वरूप दिएका छन्।

ललितपुरका सांस्कृतिक अभिलेखहरू हेर्दा मोहनीसँग सम्बन्धित विभिन्न जात्रा तथा अनुष्ठान उपत्यकाको जीवित अमूर्त सम्पदाको हिस्सा भएको देखिन्छ। यही समय खोकनामा सिकाली जात्रा मनाइनु पनि नेपालको एउटै पर्वभित्र रहेका अनेक सांस्कृतिक तहको उदाहरण हो।

यसरी हेर्दा दशैं केवल धार्मिक पर्व होइन; यो नेपालको सांस्कृतिक विविधता पढ्ने एउटा झ्याल पनि रहेछ।

कुनै समुदायका लागि आफ्नो देवीदेवता महत्वपूर्ण छन्। कुनै परिवारका लागि कुलपूजा। कतै पुर्खाको सम्झना। कतै आफन्तसँग भेट। कतै बाल्यकालका पिङ र नयाँ लुगाको सम्झना। अनि कतै आफ्नो समुदायको मौलिक परम्परा जोगाउने जिम्मेवारी।

समयसँगै दशैंको रूप पनि बदलिँदै गएको छ।

पहिले दशैंका लागि गाउँ फर्किने, घरआँगन लिपपोत गर्ने, पिङ हाल्ने, आफन्तकहाँ जाने र घरमै तयार पारिएका परिकार खाने चलन बढी देखिन्थ्यो। अहिले बजार, रोजगारी, प्रविधि र परिवारको संरचना फेरिएको छ। कतिपयका लागि दशैं लामो बिदामा घुम्ने समय बनेको छ। कतिपय परिवारका सदस्य विदेशमा छन्; उनीहरू भिडियो कलमार्फत टीका र आशीर्वाद साट्छन्।

तर माध्यम फेरिए पनि मानिसको चाहना उस्तै छ—आफ्ना मानिससँग जोडिनु।

सायद यही कारणले दशैंलाई केवल पुरानो परम्परा भनेर बुझ्नु पर्याप्त हुँदैन। पर्व पनि समाजसँगै परिवर्तन हुन्छ। प्रश्न यति मात्र हो—परिवर्तनसँगै हामीले त्यसको अर्थ पनि हराउँदै त छैनौँ?

नयाँ पुस्ताले दशैं किन मनाइन्छ भनेर प्रश्न गर्नु अस्वाभाविक होइन। बरु त्यस्ता प्रश्नको उत्तर खोज्नु र अर्को पुस्तालाई सुनाउनु नै संस्कृतिलाई जीवित राख्ने एउटा बाटो हो।

किन जमरा राखिन्छ? किन टीका लगाइन्छ? किन मान्यजनबाट आशीर्वाद लिइन्छ? किन कतै रातो टीका हुन्छ र कतै सेतो? किन कतै मोहनी हुन्छ र कतै सिकाली? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा दशैं एउटा धार्मिक कर्मकाण्डभन्दा धेरै ठूलो सांस्कृतिक स्मृतिजस्तो देखिन थाल्छ।

आज मेरो बाल्यकालको त्यो दशैं सम्झँदा लाग्छ—त्यो गलत थिएन। त्यो मेरो घरले, मेरो परिवारले र मेरो समयले मलाई चिनाएको दशैं थियो।

तर अहिले थाहा पाउँदै छु—दशैं मेरो आँगनभन्दा धेरै ठूलो रहेछ।

खोकनाको सिकालीदेखि उपत्यकाको मोहनीसम्म, रातो टीकादेखि सेतो टीकासम्म, गाउँ फर्किने छोराछोरीदेखि विदेशबाट भिडियो कल गर्ने परिवारसम्म—दशैंका रूप अनेक छन्।

तर ती सबै फरक रूपभित्र एउटा साझा भावना भेटिन्छ—सम्बन्ध, स्मृति र निरन्तरता।

त्यसैले दशैं एउटै पर्व हो, तर यसको अर्थ एउटै छैन।

सायद यसको सुन्दरता पनि यही हो—फरक भएर पनि एउटै सांस्कृतिक स्मृतिभित्र बाँचेको अनुभव।

र आज जब दशैं आउँछ, मलाई बाल्यकालको त्यो रातो टीका र जमरा मात्र सम्झना आउँदैन। त्यससँगै एउटा ठूलो नेपालको चित्र पनि देखिन्छ—जहाँ एउटै पर्वले फरक–फरक घर, समुदाय र संस्कृतिमा फरक अर्थ बोकेर मानिसलाई आफ्नै जरा सम्झाइरहेको हुन्छ।

अन्जु चालिसे रूपाञ्जली

२०८३ साल असोज ३० गते, शुक्रबार

Comments (0)

No comments yet — be the first to say something.