Catch feed

Catch → पराजुलिको सगरमाथाको गहिराई र आमाको सपना

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

पराजुलिको सगरमाथाको गहिराई र आमाको सपना

सगरमाथाको गहिराई र आमाको सपना को समिक्षा

अभि सुबेदीको एउटा लेखमा आसन्न भूतकालको बारे पढेको थिए र यस्तै आसन्न भूतकालमा म एक कविता वाचन (वाचन मात्र नभएर त्यो एक अभिनय-वाचन/Spoken word piece थियो) मा पुगेको थिए । नवराज पराजुलिले आफ्नो कविता सङ्ग्रह ‘सगरमाथाको गहिराई’ बाट केही थान कविता-अभिनय सँगै वाचन गरिदेखाए । जसमा भावनात्मक बहाव, अनन्त स्वरको आह्वान र उदात्त अभिनय कला देखियो । मलाई मैझारो कवितामा कविले प्रयोग गरेको बाहिरी सौन्दर्ययता (सन्देश) भन्दा पनि कविताको संरचनात्मक तत्त्वले तानेको हो । भाषालाई फर्डिनाण्ड द ससुरले भनेजस्तो वर्ण क्रमको एउटा टुक्रा काट्यो भने त्यसबाट अर्थ वा अवधारणा लाई छुटाउन सकिँदैन ।

त्यसै कृतिको अर्को कविता ‘सतीदेवीको गाण्डीव’ मा प्रयोग भएको अनुप्रास/छेकानुप्रास अलङ्कार, यमक अलङ्कार, दृष्टान्त अंलकार, उत्प्रेक्षा अलङ्कार, शब्दहरूले निकाल्ने स्वर, उपवाक्य बाट वाक्यहरूलाई न्याय दिइएको, र यसमा कुनै वर्ण वा शब्द लाई निकालिदिने हो भने पुरै कविताको संरचना बिग्रन्छ । एक ठाउँ मा ‘पग्लिँदै पग्लिँदै’ को पग्लिँदै निकालिने दिने हो भने वा ‘सतीदेवी..सतीदेवी यादव मा’ सतीदेवी निकालिदिने हो भने ससुरले भने जस्तो सङ्केत बिग्रन सक्छ ।

म कवितालाई गहन रूपमा व्याख्या गर्ने सामर्थ्य राख्दिन तर पराजुलिले बोलचालको, ग्रामीण भाषालाई **चमत्कार पूर्ण बिम्ब को रूपमा प्रयोग गरेका छन्** । याकोब्सनले समग्र कवितालाई सङ्केत मान्छन् । पराजुलिको अर्को कविता ‘रुख’ मा प्रयोग संरचनात्मक विलक्षणता ले गर्दा ‘रुख’ भित्रको काव्यिक सिर्जना स्पष्ट देखिन्छ । कविता पढ्दा त्यति बेला आनन्द मिल्छ जति बेला कविताबाट निस्कने अर्थमा समानता नहोस्, निरन्तरता नमिलेको होस्, र त्यसबाट प्रयुक्त हुने अर्थ बोलचालको भाषामा भन्दा भिन्न होस् जस लाक्षणिकताले हृदय छोओस् ।

‘च्याउ’ कविताले रुसी रूप वादहरूको साहित्य केलाउने विधिमा भनिएको ‘कृतिकारको जीवनीसँग कृतिको साइनो’ लाई अल्पमतमा पार्ने विधिलाई व्यङ्ग गरेको छ । यदि पराजुलिले च्याउ माथिको साइनो नबताएका भए कविता पढ्ने ले त्यसको अर्थ एक लाटी केटी माथि रचिएको रचना हो भन्न सकिँदैन थियो तर त्यसबाट अर्थ भने पाठकले अनेक निकाल्थे, त्यो अनेकार्थ लाई कविताको गुणीभूत व्यङ्ग मानिन्छ । यसैले समग्रमा पराजुलिका कविताहरू शत्तिशालि नै ठहरिए ।

—

अर्का कवि जसले कविताको माध्यम बाट मेरो हृदय छोए , २०१९ सालमा आमाको सपनाको लागि रिबेलियस कवि गोपाल प्रसाद रिमालले मदन पुरस्कार पाए । आधुनिक गद्य कविताका प्रवर्तकको रूपमा चिनिएका रिमाल का अन्य कृतिहरूमा पनि उनी प्रगतिबादि नै देखिन्छन् । उनले उति धेरै कविताहरू लेखेनन् तर जति लेखे त्यति बाट मनग्य परिचय पाए । साहित्यमा कविता विधाको समालोचना अन्य विधा भन्दा गहन मानिन्छ किन पनि भने, समाजका घटक बाट कवि एक्लिन सक्दैन र उसले त्यसको गाम्भिर्यतालाई काव्यमा ढाल्छ, काव्यमा ढाल्दा भन्न खोजिएको कुरालाई सिधै नलेखेर अं लकार र जादुई व्यञ्जनको संयोजन गरी जटिल पारिएको हुन्छ, जसलाई कविको काव्य भनिन्छ । काव्यको कारक समाज हुन्छ र कवि मस्तिष्क ले समाजलाई सूक्ष्म अध्ययन गर्ने क्षमता राख्छ ।

कविताको व्याख्या जटिल छ र त ‘काव्यात्मक भाषा अध्ययन समाज’ को पहिलो मान्यतामा यस्तो लेखिएको छ । ‘भाषिक सामाग्रीको पूर्ण व्याख्याले मात्रै काव्यको सप्पै अर्थ निख्रिँदैन ।’ मलाई रिमालको एक दिन एक चोटि, सान्त्वना, म भन्न सक्दिन जस्ता कविताले निकै प्रभाव पारेको छ र यी सबै को माझमा आमाको सपना छुट्टै देखिन्छ जसले विद्रोहलाई आह्वान गरेको छ । एक शताब्दी लामो जहानियाँ राणा शासनको विरुद्धमा लेखिएको कविताले जो कसैलाई उद्वेलित पार्न सक्छ ।

ईतिहाँसमा यस्ता थुप्रै दृष्टान्तहरू छन् जसबाट कविताको शक्ति (काव्य-शक्ति) कस्तो हुन्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ । रुसी क्रान्तिका नायक लेनिन निकोलाई को काव्य ”What is to be done’ बाट प्रभावित थिए भनिन्छ । नेपालको सन्दर्भमा श्रवण मुकारुङ को कविता बिसे नगर्चीको बयान ले तत्कालीन राजा विरोधी आन्दोलनमा मुख्य प्रभाव पारेको थियो ।

रिमालको यस कविताको एक छेउमा यस्तो लेखिएको छ ।

आमा, त्यो आउँछ र?

“हो, बा, त्यो आउँछ।

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।

कविले एक क्रान्तिकारी पुरुषलाई प्रतीकको रूपमा उभ्याएका छन् र उनी भन्छन् त्यो बिहानीको सूर्य झैँ आउँछ । बिषेसगरि यो कवितामा कविले विद्रोहको स्वरलाई काव्यिक ढङ्गले उतारेका छन् । अधर्म सित लड्नलाई क्रान्ति आवश्यक हो भन्ने मुलभाब सर्लक्क देखिन्छ ।

त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर

छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि

बढ्ता छोइने भएर आउँछ।”

हामीले युगान्तकारी क्रान्तिको परिणामहरू लाई देखि, भोगी सकेका छौँ जसले समस्या सँगै एक सुनौलो बिहानी पनि बोकेर ल्याउँछ भन्ने बिम्बलाई छुटाउन सकिँदैन । आमाको सपना कविता त्यति बेलाको राजनैतिक परिस्थिति सँग एकाकार गर्न सक्ने उच्च आदर्श बोकेको कविता हो र अर्को कुरा जसभित्रको प्रत्येक शब्दले राणाहरूको अत्याचार लाई ईंकित गरेको छ ।

यहाँ कविताको बाहिरी रूपको विश्लेषण गर्नु भन्दा भित्री तत्त्व याने कि कविताको संरचना कस्तो हो भन्ने बुझ्नु पर्छ । कुनै पनि कविताले ध्वनि बोकेको हुन्छ, शब्दहरूको संरचनामा कविले कतै ती स्वरलाई लुकाएको हुन्छ जसलाई पर्गेल्ने काम सबैभन्दा जटिल छ । काव्य समालोचनाको लागि हाल सम्म विभिन्न समालोचना विधिहरू विकास भई सकेका छन् । परम्परागत समाजपरक समालोचनाको विकास लाई छोड्दै, कवितामा कविले दृश्य जगतलाई हुबहु निमार्ण नगरी वर्ण, सङ्केत, शैली, शब्दहरू/बिम्बहरू/रूपकहरू को पछाडि चमत्कार लुकाएको हुन्छ, त्यसलाई मिहिन ढङ्गले निकाल्ने काम नै आधुनिक समालोचना प्रविधिको उद्देश्य हो । रिमालको कवितामा यस्ता जादुहरू पर्याप्त भेटिन्छन् ।

Comments (0)

No comments yet — be the first to say something.