प्रिय दुश्मन !
मलाई नामेट पार्न
ज्यादा सकस गर्दै नगर
म फुल जस्तै कोमल मान्छे हुँ
थोरै वचनले हानिदेऊ म झरिहाल्छु
म जुन जस्तै शितल मान्छे हुँ
थोरै त्रास देखाईऊ म उम्लेर सक्किईहाल्छु
तैले तेरा सपनाहरु पूरा नगर्दै हराउनुपर्छ भनिदेऊ
तैले तेरो प्रेम पाउदैनस भनिदेऊ
तैले तेरा आफन्तलाई समेट्न सक्दैनस भनिदेऊ
म केही समय निराश भएर विरक्ती नै हाल्छु
प्रिय दुश्मन !
म सतिसाल झै उभिदाँ
तँलाई कुनै हुरिले ढलाउछ भनिदेऊ
म गलिहाल्छु
तेरो अविरल यात्रा रोकिन्छ भन्देऊ
तेरो सत्य बद्लिन्छ भनिदेऊ
तेरो विचार फेरिन्छ भनिदेऊ
तेरो जीवन तेरै होईन भनिदेऊ
म बाटो बिराईहाल्छु
म धरमराईहाल्छु
एकदिन तँलाई तेरै नशाले सक्काउछ भनिदेऊ
एकदिन तँलाई तेरै आस्थाले मेटाउछ भनिदेऊ
एकदिन तँलाई तेरै ज्ञानले एक्लो बनाउछ भनिदेऊ
म बिचलित भैहाल्छु
म कतै अलपत्र परेर रोकिईनै हाल्छु
अरुको आँखाले संसार हेरेर बुझ्न खोजिस भने
अरुलाई आफुलाई जस्तै महसुस गरिस भने
अरुको मन राख्ने ध्याउन्नमा आफ्नै वचन घटाईस भने
एकदिन तँ सस्तो मान्छे बन्छस भनिदेऊ
म अतालिईहाल्छु
मैले मेरो मनस्थिति बिगारिहाल्छु
तँ केही समयको पाहुना होस भनिदेऊ
तेरो अहंकार समयले धुलिसात पारिदिन्छ भनिदेऊ
तैले देख्ने हरेक वस्तु नाशवान छन भनिदेऊ
तलाई प्यारा लाग्ने चिज सधै तँसङ्ग हुदैनन भनिदेऊ
म धरमराईहाल्छु
म दिगमिग भैहाल्छु
तेरो ज्ञान बाध्यता सामु घुडाँ टेक्छ भनिदेऊ
तेरो आत्मसम्मान प्रेम र डर सामु रहदैन भनिदेऊ
तेरो ईश्वर तँलाई पर्दा तेरै साथमा हुन्नन भनिदेऊ
म हतोत्साहित भैहाल्छु
म मेरा प्रयात्न बिसाईहाल्छु
प्रिय दुश्मन !
मलाई तिम्रो जति माया कसैको लाग्दैन
तिमी नै त हौ मलाई झस्काईरहने
तिमी नै त हौ मलाई म नहुदाँ पनि सम्झिरहने
तिमी नै त हौ मलाई तल झार्ने अनि माथी उठाउने
तिम्रा वचनले म लरबराउछु एकैछिन
म थकित जस्तो भएर सोच्छु एकैछिन
र फेरि एकपटक उभिने प्रयात्न गर्छु ढलफलाउदै
म कहिलेकाही म बन्नको लागि
आवश्यक छ तिम्रो दुश्मनि
मलाई अझाईरहनु
मलाई सम्झाईरहनु !!

Comments (0)
No comments yet — be the first to say something.