पुस्तक: लाटो क्यानभास | लेखक: फकिर | प्रकाशक: न्यू रोड बुक्स | पृष्ठ: २७४ | मूल्य: रु. ५९५
म सधैँ नेपाली उपन्यास अलि शङ्कालु भएर पढ्छु। धेरै किताब पढिसकेपछि एउटा गुनासो मनमा बसेको छ: हाम्रा अधिकांश लेखक अरूको शैलीको खोल ओढेर लेख्छन्, आफ्नो आत्मा लेख्ने हिम्मत गर्दैनन्। “मध्यको उज्यालो” पढ्दा पनि त्यही महसुस भएको थियो। त्यसैले हरेक नयाँ किताब हातमा लिँदा म एउटै प्रश्न सोध्छु: यो असाधारण हुन सक्छ कि?
हिजो न्यूरोड बुक्स पुगेरै फकिरको “लाटो क्यानभास” किनेँ र बिहानसम्ममा पहिलो पानादेखि अन्तिम पानासम्म पढेँ, तर हतारमा भने होइन। मलाई फकिरको बारे थाहा छैन र पुस्तक के को बारेमा हो पनि जान्न चाहिन, मलाई त्यसको नामले गर्दा आकर्शित गर्यो किनकि म पेंटिगं प्रति रुचि राख्ने र मेरो दोस्रो पुस्तक ‘अनुगामी’ चित्रकार संग सम्बन्धित भएकोले पनि मेरो मस्तिष्कले यस किताब प्रति मोह जगाएको थियो । पढ्दै गर्दा यसले मलाई धेरै ठाउँमा रोक्यो, सोच्न बाध्य बनायो र केही वाक्य टिपेर राख्न लगायो। तर किताब बन्द गर्दा मेरो उत्तर इमानदार थियो: यो असाधारण बन्ने बाटोमा हिँडेको उपन्यास हो, तर गन्तव्यमा पुगेको छैन।
यहाँ एउटा कुरा स्वीकार गर्नुपर्छ। म आफैँ “हु विल बरी द डेड गड” (Who Will Bury the Dead God) लगायतका कृतिको लेखक हुँ, र मेरो लेखाइ तथा सोचाइ दुवै स्वभावैले दार्शनिक छन्। म कुनै पनि किताब कथाका लागि मात्र पढ्दिनँ। पात्रको हरेक निर्णयपछाडि कुन दर्शन छ, लेखकले जीवन र मृत्यु, प्रेम र स्वतन्त्रता, ईश्वर र शून्यतालाई कुन कोणबाट हेरेका छन्, त्यही खोज्छु। शोपेनहावर, नित्से, कान्ट र उपनिषद् मेरा लागि उद्धरणका सजावट होइनन्, सोच्ने औजार हुन्। त्यसैले यो समीक्षा पनि त्यही चस्माबाट लेखिएको छ। सायद सामान्य पाठकले यो किताबमा रमाइलो प्रेमकथा भेट्ला, र त्यो उसको अधिकार हो। तर मैले यसमा दर्शन खोजेँ, र जति खोज्दै गएँ, उति रित्तो हात फर्किएँ।
पहिलो पानादेखि नै उपन्यासको केन्द्रमा एउटा अनुपस्थिति छ। दीक्षान्तकी प्रेमिका एलिसा सात महिनादेखि हराएकी छे। ऊ जीवित छे कि “प्रेत” भइसकी, कसैलाई थाहा छैन। पहिलो अध्याय “प्रेतको खोजी” को पहिलो अनुच्छेदले नै पूरै उपन्यासको स्वर तय गर्छ:
“मान्छे एउटा जिन्दगी एकपटक मात्र मर्छ भन्नु सरासर अन्याय हो। प्रेम गर्ने मान्छेहरू बिछोडको एक पलमै पनि हजारौँ पटक मर्छन्।”
त्यसपछि आउँछे अहिल्या, झापाकी सन्थाल युवती र पेसाले नर्स। बानेश्वरको “त्रिपुरासुन्दरी” कोठामा उसले दीक्षान्तलाई आमाजस्तो माया गर्छे, प्रेमिकाजस्तो चाहन्छे, तर कहिल्यै एलिसाको ठाउँ पाउँदिन। पृष्ठभूमिमा जेनजी आन्दोलन, जलेको सिंहदरबार, कन्सल्टेन्सीले “मान्छे बेच्ने कारखाना” बनाएको देश र रिलमा बाँचिरहेको एउटा पुस्ता छ। बीचबीचमा राणाकालीन तीर्थनारायण र बालविधवा चन्द्रिकाको कथा तथा “रकिफ” को पूर्वजन्म-प्रसङ्ग आउँछन्। उपन्यासभित्र अर्को उपन्यास बुनिएको छ।
अन्तिम खण्डमा पुगेपछि कथाको विधा नै फेरिन्छ। प्रेमकथा अचानक नवरात्रिको रात, प्रहरीको अनुसन्धान र “कालो रङको क्रान्ति” भित्र पस्छ। के भयो, म यहाँ खोल्दिनँ। तर यति भन्छु: यो मोड उपन्यासको सबैभन्दा साहसी र सबैभन्दा अधुरो हिस्सा दुवै हो।
पुस्तकको आवरणमा लेखिएको वाक्यबाट सुरु गरौँ:
“समय एउटा यस्तो इरेजर रहेछ जसले कालान्तरमा यादको चित्र मेट्दै लैजाँदो रहेछ।”
“क्यानभास” यही हो, जसमा यादको चित्र कोरिन्छ, मेटिन्छ र फेरि कोरिन्छ। तर त्यो क्यानभास बोल्दैन। ऊ लाटो छ।
दीक्षान्तको अवस्था पढ्दा मलाई शोपेनहावरको सम्झना आयो। उनका अनुसार मान्छेलाई चलाउने अन्धो “इच्छा” (Will) नै दुःखको स्रोत हो। इच्छा पूरा नहुँदा पीडा हुन्छ, पूरा भएपछि रिक्तता। दीक्षान्त यही चक्रमा फसेको मान्छे हो। उसलाई एलिसा चाहिन्छ, र नभेटेसम्म ऊ “आफ्नै सासले पनि घोच्ने” अवस्थामा बाँच्छ। शोपेनहावरले The Metaphysics of Sexual Love मा लेखेका छन्, प्रेम व्यक्तिको होइन, प्रकृतिको चाल हो। फकिर पनि अन्तरङ्ग दृश्यहरूलाई “प्रकृतिको सत्य” भन्छन्। तर शोपेनहावर यहीँ रोकिँदैनन्, मुक्तिको बाटो पनि खोज्छन्: इच्छाको निषेध, कला र करुणा। दीक्षान्त त्यहाँसम्म पुग्दैन। ऊ भोग्छ, तर बुझ्दैन। उपन्यासको दार्शनिक सीमा यहीँ देखिन्छ।
यसको विपरीत, लेखकको एउटा बिम्बले मलाई साँच्चै छोयो:
“हराएकाहरू सधैँ अलप नै भएका हुन्छन् भन्ने हुँदैन। प्लुटो ग्रहहरूको सीमाबाट हरायो तर ऊ आज पनि त्यही ठाउँमा निरन्तर घुमिरहेको छ।”
यो बौद्ध अनित्य र औपनिषदिक अविनाशी आत्माबीचको सुन्दर पुल हो। परिभाषा बदलियो, तर अस्तित्व कायमै छ। म यस्तै वाक्यहरूमा फकिरको आफ्नै आत्मा भेट्छु।
उपन्यासको सबैभन्दा जीवित पात्र दीक्षान्त होइन, अहिल्या हो। उसको डायरीका हरफहरू किताबका सबैभन्दा इमानदार पाना हुन्:
“एकोहोरो प्रेममा मेरो खुसीको कुनै सीमा नै छैन। म सन्तुष्टिको सगरमाथा चढेकी छु। मेरो प्रेमलाई यो संसारले मीराको प्रेम जसरी नै बेवास्ता गर्छ।”
बृहदारण्यक उपनिषद्मा याज्ञवल्क्य मैत्रेयीलाई भन्छन्: “न वा अरे पत्युः कामाय पतिः प्रियो भवति, आत्मनस्तु कामाय पतिः प्रियो भवति।” पति पतिका लागि होइन, आत्माका लागि प्रिय हुन्छ। अहिल्याको प्रेम यही हो। ऊ बदलामा केही नमागी प्रेम गर्छे, किनभने प्रेम गर्नु नै उसको आत्माको पूर्णता हो। उसको आँखाले सोधेको मौन प्रश्न, “प्रभु म हजुरको को हुँ? राधा, रुक्मिणी, मीरा कि दासी?”, भक्ति परम्पराको सम्पूर्ण इतिहास एउटै वाक्यमा समेट्छ।
तर यहीँ कान्टको प्रश्न उठ्छ। कान्टको नैतिकताको मूल सूत्र हो: मान्छेलाई कहिल्यै साधन मात्र होइन, सधैँ साध्य मान्नुपर्छ। एलिसाको सम्झनामा डुबेको दीक्षान्तले अहिल्यालाई के बनायो? सान्त्वना, शरीर, बानी? अन्तिम खण्डमा अहिल्या आफैँ भन्छे:
“म त न प्रियसी, न पत्नी। मलाई एक चुट्की नुन जति अधिकार पनि थिएन।”
यो वाक्य उपन्यासको नैतिक केन्द्र हो, तर लेखकले यसलाई पूरा केलाउँदैनन्। उनी अहिल्याको आत्मविलोपलाई “मीराभन्दा एक तह माथिको प्रेम” भनेर महिमामण्डन गर्छन्। कान्टियन दृष्टिले यो प्रेम होइन, गरिमाको हनन हो। उपन्यासले यो द्वन्द्व उठायो, तर यसको सामना गर्ने साहस देखाएन।
अहिल्याको जातीय पहिचानले कथालाई सामाजिक गहिराइ दिन्छ: “हाम्रो समाजले तपाईंलाई उच्च नस्लीय प्रजाति र मलाई आदिवासीको दर्जामा राख्छ।” बीपी कोइरालाको “सुम्निमा” मा किराती सुम्निमा र ब्राह्मण सोमदत्तबीचको पर्खाल छ दशकपछि पनि त्यहीँ उभिएको छ भन्ने कुरा यो उपन्यासले निर्ममतापूर्वक देखाउँछ।
अन्तिम खण्डमा उपन्यासले पूर्वीय मिथकलाई अप्रत्याशित ठाउँमा पुर्याउँछ। नवरात्रिको रात, कालो रङ, नारीशक्ति: देवी माहात्म्यको “या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता” को प्रतिध्वनि सुनिन्छ। एउटा पात्र भन्छ:
“अर्जुनको हातबाट युद्ध गराउने कृष्ण र म एकै हौँ।”
यो गीताको एघारौँ अध्यायको सम्झना हो, जहाँ कृष्ण भन्छन्: “निमित्तमात्रं भव सव्यसाचिन्”, तिमी केवल निमित्त बन। तर गीताका कृष्ण धर्मस्थापनाका लागि कर्ता बन्छन्, निजी पीडाको प्रतिशोधका लागि होइन। यहाँ नित्सेको चेतावनी ठ्याक्कै लागू हुन्छ: “जो दानवसँग लड्छ, उसले ख्याल गर्नुपर्छ कि ऊ आफैँ दानव नबनोस्।” नित्सेले Genealogy of Morals मा “रेसेन्टिमेन्ट” को चर्चा गरेका छन्: दबिएकाहरूको आक्रोश, जुन नैतिकताको मुकुट लगाएर बदला बन्छ। उपन्यासको अन्तिम खण्ड यही रेसेन्टिमेन्टको कथा हो, तर लेखकले यसलाई न्यायका रूपमा प्रस्तुत गर्ने कि त्रासदीका रूपमा, त्यो छुट्याउन सकेका छैनन्। प्रहरीको “पत्रकार सम्मेलन” वाला दृश्य दर्शनभन्दा बढी टेलिभिजन धारावाहिकजस्तो लाग्छ।
यद्यपि एउटा प्रसङ्ग नित्सेको डायोनिससँग सुन्दर ढंगले मेल खान्छ: “आजको युगमा न पार्वतीले जस्तो तपस्या गर्न कसैले सक्छ, न त महादेव जस्तो बौलाहा देखिएर आफ्नो प्रेमिका बोकेर नाङ्गो नाच देखाउने नै।” सतीको शव बोकेर ताण्डव गर्ने शिव पूर्वीय परम्पराका डायोनिसस हुन्, तर्कभन्दा पर उन्मत्त प्रेमका देवता। उपन्यासमा शिवलाई “देव र दैत्यभन्दा पर, प्रेमीका रूपमा” चिनिएको कुरा मलाई मन पर्यो।
एउटा अध्यायको शीर्षक “अंतः अस्ति प्रारंभ” छ: अन्त्यमै सुरुवात छ। यो पूर्वीय चक्रीय समयबोध हो र नित्सेको अनन्त पुनरावृत्तिको पनि सम्झना गराउँछ। तर नित्सेको पुनरावृत्ति एउटा परीक्षा हो: के तिमी यही जीवन बारम्बार बाँच्न तयार छौ? Amor fati: आफ्नो भाग्यलाई प्रेम गर। फकिरका पात्रहरू भाग्यलाई प्रेम गर्दैनन्, त्यसमा अड्किन्छन्।
अनि उपन्यास सकिन्छ, ठ्याक्कै एउटा शब्दमा: “क्रमशः”।
२७० भन्दा बढी पाना पढिसकेपछि पाठकले पाउने निष्कर्ष यही हो। एलिसाको प्रश्न अनुत्तरित छ, अहिल्याको यात्रा अधुरो छ, अनि दीक्षान्त “चार घण्टापछि” भेटिने वाचामा रोकिएको छ। लेखकले आफैँ एक ठाउँमा लेखेका छन्, “कुनै कथा अधुरै राम्रा हुन्छन्।” तर कलात्मक अधुरोपना र व्यावसायिक “भाग दुई” बीच फरक हुन्छ। यहाँ मलाई दोस्रो जस्तो लाग्यो।
मेरो सुरुको प्रश्नमा फर्कौँ: के फकिरले आफ्नो आत्मा लेखेका छन्?
आंशिक रूपमा, हो। प्लुटोको बिम्ब, “यादमा सती गएर डढेको समयको हिसाब”, अहिल्याको डायरी, र “संसारबाट हराएको मान्छे भेटिन्छ तर कोही आफ्नै आँगनमा हरायो भने कुनै पनि हालमा भेटिँदैन” जस्ता वाक्यमा कसैको नक्कल छैन। यी भोगेर लेखिएका वाक्य हुन्।
तर उपन्यासको ठूलो हिस्सा उधारो मचानमा उभिएको छ। बाजीराव-मस्तानी र काशीबाईको संवाद भन्सालीको फिल्मबाट ल्याइएको छ, शाहिद कपुरको “विवाह” को गीत बज्छ, ट्वान्टी फर्स्ट लभ आइसक्रिम र केएफसी आउँछन्। यी सन्दर्भले पात्रको भावना आफैँ निर्माण गर्नुको सट्टा बलिउडबाट भाडामा लिएको अनुभूति दिन्छ। नारायण वाग्लेको “पल्पसा क्याफे” सँगको संरचनागत समानता (कलाकार नायक, राष्ट्रिय उथलपुथल, हराउने प्रेमिका) पनि बिर्सन सकिँदैन। पारिजातको “शिरीषको फूल” ले जुन अस्तित्ववादी शून्यतालाई दार्शनिक अनुशासनमा बाँधेको थियो, त्यो अनुशासन यहाँ छैन। फकिर विचारहरू छुन्छन्, तर तिनमा डुब्दैनन्। यो उपन्यास एउटा प्रयास हो, तर यसमा आध्यात्मिक, साहित्यिक र दार्शनिक अनुशासन भने अलि कम छ।
अन्तिम पाना पल्टाएपछि मभित्र जुन भाव बाँकी रह्यो, त्यो उत्साह थिएन, बेचैनी थियो। किताब बन्द गरेर पनि बेचैन हुनु आफैँमा नराम्रो कुरा होइन। काफ्काले भनेका थिए, “किताब हामीभित्रको जमेको समुद्र फोर्ने बञ्चरो हुनुपर्छ।” महान् किताबहरूले हामीलाई डिस्टर्ब गर्छन्, तर त्यो बेचैनीपछि केही खुल्छ, केही बुझिन्छ। “लाटो क्यानभास” ले बञ्चरो त चलायो, तर बरफ फुटेपछि भित्र के छ भन्ने देखाउनुअघि नै “क्रमशः” लेखेर कलम बिसायो। मेरो बेचैनी यहीँबाट जन्मियो।
पहिलो, हिंसालाई सौन्दर्य दिइएको छ। अन्तिम खण्डको रक्तपातलाई नवरात्रि, नारीशक्ति र “कालो रङको क्रान्ति” को पौराणिक पहिरन लगाइदिइएको छ। दुर्गाले महिषासुर मार्नु मिथकमा धर्म हो, तर आजको काठमाडौँमा त्यही तर्कले हिंसालाई वैधता दिँदा पाठक अनायासै ताली बजाउने ठाउँमा उभिन्छ। लेखकले यो हिंसालाई प्रश्न गर्दैनन्, सजाउँछन्। मलाई डर लाग्यो, किनभने बदलालाई “क्रान्ति” भनेर बेच्न सजिलो छ, र यो पुस्ता त्यो बेच्ने कथा धेरै सुनिरहेको छ।
दोस्रो, एउटी नारीको आत्मविलोपलाई प्रेमको शिखर भनिएको छ। “एक चुट्की नुन जति अधिकार” पनि नपाएकी अहिल्यालाई लेखक “मीराभन्दा माथि” राख्छन्। एउटा आदिवासी महिला, जसलाई समाजले पहिल्यै किनारामा राखेको छ, उसलाई उपन्यासले पनि बलिदानको वेदीमै उभ्याउँछ। यो प्रेमको उत्सव होइन, पीडाको सामान्यीकरण हो।
तेस्रो, राष्ट्रिय त्रासदी प्रेमकथाको पृष्ठभूमिमा पर्दाजस्तो टाँगिएको छ। पाना १७ मा एउटा वाक्य आउँछ: “अघिल्लो दिन गोली लागेर भाइहरू ढलेको भएर हतारिएको हुँ…” अनि अर्को वाक्यमै कथा रक्सी, ल्यापटपको स्क्रिन र एलिसाको गन्धतिर फर्किन्छ। जेनजी आन्दोलनमा ढलेका युवाहरू यो उपन्यासमा पात्र होइनन्, वातावरण मात्र हुन्। सडकमा बगेको रगतलाई एउटा व्यक्तिको विरहको मुड-लाइटिङ बनाउँदा मलाई असहज लाग्यो।
चौथो, पवित्र मिथकलाई निजी कर्मको ढाल बनाइएको छ। गीताका कृष्ण, सीताको प्रतीक्षा, सतीको शव बोकेका शिव, मीराको भक्ति: यी सबै उपन्यासमा आउँछन्, तर अर्थ खोल्न होइन, पात्रको हरेक कर्मलाई औचित्य दिन। मिथक जब प्रश्नको सट्टा बहाना बन्छ, तब त्यसले पाठकलाई गहिराइतिर होइन, भ्रमतिर लैजान्छ।
पाँचौँ, शोकले बुझाइ होइन, विनाश मात्र जन्माउँछ। दीक्षान्तको पीडा रक्सी, चुरोट र अन्धकारमा घुम्छ। “जिन्दगीमा पहिलोपटक बिहान पानीभन्दा अगाडि रक्सी पिएँ” जस्ता वाक्यहरू इमानदार छन्, तर उपन्यासले यो विनाशलाई कतै पनि अर्थमा बदल्दैन। नित्सेले The Birth of Tragedy मा देखाएझैँ, ग्रिक त्रासदीले दर्शकलाई पीडाको गहिराइमा लैजान्थ्यो र जीवनको स्वीकृति (affirmation) सहित फर्काउँथ्यो। यहाँ पीडा छ, गहिराइ छ, तर फर्कने बाटो छैन। कुनै क्याथार्सिस छैन, केवल “क्रमशः” छ।
छैटौँ, सामाजिक सञ्जालको कुरूपता कच्चै पानामा पोखिएको छ। फेसबुक लाइभका ट्रोल कमेन्टहरू (“सतानीको पनि दुईटा बोइफ्रेन्ड”, “कोसँग सुत्दा मजा आयो”) यथार्थ हुन्, र त्यसलाई देखाउनु लेखकको साहस पनि हो। तर उपन्यासले त्यो फोहोरलाई देखाएर छोडिदिन्छ, विश्लेषण गर्दैन। पाठकले एउटी महिलामाथिको सार्वजनिक अपमान पढ्छ, र कथा अर्को दृश्यमा सर्छ।
यी कारणले म यो किताबबाट उत्साहित भएर होइन, गहिरो असन्तुष्टि लिएर उठेँ। हो, पूर्ण असन्तुष्टि। एउटा दार्शनिक पाठकका रूपमा मलाई सबैभन्दा बढी दुख्यो, किनभने यो उपन्यासले ठूला प्रश्नहरू उठाउने हिम्मत त गर्यो, तर कुनै पनि प्रश्नसँग अन्तिमसम्म जुध्ने धैर्य देखाएन। मृत्यु आयो, तर मृत्युको दर्शन आएन। प्रेम आयो, तर प्रेमको तत्त्वमीमांसा आएन। हिंसा आयो, तर हिंसाको नैतिक हिसाब आएन। मिथक आए, तर मिथकको पुनर्व्याख्या आएन। नित्सेले भनेका थिए, “मान्छेले आफूभित्र अराजकता बोकेको हुनुपर्छ, नाच्ने तारा जन्माउन।” फकिरसँग अराजकता प्रशस्त छ। तर त्यो अराजकताबाट तारा जन्मिएन, धुवाँ मात्र उठ्यो। असाधारण कृतिले पाठकलाई अँध्यारोमा लैजान्छ र दियो पनि थमाउँछ। यो उपन्यासले अँध्यारो त दियो, दियो दिन बिर्सियो।
र केहि कमजोरिहरु, म यिनलाई बुऊदागत रुपमा राखेर आफ्नो अमुल्य समय जोगाउन चहान्छु ।
- अधुरो अन्त्य: “क्रमशः” ले उपन्यासलाई स्वतन्त्र कृतिका रूपमा कमजोर बनाएको छ।
- पौराणिक त्रुटि: एक ठाउँमा रामलाई “सत्ययुगको” भनिएको छ, जबकि परम्परामा राम त्रेतायुगका हुन्। पूर्वीय मिथकमा उभिएको उपन्यासमा यस्तो चुक बिझाउँछ।
- भाषिक मिश्रण: “एक्चुअल्ली”, “इभन आइ एम नट इन मुड टु मेक फन” जस्ता अङ्ग्रेजी वाक्यले पुस्ताको यथार्थ त देखाउँछन्, तर गद्यको लय पनि भाँच्छन्।
- बिखरिएको संरचना: कथाभित्रका कथा सुन्दर छन्, तर मूल कथासँग जोड्ने धागो कहिलेकाहीँ कमजोर हुन्छ।
- नैतिक अस्पष्टता: अहिल्याको आत्मविलोप र अन्तिम खण्डको प्रतिशोध, दुवैलाई लेखकले उदात्तीकरण गर्छन्, प्रश्न गर्दैनन्।
- सम्पादन: पूर्णविरामको असङ्गत प्रयोग र छपाइ त्रुटिले पढाइ अवरुद्ध गर्छन्।
यो मैले लेख्ने सोचेको थिईन तर पछि पोष्ट गर्ने बेला राख्दा मेरो समिक्षा अझै पारदर्शि हुन्छ भन्ने सोचे र यो पनि थपे। पाना १७ मा पुग्दा म अलिकति अड्किएँ। एलिसाका लागि एउटै अनुच्छेदमा “उनले”, “ऊ आइन्”, “उसले खुवाइन्” र “ऊ निस्किइन्” लेखिएको छ। सर्वनाम एउटा तहको छ, क्रियापद अर्को तहको। किताबका अरू ठाउँमा लेखकले “ऊ… थिई”, “उसले… लगाई” जस्तो सही सङ्गति राखेका छन्, त्यसैले यो अज्ञानता होइन, सम्पादकीय लापरवाही हो। तर यसको मूल्य सानो छैन। प्रेमिकालाई कहिले आत्मीय “ऊ” र कहिले दूरीको “उनी” बनाउँदा पाठकले पात्रसँगको सम्बन्धको तापक्रम नै गुमाउँछ। साहित्यमा व्याकरण केवल नियम होइन, भावनाको नक्सा पनि हो। यस्ता त्रुटि यो किताबमा मात्र छैनन्। बोलीमा स्त्रीलिङ्गी क्रिया हराउँदै जाँदा र भाषा सम्पादकको भूमिका कमजोर हुँदा नेपाली प्रकाशनमा यस्तो खिचडी बारम्बार देखिन्छ।
यति लेखिसकेपछि मैले पेन्सिल रोकेँ, र मलाई आफ्नै पहिलो उपन्यास लेख्दाको समय याद आयो। राति अबेरसम्म पात्रहरूसँग बस्दा, भावना कलमभन्दा अगाडि दौडिँदा, व्याकरण कति पटक पछाडि छुटेको थियो, म आफैँलाई थाहा छ। पहिलो उपन्यास भनेको आफ्नो हृदय कागजमा पोख्ने हतार हो। त्यो हतारमा “उनी” र “ऊ” को सीमा धमिलिनु अस्वाभाविक होइन। त्यसैले मैले फकिरको भाषाका यी भयाभयतालाई मनमनै माफ दिएँ। तर माफ दिनु भनेको बिर्सनु होइन। अर्को संस्करणमा, र “क्रमशः” पछि आउने भागमा, यसमा ध्यान पुग्नैपर्छ। किनभने हृदयबाट लेखिएको कथा पाठकको हृदयसम्म पुग्न भाषाको पुल बलियो हुनुपर्छ।
र अन्त्यमा…
“लाटो क्यानभास” ले पूर्वीय मिथक, आधुनिक पुस्ताको आक्रोश र एकोहोरो प्रेमको अध्यात्मलाई एउटै क्यानभासमा उतार्ने साहस त गरेको छ। यो साहसका लागि फकिर प्रशंसाका पात्र हुन्। तर शोपेनहावरको गहिराइ, नित्सेको निर्ममता, कान्टको नैतिक स्पष्टता वा उपनिषद्को मौन पूर्णताको स्तरमा पुग्न यो उपन्यासलाई अझ धेरै तपस्या चाहिन्छ।
किताबको आवरणमा लेखिएको छ, “सबैभन्दा गाह्रो काम भनेको हृदयको मान्छेलाई हृदयमा राखिराख्नु हो।” फकिरले हृदय त राखेका छन्। अब उनले आफ्नो आत्मालाई अरूको शैलीको खोलबाट पूर्ण रूपमा मुक्त गर्नुपर्छ। “क्रमशः” पछि आउने भागमा त्यो भयो भने नेपाली साहित्यले साँच्चै एउटा फरक आवाज पाउनेछ।
म अझै त्यो असाधारण किताबको खोजीमा छु। “लाटो क्यानभास” त्यो होइन, तर त्यसतर्फ इमानदारीपूर्वक हिँडेको एउटा पाइला हो।
मेरो मूल्याङ्कन: ३/५

Comments (2)
राम्रो समीक्षा ,,, पैताला, j33, गिद्दहरूको नाच,फोसील, मिथ्या पुस्तक तपाईंले पढ्नु भएको छ भने के तपाईंलाई असाधारण लाग्यो त? महबि मिका र आउँदै गरेको दरिद्रघाट पढेको छैन नत्र माथिकै list मा समावेश हुने थिए ।
धन्यवाद @Rawal Yek । पैताला, फोसिल र मिथ्या पढेको छु । यसको समीक्षा पनि बिस्तारै गर्दै गर्छु । पैताला निस्कँदा राम्रै लागेको थियो शैली तर पछि फेरि पढ्न खोज्दा त्यति संष्तुष्टि भने मिलेन ।