Catch feed

Catch → Untitled Catch

✓ Unlocked — enjoy the rest of the Catch
Philosophy

Untitled Catch

“असन्तुष्टिको संस्कार”

करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र अपरिचित एकान्तसँग चिनाएको थियो। फर्किँदा घर खाली थियो। उसकी श्रीमती आफन्तको घरमा पूजामा गएकी थिइन्, परिवारका अरू सदस्यहरू पनि शहरमै थिएनन्।

“एक हप्ता पछि फर्किन्छौँ,” जाँदाखेरि श्रीमतीले भनेकी थिइन्, “हजुर आराम गर्नुस्, खाना राम्रोसँग पकाएर खानुस्, नत्र होटलमै खाइदिनुस्।”

पहिलेको विशाल भए अल्छी स्वभावले सायद होटल रोज्थ्यो। तर यो यात्राले उसलाई केही सिकाएको थियो—एक्लै हिँड्दा आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने पाठ। त्यसैले घर फर्केको पहिलो साँझ उसले कोठा सफा गर्‍यो, आफैँ नुहायो, अनि साँझको हल्का सुनसानमा भान्सातिर लाग्यो।

उसलाई थाहा थियो—घरको चामलमा साना किरा लाग्छन्। पकाउनुअघि राम्ररी केलाउनुपर्छ। श्रीमती पाँच मिनेटमै हेरेर सक्ने चामल उसले थालमा राखेर ध्यानपूर्वक हेर्न थाल्यो। पहिलो पाँच मिनेट बित्यो, त्यसपछि दस, पन्ध्र… समय आफैँलाई थाहा नपाई आधा घण्टा बितिसकेको थियो।

बीचबीचमा ऊ सास रोकेर चामलतिर झुक्थ्यो, सेतो चामलको सुताझैँ रङभित्र लुकेका साना किराहरू छुट्याउने कोसिस गर्थ्यो। आँखाले एकैचोटि नदेख्ने, तर ध्यान दिएपछि मात्रै देखिने ती किरा निकालेर फ्याँक्दा उसलाई अनौठो सन्तोष मिलिरहेको थियो। करिब सात–आठवटा किरा हटाएपछि उसले सास फेरेर भन्यो, “आज त किरा बिना भात खान पाइने भयो।”

भात पाक्यो। उसले थालमा भात राखेर खायो। स्वाद सामान्य थियो, तर मन भने अस्वाभाविक रूपमा सन्तुष्ट थियो। आधा घण्टाको मेहनत सफल भएको अनुभूति उसलाई मीठो लाग्यो। उसले सोच्यो—आज केही गरियो। यही अनुभूति बोकेर ऊ सुत्यो।

भोलिपल्ट पनि ऊ भान्सामा उस्तै ध्यानका साथ चामल केलाउन बस्यो। पाँच मिनेट बित्यो, दस मिनेट बित्यो। उसले एउटा किरा पनि भेटेन। अझ ध्यान दिएर हेर्यो , तर केही भेटिएन। चामल सफा थियो।

तर अचम्म—किरा नभएको चामल देख्दा उसलाई हिजोको जस्तो सन्तोष मिलेन। भात पाक्यो, उसले खायो पनि। पेट त भरियो, तर स्वाद फिक्का लाग्यो। भोक पनि खासै लागेको जस्तो भएन।

“उही भात हो,” उसले आफैँसँग भन्यो, “हिजो किरा थिए, आज छैनन्। तर किन आज मन खिन्न छ?”

यस्तै क्रम दिनहरू बित्दै गयो। कहिले चामल केलाउँदा किरा भेटिन्थ्यो, कहिले भेटिँदैनथ्यो।

किरा भेटिँदा ऊ गम्भीर भएर निकाल्थ्यो, अनि अन्त्यमा गहिरो सन्तोष महसुस गर्थ्यो—आज केही बाधा हटाइयो, आज केही गरियो।

किरा नहुँदा भने ऊ बेचैन हुन्थ्यो। काम सजिलै सकिँदा पनि मनमा खालीपन हुन्थ्यो, जस्तो उसले केही नजितेको होस्, केही नपाएको होस्।

एक साँझ उसले थाल हातमा लिएर धेरै बेर सोचिरह्यो।

“आखिर भोक मेट्ने त भातले नै हो,” उसले मनमनै भन्यो, “किरा भए पनि, नभए पनि।”

तर उसले बुझ्न थाल्यो—उसको मन भोकसँग होइन, प्रक्रियासँग बाँधिएको रहेछ। बाधा आयो, उसले हटायो भने उसलाई आनन्द मिल्थ्यो। बाधा नै आएन भने, सजिलै सम्पन्न भएको कामले उसलाई खुशी दिन सकेन।

त्यही क्षण उसले मानिसको जीवन सम्झियो।

मानिस पनि यस्तै रहेछ। अन्तिम परिणाम—खाना, सफलता, गन्तव्य—सबैभन्दा महत्वपूर्ण भए पनि मनले सधैँ त्यसलाई मात्र हेर्दैन। बीचमा समस्या आयो, संघर्ष गरियो, हटाइयो भने मानिस खुशी हुन्छ। सजिलै प्राप्त भएको कुरा उसलाई प्रायः निस्सार लाग्छ।

कहिलेकाहीँ मानिस समस्यालाई नै खोज्छ, किनकि समस्या समाधान गर्दा आफूले केही गरेको, केही जितेको अनुभूति हुन्छ।

विशाल मुस्कुरायो। चामलको साना किराबाट उसले जीवनको ठूलो सत्य देखिसकेको थियो।

अन्त्यमा उसले बुझ्यो—

जीवनको अर्थ सधैँ परिणाममा होइन, यात्रामा लुकेको हुन्छ।

समस्या आएर हट्यो भने मात्र खुशी मान्ने बानीले कहिलेकाहीँ सजिलो सुखलाई पनि फिका बनाइदिन्छ।

सन्तोष पाउन संघर्ष आवश्यक छ, तर संघर्ष नहुँदा पनि शान्त रहन सिक्नु नै जीवनको साँचो परिपक्वता हो।

विवेक पौडेल 

Comments (0)

No comments yet — be the first to say something.