परिचय
बालकृष्ण सम (वास्तविक नाम: बालकृष्णशमशेर जङ्गबहादुर राणा, वि.सं. १९५९ माघ २४ – वि.सं. २०३८ साउन ६) नेपाली साहित्यका नाटककार, कवि र चित्रकार हुन्। उनको जन्म काठमाडौंको ज्ञानेश्वरमा जनरल समरशमशेर जङ्गबहादुर राणा (पिता) र कीर्तिराज्यलक्ष्मी (माता) का सन्तानको रूपमा भएको थियो।
वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले आफ्नो थरबाट ‘शमशेर जङ्गबहादुर राणा’ हटाई केवल ‘सम’ राखे — यही नामले उनी आजसम्म चिनिन्छन्।
दरबार स्कुलमा पढेर कोलकाताबाट म्याट्रिक पास गरेका सम पिताको इच्छाविपरीत इन्जिनियर नबनी सैन्य सेवामा प्रवेश गरे र मेजर कर्णेल भएर फर्किए। वि.सं. १९८७ मा त्रिचन्द्र कलेजमा नेपाली भाषाको प्राध्यापक बने।
साहित्यिक योगदान
बहुमुखी प्रतिभाका धनी सम नाटक, कविता, महाकाव्य, कथा, निबन्ध, प्रबन्ध र जीवनी गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन्, जसमध्ये डेढ दर्जनभन्दा बढी नाटक छन्। उनको नाट्यशैली — पद्यमा, वर्ण-मात्रिक अनुष्टुप छन्दमा लेखिएको, प्रायः अन्त्यानुप्रासरहित — विलियम सेक्सपियरको ब्ल्याङ्कभर्स शैलीसँग मिल्दोजुल्दो देखिएकाले उनलाई ‘नेपाली शेक्सपियर’ भनिन्छ। नेपाली नाटकमा गुणात्मक र ऐतिहासिक योगदानका लागि उनलाई ‘नाट्य सम्राट’ को उपाधि दिइएको छ।
उनी ‘गोर्खा भाषा प्रकाशिनी समिति’ लाई ‘नेपाली भाषा प्रकाशिनी समिति’ मा रूपान्तर गराउने नेतृत्वकर्तामध्ये पनि थिए।