Catch feed

Catch → ‘ब्लुम’ पढिसकेपछि: एउटा पाठकको इमानदार नोट

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

‘ब्लुम’ पढिसकेपछि: एउटा पाठकको इमानदार नोट

पुस्तक: ब्लुम | लेखक: स्मारिका | प्रकाशक: बिएन पुस्तक संसार | मूल्य: रु. ४५५

‘ब्लुम’ हातमा परेपछि पहिले मेरो नजर आवरणमा गयो। हावामा केश उडाउँदै, आँखा बन्द गरेर मुस्कुराइरहेकी एउटा युवती। पछाडि लेखिएको थियो, बिछोडपछि पनि आफूलाई फेरि भेट्ने सम्भावना बाँकी रहन्छ। मलाई लाग्यो, यो किताब टुटेर फेरि उठ्ने मान्छेको कथा हुनेछ। त्यही आशाले पढ्न थालेँ।

किताब सकेपछि मेरो मनमा दुईवटा प्रतिक्रिया एकसाथ आए। एउटा निराशाको थियो, अर्को आशाको।

सुरुमै भन्छु, यो उपन्यासमा मैले धेरै कुरा पहिले नै पढिसकेको, देखिसकेको जस्तो पाएँ। सपनामा देखेकी युवती भोलिपल्ट बसको छेउको सिटमा भेटिनु। असारको झरीलाई रोमान्टिक मौसम भनिनु। मन दुखेपछि बियरको सहारा लिनु। सुन्दर, सफल र सम्पन्न डाक्टर। पात्रहरू जहाँ गए पनि संयोगले भेटिइरहनु। चलचित्र र टेलिसिरियलले हामीलाई यी दृश्य यति धेरै देखाइसकेका छन् कि पढ्दै जाँदा अर्को मोड के आउँछ भनेर मन आफैँ अनुमान गर्न थाल्छ। धेरैजसो अनुमान मिल्छ पनि।

तर मलाई सबैभन्दा बढी खट्किएको चरित्र निर्माण हो। उपन्यासका पात्रहरू पहिलो पृष्ठमा जस्ता छन्, अन्तिम पृष्ठमा पनि लगभग त्यस्तै छन्। असल पात्र सुरुदेखि अन्त्यसम्म असल छ, शङ्कास्पद पात्र सुरुदेखि नै शङ्कास्पद छ। आरियाको पात्रमा मैले सबैभन्दा धेरै सम्भावना देखेँ। कहिले लजालु, कहिले एक्लो र उदास, कहिले समाजकी सम्मानित नेतृ। एउटै मान्छेभित्र यति धेरै अनुहार हुनुले गहिराइको सङ्केत गर्छ। तर उपन्यासले ती अनुहारबीचको द्वन्द्वमा पस्नुभन्दा तिनलाई व्याख्या गरेर टुङ्ग्याउँछ। पात्र बदलिँदैनन्, कथाले मात्र तिनको बारेमा जानकारी थप्छ।

उपन्यासको सुरुवात एउटा बस यात्राबाट हुन्छ। कथावाचक समीर लेखक हो, जसले चार वर्षदेखि केही लेखेको छैन। घर जाँदै गर्दा बसमा उसको भेट आरिया अधिकारीसँग हुन्छ। त्यसपछि बुटवल, घोराही र क्याफेमा संयोगले भेटहरू दोहोरिँदै जान्छन्। हरेक भेटमा आरिया फरक रूपमा देखिन्छे। कहिले चाट पाए सबै बिर्सिने लजालु युवती, कहिले रातमा एक्लै हुक्का र बियरसँग बसेकी उदास महिला, त कहिले समाजमा सम्मानित पदमा रहेकी सफल व्यक्ति। पाठकको मनमा पनि समीरकै प्रश्न उठ्छ: वास्तविक आरिया को हो?  

यही बिन्दुमा उपन्यासले आफ्नो संरचना खोल्छ। आरिया समीरलाई आफ्नो कथा लेखिदिन आग्रह गर्छे। यसरी ‘ब्लुम’ कथाभित्रको कथा बन्छ। एकातिर समीरको वर्तमान छ, अर्कोतिर आरियाको आफ्नै आवाजमा सुनाइएको विगत। जब आरिया आफैँ बोल्न थाल्छे, उपन्यासले नयाँ ऊर्जा पाउँछ। बीस वर्षकी युवतीको सपना, परिवारप्रतिको माया, बहिनीसँगको आत्मीयता र प्रेमको पहिलो अनुभव सहज र विश्वसनीय ढङ्गले आएका छन्।  

मैले दस्तयभ्स्की पढेको छु, चेतन भगत लाई पनि कुनै समय पढें । अरु थुप्रै क्लासिकस् उपन्यास पढेको छु । बुकोवास्कि पढें । मिलर लाई पढे । सेलिलाई पढें । उपन्यास जति राम्रा लेखकले लेखेका भएनि त्यसमा आउने कथा भने उस्तै हुन्छन् ।  यि लेखिका का पात्रहरू आफैँसँग लड्छन्। आफ्नै विश्वासलाई शङ्का गर्छन्, आफ्नै नैतिकतासँग झगडा गर्छन्, र त्यही झगडाबाट पाठकलाई मान्छेको भित्री खाडल देखाउँछन्। ‘ब्लुम’का पात्रहरूभित्र त्यो अराजकता छैन। पीडा छ, आँसु छ, एक्लोपन पनि छ। तर ती सबै सतहमै छन्, आत्माको तल्लो तहसम्म पुग्दैनन्। त्यो चस्माले हेर्दा यो उपन्यास कमजोर छ। यो कुरा म लुकाउन चाहन्नँ।

तर हरेक किताबलाई दस्तयभ्स्कीको तराजुमा जोख्नु पनि न्याय होइन। त्यो चस्मा एकछिन फुकालेर फेरि हेरेँ। अनि मैले एउटा नयाँ लेखिकाको इमानदार प्रयास देखेँ।

स्मारिकाले संरचनामा जोखिम लिएकी छिन्। उपन्यास कथाभित्रको कथा हो। एउटा लेखकले अर्की महिलाको कथा लेख्छ, र त्यो महिला आफ्नै आवाजमा आफ्नो विगत सुनाउँछे। पहिलो उपन्यासमै दुई कथावाचक र दुई समयलाई जोड्ने प्रयास सजिलो होइन। विशेषगरी आरिया आफैँ बोल्न थालेपछि उपन्यासमा जीवन आउँछ। बीस वर्षकी युवतीको उत्सुकता, आफ्नै रूप देखेर ऐनामा मुस्कुराउनु, बहिनीको चेतावनी र आमाको चिन्ता यति सहज रूपमा आएका छन् कि पढ्दा कतै कृत्रिम लाग्दैन।

पहिलो उपन्यास भएकाले केही कमजोरी स्वाभाविक रूपमा देखिन्छन्। सुरुका अध्यायहरू ढिला छन्। भेट हुने, खाना अर्डर गर्ने, बिल तिर्ने, घर छाड्ने र रातभर निद्रा नलाग्ने क्रम पटकपटक दोहोरिन्छ। कथा अगाडि बढाउन संयोगमाथि धेरै भर परिएको छ। पात्रहरू जहाँ गए पनि भेटिन्छन्, र एक पात्रले त यो कुरा आफैँ स्वीकार्छ पनि।

अर्को खट्किने पक्ष महिला पात्रको शारीरिक वर्णन हो। नारीहरूलाई समर्पित उपन्यासमा पनि महिलाको अनुहार र शरीरको वर्णन बारम्बार पुरुष दृष्टिबाट गरिएको छ। यो सचेत रूपमा गरिएको हो वा होइन, त्यो स्पष्ट हुँदैन। सम्पादनमा पनि केही चुक देखिन्छन्। जस्तै, एउटै पात्रको नाम फरक पृष्ठमा फरक लेखिएको छ। यस्ता त्रुटि प्रकाशक र सम्पादकको जिम्मेवारी हुन्, जसले पठन अनुभवमा सानो अवरोध ल्याउँछन्।

उपन्यासले केही गहिरा प्रश्न पनि छोएको छ। धोका पाइयो भने के त्यो प्रेम नै थिएन? प्रेम भनेको समर्पण हो कि आफूलाई चोट लाग्न सक्ने गरी खुला राख्नु? एउटा पात्रले सुरुमा बोकेको धारणा पढ्दा मलाई लाग्यो, लेखिकालाई थाहा छ उनी के प्रश्न सोध्दैछिन्। ती प्रश्न अझ निर्ममतापूर्वक खन्न सकिन्थ्यो, तर प्रश्न सोध्ने आँट हुनु नै सुरुवात हो।

भाषा सरल र पठनीय छ। आरियाजस्तो जिल्लामा काम गर्ने, नेतृत्व गर्ने र सफल महिलाको चित्रण नेपाली उपन्यासमा अझै धेरै आवश्यक छ।

सम्पादनमा केही चुक छन्। कतै पात्रको नाम फरक परेको छ, कतै दृश्यहरू अनावश्यक रूपमा दोहोरिएका छन्। एउटा कसिलो सम्पादकले यो किताबलाई पचास पृष्ठ छोटो र दोब्बर प्रभावशाली बनाउन सक्थ्यो।

तैपनि म यो किताब बन्द गर्दा निराश भएर उठिनँ। मैले एउटा लेखिका देखेँ, जो अहिले बाटोको सुरुमा छिन्। उनीसँग संवेदना छ, संरचनाको सोच छ, र सोध्नलायक प्रश्न छन्। अब चाहिएको भनेको पात्रहरूलाई अझ निर्दयी भएर भित्रसम्म खोतल्ने साहस र परिचित ढाँचाबाट बाहिर निस्कने जोखिम हो।

‘ब्लुम’ पूर्ण रूपमा फुलेको फूल होइन। यो कोपिला हो। तर मलाई त्यो कोपिलामा भविष्यको फूल देखियो।

स्मारिका, तपाईँको अर्को किताब म पक्कै पढ्नेछु।

Comments (1)

Smarika 5 days ago

मेरो पुस्तक पढ्न समय निकालेर यति लामो र विस्तृत प्रतिक्रिया दिनुभएकोमा हृदयदेखि नै धन्यवाद। तपाईंले लेख्नुभएका प्रत्येक शब्द मेरा लागि महत्त्वपूर्ण छन्। राम्रा पक्षहरूको प्रशंसा होस् वा कमजोरीहरू औँल्याइएको आलोचना, दुवैलाई म उत्तिकै सम्मान गर्छु। मेरा लागि हरेक प्रतिक्रिया सिक्ने र आफूलाई अझ परिष्कृत बनाउने एउटा अवसर हो। लेखकका रूपमा अझै धेरै सिक्न बाँकी छ र यस्ता इमानदार प्रतिक्रियाले आगामी लेखन यात्रामा अझ राम्रो बन्न प्रेरणा दिन्छन्। मेरो लेखनलाई यति ध्यानपूर्वक पढेर आफ्ना विचारहरू राखिदिनुभएकोमा फेरि पनि धेरै धेरै धन्यवाद। ❤️

Reply