यतिका बर्ष शंकर लामिछाने लाई पढ्दै गर्दा (सुन्दै गर्दा) सधै एउटा ईच्छा मनमा आउँथ्यो, शंकरका निबन्धको बारे केहि लेख्नै पर्छ । यो किन पनि भने, कतिपय ग्रन्थ वा कृतिहरू चक्षुको बाटो भएर होइन, अन्तर्मनको कुनै अगम्य, अँध्यारो र विस्मृत छिँडीबाट सुटुक्क पस्छन् र वर्षौँसम्म निश्चल, मौन एवं सुषुप्त भएर बसिदिन्छन् । चाहे नित्शेको अफोरिजम होस् या सार्त्रको ‘बिईन एण्ड नथिगंनेस’ कुनै कृतिहरुले बर्षौं पोजेटिभ घात गरिररहन्छन् । शंकरको निबन्धहरु त्यस्तै हुन् । प्रत्येक पटक पढ्दा बेग्लै स्वाद निस्किन्छ । शंकर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन प्याज मैले धेरै अघि नै पढेको थिएँ—तर छापाखानाको मसी सुँघ्दै, कागतका पाना पल्टाउँदै होइन । त्यो बेला हातमा पेपरब्याक (हुन त पेपरब्याक कहिले पनि मेरो मनपर्ने बाटो भएन किनकि पेपरब्याक पढ्दा म बढिमा दश मिनेट पढ्न सक्थे भने इ-बुक वा पि.डि.एफ पढ्दा अलि लामो समय र यसले आँखालाइ धेरे राहत पनि दिन्थ्यो) थिएन । हो यसै गरि, इन्टरनेटको कुनै एकान्त कुनामा भेटिएको धमिलो पीडीएफ फाइलबाट मैले त्यो किताब पहिलो पटक नियालेको थिएँ । मलाई अझै धमिलो सम्झना छ, सायद त्यही समयताका मैले मोमिलाको ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान‘ पनि सँगै डाउनलोड गरेको थिएँ । ती दुई डिजिटल फाइल मेरो फोल्डरमा कसरी आइपुगे, समयको कुन मोडले तिनलाई एकैसाथ मेरो स्क्रिनमा उतार्यो, मलाई ठ्याक्कै हेक्का भने छैन; तर तिनले मेरो पठनको पुरानो नक्सालाई भने भताभुङ्ग पारिदिए । यो संगै अर्को एक किताब पनि स्क्रिनमा थियो, ‘मष्तिस्कहरुको मृत्यु’, जसको बारेमा अर्को छुट्टै लेख लेख्छु जसले मलाई नेपालि निबन्धको अर्कै लोक मा पुर्याएको थियो ।
ती पीडीएफ पानाहरू पढ्दा मलाई नेपाली निबन्धको परम्परागत चौघेरा, रूढिबद्धता र निर्जीव ढाँचा भत्किएजस्तो लागेको थियो । हामीकहाँ निबन्ध भनेको प्रायः या त प्रकृतिको कोमल, अलङ्कारिक वर्णन हुन्थ्यो, या मीठो संस्मरण, या त नैतिक उपदेशको गह्रुँगो भारी बोकेको पृष्ठहरु । तर शंकर लामिछानेको वाक्यमा एउटा बेग्लै, तीक्ष्ण र विद्रोही धार थियो—अल्बर्ट कामु (Albert Camus) वा पाश्चात्य अस्तित्ववादी निबन्धकारहरूको जस्तो निर्मम आत्मपरीक्षण, विसङ्गतिको तीखो बोध र चेतनाको अँध्यारो तह चियाउने अदम्य साहस बोकेको हुन्थ्यो । त्यतिखेरै मनमा लागेको थियो—नेपालमा यस्तो खालको लेख्ने कोही छैन, यो त नितान्त भिन्न र असाधारण चेतनाको उपज हो, हुन पनि यसले सदैब मेरो पाठक हृदयमा यहि छाप छोड्यो ।
अहिले फेरि ‘हामी पाइताला हौँ: फगत पाइताला’ पढ्दा ती पुराना स्मृतिहरू मात्र होइन, लेखनसँगको मेरो आफ्नै पुरानो, जटिल र कहिलेकाहीँ विच्छेदित सम्बन्ध पनि ब्युँझिएको छ । मैले हप्ता दिन अगाडि मात्र शंकर लामिछानेकै अर्को एउटा समीक्षा (तर म आफैं भने यसलाई समिक्षा भन्दिन) लेखेँ, र अहिले फेरि यो दोस्रो समीक्षा (होईन) लेख्दै छु। सायद लगभग छ-सात महिनापछि मैले कलम बोकेर केही लेख्न थालेको छु । त्योभन्दा अगाडि त मैले निरन्तर लेखेँ—चौध-पन्ध्र वर्षसम्म, सधैँ, रोकिँदै-अड्किँदै, कहिले लयमा त कहिले बेलयमा (धेरै जसो बेलयमै ) भए पनि लेखिरहेँ । काम गर्दा होस् या खाना बनाउँदा । तर यी छ-सात महिना मैले केही पनि लेखिनँ—मानौँ कलम विश्राममा थियो, या चेतना भित्रैभित्रै कुनै नयाँ, अपरिचित रूप धारण गर्न खोज्दै थियो, मौनताको गर्भमा पाक्दै थियो या स्पष्ट भन्नु पर्दा लगभग दुई दशकको लेखन यात्रा रोकिएको थियो, बिक्षिप्त भएँ क्यार अनेक कुरा बाट । यस्तो लाग्छ मेरो खप्पर यसरि खालि भएकै थिएन कहिले, केहि न केहि लेखनको-जटिलता रुमल्लिएको हुन्थ्यो ।
अहिले फेरि लेख्ने इच्छा जागृत हुँदै छ । या भनुँ केहि अर्थोक गर्ने काम नभएर म लेख्ने काम गर्दिदै छु, अरुका लागि, आफ्नो लागि त पहिले चार या पाँच किताब
[1] मा लेखिसके, भनिसके भन्नु पर्ने कुरा, क्यार! र यसपटक मलाई लागिरहेको छ, शंकर लामिछानेको निबन्धहरूको मात्र होइन, अरू नेपाली निबन्धहरू पनि छन् जुन लेख्न, केलाउन र विमर्श गर्न योग्य छन् । तिनीहरूलाई पनि लिएर एउटा किताब नै तयार पारौँ कि भन्ने सोच पलाउँदै छ, र यो दोस्रो समीक्षा पनि त्यसै सम्भावित ग्रन्थको एउटा अध्याय बन्न गइरहेको छ, सायद । आफैँलाई सोध्छु—के म पनि कुनै लोभले नै यहाँ आइपुगेको हुँ कि, फेरि लेख्न थालेको हुँ कि? सायद त्यो किताबको लोभ होला, या ती नलेखिएका निबन्धहरूमाथि आफ्नो स्वर छोड्ने लोभ, या आफैँभित्र जम्मा भएका धर्का, चिरा र कम्पनहरूलाई अक्षरमा उतार्ने लोभ। प्रसंग जोड्दाजोड्दै कतिपय कुरा मनमै हराउँछन्, बिर्सिन्छन्—तर तिनै हराएका सूत्रहरूबाट फेरि अर्को गोरेटो खुल्छ-निश्चित, अनिश्चित ।
गोरेटोको आत्मा र पहिलो पाइतालाको विद्रोहबाट सुरु हुने यो निबन्धले मान्छेको खप्पर, निधारको भाग्यरेखा, देवकोटाको अटोग्राफ, विष्णु पादुका, शेक्सपियरका पात्रहरू र अन्ततः विष्णुमतीको बगरसम्मको यात्रा तय गर्छ। पढ्दै जाँदा मलाई यो केवल एउटा साहित्यिक निबन्ध मात्र लागेको थिएन; यो त मैले वर्षौँदेखि आफैँभित्र बोकेर हिँडेका रित्ता खाडलहरू, धर्साहरु, तेर्सो परेका रेखाहरू र गोरेटोहरूको प्रतिबिम्ब पो थिए ।
निबन्धको दोस्रो अनुच्छेदमा लामिछानेले बाल्यकालको काशीको एउटा घटना सम्झेका छन्—मामाको कोठाको मालताल निरीक्षण गर्दा, पर्दा झिकेपछि सामुन्ने परेको एउटा खप्परको “मौन परपेचुअल हाँसो”। के यो मौन परपेचुअल हाँसो मेरो खप्पर पछिल्तिर पनि छैन र? मैले त्यतिखेर दश मुख्य उपनिषदको सामान्य अध्यन बाहेक अरु गरेको थिईन । तर पछि यि मेजर उपनिषद् बाहेक एउटा उपनिषद्ले मेरो अस्तित्वको बुझाईलाई निकै प्रभाव पार्यो, त्यो थियो महोपनिषद् (कति ठाउँमा महा-उपनिषद् पनि लेखिन्छ) जसको बारेमा मैले आफ्नो पुस्तक Who Will bury the Dead God लगायत अन्यमा यसको प्रभावले मेरो लेखाईमा पारेको मानसिक-योगदान को बारेमा पटक पटक लेखें । महोपनिषद् (Maha Upanishad) मा रहेको शुकदेव र राजा जनकबीचको संवाद (विशेषगरी अध्याय २ र ३), जहाँ शरीरको नश्वरता र वैराग्यको सन्दर्भमा छाला, मासु, हड्डी आदि शारीरिक संरचनाको वर्णन गरिएको छ । यदि मुख्य सारको कुरा गर्ने हो भने “छाला र मासुको आवरण हटाएर हेर्ने हो भने त्यहाँ के बाँकी रहन्छ र?” भन्ने कडा वैराग्यपूर्ण भाव देखिन आँउछ जसले मेरो सौन्दर्य प्रतिको हेराई नै बदलिदियो । २२, २३ बर्षको त्यस बखतको कलिलो खप्परलाई यति नै काफि थियो । आखिर मेरो टाउको देखि छाला भनिने यो आवरण उप्काईदिने हो भने बाँकि के त? त्यहि ‘परपेचुअल’ हाँसो होईन र? त्यसपछि उनी लेख्छन्ः
“मलाई आकर्षित गर्ने चिल्लो सेतो हाड, त्यो बङ्गारा, आँखा हुने ठाउँका खाडल र निधारमा कोरिएको रातो र नीलो किर्मिरे धर्का” । आदि ।
जसले अरु थप अस्तित्वगत जाँगर थप्यो मेरो बुझाई माथि । त्यहाँ “भित्री सुन्दरता” भन्नाले आधुनिक अर्थको व्यक्तित्व वा भावनात्मक सौन्दर्यभन्दा पनि शरीरभन्दा पर रहेको शुद्ध चेतना वा आत्मा को बोधलाई बढी जोड दिइएको पाइन्छ । आखिर परापुर्व काल देखि खोजिएको सत्य यहि त थियो, “मेरो हड्डि भित्रको सत्य”, जसले “बाहिरी छाला र रूप केही होइन, वास्तविक सुन्दरता भित्र हुन्छ” भन्ने विचार वैराग्यका ग्रन्थहरू (जस्तै महोपनिषद्, भर्तृहरिको वैराग्यशतक आदि) मा शारीरिक मोह तोड्ने तर्कका रूपमा आउँदा म उद्देलित हुन्थें । एउटा प्रसंग लेखु । जब मैले Who Will Bury the Dead God को पहिलो केहि निबन्धहरु लेखि सकेको थिए, त्यसको रुपरेखा ले मलाई त्यति चित्त बुझाईरहेको थिएन, सायद कोईन्सिडेन्स् नै भनु त्यति खेर एक शरिर संग भेट भयो जसले मेरो सौन्दर्यको बुझाईलाई बदलिदियो । यसरि हेर्दा त्यो मेरो पुस्तक त्यहि कोईन्सिडेन्टल-शरिर संगको भेट को संयोग हो जहाँ मैले शरिरको त्यहि भित्रि परपेचुअल-हड्डिको सुन्दरतालाई खोज गर्ने अर्ध प्रयास गरें । अनि म्युज लाई नामाकरण गरें-ग्रेस भनेर ।
शंकरका यि हरफ पढ्दा म आफैँभित्रको एउटा पुरानो अँध्यारो कोठा उघ्रिएको अनुभव गर्थें । खप्परले मलाई पनि सधैँ आकर्षित गरेको हुन सक्छ । खप्परको त्यो बनावट, आँखा आउने ती ठूला-ठूला गहिरा र रित्ता खाडलहरू—अनन्तसम्म फैलिएझैँ लाग्ने ती खाडलहरूले मलाई कहिल्यै तर्साएनन्, बरु सधैँ तान्ने गर्थे, चुम्बकीय आकर्षणझैँ निमन्त्रणा दिइरहन्थे शंकरलाई झैं । त्यसैले होला मलाई नियडरथलियन कंकाल र खप्परहरुले जिज्ञासु बनायो । सायद त्यसैको भित्री प्रभाव हो, प्लस टु पढ्दा मैले खप्परको लकेट लगाउँथे । पछि त एउटा खप्परको साइन भएको औँठी पनि लगाएर हिँड्न थालेँ ।
औँठी त अझै नजिकको सहयात्री जस्तो थियो । हात चलाउँदा, लेख्दा, बाटो हिँड्दा औँलामा चमक र छाया दुवै बनाउँदै घुमिरहन्थ्यो । मलाई खप्परभित्र पनि खप्परका दुइटा ठूला-ठूला खाडल आँखाले असाध्यै लोभ्याउने लाग्थे शंकरलाई झैं, सायद । मान्छे किन रित्तो खाडलबाट लोभिन्छ? सायद बाहिरी छाला, मासु, रङ र बनावटी मुस्कानको आवरण हटेपछि बाँकी रहने त्यो मौन हड्डीभित्र हामी मृत्युको त्रास होइन, अस्तित्वको सबैभन्दा नाङ्गो, निर्वस्त्र र इमानदार स्वरूप देख्न खोज्छौँ । लामिछानेले लेखेझैँ “मरेपछिको रूप त्यही हो भने सबै मर्छन्, म पनि मर्छु, किन डराउने हगि ?”—तर त्यो रित्तो खाडलभित्र चिहाउँदा त्यहाँ केवल शून्यता मात्र छैन, एउटा अद्भुत दार्शनिक आकर्षण छ, जसले मान्छेलाई आफ्नै अस्तित्वको गहिराइ, नश्वरता र क्षणभङ्गुरता नाप्न बाध्य पार्छ । त्यो गहिराई, त्यो खाडल, त्यहि हो आकर्षणको रहस्य ।
म जब कतै हिँड्दै हुन्छु, मेरा आँखाले जहिले पनि बाहिरी दृश्यभन्दा बढी दृश्यभित्रका खाडलहरू, धर्साहरु र तेर्सो परेका रेखाहरू नै खोज्छन् होला । म त्यहि लेख्छु अनि, बाहिरि दृश्य भन्दा भित्र भित्रै धाँजा फाटेका मानसिक-उथलपुथल लाई जसले मेरो मानौ रियालिटी बोल्दै हुन्छन् । यत्रो बर्षको ले्खाईबाट सिकेको पनी यहि हो, कि म बाहिरि-दृश्य प्रति अन्धो छु (त्यसैले मेरो बिषय उपन्यास नभई निबन्ध भए होलान्! किनकि फिक्सन को लागि बिहिरि आँखा चाहिन्छ जुन म संग छैन) तर भित्रि आँखा यि दृश्य-खाडल प्रती सचेतन छन् र बास्तबमै त्यहाँ बाट कोतरिएका अक्षरहरुले पछिल्ला मेरा पुस्तकहरुमा बारुदको काम गरे । मानौँ बाहिरी आकार केवल एउटा अस्थायी खोल मात्र हो, र असली सत्य ती धर्का, चिरा र अन्तरालहरूभित्र लुकेको हुन्छ र म तिनिहरुलाई कोतर्छु जसरी भित्तामा जमेको सेतो सोडा । सायद यही दृष्टिदोष वा दृष्टिसत्यलाई मैले सन् २०२४ मा निस्किएको मेरो तेस्रो किताब ‘हु विल बेरी द डेड गड’ (Who Will Bury the Dead God) मा पनि लेखेको छु । के देख्छु अनि के देख्दिन भनेर पछि अर्को किताब The Outsider मा लेखें । कुन सत्यको हड्डि हो र कुन असत्यको छाला भनेर !
त्यो किताबमा एउटा यस्तै प्रसंग आउँछ—जहाँ बाटोमा केटाकेटीहरू मभन्दा अगाडि-अगाडि हिँडिरहेका हुन्छन्। उनीहरू आफ्नै सुरमा रमाउँदै हिँडेका, खेल्दै गरेका, केही खाँदै गरेका हुन्छन् । सामान्य आँखाले हेर्दा त्यहाँ बालसुलभ चञ्चलता र उज्यालो मात्र देखिन्छ । तर म तिनीहरूलाई देखेर तिनीहरूको सिंगो आकार वा चञ्चलताभन्दा पनि बढी तिनीहरूका हातका मसिना रेखा, शरीरका बाङ्गाटिङ्गा रेखाहरू, कपालका लहर र घुमाउरा धर्काहरू नै नियालिरहन्थेँ ।मानौँ समयले ती कलिला शरीरहरूमा अहिल्यैदेखि कुनै अदृश्य, अगोचर इतिहास कोर्न थालिसकेको छ ।
लामिछानेको निबन्धको दोस्रो पाना पढ्दा मेरो त्यो अनुभूति झनै गहिरो अर्थमा खुल्थ्यो । उनले निधारको भाग्यरेखालाई सिस्मोग्राफिक (Seismographic) रेकर्ड सँग जोडेका छन् । हाम्रो हृदयमा भएको प्रत्येक कम्पन, प्रत्येक हलचल, प्रत्येक पीडा त्यहाँ अङ्कित हुन्छ—ठीक उसैगरी, जसरी भूकम्पको लहर अङ्कन गरिन्छ । अनि अगाडि उनी लेख्छन्ः “त्यहाँ छ सच्चा इतिहास लेखिएको एक निर्लिप्त इतिहासकारद्वारा, त्यहीँ छ आलोचना-समालोचना-प्रत्यालोचना गरिएको एक वादहीन दृष्टिले” ।
केटाकेटीहरूका हात र कपालका ती मसिना रेखाहरूमा मैले खोजेको कुरा पनि सायद यही थियो—कुनै वाद, विचारधारा, भाषा वा पूर्वाग्रहभन्दा परको एउटा निर्लिप्त, तटस्थ इतिहास । मान्छेको नियति र संवेदना सायद त्यतिखेरै कोरिन थाल्छ, र ती रेखाहरूमा कुनै लोभलाग्दो आदिम चित्र लुकेको हुन्छ ।
द आउटसाइडर को ‘I Don’t Believe my Hands Anymore’ भन्ने च्याप्टर मा मैले यस्तै अवस्थाको Outsider पनाको-अवस्था लाई यसरि लेखें ।
When I see my hands, the first point of reach where my reason collapses into intuitive knowledge is the ‘rotting roots’ of hands’ acts, acts to voyage into my neck. I do not scream at first, but I explode with ‘body without organ’ type inquiry, and speak to my hands, ‘Stop this destructive glimpse of the infinite.’-The Outsider (2025)
यसले त्यहि दृष्टिको अनिमियतता लाई जोड दियो ।
सिड्नी छोड्नुभन्दा सायद केही हप्ता पहिले मैले एउटा निबन्ध लेखेको थिएँ—‘द फियर अफ इटिङ एप्पल्स’ (The Fear of Eating Apples) । त्यो नै मेरो सायद सिड्नीसम्मको बसाइमा अन्तिम निबन्ध होला । मैले त्यसमा लेखेको छु कि एउटा आँखाले कसरी अस्तित्व निर्माण गर्छ—आफू अगाडिको, हामी अगाडिको अस्तित्व आँखाले कसरी रच्छ, निर्माण गर्छ । ए बिन्दुबाट बी बिन्दुसम्म पुग्दाखेरि आँखाले कस्तो-कस्तो गोरेटो बाटोहरू पार गर्दै, कस्ता-कस्ता दृश्य, अवरोध र रूपान्तरणहरूलाई छिचोल्दै एउटा अस्तित्व निर्माण गर्दै जान्छ भन्ने कुराको सारलाई मैले त्यहाँ लेखेको छु ।
आज फेरि शंकर लामिछानेको यो निबन्ध पढ्दै गर्दा मलाई त्यही ‘द फियर अफ इटिङ एप्पल्स’ को पनि गहिरो याद आइरहेछ । लामिछानेको निबन्धमा पाइताला गोरेटो कोर्दै हिँड्छ र गोरेटोले पाइतालाको अस्तित्वलाई अर्थ दिन्छ; उता ‘द फियर अफ इटिङ एप्पल्स’ मा दृष्टि—चक्षुको चेतना—एउटा बिन्दुबाट अर्को बिन्दुसम्म यात्रा गर्दा गोरेटोहरू पार गर्दै अस्तित्वको संरचना उन्दै जान्छ । दुवैमा एउटै सूक्ष्म दार्शनिक तनाव छः के अस्तित्व पहिलेदेखि नै त्यहाँ छ, या हाम्रो दृष्टि र हाम्रो पाइतालाले त्यसलाई देख्दै, छाम्दै र चिर्दै अस्तित्वमा ल्याउँछ? मेरो स्याउ खाने भय—अर्थात् निषेध, ज्ञान, बोध वा रूपान्तरणको सम्मुख उभिँदाको संकोच—र निधारको रेखामा अंकित नियतिको अभिलेख यी दुवैले मान्छेलाई आफ्नै चेतनाको सीमा र सम्भावनाको सामुन्ने उभ्याउँछन् ।
अर्को एउटा प्रसंग लेख्न चहान्छु । म बोरिगं मुभिहरुको प्रशंसक हुँ । मलाई बेलाबेला ड्यारेन एरोनोफ्स्कीको पाई (Pi) भन्ने मुभीको पनि याद आइरहन्छ, त्यस मुभीको मुख्य पात्र प्रकृतिमा नम्बरहरू खोज्दै हिँड्छ । उसलाई लाग्छ, प्रकृतिमा नम्बरहरू हुन्छन् र तिनै नम्बरहरूले हाम्रो भाग्य पनि निर्धारण गर्छन् । हाम्रो स्टक मार्केटलाई तिनै नम्बरहरूले घेरेका छन्, तिनै नम्बरहरूबाट सबै कुरा थाहा पाउन सकिन्छ—भोलिको सेयर बजारमा कति के होला, त्यसैबाट थाहा हुन्छ भन्ने उसको विश्वास हुन्छ । त्यस्तै किसिमको एउटा खोजी र उन्माद उसमा देखिन्छ, र ऊ प्रकृतिमा नम्बरहरू खोज्दै हिँड्छ ।
निबन्ध पढिसकेपछि मलाई पनि त्यस्तै लाग्थ्यो—म अनेक थरी रेखाहरू, ताराहरू खोज्दै हिँड्थेँ । आकाशका ताराहरू, जमिनका धर्काहरू, खप्पर वा अनुहारका रेखाहरू—मानौँ कतै कुनै अदृश्य संहिता वा ढाँचा लुकेको छ, जसले भोलिको कुनै सङ्केत बोकेको छ, सायद त्यसैको अनुभवमा होला, मैले मेरो दोस्रो किताब अनुगामी मा ‘अव्यक्त’ भन्ने एउटा धारणा विकास गरेको छु ।
‘अव्यक्त’ को खास मूल अर्थ र मूल भावना पनि त्यही हो—जसलाई मैले हु विल बेरी द डेड गड मा निरन्तरता दिएको छु, र अब आउने अर्को दुईवटा किताबमा पनि त्यसैको निरन्तरता हुँदै छ । ‘अव्यक्त’ को अर्थ त्यो होइन कि यो कार्ल जुङको ‘सिन्क्रोनिसिटी’ (Synchronicity) जस्तो मात्र हो; यो त्योभन्दा फरक छ—यसमा अगाडि हुने, प्रकट हुन बाँकी रहेको, तर भित्रै कतै धड्किरहेको एउटा अदृश्य पूर्वसंकेत वा सूक्ष्म तह लुकेको हुन्छ । जस्तो लामिछानेको निबन्धमा निधारको धर्का, गोरेटोको दिशा र हृदयको सिस्मोग्राफमा भविष्यका कम्पनहरू पहिले नै लेखिएझैँ लाग्छन्, त्यस्तै ‘अव्यक्त’ पनि आँखाअगाडि नदेखिए पनि अस्तित्वको गहिराइमा पहिले नै आकार लिइरहने एउटा रहस्यमय धारणा हो।
अनि अर्को एउटा कृति छ—‘मस्तिष्कहरूको मृत्यु’—जुन मलाई असाध्यै मन परेको किताब हो । यसको बारे अलिकति नचुहाई रहन सकिन । विचार, चेतना र बौद्धिक जडतामाथि प्रश्न उठाउने यो कृतिको गहिराइ जब म शंकर लामिछानेको ‘हामी पाइताला हौँ: फगत पाइताला’ सँगै राखेर हेर्छु, तब मलाई लाग्छ—शरीरको मृत्युभन्दा कयौँ गुणा भयावह त मस्तिष्कको जडता र चेतनाको क्षय हुँदो रहेछ । लामिछानेले जब “समूहको भेडाधसानबाट अलगिने” र “नयाँ गोरेटो कोर्ने” कुरा गर्छन्, तब उनी ठ्याक्कै त्यही जड मस्तिष्कको सीमा तोड्ने कुरा गरिरहेका हुन्छन् । जहाँ मस्तिष्कले आफ्नै प्रश्न गर्न छोड्छ, आफ्नै मौलिक पाइताला सार्न छोड्छ र केवल वर्गीकरण (Classification) तथा सामान्यीकरण (Generalisation) को बाटोमा हिँड्न थाल्छ, त्यहाँ एक प्रकारको बौद्धिक मृत्यु सुरु हुन्छ । मेरो बौद्दिक मृत्यु केहि महिना पहिले जब मैले सदाको लागि सिड्नि छोडे त्यति खेरै भयो ।
यही गोरेटोको खोजीमा नेपाली निबन्धका अरू महारथीहरू पनि आफ्नै ढंगले उभिएका भेटिन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “के नेपाल सानो छ ?” वा “कल्पना” पढ्दा पाइने विराट् विस्तार र सहज विद्रोह—जहाँ सानो भूगोलभित्र पनि असीम चेतना र विश्वचेतनाको झिल्को बल्छ—लामिछानेको निबन्धमा देवकोटाको अटोग्राफ र विष्णु पादुकाको सन्दर्भसँगै आएर अझै अर्थपूर्ण बनिदिन्छ । भैरव अर्यालको “जय भुँडी” वा “काउकुती” मा देखिने तीक्ष्ण व्यङ्ग्य र सामाजिक विसङ्गतिको चिरफारले पनि मान्छेको बाहिरी आवरण र भित्री खोक्रोपनलाई उदाङ्गो पार्छ—जसरी लामिछानेले समाजको बनावटी वर्गीकरण र नियमहरूलाई व्यङ्ग्यको धारमा राखिदिन्छन् । त्यसैगरी कृष्णभूषण बल वा खगेन्द्र संग्रौला या कृष्ण धरावासी वा गोविन्द वर्तमानको निजात्मक एवं चिन्तनपरक निबन्धधाराले पनि नेपाली निबन्धलाई आत्मपरकता, समाजचेतना र वैचारिक गहिराइको नयाँ गोरेटोमा डोर्याएको छ । यी सबैलाई एकै सूत्रमा जोडेर हेर्दा लाग्छ—नेपाली निबन्ध केवल शब्दको सजावट होइन, चेतनाको एउटा अनवरत उत्खनन हो ।
शंकर लामिछानेको यो निबन्धलाई विश्वसाहित्यको पृष्ठभूमिमा राख्दा यसको स्वर अझै प्रस्ट सुनिन्छ । अल्बर्ट कामु (Albert Camus) सँग त यसको स्वाभाविक आत्मीयता छ नै—जहाँ जीवनको विसङ्गति, मृत्युको चेतना र मान्छेको आफ्नै पाइतालाले कोर्ने अर्थ प्रमुख हुन्छ । तर मिशेल दि मोन्तेन (Michel de Montaigne) सँग दाँज्दा पनि लामिछानेको निजात्मकता (subjectivity) र आत्म-परीक्षणको शैली झल्किन्छ—मोन्तेन जसरी आफ्नै संशय, बानी र मनका उतारचढावलाई निबन्धको केन्द्र बनाउँछन्, लामिछाने पनि आफ्नै खप्पर, निधारको धर्का र स्मृतिलाई दार्शनिक प्रयोगशाला बनाउँछन् । जब मैले २०१४ तिर पहिलो पटक मोन्तेन लाई पढें, मेलवर्नको ट्राम गाडिमा हिड्दै गर्दा, कामबाट आउ जाउ गर्दा, त्यतिखेर झन बढि छोएको थियो किन पनि होला भने—त्यो बेला परदेशको भिड, अपरिचित सडक र कामको दैनिक धपेडीबिच आफ्नै भित्री आवाज समाउने एकान्त कतै हराएजस्तो लाग्थ्यो । ट्रामको खट्खट् आवाज र झ्यालबाहिर बित्ने बिरानो सहरको गतिबिच मोन्तेनका पङ्क्तिहरूले मानौँ एउटा अदृश्य आश्रय दिन्थे । मोन्तेनले कुनै ठुलो सिद्धान्त वा अन्तिम सत्य सुनाउन खोज्दैन; उ त केवल आफ्नो अस्थिर मन, फेरिइरहने विचार र मानवीय कमजोरीलाई इमानदारीसाथ केलाउँछन जुन लामिछानेको शैलि संग झन झन मेल खान्छ ।
त्यसैगरी भर्जिनिया वुल्फ (Virginia Woolf) को चेतना-प्रवाह (stream of consciousness)
[2] र क्षणिक अनुभूतिलाई गहिरो अर्थ दिने कलासँग पनि लामिछानेको वाक्य-संरचना कतै न कतै मिल्छ—जहाँ एउटा सानो दृश्य, एउटा ध्वनि वा एउटा खाडलले चेतनाको तह-तह खोल्दै लैजान्छ । अनि जर्ज ओर्वेल (George Orwell) वा एमिल सियोरान (Emil Cioran) सँग हेर्दा—सियोरानको तीखो, विद्रोही, अस्तित्वको सीमा र मानव-चेतनाको कटु सत्यलाई केलाउने शैलीसँग लामिछानेको निर्मम चिन्तनको एउटा अनौठो प्रतिध्वनि सुनिन्छ । म कति बर्षको थिए होला र ‘द न्यु गड’ वा ‘
The Trouble with Being Born’ पढ्दा? अहिले लाग्छ सायद उसलाई त्यसरी झुत्ति खेलेर पढ्नु सायद उसको लेखाईमा नित्शेको आफोरिस्टिक शैलि पाएर होला जस्तो लाग्छ । पछि मलाई सियोरानको लेखाईले त्यति पछ्याएन वा मैले पछ्याईन । लामिछानेले कुनै पश्चिमा लेखकको नक्कल नगरीकनै, आफ्नै काशी, विष्णुमती, देवकोटा र शेक्सपियरको विम्बमार्फत विश्वस्तरीय निबन्धचेतना रच्न सकेका छन् । म सायद यो चाहि पटक पटक पढ्न सक्छु होला ।
यही रेखाहरू, सङ्केत र ‘अव्यक्त’ को खोजीले मलाई सधैँ चित्रकलाको संसारतिर पनि दौडाइरह्यो । लियोनार्दो दा भिन्चीका रहस्यमय छाया-रेखाहरूदेखि भिन्सेन्ट भ्यान गग (Vincent van Gogh) का पेन्टिङहरूसम्म पुग्दा मैले सधैँ तिनै धरसा र धर्काहरूको भाषा पढ्न खोजेँ । मलाई याद छ मैले पहिलो पटक आफ्नो बा को फोटो हेरेर चित्र बनाँउदा घरका सबैले ‘यो चित्रकार हुन्छ’ भन्थे, हुन पनि मैले त्यो ६, ७ बर्षकै उमेरमा हु-बहु फोटोको बालाई कपिमा उतारेको थिंए । भ्यान गगको द पोटेटो इटरस (The Potato Eaters) मलाई खूब मन पर्थ्यो । त्यसमा कोरिएका काला, खस्रा र गहिरा रेखाहरूमा एउटा अद्भुत मानवीय भार, माटोको गन्ध र कठोर साँचोपन छ । जुन साँचोपन म अहिले पनि बाको हातहरु मा देख्दैछु । त्यहाँ कुनै सस्तो सौन्दर्य छैन, केवल जीवनले कोरेका गहिरा डोबहरू छन् । कति मिठा ! सरल !
म हरेक चित्रहरूमा त्यही देख्छु कि यिनीहरूसँग पनि भित्र त्यही नजानिँदो किसिमको पुरातन कला होला । सायद त्यस्तै आदिम रेखा र कला मैले काशीको खप्परमा भेटेँ कि, या मेरो औँलाको खप्पर-औँठीमा भेटेँ कि, या बाटोमा हिँडिरहेका केटाकेटीहरूका कपाल र हत्केलाका रेखाहरूमा भेटेँ कि ! कहिलेकाहीँ आफैँलाई सोध्छु—मैले पनि किन लगाएँ त नत्र त्यो औँठी? सायद त्यो औँठी कुनै सजावट थिएन; त्यो त मेरो आफ्नै भित्री रेखाहरूको बाहिरी हस्ताक्षर थियो, जसले मलाई सधैँ सतहमुनिको कला र सत्य खोज्न उक्साइरह्यो ।
विजय मल्लको “छोरीलाई मानचित्र पढाउँदा” कविताको उल्लेख आउँदा मलाई आफ्नै विगतको एउटा सानो कुना सम्झना आयो। देशहरूका बीचको लाल-सिमाना-रेखा र आकाशबाट देखिने साना खोलानालाको रूप सम्झँदै लामिछाने मानचित्रको रेखाबाट सोझै खप्परको रेखामा आइपुग्छन् । “छोरीलाई मानचित्र पढाउँदा” मलाई असाध्यै मन पर्ने कवितामध्ये एक हो, र त्यसमाथि मैले धेरै पहिले एउटा सानो समीक्षा पनि लेखेको थिएँ । लामिछानेको निबन्धको यही त जादु हो—उनी एउटै निबन्धमा विश्वसाहित्य, दर्शन, कविता, पौराणिक विम्ब र स्थानीय भूगोललाई यसरी बुनिदिन्छन् कि पाठकले एकै वाक्यमा विशाल संसारको झलक पाउँछ । चाहे देवकोटाको अटोग्राफ र विष्णु पादुकाको प्रसंग होस्, चाहे शेक्सपियरका ह्याम्लेट र रोमियो-जुलियटलाई डेवी डेसिमल वर्गीकरण (Dewey-decimal classification) मा एउटै सेल्फमा राख्ने व्यङ्ग्य होस्—लामिछानेको कलमले विचारलाई गह्रुँगो दर्शनशास्त्र होइन, जीवन्त विम्ब बनाइदिन्छ ।
यो निबन्ध पढिरहँदा मलाई सन् २०१३ तिर मेलबर्न पुगेको दिनको सम्झना आयो । मेलबर्नमा पहिलो चोटि ट्राम चढ्दा त्यहाँका लिगहरू देखेर मलाई अनौठो लागेको थियो । ती फलामे लिगहरू सहरको छातीमा सर्पजस्ता बटारिएका हुन्थे, यताउता मोडिएका हुन्थे, र तिनको बीचमा एउटा साँघुरो, गहिरो खाडल जस्तो देखिन्थ्यो । कति पटक मैले ती लिगका बीचका खाडललाई निकै बेर गहिरिएर हेरेको छु । अचम्म त के भने, ती बाह्य फलामे खाडलहरूलाई हेर्दा मलाई लाग्थ्यो—यी कतै मेरै खप्परभित्रको खाडल हुन् कि?
अहिले सम्झँदा हाँसो पनि उठ्छ र अचम्म पनि लाग्छ—किन त्यस्तो सोचेँ होला? तर निबन्धको अन्त्यतिर पुग्दा लामिछानेले जब “गोरेटोहरूको अलमलिने जङ्गल” र विष्णुमतीका बगरमा फेला परेको ललाटको कुरा गर्छन्, तब मेलबर्नको ट्राम लिग र खप्परको खाडलबीचको सम्बन्ध अलि स्पष्ट भएजस्तो लाग्छ । हामी जहाँसुकै पुगौँ, जुनसुकै सहर वा समयमा बाँचौँ, हाम्रो आँखाले अन्ततः आफ्नै चेतनाको खाडल र आफ्नै हिँडाइको गोरेटो खोजिरहेको हुन्छ । बाहिरका लिकहरू त केवल भित्रका अदृश्य रेखाहरूका प्रतिच्छाया मात्र हुन् ।
कल्पना गरौँ, म यो किताब हातमा लिएर कुनै बिहान घरबाट निस्किएको छु । गोरेटोको आत्मा र पहिलो पाइतालाको कुरा पढ्दै गर्दा मेरा पाइतालाहरू पनि आफ्नै लय खोजिरहेका छन् । आजकाल त पाईताला पनि हिड्न मान्दैनन् । लरखराउँछ पिंडौला । लामिछाने लेख्छन्ः “हाम्रा असङ्ख्य पाइताला नस्रून् त गोरेटोलाई दुई किनारका घाँसले स्वाट्टै निलिदिन्छन् । प्रकृतिको प्रतीक घाँस, त पाइतालाको प्रतीक गोरेटो ।” यो पढ्दै हिँड्दा मलाई लाग्छ, म हिँडिरहेको बाटो केवल माटो र ढुङ्गाको बाटो होइन; यो त हजारौँ अज्ञात मान्छेहरूको पाइताला, सास र निधारका रेखाहरूले कोरिएको एउटा जीवन्त अभिलेख हो ।
कहिले लाग्छ, म कुनै पुरानो पुस्तकालयको शान्त कुनामा बसेर लामिछानेको त्यो वाक्य केलाउँदै छु—“समूहको भेडाधसानबाट अलगिने एक वानर मनुष्यको अग्रज हो… मनुष्यको भेडाधसानबाट अल्गिने सक्ने, छुट्टिन चाहने मानिस ईश्वर हो”। अनि फेरि अर्को क्षण लाग्छ, म कुनै अपरिचित सहरको भिडभाडबीच उभिएर मान्छेहरूका अनुहारमा त्यही निधारका धर्का, कपालका लहर र आँखाका खाडलहरू नियालिरहेछु । के म साँच्चै गोरेटो हिँडिरहेको छु, कि गोरेटोले मलाई तानिरहेको छ?
निबन्धको अन्तिम अनुच्छेदमा लामिछानेले आफ्नो ललाट विष्णुमतीका बगरमा फेला परेको कल्पना गर्दै सन्ततिलाई सम्बोधन गरेका छन्—“त्यसका धर्कामा तिमी पढ्न खोजे, हूल रेजिमेन्टेसन र गोरेटोहरूका जङ्गलमा एकछिन अडेर यसले आफ्नो हृदयको सिस्मोग्राफ ललाटमा अङ्कित गरेछ”। यो हरफ पढ्दा मलाई लाग्यो, मान्छेको जीवन अन्ततः एउटा सिस्मोग्राफ मात्र हो—जहाँ सुख, दुःख, कम्पन, विद्रोह, प्रेम र शून्यता सबै धरसा र धर्का बनेर बसेका हुन्छन् ।
कति लेख्नु यो पाइतालाको कहानि । ‘हामी पाइताला हौँ: फगत पाइताला’ केवल एउटा निबन्ध होइन; यो त आफैँलाई चिन्ने, आफ्नै भित्री खाडलहरूमा चिहाउने र आफ्नै पाइतालाको दिशा नाप्ने एउटा दार्शनिक ऐना हो।
पहिले पीडीएफको धमिलो उज्यालोमा पढेको यो किताब अहिले हातमा लिँदा, काशीको खप्पर र मेरो प्लस टुको लकेट–औँठीका सम्झनाहरू, मोमिलाको ईश्वरको अदालतमा आउटसाइडरको बयान, मस्तिष्कहरूको मृत्यु को चेतना-विमर्श, सिड्नी छोड्नुअघिको ‘द फियर अफ इटिङ एप्पल्स’ मा आँखाले रचेको अस्तित्वको गोरेटो, पाई मुभीका नम्बरहरू र मेरो आफ्नै अनुगामी को ‘अव्यक्त’ धारणा, भ्यान गगका खस्रा रेखाहरू, विजय मल्लको मानचित्र, मेलबर्नका ट्राम लिगहरू र मेरो आफ्नै किताब ‘हु विल बेरी द डेड गड’ का केटाकेटीहरूका रेखाहरूसँग जोडिँदा यो झनै गहिरो बनेको छ । देवकोटा, भैरव अर्याल र अन्य नेपाली निबन्धकारहरूदेखि कामु, मोन्तेन, वुल्फ र सियोरानसम्मको वैचारिक क्षितिजमा उभिएर हेर्दा यो निबन्ध झनै जीवन्त र समकालीन लाग्छ । चौध-पन्ध्र वर्षको लेखन, छ-सात महिनाको मौनता, र फेरि लेख्न थालेको यो नयाँ लोभ—यी सबैले यो समीक्षालाई केवल एउटा पानाको टिप्पणी मात्र होइन, लेखनमा फर्किँदै गरेको एउटा यात्रीको आत्मसंवाद बनाइदिएका छन् । धन्यवाद ! शंकर लामिछाने । अनि शंकरले हामीलाई सिकाउँछन् कि मान्छे केवल बाहिरी आवरण वा वर्गीकरणको नाम होइन । जब हामी आफ्नै अस्तित्वको गोरेटो कोर्छौँ, दृश्यभित्रका धरसाहरूलाई पढ्छौँ, चक्षुको यात्रामा अस्तित्वको अर्थ खोज्छौँ र ‘अव्यक्त’ को मौन लय सुन्छौँ, तब मात्र हामी साँचो अर्थमा पाइताला बन्छौँ—र त्यही पाइतालाले भोलिको नयाँ बाटो खोल्छ, खोल्ला कि!
Comments (0)
No comments yet — be the first to say something.