Catch feed

Catch → साहित्य : आलुबखडा कि आउँ ?

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

साहित्य : आलुबखडा कि आउँ ?

शङ्कर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन : प्याजमा सङ्गृहीत निबन्धको गहिरो अध्ययन

मेरो क्यामेरा रोल बाट

शङ्कर लामिछानेको “साहित्य : आलुबखडा कि आउँ ?” धेरै पहिले पढेको थिंए । यस छोटो निबन्धको पाठककिय समालोचना (समालोचना गर्ने सामर्थ त छैन तर पनि) गर्नु पर्छ भन्ने लागि नै रहेको थियो । निकै बर्ष बिते । धेरै चोटि दोहोराए र यहि सोचे कि यसपटक चाहि केहि लेख्नु पर्ला तर समय (सायद दिमाग फिरेको थिएन लेख्न लाई) जुरेको थिएन ।  केहि दिन अघि फेरि पढें खोई कुन शनक लागेर हो । यो निबन्ध एक एउटा समालोचनात्मक लेखका रूपमा मागिएको थियो, तर समालोचनाकै विरुद्धको आत्मसंवाद बनेर जन्मियो । रूपरेखाका सम्पादक उत्तम कुँवरले वैशाखमा निस्कने समालोचनाङ्कका लागि लेख मागेका थिए — सायद कामुको अस्तित्ववादको आधारमा कुनै गंभीर विश्लेषण गर्नु भनेर?! शङ्करले त्यो लेख दिएनन्; बरु त्यो लेख लेख्न नसक्नुको कथा लेखे, र त्यही असफलतालाई आफ्नो सबैभन्दा ठूलो तर्क बनाए । पढ्दा निकै रोचक छ यो निबन्ध त्यसैले त पटक पटक यस्को पन्ना उधार्न पुगें ।

पत्रको स्वरमा “उत्तम भाइ” लाई सम्बोधन गरिएको यो रचना पढ्दा हामी कुनै गोष्ठीको प्रवचन सुनिरहेका हुँदैनौं बरु दुई साथीबीचको निजी कुरा ढोकापछाडि उभिएर सुनिरहेका हो कि भन्ने भान हुन्छ । मैले त्यहि अनुभव गरें मानौं म शंकरको बेडरुमको ढोकामा उभिएर यो सब सुन्दैछु । 

शीर्षकमै सिग्गो दर्शन लुकेको छ, होईन र? दक्षिण फर्केको बरन्डाबाट लेखक आलुबखडाको रुख हेरिरहेका छन् — पात नआइसकेको, तर सेतो फूलले लटरम्म, मुनि झरेका पत्रले सेताम्मे, र एक-दुई भँवरा झुम्मिरहेका । तर उनको पेटमा आउँ परेको छ, पेट कटकट काटिरहेको छ, छिनछिनमा दौडिनुपर्छ । गज्जबको शुरुवात छ! 

साहित्य के हो — बाहिर फुलेको सौन्दर्य, कि भित्र काटिरहेको पीडा? 

यहिं बाट दर्शन बिचको आँधिबेहरि शुरु हुन्छ । आदर्शवादीहरू फूल लेख्छन्, यथार्थवादीहरू पेट लेख्छौं भन्छन् । शङ्करको उत्तर यी दुवैभन्दा फरक छ : लेखक एकैसाथ दुवै हो, र यस्तो मिश्रणलाई कुनै पनि वादले अटाउन सक्दैन ।

यो निबन्ध साठी वर्षपछि पनि किन नयाँ लाग्छ भन्ने प्रश्नको उत्तर यसको संरचनामै छ । निबन्ध भत्किन्छ, विषयान्तर हुन्छ, माफी माग्छ, ठट्टा गर्छ, र आफैँसँग विरोधाभाष गर्छ ।  यो लेखाई त्यति खेर पनि नौलो थियो होला र आज पनि उत्तिकै नौलो र साहित्य-सान्दर्भिक छ । यो अव्यवस्था लेखकको कमजोरी होइन, तर्कको रूप हो । एक निमेषको मानिसको मन कुनै सिद्धान्तको लेबलभन्दा ठूलो छ भन्ने कुरा उनी भन्दैनन्, देखाइदिन्छन् । साथै यसमा आत्म-विडम्बना विधि बनेर आउँछ — उनी आफ्नै आकाङ्क्षा, आफ्नै नम्रता र ‘सायद’ भन्ने आफ्नै बानीको समेत ठट्टा गर्छन् । अनि काठमाडौँको एउटा सानो बरन्डामा कामु, हेनरी मिलर, आर्तो, फ्रायड, मार्क्स, कालिदास, गान्धी, केनेडी र मार्टिन लुथर किङ एकैसाथ आइपुग्छन् । यि सबको एकै भेलाले निबन्धमा बौद्दिकता पनि थप्छ । सन् १९६० को दशकको नेपालमा यति खुला, यति विश्वमुखी र यति निजी स्वर विरलै सुनिन्थ्यो होला । 

पहिले उनको केहि ब्यक्तिगत कुरा बाट सुरु गरुँ । शङ्कर लामिछानेको जन्म वि.सं. १९८४ चैत ५ गते (सन् १९२८ मार्च १७) मा बाबु हरिहरप्रसाद लामिछाने र आमा राजकुमारीका छोराका रूपमा भयो । केहि ठाउँमा उनको जन्मस्थान काठमाडौँको जैसीदेवल भन्छन्, यद्यपि केही स्मृतिलेखले भक्तपुर पनि लेखेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आमाले उनी र उनका दाजुलाई बनारस लिएर गइन्, जहाँ पुगेकै बेला दाजुको मृत्यु भयो । आमाले त्यहाँ शिक्षिकाको काम गरेर छोरा हुर्काइन्, तर करिब एक दशकपछि उनको पनि निधन भयो । परदेशको शहरमा पहिले दाजु र त्यसपछि आमा गुमाएको यो बाल्यकाल शङ्करका निबन्धभित्रका हाँसोको पछाडि सधैं लुकेर बसेको छ । जुन कहिं कतै देखिन्छ तर जसले उनको यो वास्तविकता पढेको छ, त्यसले मात्र यो देख्न सक्छ उनको अक्षरहरु भित्र ।

जीविकाका लागि शङ्करले विदेशी पर्यटकलाई क्युरियो र देवमूर्ति बेच्ने पसल चलाए । यो एक रोचक प्रसंग हो । मलाई पनि निकै पछि मात्र यो क्युरियोको ब्यपारको कुरा थाहा भयो, त्यस पछि यसै सङ्ग्रहको अर्को निबन्धमा आउने प्रसंगले झन बढि छोयो । उनी पसलमा देवताका मूर्ति बेच्ने बाबु र ईश्वरको काम गर्नुबीचको विडम्बनामाथि सोच्छन् । समकालीन आलोचकहरू उनले “त्यस पसलमा बसेर साहित्यको व्यापार गर्छ” भनेर खिस्सी उडाउँथे । सन् १९६६ मा यसै निबन्धका “उत्तम भाइ” अर्थात् उत्तम कुँवरले लिएको अन्तर्वार्तामा शङ्करले आफ्नो जीवनलाई एकै वाक्यमा समेटेका थिए — 

सङ्घर्ष मेरो जीवन हो, साहित्य मेरो शौख । 

यही वाक्य “आलुबखडा कि आउँ” को अन्त्यमा गुञ्जिन्छ, र यहि कोट सबैभन्दा बढि जोरिएर आउँछ शंकरको कुरा उठ्दा, जहाँ उनी भन्छन् कि आउँ नपरेको भए आज यो लेख्नुको सट्टा क्युरियो बेचिरहेको हुन्थें ।

उनको कृतियात्रा छोटो तर घना छ । वि.सं. २०२४ मा साझा प्रकाशनबाट प्रकाशित एब्स्ट्र्याक्ट चिन्तन: प्याज उनको पहिलो निबन्धसङ्ग्रह थियो, जसले सोही वर्षको मदन पुरस्कार पायो । त्यसपछि २०२५ मा कथासङ्ग्रह गौँथलीको गुँड, २०२७ मा निबन्धसङ्ग्रह गोधुली संसार, २०२८ मा व्यक्तिकेन्द्रित निबन्धको सङ्ग्रह बिम्ब प्रतिबिम्ब, र २०३२ मा शङ्कर लामिछाने नामक अर्को निबन्धकृति आयो । यसरी उनका चार निबन्धसङ्ग्रह र एक कथासङ्ग्रह गरी पाँच मौलिक कृति प्रकाशित छन् । पछि शङ्कर लामिछानेका निबन्धहरू, शङ्कर: व्यक्ति, कृति र स्मृति तथा समग्र सङ्कलनहरू निस्के । अभि सुबेदीका अनुसार उनका कुल निबन्ध करिब एकचालीस छन् — सङ्ख्यामा थोरै, तर एउटा सिंग्गो युगको प्रतिनिधित्व गर्न पुग्ने । उनले पारिजातको शिरीषको फूलको चर्चित भूमिका लेखे जुन मेरो नेपाली साहित्यिक क्षेत्रमा लेखिएको भुमिका मध्य मन परेको मा पर्छ, र अम्बर गुरुङको सङ्गीतमा अरुणा लामाले गाएको “यौवन उदास-उदास” गीत पनि उनकै हो ।

उनको जीवनको अन्तिम अध्याय दुखद छ । गुमनाम रूपमा लागेको चोरीको आरोप स्वीकारेर उनले लेख्न छाडे, र त्यो आरोपबारे समालोचकहरूबीच अझै बहस चलिरहेको छ । वि.सं. २०३२ माघ १० गते (सन् १९७६ जनवरी २४) मा काठमाडौँमा अठचालीस वर्षकै उमेरमा उनको निधन भयो । कान्तिपुरका अनुसार मृत्युको कारण मेनेन्जाइटिस थियो, जबकि उनका प्रिय कवि-भाइ हरिभक्त कटुवालको स्मृतिलेखले अत्यधिक मदिरापान र मस्तिष्कको ट्युमरको कुरा गर्छ । कटुवालले उनलाई वचन निभाउने, जहाँ पनि साथी बनाउने र हार नमान्ने मानिसका रूपमा सम्झेका छन्, र स्मृतिलेखको अन्त्य “बोर गर्यौ शङ्कर दाइ !” भन्ने रमाइलो विदाइमा गरेका छन् । मृत्युपछि लामो समय ओझेलमा परेका शङ्करलाई भावक अभियानले पुनः पाठकसम्म पुर्यायो, र कमलमणि दीक्षितले यसलाई नेपाली साहित्यमा शङ्करको पुनर्नामकरण भने । आज उनकै नाममा निबन्ध पुरस्कार स्थापित पनि छ ।

अब निबन्धमा प्रबेश गरुँ । यो निबन्ध एउटा वृत्तजस्तो छ — जहाँबाट सुरु हुन्छ, त्यहीं फर्किन्छ । “क्षितिज धमिलो छ” भन्ने वाक्यबाट सुरु भएर अन्त्यमा फेरि त्यही धमिलो क्षितिज, त्यही फुलेको आलुबखडा र त्यही आउँ परेको पेटमा टुङ्गिन्छ । सारै चित्त बुझ्छ पढ्दै जाँदा । सुरुमै लेखकले दुई अवस्थालाई एउटै सादा सूत्रमा सँगै राख्छन् । फूल, पत्र र भँवराको वर्णनपछि उनी भन्छन्, “यो हो बाहिरी अवस्था ।” अनि पेट काट्ने, दौडिनुपर्ने, खानामा मुख बार्ने कुरापछि भन्छन्, “यो हो शारीरिक कुरा !” यहाँ कुनै पक्ष अर्कोभन्दा बढी साँचो वा बढी साहित्यिक छैन । स्वच्छन्दतावादीले फूल रोज्थ्यो, यथार्थवादीले पेट रोज्थ्यो; शङ्कर रोज्नै इन्कार गर्छन् । धमिलो क्षितिज यहाँ केवल मौसमको वर्णन होइन, लेखकको मनको अवस्था पनि हो — साहित्य के हो भन्ने कुनै स्पष्ट दृश्य उनीसँग छैन, र हामि कोही संग पनि छैन, र यही स्वीकारोक्तिबाट निबन्ध अगाडि बढ्छ ।

त्यसपछि लेखक आफैँतिर फर्किन्छन् । उत्तमलाई गुनासो गर्दै उनी भन्छन् कि लेखक चौबीसै घण्टा लेखक रहन सक्तैन, उसका अनेक अवतार हुन्छन्, यहि पंत्तिले मलाई निकै छोयो सायद म आफै लेखक भएर होला र आफ्नो कृतिहरुमा बदलिने लेखन-मष्तिस्क देखेर होला, अनि- अचानक अत्यन्त इमानदार स्वीकारोक्ति आउँछ —

मलाई नाउँ कमाउन मन लाग्छ, अर्को देवकोटा बनूँ, तर अलि सुधारसाथ; उनको जस्तो प्रतिभा त होओस्, तर त्यो आर्थिक अस्थिरताचाहिँ होइन । 

अर्को क्षण उनी आफैँलाई थप्पड हान्छन् फेरि: देवकोटासँग आफूलाई दाँज्नु नै एउटा ठूलो आत्म-विडम्बना हो । यो सानो क्षणमा शङ्करको पूरै विधि देखिन्छ । लेखक साहित्यका पुजारी वा सरस्वतीका सेवक होइनन्; उनी भोकाएका, अहङ्कारी र प्रतिष्ठाका लालची भएरपनि आफ्नो लालच खुलेर भन्न सक्ने मानिस हुन् । उनकै शब्दमा, लेखक लेखकभन्दा बढी मनुष्य हो ।

र यो मनुष्य कस्तो छ त? 

शङ्करका अनुसार यो “साह्रै अनौठो प्राणी” हो, जसको चरित्र चङ्गाको लडाइँमा गुजुल्टिएको धागोजस्तो एउटा गुजुल्टाइँ हो । यो बिम्ब निबन्धको केन्द्रीय बिम्ब हो, र यस सँगै उनी अर्को गहिरो कुरा थप्छन् — जीवन एक कम्प्रोमाइज हो, महत्तम र लघुत्तमको समास । यही कम्प्रोमाइजको भावनाले मानवतालाई बचाइराख्यो, तर माथि उठ्न पनि दिएन । यहाँ गणितको सूक्ष्म श्लेष छ । महत्तम र लघुत्तम सामान्य अर्थमा सबैभन्दा ठूलो र सबैभन्दा सानो हुन्, तर गणितमा तिनी महत्तम समापवर्तक र लघुत्तम समापवर्त्य पनि हुन् । शंकर भन्छनम् मानिस आफ्ना उच्चतम र निम्नतम आवेगहरूको गणित हो, दुवैको संयोगमा बाँच्छ ।

यही गुजुल्टो मानिसलाई साहित्यले कसरी सजाउँछ भन्ने देखाउन शङ्कर पञ्चायतकालीन सरकारी कवितामा सुन्दर पौडि खेल्छन् । पाठक हताश भएर शान्ति खोज्दै साहित्यतिर आउँछ, त्यसैले लेखकले उसलाई गुजुल्टाइँ होइन, सौन्दर्य दिनुपर्छ — पृथ्वी, राष्ट्र, मातृभूमि, हिमाल, वनजङ्गल, तराई, सुनौला साँझ, ग्रामबालिका र धानका झुप्पाको स्तुति गाओ । अनि ठीक त्यहीं एउटा कोष्ठक खुल्छ, जहाँ उनी भन्छन् कि यस सौन्दर्यको केन्द्रमा कतै कुनै पुर्जा खुस्केको छ, कतै खसोपन छ — २८५० परिवार पहाड त्यागेर हिँडेको पदयात्रा, “थाहा छैन, थाहा छैन !” यो सानो कोष्ठक निबन्धको सबैभन्दा राजनीतिक वाक्य हो । कुनै नारा नलगाई, कुनै घोषणा नगरी, शङ्करले देखाइदिन्छन् कि ‘आदर्श’ साहित्यको सुनौलो पर्दापछाडि गरिबी र बासस्थानान्तरण लुकेको छ । अनि उनी हरेक यस्ता कविलाई एउटा सरल प्रश्न सोध्न चाहन्छन् — कवि, तिमीले अनुभव गरेको भावना हो यो, अथवा यस्तो अनुभव गर्नुपर्छ भन्ने तिम्रो परम्परागत आदर्श हो? यसै क्षणमा उनी निष्कर्ष दिन्छन् कि साहित्य वास्तवमा विडम्बना हो, किनभने यो धेरैजसो नाउँ कमाउने पेसा मात्र बनेको छ, जहाँ बिहान-बेलुकाको माम कमाउन अनेक झूट र छलकपट चल्छन् ।

निबन्धको सबैभन्दा तीखो भाग यथार्थवादमाथिको प्रहार हो । सन् १९६० को दशकमा नेपाली साहित्यमा यथार्थको माग चरममा थियो — शङ्करकै शब्दमा यथार्थ-साहित्यको आजकाल बडा बोलबाला छ, जो पनि भन्छ साहित्यमा यथार्थवाद छ । उनी यसलाई भावना होइन, नारा भन्छन्, र एउटा निर्भीक वाक्य लेख्छन् — साहित्य यथार्थ हुनै सक्तैन, त्यसरी नै जसरी साहित्य आदर्श हुन सक्तैन । तर्क सरल छ तर एक निमेषभित्र मानिसको मनमा जीवनभरका भावना, विचार, कल्पना, परिकल्पना, इच्छा, आकाङ्क्षा, आशा र निराशाको मिश्रित बहुरूप उम्रिन्छ; त्यसलाई कुन कलमले जस्ताको तस्तै उतार्न सक्छ? यही बिन्दुमा उनी कामुको स्मरण गर्छन् — एक मात्र यथार्थ कलाकार, यदि छ भने, ईश्वर छ; अरू सबै यस यथार्थका लागि अवास्तविक छन् ।

तर शङ्करको विशेषता यो हो कि उनी तर्क गरेर मात्र रोकिँदैनन्, प्रमाण पनि दिन्छन् । त्यही लाइन लेख्दालेख्दै उनको मन अचानक केनेडीतिर पुग्छ — अमेरिकन लाइब्रेरीको बोर्डमा टाँगिएका फोटो, लाइफ म्यागेजिनको केनेडी-विशेषाङ्क, श्रीमती केनेडीलाई हेरेर आएको कुरा गर्ने तुलसी, मृत्यु-समारोहको वर्णन गर्ने देउजा, अनि मार्टिन लुथर किङ र हरिहरराज जोशी । अनि उनी भन्छन्, यही हो यथार्थ; यस एकछिनको विचार-शृङ्खलाको तारतम्य बुझाउन खोजे भने सायद मलाई सम्पूर्ण जीवन लाग्नेछ । यो अनुच्छेद नेपाली निबन्धमा चेतनप्रवाह शैलीको सबैभन्दा स्पष्ट नमुना हो । यहाँ यथार्थ बाहिरको संसार होइन, भित्रको अस्तव्यस्त, साहचर्यमा बग्ने प्रवाह हो — र ठ्याक्कै यही प्रवाह नारावादी यथार्थवादले छोड्छ । संसारका खबर, साथीका कुरा र आफ्नै स्मृति एकैसाथ आउँछन्, र तिनलाई कुनै कारण-कार्यको सिधा रेखामा उनिन सकिँदैन ।

यसपछि उनी आफ्नै लेखनको भांडाफोर गर्छन् । लेखकले आफूलाई मन पर्ने र अरूलाई पनि मन पर्ला जस्ता कुरा मात्र छान्छ, ताकि तिनीले “वाह, शङ्कर नयाँ लेख्छ” भनून् । यसरी साहित्य छलकपट, धोका र एक सेल्फसन्सरको रूप बन्छ । यो बेइमानीबारेको इमानदारी हो, र विडम्बना यो छ कि यही स्वीकारोक्तिले निबन्धलाई कुनै घोषणापत्रभन्दा बढी सत्य बनाइदिन्छ । त्यसपछि उनी युगको कुरामा पस्छन् । आजको खुम्चिएको संसारमा अल्जेरिया र अमेरिका रूपरेखाको अफिसजत्तिकै नजिक छन्, तैपनि आज मनुष्य एकाकी छ । 

संसार जति नजिक आयो, मानिस उति नै एक्लो भयो

यो वाक्य आजको डिजिटल युगमा पढ्दा अझ भविष्यवाणीजस्तो लाग्छ । कामुको अस्तित्ववाद पनि शङ्करका लागि किताब पढुन्जेल मात्र ठीक छ; अन्तिम अक्षर नाघेपछि मानिस समाप्त हुँदैन, अगाडि सोच्छ । वेदमा प्रकृतिको वर्णन, रामायणमा व्यक्तिको स्तुति, अनि रियलिजम, इम्प्रेसनिजम, एक्सप्रेसनिजम, सरियलिजम र अस्तित्ववाद — “यिनको पनि युग थियो, गयो अब !” अब बाँकी छ केवल व्यक्ति, जो आफ्नै गुजुल्ट्याइँमा निसासिएर समूहको विरुद्ध आर्तनाद गरिरहेको छ, र उसको आर्तनाद अर्को व्यक्तिको आर्तनादसँग मिल्दैन । क्याबात शंकर! पढ्दै जाँदा म झन झन उत्साहित भएको थिंए ।

यस्तो आर्तनादलाई साम्यवादी वा फ्रायडवादी घेरामा राखेर कसरी तौल्ने? यहाँ शङ्कर अन्धाहरूले हात्ती छामेको पुरानो दृष्टान्त सम्झाउँछन् र भन्छन् कि समालोचना भनेको कुरा साहित्यउपरको त्यही व्यङ्ग्य हो । अनि आफ्नै निबन्धलाई समालोचकको आँखाले हेरेर ठट्टा गर्छन् — यसमा निराशा छ त निराशावादी? आशा छ त आशावादी? नाउँ कमाउने इच्छा छ त आकाङ्क्षावादी? रमाइलोपन छ त हास्यवादी? अस्तित्वको कुरा छ त अस्तित्ववादी? यस ठट्टाको टुङ्गोमा निबन्धको दार्शनिक केन्द्र आउँछ — “कार्ल मार्क्स र कालिदास, फ्रायड र अनातोले फ्रान्स, कामु र गान्धी सबै मभित्र बाँधेका छन्”, र म तिनको भित्र र बाहिर दुवै छु । बिहान र बेलुका, खल्तीमा पैसा हुँदा र नहुँदा, पेट भरिएको र भोको बेला उनी फरक ढङ्गले सोच्छन् । अगाडि बसेर लुगामा इस्त्री लगाइरहेकी आफ्नै स्वास्नीले पनि भन्न सक्दिन कि अहिले उनलाई कुन वादले घेरेको छ । यहाँ ‘म’ बहुवचनीय, परिस्थितिसापेक्ष र शरीरमा बाँधिएको छ । आउँ परेको पेट यहाँ फेरि फर्किन्छ — अब रोग मात्र होइन, ज्ञानको स्रोत बनेर ।

अन्त्यतिर शङ्कर लेखनलाई ‘औपचारिक प्रदर्शन’ भन्छन् । भर्खर प्रेममा परेकाले प्रेमिकालाई आफ्नो राम्रो पक्ष मात्र देखाएझैं लेखक आफ्नो अनुभवको असल रूप मात्र प्रस्तुत गर्छ, र रचनामा नलेखिएका पक्ष धेरै हुन्छन् । तीन वर्षअघि लेखेको कुरामा आज हाँसो उठ्छ, आजको कुरा भोलि केटाकेटीको खेलजस्तो लाग्नेछ — अनि यस्तो अवस्थामा कुन साहसले देशका दाजुभाइलाई भन्ने कि मेरो लेखनमा सत्यम्, शिवम्, सुन्दरम् छ, युगको आह्वान छ, दर्शन छ? 

पाठक त्यति मूर्ख हुँदैन; उसले बुझ्छ कि लेखकले ठग्यो । अग्रजहरूप्रति उनको सम्मान साँचो छ — तिनको जीवनमा एउटा ध्येय थियो, एउटा आदर्श थियो । तर शङ्करको पुस्ता आदर्शहरूको मोडमा उभिएको छ, नयाँ युगको दैलोमा शङ्का र सङ्कोचले बेरिएर पाइला सारौं-नसारौं गरिरहेको । यहीं निबन्धको सबैभन्दा मार्मिक बिम्ब आउँछ — परम्पराको डोको बोकिरहेका हाम्रो निधारमा नाम्लोको डाम अझै छ । डोको भुइँमा राखिएको होला, तर निधारको डाम तुरुन्तै मेटिँदैन । संक्रमणकालीन पुस्ताको यसभन्दा सटीक चित्र नेपाली गद्यमा विरलै भेटिन्छ ।

अनि अन्त्यमा उनी एउटा सानो, तर सबैभन्दा गहिरो स्वीकारोक्ति गर्छन् — मेरो धेरैपटक ‘सायद’ शब्द प्रयोग गर्ने बानी छ, यो मेरो अनिश्चितताको बोधक हो; निश्चित भए सायद पछि म स्थिर हुन्छु भन्ने मलाई डर छ । यो वाक्यले पूरै निबन्धलाई नयाँ अर्थ दिन्छ । ‘सायद’ कमजोरी होइन, गतिमा रहिरहने प्रतिज्ञा हो; निश्चितता स्थिरता हो, र स्थिरता लेखकका लागि मृत्यु । वृत्त बन्द हुन्छ — क्षितिज अझै धमिलो छ, अगाडि आलुबखडा अझै फुलेको छ, भमरा अझै नाचिरहेका छन्, र पेटमा आउँ परेको छ । आउँ नपरेको भए लेखक क्युरियो बेचिरहेका हुन्थे, र यो गन्थन सम्भव हुँदैनथ्यो । अन्तिम ठट्टा दोहोरो छ — “नम्र भइदिएको नि !”, तर मनमा महान् लेख लेखेँ भन्ने भावना ढ्याम्मै जमेको छ । यसरी हेर्दा यो निबन्ध रोगले लेखाएको र सिद्धान्तको विरुद्धमा लेखिएको हो । रोगले व्यापारीको दिनलाई रोक्छ र लेखकलाई केही घण्टा मुक्त गर्छ; त्यो खाली समयमा जे जन्मिन्छ, त्यो सिद्धान्त होइन, गतिशील मनको इमानदार अभिलेख हो ।

शङ्करले निबन्धमा विदेशी लेखकहरूको नाम सहज ढङ्गले, कुराकै क्रममा लिन्छन्, तर हरेक नामले निबन्धको तर्कमा भार बोकेको छ । सबैभन्दा निर्णायक स्वर अल्बर्ट कामुको हो । उत्तमले कामुको अस्तित्ववादमाथि लेख मागेका थिए, र शङ्करले कामुलाई नै यथार्थवादविरुद्धको हतियार बनाए । कामुले द रिबेल (१९५१) को कला र विद्रोहसम्बन्धी अध्यायमा भनेका छन् कि हरेक कलाकारले यथार्थबाट छान्नैपर्छ, त्यसैले कुनै कलाकार यथार्थप्रति पूर्ण वफादार हुन सक्दैन; यदि कोही पूर्ण यथार्थवादी हुन्थ्यो भने त्यो ईश्वर हुन्थ्यो । शङ्करले यही विचारलाई नेपाली सन्दर्भमा उतारे, जहाँ यथार्थवाद साहित्यिक नैतिकताको मापदण्ड बनिसकेको थियो । अल्जेरियाको उल्लेख पनि सायद संयोग होइन — त्यो कामुकै भूमि थियो ।

दोस्रो महत्त्वपूर्ण स्वर हेनरी मिलरको हो । शङ्कर मिलरको भनाइ सम्झन्छन् — आउँदो साहित्य प्रथम वचनमा लेखिएको व्यक्तिको आफ्नो अनुभव हुनेछ, र त्यसमा दिनप्रतिदिन असत्य कम हुँदै जानेछ । यो भनाइ मिलरले ट्रपिक अफ क्यान्सर (१९३४) को सुरुमा राखेको एमर्सनको उद्धरणसँग निकै मिल्छ, जसमा भनिएको छ कि उपन्यासहरू क्रमशः डायरी र आत्मकथालाई ठाउँ छाड्नेछन्, यदि मानिसले आफ्ना अनुभवमध्ये साँच्चै आफ्नो अनुभव छान्न र सत्यलाई सत्यतापूर्वक लेख्न जान्यो भने । शङ्करको यो निबन्ध त्यही भविष्यवाणीको नेपाली अभ्यास हो । तेस्रो स्वर आन्तोनिन आर्तोको हो, जसलाई शङ्कर ‘नो मोर क्लासिक्स’ भनेर सम्झन्छन् । आर्तोको द थिएटर एण्ड इट्स डबल (१९३८) मा सङ्गृहीत “No More Masterpieces” ले भन्छ — शास्त्रीय कृतिको पूजा नगर, कला आजको जीवित मानिसका लागि हो । शङ्कर यसै सन्दर्भमा भन्छन् कि रचनाकाल, पठनकाल र समालोचनाकालबीच संसार कति अगाडि चिप्लिसकेको हुन्छ, र रामायणको फ्रायडवादी समालोचना गरियो भने-

“राम ! राम ! भानुभक्त मूर्च्छा पर्छन्” । 

फ्रायड यहाँ दृष्टि पनि हुन् र ठट्टा पनि — सिद्धान्तको शक्ति र हास्यास्पदता एकै वाक्यमा ।

तर शङ्करको साँचो वंशावली खोज्ने हो भने हामी सोह्रौं शताब्दीका मिशेल द मोन्तेनसम्म पुग्छौं, जसले निबन्ध विधाको नामकरण नै ‘एसे’ अर्थात् प्रयास भनेर गरे । मोन्तेनको सूत्र “म के जान्दछु?” र शङ्करको ‘सायद’ एउटै परिवारका हुन् । मोन्तेनले आफ्नो मृगौलाको पत्थरीसम्मलाई दर्शनको विषय बनाए, शङ्करले आफ्नो आउँलाई काव्यशास्त्रको केन्द्रमा राखे । दुवैको घोषणा एउटै हो — म नै मेरो पुस्तकको विषय हुँ । तर मोन्तेनसँग पुस्तकालयको धुरी र फुर्सद थियो; शङ्कर रोगले पसल बन्द गराएको दिन मात्र लेख्छन् । चार्ल्स ल्याम्बका एसेज अफ एलियासँग शङ्करको नाता हाँसोभित्र लुकेको शोकमा छ, तर ल्याम्बले ‘एलिया’ नामको मुखुनो लगाए, शङ्करले आफ्नै नाम र सम्पादकको नामसमेत खोलेर लेखे । भर्जिनिया वुल्फले “मडर्न फिक्सन” (१९१९) मा जीवनलाई क्रमबद्ध बत्तीको पङ्क्ति होइन, एउटा उज्ज्वल प्रभामण्डल भनिन् र लेखकले मनमा झर्ने अणुहरू जस्ताको तस्तै टिप्नुपर्छ भनिन्; शङ्करको केनेडीवाला अनुच्छेद ठ्याक्कै त्यही हो, फरक यति मात्र हो कि वुल्फले यो विधि आख्यानमा प्रयोग गरिन्, शङ्करले निबन्धमा ।

अभि सुबेदीले कान्तिपुरमा शङ्कर र जर्ज अर्वेलको तुलना गरेका छन् । दुवै सतचालीस-अठचालीस वर्षमै बिदा भए, दुवै नारा र फुलाइएको राजनीतिक भाषाप्रति शङ्कालु थिए । तर अर्वेल स्पष्ट, तर्कपूर्ण र भावुकताविरोधी छन्, जबकि शङ्कर गीतिमय, आत्मव्यङ्ग्यपूर्ण र जानाजान अस्पष्ट छन् । सुबेदीको निष्कर्ष सुन्दर छ — दुवै भाषालाई स्वतन्त्रताको माध्यम बनाउन चाहन्थे । अलि पछिका लेखकसँग दाँज्दा शङ्कर अझ अगाडि देखिन्छन् । रोलाँ बार्थले १९७५ मा आफूलाई टुक्राहरूको बहुवचनीय पाठका रूपमा लेखे, तर शङ्करले एक दशकअघि नै, कुनै सिद्धान्तको सहारा नलिई र रोगशय्याबाट, म मार्क्स र कालिदासको भित्र र बाहिर दुवै छु भनिसकेका थिए । फर्नान्डो पेसोआले कविलाई यस्तो नक्कलकार भने जसले आफूले साँच्चै भोगेको पीडाको पनि नक्कल गर्छ; शङ्करको ‘औपचारिक प्रदर्शन’ उही अन्तर्दृष्टि हो, तर उनी यस अभिनयलाई खुलेर नाम दिन्छन् र हाँस्छन् । यसरी हेर्दा शङ्कर पश्चिमका महान् निबन्धकारहरूझैं ‘म’लाई केन्द्रमा राख्छन् र हरेक प्रणालीमाथि शङ्का गर्छन्, तर उनको ‘म’ एउटा दक्षिण एशियाली ‘म’ हो, जसको निधारमा परम्पराको नाम्लोले डाम छोडेको छ । 

नेपाली निबन्धको इतिहासमा शङ्कर लामिछानेको स्थान एउटा मोडको हो । उनीअघिको निबन्ध धेरैजसो उपदेश, विचारको घोषणा वा काव्यिक साजसज्जाको विधा थियो । शङ्करले यसलाई आत्मसंवादतिर, र विचारको निष्कर्षबाट मनको प्रवाहतिर लगे । कान्तिपुरको एक स्मृतिलेखले उनलाई नेपाली निबन्धमा चेतनप्रवाह शैलीका होलोग्राम र नन-फिक्सनलाई साँच्चिकै स्थापित गराउने नायक भनेको छ । पश्चिममा चेतनप्रवाह मुख्यतः उपन्यासको विधि थियो, तर शङ्करले यसलाई निबन्धको संरचना नै बनाइदिए । पत्र र एकालापको रूपले निबन्धलाई मंचबाट उतारेर निजी कोठामा ल्यायो, जहाँ पाठक श्रोता होइन, साथी बन्छ ।

उनको भाषा अर्को विशेषता हो । नेपाली टाइम्समा मञ्जुश्री थापाले लेखेझैं, शङ्करको लेखनमा एउटा गीतिमय, साङ्गीतिक लय छ, जुन उनका अग्रज, समकालीन र अनुयायीका निबन्धलाई थिच्ने गह्रौँ भाषाबाट मुक्त छ । उनी ‘एब्स्ट्र्याक्ट’, ‘कम्प्रोमाइज’, ‘सेल्फसन्सर’ जस्ता अङ्ग्रेजी शब्दलाई नेपाली वाक्यमा निसङ्कोच मिसाउँछन्; अभि सुबेदीका अनुसार उनका निबन्धमा अङ्ग्रेजी, नेवारी र जापानीसमेत सुनिन्छन्, र समग्र रचना एउटा बहुभाषिक सिम्फोनीजस्तो लाग्छ । यो मिश्रण देखावटीका लागि होइन; काठमाडौँमा विदेशी ग्राहकसँग कुरा गर्ने, अमेरिकन लाइब्रेरीमा पत्रिका पढ्ने र बनारसमा हुर्किएको मानिसको स्वाभाविक बोली हो । उनको भाषा आफैंमा विश्वसँग जोडिएको एकाकी मानिसको आत्मकथा हो ।

देवकोटासँगको सम्बन्ध यहाँ विशेष रूपमा सोच्नलायक छ । शङ्कर देवकोटाका अनन्य प्रशंसक थिए, र यस निबन्धमा उनी अर्को देवकोटा बन्ने इच्छा खुलेर स्वीकार्छन् । तर प्रकाश सायमीले भनेझैं, देवकोटाका कृति अत्यन्त कलात्मक र काल्पनिक छन् भने शङ्करका कृति दैनिक जीवनबाट आएका मनोवैज्ञानिक रचना हुन् । देवकोटा कल्पनाको आकाशमा उड्छन्, शङ्कर आफ्नै पेटमा, आफ्नै खल्तीमा, आफ्नै बरन्डामा हेर्छन् । यसैले उनको दर्शन अमूर्त हुँदाहुँदै पनि ठोस घरेलु वस्तुबाट जन्मिन्छ — सङ्ग्रहको शीर्षक निबन्धमा जीवन तहैतह खोलिने प्याज हो, अनि यहाँ साहित्य आलुबखडा र आउँको द्वन्द्व । साधारण वस्तुबाट असाधारण प्रश्न निकाल्ने यो विधि नै शङ्करको हस्ताक्षर हो ।

सबैभन्दा साहसिलो कुरा भनेको उनको वैचारिक स्वतन्त्रता हो । सन् १९६० को दशकको नेपालमा लेखकसँग दुई माग थिए । एकातिर पञ्चायती राष्ट्रवादले हिमाल, धान र सुनौला साँझको स्तुति माग्थ्यो, अर्कोतिर प्रगतिवादी धाराले यथार्थको कठोर चित्रण माग्थ्यो । शङ्करले दुवैलाई नारा भने । उनी देशभक्तिपूर्ण सौन्दर्यको केन्द्रमा बासस्थानान्तरणको खसोपन देखाउँछन्, र यथार्थवादको केन्द्रमा मनको असीमितता । तत्कालीन सैद्धान्तिक ध्रुवीकरणमा कुनै एक खेमामा नलागी सोच्नु आफैंमा एउटा साहस थियो, र यो साहसले नै उनलाई आजसम्म जीवित राखेको छ । विडम्बना यति मात्र छ कि जुन लेखकले म छानिएको विचार मात्र होइन भने, उनैलाई पछि मौलिकताको आरोपले लेख्न छाड्न बाध्य बनायो । तर यो निबन्ध आफैंमा प्रमाण हो — यसमा सारा विदेशी स्वर खुलेर नाम लिएर आएका छन्, र तिनलाई एउटै लयमा बाँध्ने आवाज अचूक रूपमा शङ्करकै हो ।

“साहित्य : आलुबखडा कि आउँ ?” ले सोधेको प्रश्नको उत्तर न आलुबखडा हो, न आउँ । शङ्करका लागि साहित्य दुवैलाई एकैसाथ भोगिरहेको एउटा अनिश्चित मानिसको इमानदार गन्थन हो । यो निबन्धको दर्शन कुनै सूत्रमा बाँधिन्न, तर यसका केही स्थायी स्वर छन् । आत्म एकल होइन, बहुवचनीय हो; मार्क्सदेखि कालिदाससम्म सबै हाम्रो भित्र छन्, र हामी तिनको भित्र र बाहिर दुवै छौं । विचार शरीरमा बाँच्छ; भोक, पैसा र रोगले दर्शन बदल्छन्, र शुद्ध बुद्धि भन्ने कुरा एउटा सुन्दर भ्रम मात्र हो । यथार्थ अनुवादयोग्य छैन, किनभने एक निमेषको मन लेख्न सम्पूर्ण जीवन लाग्छ ।

यसैले शङ्करका लागि साहित्य विडम्बना हो — लेखक छान्छ, सजाउँछ, देखाउँछ, र इमानदारीको एकमात्र बाटो यस प्रदर्शनलाई स्वीकार्नु हो । समालोचना र वाद अन्धाले हात्ती छामेजस्तै आंशिक हुन्छन्, र मानिस जहिले पनि आफूमाथि टाँसिएको लेबल उप्काउन खोज्छ । जीवन आफैं महत्तम र लघुत्तमको समास, एउटा कम्प्रोमाइज हो, जसले मानवतालाई बचाउँछ तर उड्न दिँदैन । अनि त्यसैले ‘सायद’ एउटा नैतिकता बन्छ; निश्चितताले स्थिर बनाउँछ, र अनिश्चितताले मात्र मनलाई जीवित र गतिशील राख्छ ।

सन् २०१० तिर हाईस्कुलमा पहिलोपटक यो निबन्ध पढ्ने पाठकलाई यो किन जीवनभर याद रहन्छ भन्ने कुराको उत्तर यहीं छ । यो निबन्ध उत्तर दिँदैन, साथ दिन्छ । यसले हामीलाई आफ्नै गुजुल्टोसँग नडराउन सिकाउँछ, आफ्नै अहङ्कारमा हाँस्न सिकाउँछ, र साहित्यलाई कुनै खेमाको झण्डाभन्दा बढी एउटा निजी र साहसिलो स्वीकारोक्तिका रूपमा हेर्न सिकाउँछ । क्षितिज आज पनि धमिलो छ, आलुबखडा हरेक वसन्तमा फुल्छ, र हरेक लेखकको पेटमा कुनै न कुनै आउँ परिरहेकै हुन्छ — शङ्कर लामिछानेले यही साधारण सत्यलाई नेपाली गद्यको सबैभन्दा असाधारण पृष्ठमा बदलिदिए ।

सन्दर्भ सामग्री: 
निबन्धका उद्धरणहरू एब्स्ट्र्याक्ट चिन्तन : प्याजका पृष्ठ ४१ देखि ४७ सम्मबाट लिइएका छन् । 
जीवनी र समालोचनाका लागि विकिपिडिया, निरञ्जन कुँवरद्वारा द रेकर्डमा प्रकाशित उत्तम कुँवरको १९६६ को अन्तर्वार्ता, मञ्जुश्री थापाको नेपाली टाइम्स लेख, कान्तिपुरको निबन्धका होलोग्राम : शङ्कर लामिछाने, अभि सुबेदीको विधाको अनौठो संवाद, अनलाइनखबरमा पुनःप्रकाशित हरिभक्त कटुवालको स्मृतिलेख, द हिमालयन टाइम्सको (Re)discovering our gems, सुजन सोडारीको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्धको विश्लेषण, गीता थपलियाको एम.फिल. शोध शङ्कर लामिछानेका निबन्धमा जीवन दर्शन, र प्रस्फुटन तथा गुडरीड्स का सामग्री हेरिएका छन् । कामु, मिलर-एमर्सन, आर्तो र वुल्फसम्बन्धी सन्दर्भ साहित्यिक ज्ञानमा आधारित छन्, त्यसैले उद्धृत गर्नुअघि मूल पाठसँग भिडाउनु उचित हुन्छ । थप अध्ययनका लागि माइकल हटको Himalayan Voices: An Introduction to Modern Nepali Literature उपयोगी छ । 

Comments (0)

No comments yet — be the first to say something.