Catch feed

Catch → गम्भीरताको सुली र बालकपनको बाँसुरी

✓ Unlocked — enjoy the rest of the Catch
Essays & Opinion

गम्भीरताको सुली र बालकपनको बाँसुरी

गम्भीरताको सुली र बालकपनको बाँसुरी

गम्भीरताको सुली र बालकपनको बाँसुरी

भगवान् ओशोको उत्सवमय जीवनदर्शन

हाम्रो समाजमा एउटा अनौठो मान्यता छ— जो जति गम्भीर देखिन्छ, ऊ उति नै ज्ञानी र परिपक्व हुन्छ। अनुहारमा कर्फ्यु लागेजस्तो भाव, ओठमा मुस्कानको निषेध र निधारमा संसारभरको चिन्ता बोकेर हिँड्ने मानिसलाई यहाँ विशेष सम्मानका साथ हेरिन्छ। हाँस्ने मानिसलाई हलुका, रमाउनेलाई चञ्चल र जीवनलाई सहज रूपमा लिने मानिसलाई अपरिपक्व ठानिन्छ। मानौँ, गम्भीर हुनु नै ज्ञानको प्रमाण हो र हाँस्नु चेतनाको कमजोरी!

तर भगवान् ओशोको जीवनदर्शनले यही बनावटी गम्भीरतामाथि प्रश्न उठाउँछ। उहाँका विचारमा जीवनलाई अनावश्यक गम्भीरताको बोझले थिच्नु चेतनाको सहज प्रवाहलाई अवरुद्ध गर्नु हो। गम्भीर मानिसले आफूलाई जीवनको केन्द्र ठान्छ। मानौँ, संसारको सम्पूर्ण व्यवस्था उसकै काँधमा अडिएको छ; सूर्य उदाउनेदेखि पृथ्वी घुम्नेसम्मका जिम्मेवारी उसैले सम्हाल्नुपर्नेछ। यही अहंकारजन्य भ्रमले मानिसलाई वर्तमानबाट टाढा लैजान्छ र चिन्ता, भय तथा असन्तोषको बन्दी बनाउँछ।

यहाँ एउटा उखान सम्झनलायक छ— ‘जति गम्भीर अनुहार, उति भित्रै भकार!’ बाहिर अनुशासन र बुद्धिमत्ताको आवरण देखिए पनि भित्र अहंकार, अपेक्षा र तनावको थुप्रो लुकेको हुन सक्छ। गम्भीरताको आवरणले मानिसलाई सत्यको नजिक पुर्‍याउँदैन; बरु कहिलेकाहीँ आफ्नै व्यक्तित्वको कैदखानामा थुन्छ।

भगवान् ओशोले जीवनलाई बुझ्ने क्रममा एउटा अत्यन्त सूक्ष्म भेदतर्फ सङ्केत गर्नुभएको छ— बालसुलभ निर्दोषता र अपरिपक्व बालहठ एउटै कुरा होइनन्। बालहठमा जिद्दी, अज्ञानता र अपरिपक्वता हुन्छ, जसलाई उमेर र अनुभवसँगै छोड्दै जानुपर्छ। तर बालसुलभता भनेको विस्मय, जिज्ञासा, सरलता, निर्दोषता र प्रत्येक क्षणलाई नयाँ आँखाले हेर्न सक्ने चेतनाको अवस्था हो। उमेर बढ्दै जाँदा बालहठ छुट्नुपर्छ, तर बालसुलभता हराउनु हुँदैन।

एउटा सानो बालकलाई हेर्नुहोस्। आकाशमा इन्द्रेणी देख्दा ऊ त्यसको वैज्ञानिक व्याख्या खोज्न थाल्दैन; बरु रङहरूको त्यो अद्भुत दृश्यमा रमाउँछ। पुतली उडेको देख्दा त्यसको आर्थिक महत्त्व सोध्दैन; उसको आँखामा केवल विस्मय र आनन्द हुन्छ। झरी पर्दा ऊ प्रत्येक थोपा महसुस गर्न चाहन्छ। उसलाई न बितेको हिजोको पश्चात्तापले थिचेको हुन्छ, न नआइसकेको भोलिको चिन्ताले सताएको हुन्छ। ऊ वर्तमानमा बाँच्छ— पूर्ण रूपमा, सहज रूपमा र निष्कपट भएर।

मानिसको जीवनमा समस्या बालक हुनु होइन, उमेरसँगै बालसुलभता गुमाउँदै जानु हो। हामी जति ठूला हुँदै जान्छौँ, त्यति नै अनुभवका नाममा पूर्वाग्रह बटुल्छौँ, ज्ञानका नाममा अहंकार थप्छौँ र परिपक्वताका नाममा सहजता गुमाउँछौँ। अन्ततः जीवनलाई अनुभूति गर्नेभन्दा विश्लेषण गर्ने, रमाउनेभन्दा हिसाब गर्ने र बाँच्नेभन्दा भविष्यको चिन्ता गर्ने प्राणी बन्छौँ।

गम्भीर मस्तिष्कले जीवनलाई समस्याको सूची ठान्छ र दिनरात समाधान खोजिरहन्छ। तर बालसुलभ चेतनाले जीवनलाई एउटा उत्सवका रूपमा ग्रहण गर्छ। यसको अर्थ जिम्मेवारीबाट भाग्नु, दुःखलाई अस्वीकार गर्नु वा लापरवाह हुनु होइन। यसको अर्थ हो— जीवनका चुनौतीलाई स्वीकार गर्ने, तर तिनलाई आफ्नो चेतनामाथि शासन गर्न नदिने।

यहाँ अर्को उखान सार्थक हुन्छ— ‘गम्भीरताले जीवनलाई भारी बनाउँछ, हाँसोले पखेटा उमार्छ।’ हाँसो जीवनबाट पलायन होइन; बरु जीवनका विसङ्गतिहरूलाई बुझेर पनि तिनको दास नबन्ने सहजता हो। जो मानिस दुःखका बीचमा पनि मुस्कुराउन सक्छ, ऊ दुःखबाट अनभिज्ञ होइन; ऊ दुःखभन्दा आफ्नो चेतनालाई फराकिलो बनाउन जान्दछ।

साँचो परिपक्वता अनुहारमा गम्भीरताको मुखौटा लगाउनु होइन। भित्र मौन, सजगता र साक्षीभाव कायम राख्दै बाहिर जीवनप्रति खुला, सरल र उत्सवमय हुनु हो। गहिरो चेतना र बालसुलभ हाँसो परस्पर विरोधी होइनन्। बरु जहाँ भित्री मौन गहिरिन्छ, त्यहाँ बाहिरी जीवन अझ सहज र स्वाभाविक बन्न सक्छ।

उमेर त पात्रोले गन्छ, तर चेतनाको ताजापन पात्रोको अधीनमा हुँदैन। कपाल फुल्दैमा बुद्धि पाक्दैन र अनुहारमा चाउरी पर्दैमा मानिस परिपक्व हुँदैन। परिपक्वता त त्यो क्षमता हो, जसले जीवनका कठोर यथार्थलाई पनि स्वीकार गर्न सक्छ र सानो फूलको मुस्कानमा पनि आनन्द भेट्न सक्छ।

सायद भगवान् ओशोको उत्सवमय जीवनदर्शनको सार यही हो— जीवनलाई बोझ बनाएर होइन, बोध बनाएर बाँच। गम्भीरताको सुलीमा आफ्नै मुस्कानलाई नचढाऊ। मनभित्रको बालकलाई मर्न नदेऊ। किनकि जीवनको अन्तिम सत्य केवल गम्भीर भएर बुझिने कुरा होइन; कहिलेकाहीँ निर्दोष भएर मुस्कुराउँदा पनि अनुभूत हुने कुरा हो।

जीवन एउटा शोकसभा होइन, उत्सव हो। त्यसैले चेतना जागृत राख, तर ओठको बाँसुरी नबिर्स।

कञ्चन पुडासैनी

टाउँजी ‘ म्यन्मार

Comments (0)

No comments yet — be the first to say something.