Catch feed

Catch → गुलाबी उमेर : किशोर मनोविज्ञान, भावना र जीवनको ऐना

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

गुलाबी उमेर : किशोर मनोविज्ञान, भावना र जीवनको ऐना

पुस्तक समीक्षा

Gulabi umera

पुस्तक : गुलाबी उमेर

लेखक : अमर न्यौपाने

प्रकाशक : फाइनप्रिन्ट

विधा : सामाजिक तथा मनोवैज्ञानिक उपन्यास

प्रकाशन मिति : २०७६ भदौ २१

यस उपन्यास गुलाबी उमेर ले किशोरावस्थाको मनोविज्ञान, भावनात्मक उतारचढाव र जीवनका आरोह-अवरोहलाई केन्द्रमा राखेको छ।

‘सेतो धरती’ जस्तो चर्चित कृतिमार्फत नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाएका मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले यस उपन्यासमा किशोर मनको संसारलाई नजिकबाट नियाल्ने प्रयास गरेको देखिन्छ।

उमेरसँगै फेरिँदै गएको वेदांशीको व्यवहारमा कतिपटक त आफैँलाई पनि उसकै रूपमा भेटेँ। साँच्चिकै, कति रमाइलो हुन्छ यो ‘गुलाबी उमेर’! तर अलिकति पनि होस पुर्‍याउन नसक्दा यसले धेरै पीडा पनि दिन सक्छ। सायद यो उमेर नै यस्तै हो, आफ्नै जिद्दी बढी हुने, आफू नै जान्ने र आफूले भनेकै हुनुपर्ने।

माया सबैलाई गर्नुपर्छ, तर विश्वास भने चिनेर गर्नुपर्छ। तर हामी यो गुलाबी उमेरमा यसरी दौडिरहेका हुन्छौँ कि सही र गलत छुट्याउने क्षमता हुँदाहुँदै पनि त्यसको प्रयोग गर्दैनौँ। हावाको गतिमा आफैँ बगिरहेका हुन्छौँ।

गुलाबी उमेरको सुरुवाती र अन्तिम चरणमा अभिभावकप्रतिको भावना मलाई समानान्तर लाग्यो। आफूले पनि यो उमेर पार गरिसकेको हुनाले आमाबुबाप्रति उत्पन्न हुने भावनालाई केही हदसम्म महसुस गर्न सकेँ। जीवनमा एउटा यस्तो समय पनि आउँदो रहेछ, जहाँ हामी बाहिर देखावटी रूपमा माया देखाए पनि भित्रभित्रै केही नकारात्मक भावना पालिरहेका हुन्छौँ। तर उमेरको अर्को चरणमा पुगेपछि फेरि यस्तो समय आउँदो रहेछ, जहाँ बाहिरबाट झर्किने र झडङ्ग रिसाउने गरे पनि भित्री मनमा भने आमाबुबाप्रतिको माया उत्तिकै गहिरो हुँदो रहेछ। सायद यो परिवर्तन ‘गुलाबी उमेर’को अन्त्य र ‘मखमली उमेर’को सुरुवाती चरणमा देखिन्छ भन्ने मैले अनुभव गरेँ।

यो पुस्तक पढिरहँदा अर्को एउटा कुराले पनि मन छोयो। आफ्नै जीवनमा त्यति ठूला उतारचढाव आइरहँदा पनि ती सबै पीडालाई पन्छाएर आफ्नो परिवारप्रतिको उत्तरदायित्व बहन गरेको देख्दा खुसी लाग्यो।

साँच्चिकै, यो किताब निकै उपयोगी लाग्यो। गुलाबी उमेरमा आउने विभिन्न उतारचढावका कारण कतिपयले गलत बाटो रोजेको पनि देखिन्छ। तर यो किताब पढिसकेपछि लाग्यो, त्यस्ता उतारचढावलाई नियन्त्रण गर्न पनि सकिँदो रहेछ। त्यसका लागि आफूमा आत्मविश्वास र आत्मबल हुनुपर्छ, आफ्नो बाटोमा निरन्तर हिँडिरहनुपर्छ। पक्कै पनि एक दिन सफलता हात लाग्छ।

किशोरावस्थाको मनोविज्ञान, पारिवारिक सम्बन्ध, भावनात्मक उतारचढाव र आत्मपहिचानका विषयमा रुचि राख्ने पाठकलाई म यो पुस्तक पढ्न सिफारिस गर्छु।

अन्त्यमा, लेखक अमर न्यौपानेज्यूलाई यस्तो संवेदनशील विषयलाई साहित्यिक अभिव्यक्ति दिनुभएकोमा हार्दिक धन्यवाद। उहाँका आगामी कृतिहरू पढ्न पनि उत्तिकै उत्सुक रहनेछु।

-मदन ज्ञवाली

Comments (4)

Binod Ruchal 5 days ago

Makhamali Umerkaa pani experience haru share garnu hola aaune dinharu ma..!

Reply
Madan Gyawali 5 days ago

अवश्य पनि, हजुरको प्रतिक्रियाको लागि धेरै धन्यवाद 😊

Reply
Philosophy, Books & MovieVerified profile 5 days ago

मदनजी, समीक्षा पढेर मन रमायो। तपाईंले किताबको सार मात्र भनिदिनुभएन, वेदांशीमा आफूलाई भेट्नुभएको कुरा पनि खुलेर लेखिदिनुभयो। मलाई लाग्छ, समीक्षाको असली मूल्य यही हो: पुस्तकले पाठकभित्र के जगायो भन्ने इमानदार स्वीकारोक्ति। अर्को समीक्षामा तपाईंको यस्तै आत्मीय र खुला दृष्टि पढ्न पाउने आशा राखेको छु। धन्यवाद! 🙏

Reply
Madan Gyawali 5 days ago

धेरै धन्यवाद हजुरको मीठो प्रतिक्रियाको लागि, सल्लाह, सुझाव र मार्गदर्शनको पनि अपेक्षा छ! 😊😊

Reply