गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : एउटा अधुरो सपना, हजारौँ नेपालीको मनमा गढेको पीडा !
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केवल इँटा, सिमेन्ट र फलामले बन्ने एउटा भौतिक संरचना थिएन । बिश्वास, अनुशासन, नैतिकता जोडिएको संरचना थियो ! नेपालीहरूको गौरवपूर्ण इतिहास बन्ने सपनाको एउटा आकार थियो । एउटा यस्तो सपना, जसले नेपाललाई विश्वसामु चिनाउने, नेपाली क्रिकेटको भविष्यलाई नयाँ उचाइ दिने र चितवनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने सामर्थ्य बोकेको थियो । र गणतन्त्र लोकतन्त्रले दिएको अधिकार पनि !
त्यो सपनालाई आकार दिने साहस गरेका थिए धुर्मुस–सुन्तलीले ।
कसैको आँखामा मनोरञ्जनका पात्रका रूपमा परिचित उनीहरू एउटा समय यस्तो अभियानमा होमिए, जहाँ उनीहरूले आफ्नो लोकप्रियता, समय, श्रम र जीवनको महत्त्वपूर्ण हिस्सा एउटा राष्ट्रिय गौरवको सपना निर्माणमा समर्पित गरे । हजारौँ नेपालीको साथ, सहयोग र विश्वास जोडिँदै जाँदा रंगशालाको स्वरूप देखिन थालेको थियो । नेपाली जनताले पनि आफ्नै आँखाअगाडि एउटा इतिहास निर्माण हुँदै गरेको महसुस गरेका थिए ।
तर, दुर्भाग्य ! त्यो सपना पूरा भएर नेपालीहरूको छाती गर्वले चौडा हुन नपाउँदै बीच बाटो मै अलमलियो । ( मलाई लाग्छ यहाँ ठुलै चलखेल राजनीति भयो ! यो मेरो ब्यक्तिगत सोच हो ) अदृश्य के छ उहीँ अदृश्य शक्तिलाई थाहा होला !
यसको पछाडि कसको नियत थियो, कहाँ कमजोरी भयो, कसको निर्णयले यो अवस्था सिर्जना गर्यो भन्ने कुरा समय, प्रमाण र निष्पक्ष छानबिनले स्पष्ट पार्ला । अदृश्य शक्तिको खेल थियो वा मानवीय कमजोरी, त्यसको फैसला अनुमानले होइन, सत्यले गर्नुपर्छ ।
तर एउटा प्रश्न आज पनि अनुत्तरित छ—एउटा राष्ट्रिय गौरवको आयोजना यसरी वर्षौँ सम्म अलपत्र पर्नुपर्ने कारण के थियो ?
तत्कालीन सरकार, भरतपुर महानगरपालिका, सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरू बीच समन्वय र समझदारी कायम हुन नसक्नु दुःखद पक्ष थियो । कुनै कानुनी वा आर्थिक समस्या थियो भने त्यसलाई संविधान र प्रचलित कानुनको दायरा भित्र रहेर तत्काल समाधान गर्नुपर्ने थियो । गल्ती थियो भने गल्ती प्रमाणित गरेर कारबाही गर्नुपर्ने थियो । समस्या थियो भने समाधान खोज्नु पर्ने थियो । तर एउटा सपनालाई नै अनिश्चितताको बन्दी बनाएर राख्नु कुनै पनि जिम्मेवार राज्यको शोभा होइन ।
राज्यको काम समस्या थप्नु होइन, समाधान खोज्नु हो । नागरिकले देखेको सपना भत्काउनु होइन, त्यसलाई पूरा गर्ने वातावरण निर्माण गर्नु हो ।
धुर्मुस–सुन्तलीले आर्थिक हिनामिना गरेका हुन् भने निष्पक्ष छानबिन होस् । सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ प्रमाणसहित बाहिर आओस् । सहयोग गर्ने दाताहरू र विश्वास गरेर साथ दिने जनतालाई न्याय मिलोस् । कसैले आर्थिक अनियमितता गरेको प्रमाणित भए कानुनअनुसार कारबाही होस् ।
तर यदि उनीहरूले साँच्चिकै नियत सफा राखेर एउटा राष्ट्रिय सपना पूरा गर्ने प्रयास गरेका थिए र राज्यका प्रक्रिया, आर्थिक दायित्व तथा अन्य जटिलताले उनीहरूलाई असहज अवस्थामा पुर्याएको हो भने राज्यले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । उनीहरूलाई लागेको आरोपको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित समाधान दिनुपर्छ ।
किनकि न्याय भनेको कसैलाई दोषी बनाएर उन्मुक्ति पाउनु मात्र होइन, निर्दोषलाई अन्याय हुन नदिनु पनि हो ।
आज प्रश्न धुर्मुस–सुन्तलीको मात्र होइन । प्रश्न ती हजारौँ सहयोगीहरूको हो, जसले आफ्नो गास काटेर सहयोग गरे । प्रश्न ती नेपालीहरूको हो, जसले एउटा सुन्दर रंगशालामा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलेको हेर्ने सपना देखेका थिए । प्रश्न त्यो देशको हो, जहाँ एउटा राम्रो काम सुरु गर्न उत्साह देखाइन्छ, तर त्यसलाई पूरा गर्न आवश्यक वातावरण बनाउन हामी पटकपटक चुकिरहेका छौँ ।
म कसैको पक्ष वा विपक्षमा उभिएर यो कुरा लेखिरहेको छैन । म त केवल एउटा नेपाली नागरिकका रूपमा प्रश्न गरिरहेको छु ।
हामीलाई धुर्मुस–सुन्तली महान् हुन् भनेर प्रमाणपत्र दिनु छैन, न त उनीहरूलाई दोषी ठहर्याएर कसैलाई सन्तुष्टि दिनु छ । हामीलाई चाहिएको केवल सत्य, न्याय र परिणाम हो ।
यदि गल्ती भएको छ भने कानुनअनुसार हिसाब होस् । यदि अन्याय भएको छ भने न्याय होस् । एउटा ब्याक्ती माथी राजनीति नहोस् राज्यले गर्नु पर्नी काम ब्याक्तीले सहास गरेको छ साथ राज्यले दिनु पर्ने मा राज्य नै राजनीति गरेर अलपत्र बनाउन पाईदैन एउटा राष्ट्रिय गौरवको आयोजना अधुरै नरहोस् ।
कति दुःखद हुन्छ, जब एउटा देशमा सपना देख्ने मानिसहरू नै आफ्नो सपनाको हिसाब दिँदादिँदै थाक्छन् र सपना पूरा गराउने जिम्मेवारी बोकेको राज्य मौन देखिन्छ !
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फेरि उठ्नुपर्छ। यो कुनै व्यक्ति विशेषको प्रतिष्ठाको विषय होइन, नेपाली जनताको सामूहिक विश्वासको विषय हो । यसको अधुरो संरचना पूरा हुनु भनेको केवल एउटा रंगशाला निर्माण हुनु होइन, नेपालीहरूको टुटेको विश्वासलाई पुनः जोड्नु पनि हो ।
अन्ततः एउटा कुरा—धुर्मुस–सुन्तलीलाई न्याय चाहिन्छ कि कारबाही, त्यो प्रमाणले निर्धारण गरोस् । छिट्टै गरोस् एउटा परिवारलाई जीवन मृत्युुको रेखामा राखेर राजनीति नगरियोस् !सहयोगी जनतालाई जवाफ चाहिन्छ र रंगशालालाई पूर्णता । यी तीनै कुराको जिम्मेवारीबाट राज्य पन्छिन मिल्दैन ।
किनकि इतिहासमा अधुरा संरचनाहरू मात्र देखिँदैनन्, ती संरचनाभित्र गाडिएका जनताका सपना र विश्वास पनि देखिन्छन् ।
एउटा सपना थियो, जसलाई नेपालीहरूले आफ्नो सपना ठानेका थिए । त्यो सपना कसैको व्यक्तिगत हार वा जितमा सीमित नहोस् । एक दिन त्यही रंगशालामा नेपाली राष्ट्रिय झण्डा फहरियोस्, नेपाली खेलाडीले छक्का प्रहार गरून् र दर्शकदीर्घामा बसेर नेपालीहरू गर्वले भनून्—यो हाम्रो सपना हो, यो हाम्रो गौरव हो !
— एक नेपाली नागरिकको प्रश्न ।
सुरज गैह्रे “विवश”

Comments (0)
No comments yet — be the first to say something.