चियाको उबाल
बिहानको झिसमिसे उज्यालोसँगै सडकछेउको चिया पसलमा चहलपहल सुरु भइसकेको थियो। चियाको बाफसँगै गफका धुवाँ पनि उडिरहेका थिए। कसैको हातमा पत्रिका थियो, कसैको हातमा मोबाइल। विषय भने देशको अवस्थादेखि छिमेकीको व्यवहारसम्म फैलिएको थियो।
“यो देशमा केही हुनेवाला छैन। नेताहरूले देशै खत्तम पारे!” पत्रिकाको पाना पल्टाउँदै एक अधबैँसेले चियाको चुस्की लिए।
“नेतालाई मात्र दोष दिएर हुन्छ र दाइ? चुनावका बेला पैसामा भोट बेच्ने पनि त हामी नै हौँ नि!” अर्कोले प्रतिवाद गर्यो।
“देश बनाउने जिम्मेवारी जनताको हो कि नेताको?” तेस्रोले प्रश्न थप्यो।
छेउमा बसेका वृद्धले मुस्कुराउँदै भने, “जिम्मेवारी सबैको हो बाबु! अधिकार खोज्न जति हतारो छ, आफ्नो कर्तव्य सम्झिन त्यति नै ढिलाइ गर्छौँ हामी।”
त्यत्तिकैमा विदेशबाट फर्किएको एक युवकले चियाको गिलास टेबुलमा राख्दै भन्यो, “देशमै केही गर्न पाए कसलाई विदेशिन रहर हुन्थ्यो र? यहाँ पढाइअनुसार काम छैन, कामअनुसार दाम छैन। विदेशमा पसिना बगाउँदा कम्तीमा श्रमको मूल्य त पाइन्छ।”
“विदेशमा कमाएको पैसाले घर बनायौ होला, अब बिहे गरेर घरजम गर,” अर्काले ठट्टा गर्यो।
युवकको अनुहार एकाएक गम्भीर भयो।
“घर त बनाएँ काका, तर आफ्नै घरजम गर्न पाएको छैन। विवाह गर्ने उमेर र समय पनि विदेशमै बित्यो। आमा अझै मेरो बिहेको बाटो हेरेर बस्नुभएको छ। बुबा बिरामी हुँदा उहाँको छेउमा रहन पनि सकिनँ। पैसा कमाएँ, घर बनाएँ, तर आफ्नै जीवनका कति महत्त्वपूर्ण पलहरू भने परदेशमै छुटे।”
उसको स्वर रोकियो। केही क्षण चिया पसलमा चम्चा ठोक्किएको आवाजबाहेक अरू केही सुनिएन।
त्यही मौनता चिर्दै एक ग्राहकले मोबाइल देखाउँदै भन्यो, “आजकल त सबै सामाजिक सञ्जालमा सुखी छन्। कसैको घरमा समस्या छैन, कसैको सम्बन्धमा खटपट छैन। सबैको जीवन कति रमाइलो!”
पसलेले चिया छान्दै भन्यो, “मोबाइलको पर्दामा अनुहार उज्यालो देखिँदैमा मन पनि उज्यालो हुन्छ र बाबु?”
“त्यो त हो दाइ! तर अरूको दुःखमा मलम लगाउनेभन्दा नुनचुक छर्किनेहरू धेरै छन्,” छेउमा बसेकी महिलाले थपिन्।
“अरूको घरको कुरा काट्न चाहिँ कसैलाई फुर्सद छैन र? हिजो फलानाकी छोरीको बिहेमा यति धेरै दाइजो दिएर समाजको चलन बिगारे, अब नहुनेले कसरी दिने भनेर प्रश्न उठाउनेहरू आज आफ्नै छोरीको बिहेमा दाइजोको सूची बोकेर हिँडेका छन्,” अर्की महिलाले भनिन्।
पसलमा हाँसो गुञ्जियो। तर त्यो हाँसोभित्र लुकेको व्यङ्ग्यले कसैलाई सहज हुन दिएन।
केही बेरपछि चिया पिउँदै गरेका एक शिक्षकले कुरा उठाए, “हामी शिक्षित भयौँ भन्छौँ, तर हाम्रो सोच कति शिक्षित भयो? छोरीलाई पढाएर आत्मनिर्भर बनाउनुपर्छ भन्छौँ, बुहारी भित्र्याउँदा दाइजोको हिसाब गर्छौँ। समानताको कुरा गर्छौँ, आफ्नै घरमा छोराछोरीबीच भेदभाव गर्छौँ।”
“समाज नै यस्तै छ सर, एक्लैले के गर्न सकिन्छ र?” कसैले सहजै भन्यो।
शिक्षकले गिलास टेबुलमा राख्दै भने, “समाज भनेको हामीभन्दा बाहिरको कुनै छुट्टै वस्तु त होइन नि! आफ्नो घरको व्यवहार नबदली समाज बदलियोस् भनेर पर्खेर कसरी हुन्छ?”
त्यत्तिकैमा पसलमा भर्खरै आएका एक किसानले खाली गिलास टेबुलमा राख्दै भने, “तपाईंहरू देश बदल्ने कुरा गर्नुहुन्छ, म त आफ्नै खेतमा काम गर्ने मान्छे खोज्दा भेट्दिनँ। खेत बाँझै छ, युवाहरू विदेशमा छन्। गाउँमा विकासको चर्चा छ, तर गाउँ नै रित्तिँदै छ।”
“त्यसो भए अब के गर्ने त?” कसैले सोध्यो।
किसानले सहज भावमा जवाफ दिए, “पहिला श्रमलाई सम्मान गर्न सिकौँ। खेतमा पसिना बगाउनेलाई सानो नठानौँ। काम गर्न लाज मान्ने अनि देशमा अवसर छैन भनेर गुनासो गर्ने बानी पनि त बदल्नुपर्यो नि!”
बिस्तारै पसल खाली हुँदै गयो। देशको चिन्ता गर्नेहरू देशतिरै लागे, समाज सुधार्नेहरू आफ्नै बाटोतिर। कसैले राजनीति बदल्ने कुरा गरेको थियो, कसैले संस्कार। कसैले श्रमको सम्मान गर्नुपर्ने बताएको थियो, कसैले समानताको। तर पसलबाट बाहिरिँदै गर्दा कसैले पनि आफ्ना भनाइ र व्यवहारबीचको दूरी महसुस गरेन।
सबैभन्दा अन्तिममा बसेका वृद्धले चियाको अन्तिम चुस्की लिएर सोधे, “आज त धेरै कुरा भए है भाइ?”
पसलेले खाली गिलास उठाउँदै मुस्कुराएर भन्यो, “हो बा! यहाँ हरेक बिहान देश बन्छ, समाज सुध्रिन्छ, मान्छे बदलिन्छन्। तर भोलि फेरि यही कुरा दोहोरिन्छ।”
वृद्ध केही नबोली ढोकाबाट बाहिरिए।
पसलेले चुलोमा थप दाउरा हाल्यो। भाँडोभित्र चियाको पानी फेरि उम्लिन थाल्यो। टेबुलमा केही थोपा चिया पोखिएका थिए। देश बदल्ने बहस गरेर गएका ग्राहकहरूका खाली गिलास भने अझै त्यहीँ थिए।
उसले गिलास उठायो, टेबुल पुछ्यो र फेरि अर्को ग्राहकका लागि चिया बसाल्यो।
चिया फेरि उम्लियो। गफ फेरि सुरु भयो। बदलिएको थियो त केवल चियाको भाँडोमा पानीको मात्रा र पसलमा आएका अनुहारहरू।
—अन्जु चालिसे रूपान्जली


Comments (2)
"अत्यन्तै मर्मस्पर्शी र भावपूर्ण सिर्जना! शब्दहरूको सामान्य मालाभन्दा बाहिर गएर, यसले सीधै मनको ढोका ढकढक्याएको छ। कविता भनेकै यही हो— जुन पढेपछि आफ्नै जीवनका पानाहरू पल्टाएजस्तो अनुभव हुन्छ। तपाईंको यो कलाले अझै उचाइ हासिल गर्ोस, हार्दिक शुभकामना
वाह! अञ्जु चालिसेज्यू, तपाईंका शब्दहरूमा भावना, मिठास र जीवनका सुन्दर अनुभूतिहरूको अद्भुत संगम छ। ❤️ तपाईंको कविता पढ्दा हरेक शब्दले मनको गहिराइसम्म स्पर्श गर्छ। यसरी नै आफ्ना सुन्दर सिर्जनामार्फत सबैको मन जितिरहनुहोस्। तपाईंको लेखनी सधैँ फूलझैँ फुलिरहोस् र साहित्यको आकाशमा चम्किरहोस्। 🌹🙏