Catch feed

Catch → तमसमा दीपशिखा

✓ Unlocked — enjoy the rest of the Catch

Psychological Poetic Narrative
मनोवैज्ञानिक गद्यकाव्यात्मक आख्यान ।

आकाशभरि झुन्डिएका ताराहरू
खै कस्को खुसीबाट चोरिएका हुन् ?

साँझ गहिरिँदै गएको थियो। गोधूलिपछि उज्यालिएको शहरलाई नियाल्दै म आफ्नै घरको कौसीमा उभिएकी थिएँ। क्षितिजसम्म तन्किएका उत्सवका बत्तीका लहराहरूले शहरलाई कुनै रमाइलो स्वप्नलोकमा बदलिदिएका थिए। घरका झ्याल, सडकका मोड, अग्ला छत र मन्दिरका गजुरहरू उज्यालोको अनुष्ठानमा लीन देखिन्थे।
“ओहो ! यो शहर कति झिलिमिली छ ।”
मनमा भावको एउटा लहर उठ्यो,आज लक्ष्मीपूजा थियो र तिहारको खुसी यति बाक्लो, यति भरिपूर्ण लागेको थियो। हरेक घरमा दियो बलेका थिए, दैलोमा रंगोलीका कलात्मक बुट्टा सजिएका थिए । आँगनमा सयपत्री र मखमलीका माला झुन्डिएका थिए। कतै देउसीभैलोको लयबद्ध गुञ्जन सुनिन्थ्यो,कतै बालबालिकाको निर्दोष हाँसो।
तैपनि मनभित्र एउटा तीखो प्रश्न अचानक उब्जियो, के यो बाहिरी चकाचौँध मानिसहरूको मनभित्रसम्म पुग्न सक्ला ? बाहिर यति धेरै उज्यालो हुँदा के हरेक चुलो र हरेक कोठाभित्र पनि उत्तिकै उज्यालो होला ?
मेरो सेतो घर पहेँला बत्तीका लहराहरूले बेरिएर उज्यालो बनेको थियो। छोराछोरीको चञ्चलता र चहलपहलले घरभित्रै छुट्टै पर्व रचेको थियो। मैले लक्ष्मीपूजाको विधि पूरा गरिसकेकी थिएँ। रंगोलीका रङ चहकिला थिए। आँगन र मूलढोकाभरि माटाका दियोहरू जगमगाइरहेका थिए।
बाहिरको वैभव हेरेर फर्किएपछि घरभित्रको उज्यालो पनि नियालेँ। सबै कुरा पूरा भएझैँ लाग्यो। तर मनको कुनै नदेखिने कुनामा एउटा सानो अपूर्णता अझै बाँकी थियो।
अब लक्ष्मीमाताको मूर्तिअगाडि शान्त ठाउँमा बसेर केही बेर ध्यान गर्न मन लाग्यो।
मन्दिर घरको माथिल्लो कौसीमा थियो। त्यहाँ पुग्दा केही दियोका बत्ती निभिसकेका थिए भने केही मधुरो उज्यालोमा काँपिरहेका थिए। चिसो सिरेटोको सानो झोक्काले ती बत्तीहरूलाई एकछिन झुकाउँथ्यो र अर्कोछिन तन्काउँथ्यो।
अचानक मलाई एउटा नयाँ माटाको दियो बाल्ने रहर जाग्यो।
मैले एउटा सानो दियो उठाएँ। छचल्किने गरी तेल भरेँ, कपासको बत्ती मिलाएँ र सलाइको झिल्काले बालेँ। लक्ष्मीमाताको मूर्तिअगाडि पलेँटी कसेर त्यसको चञ्चल बत्तीलाई एकटक हेरिरहेँ।
तामा र सुनजस्ता मसिना झिल्काहरू लगातार नाचिरहेका थिए। म पनि तिनै झिल्काहरूको लयमा हराउँदै गएँ।
हेर्दाहेर्दै दियोको उज्यालोभित्र कताकता एउटा गाढा छायाँ बुनिन थाल्यो।
पहिले त आँखाको भ्रम वा ध्यानमा उब्जिएको कुनै बिम्ब होला भन्ने ठानेँ। तर त्यो अँध्यारो झन् प्रस्ट र सजीव हुँदै गयो। त्यहाँ एउटा घर थियो जहाँ साँघुरो, धुवाँले कालो भएको जीर्ण कोठा देखिन्थ्यो । त्यसभित्र एउटी अधबैँसे महिला खरानी र दाउराबीच अगेनामा प्राण फुकिरहेकी थिइन्।
उनीनजिकै तीनजना साना बालबालिका थिए।
म दियोको बत्तीतिर अझै नजिकिएँ।
“ओहो ! यो कस्तो विडम्बना ?” बाहिर सारा शहर उत्सवको उज्यालोमा नुहाइरहँदा यी मानिसहरू किन यस्तो मौन अँध्यारोमा थुनिएका होलान् ? के आज लक्ष्मीपूजा होइन ? यिनीहरूको दैलोमा दियो किन रित्तो होला ?

पानी
कपास
र एउटा असम्भव झिल्का ।

ती तीनै बालबालिका केही बाल्ने व्यर्थ कोसिस गरिरहेका थिए। साना माटाका दियोहरूमा पानी भरिएको थियो। तिनमा कपासका बत्ती डुबाइएका थिए। पानीको सतहमा तैरिएका ती भिजेका बत्तीहरूलाई उनीहरू बारम्बार सल्काउन खोजिरहेका थिए।
मलाई अनायासै व्यङ्ग्य मिसिएको हाँसो उठ्यो।
“कस्ता अबोध ! पानीमा बत्ती भिजाएर पनि कतै दियो बल्छ ?”
तर त्यो हाँसो ओठसम्म आइपुग्नुअघि नै घाँटीमै अड्कियो।
जेठी छोरी अगेनाबाट बलिरहेको दियालो (खोटो भरिएको सल्लाको चोक्टा) लिएर आई। दियालोको न्यानो, मधुरो उज्यालो उसको अनुहारमा नाचिरहेको थियो। कान्छी छोरीले हँसिया लिएर नबलेका दियालोका टुक्राहरूलाई पातला चिरा पार्न थाली। जेठीले ती चिराहरूलाई बटुलेर थुपारी। अगेनाको मुखमा फुक्दा आमाका गाला ताता भए, र धुवाँको पिरोले आँखा रसाए तैपनि उनी खरानी पन्छाएर आगो जोगाइरहेकी थिइन्, मानौँ त्यो आगो भात पकाउन मात्र होइन, आफ्ना सन्तानको सास जोगाउन बलिरहेको थियो।

अगेनाको धुवाँमा
आमाको सास अल्झिएको छ,
र त्यही कालो पुछ्दै
छोरीहरू उज्यालो खोजिरहेछन् ।
दियालोको चिरा
अभावको काठ चिरेर
बालेको आगो
एउटा सानो सूर्य झै देखिन्थ्यो ।

सानो भाइ दिदीहरूको काम मन्त्रमुग्ध भएर हेरिरहेको थियो। उसका आँखामा अनौठो कौतूहल र आशाको चमक थियो।
त्यसपछि दुवै दिदीबहिनीले माटोको भित्तामा सानो सिन्काले केही कोर्न थाले।
मेरो उत्सुकता अझै बढ्यो।
भित्तामा सिन्का घिसार्दै उनीहरू कुनै आकृति उतार्न खोजिरहेका थिए। कहिले एउटीले धर्को तान्थी, कहिले अर्कीले। केही बेरमै भित्तामा लक्ष्मीमाताको एउटा आकृति बन्यो। रेखाहरू बाङ्गाटिङ्गा थिए, आकृति अधुरो थियो, तैपनि उनीहरूको अनुहारमा कुनै ठूलो सिर्जना रचेको गहिरो सन्तोष थियो।
भाइ खुसीले भरिएर मुस्कुरायो।
भित्ताको त्यही कोरा आकृतिअगाडि केही हरिया र झरेका फूलका पातहरू श्रद्धापूर्वक राखिए।

सिन्काको टुप्पो
कच्चा माटो
बाङ्गाटिङ्गा रेखा
आकृति अधुरो छ,
तर त्यसअगाडि निहुरिएको शिर
पूर्ण छ ।

गरिबीको भित्तामा
देवी कति सजिलै अटाउँछिन
जहाँ सिँगार होइन,
केवल आस्थाको शुद्धता छ ।

माटाका दियोहरू अझै भिजेकै थिए। तिनभित्रका पानी भरिएका बत्तीहरू गल्दै थिए। त्यत्तिकैमा आमा अगेनाबाट उठिन्। उनले ती रित्ता, भिजेका दियोतिर हेरिन्। केही क्षण चुपचाप उभिएपछि उनले पानी भरिएका दियोहरू एकएक गरी घोप्ट्याउन थालिन्। पटुकीको छेउले दियोका भित्री कुना पुछिन्। माटाका भाँडाहरू सुक्खा पारिन्।
जेठी छोरीले ती दियोमा दियालोका चिरा मिलाई। कान्छीले भित्तामा कोरिएको लक्ष्मीको आकृतिअगाडि पात र फूल सजाई।
मलाई लाग्यो, अब उनीहरूको अँध्यारो दैलोमा पनि उज्यालोको पाइला पर्नेछ।
त्यही बेला बाहिरबाट कसैले बोलायो-
“जेठी आमै ! जेठी आमै !”
आमा बाहिर निस्किइन्। ढोकामा हातमा मोबाइल बोकेकी एउटी किशोरी उभिएकी थिई। ऊ भित्र पसी र अभावबीच ती बालबालिकाले सजाएको सानो संसार नियालेर एकछिन अडिई।
दियालोका चिरा टिपेर आमाले ढोकामा राखिएका पाँचवटा दियो बालिन्। दलानका दियोहरूमा पनि आगो सारिन्। भित्र जेठी र कान्छीले बाँकी दियोहरूमा दियालोका साना टुक्रा राखेर बाल्न थाले।
लक्ष्मीमाताको त्यो कल्पित आकृतिअगाडि तीनवटा दियो बले। भित्तामा कोरिएका रेखाहरूको तल अर्को एउटा सानो उज्यालो थपियो।
सानो भाइ खुसीले उफ्रियो। भावुक बनेका दुवै दिदीबहिनी भजन गाउन थाले,
“जय जय लक्ष्मीमाता…”
आमाको अनुहारमा दिनभरिको थकानका धर्सा थिए, तर आँखामा सन्तोषको गहिरो चमक देखिन्थ्यो।
बाहिरबाट आएकी किशोरीले मोबाइलको क्यामेरा खोलेर त्यो क्षण कैद गरिरहेकी थिई,कहिले दियो, कहिले बालबालिकाको अनुहार, कहिले भित्तामा कोरिएको लक्ष्मीको त्यो सरल आकृति।
म भने आफ्नै दियोको झिल्काभित्रबाट त्यो दृश्य हेरिरहेकी थिएँ। त्यो सानो बत्तीले समय र दूरीको पर्दा उघारेर मलाई एउटा यस्तो सत्य देखाउँदै थियो, जुन मेरो उज्याला भित्ताभित्र लुकेको थिएन।
अचानक छातीभित्र गहिरो करुणा उर्लियो।
हे लक्ष्मीमाता ! आज राति यिनीहरूको घरमा बास बसिदिनु है। मेरो घरका यी पहेँला बत्तीभन्दा बढी उज्यालो यिनीहरूको जीवनमा भरिदिनु। यिनीहरूको चुलो कहिल्यै चिसो हुन नदिनु। यी अबोध आँखाहरूमा अभावको अँध्यारो होइन, सपनाको उज्यालो भरिदिनु।
त्यसपछि म मन्दिरबाट उठेँ।

***

बिहानीको उज्यालो फैलियो।
घरको काम सकाएर म भान्सामा पसेँ। खाना पकाएँ। सबैलाई खुवाएपछि बल्ल आफ्नै लागि समय मिल्यो। घडीको सुई दसतिर पुगिसकेको थियो।
मैले मोबाइल हातमा लिएँ। अघिल्लो रातको लक्ष्मीपूजाको भिडियो सम्झेँ। घर, मन्दिर, रंगोली र झिलिमिली बत्तीहरू जोडेर मैले एउटा भिडियो बनाएकी थिएँ। टिकटकमा पनि हालेकी थिएँ।
हेर्न आफ्नो भिडियो खोलेँ।
ओहो !
त्यसमा तीन सय भ्युज पनि पुगेको थिएन। जम्मा एकाउन्न लाइक र पाँचवटा कमेन्ट।
मन खिन्न भयो।
यति समय र मिहिनेत लगाएर बनाएको भिडियो पनि कसैले खासै हेरेनछन्। एकछिन आफ्नै भिडियो हेरेँ, अनि टिकटकको फिड स्क्रोल गर्न थालेँ।
अचानक पर्दामा एउटा भिडियो आयो।
म झस्किएँ।
ओहो ! हिजो राति दियो बालिरहेका तिनै बालबालिका होइनन् र ?
भित्तामा कोरिएको लक्ष्मीमाताको आकृति, माटाका दियो, दियालोका चिरा, अगेनामा फुकिरहेकी आमा, सबै दृश्य उस्तै थिए।
अनि भिडियोको भ्युज ?
दस लाखभन्दा बढी ।
एकछिन म स्क्रिनमै टोलाइरहेँ। भिडियो अर्की किशोरीको अकाउन्टबाट साझा गरिएको रहेछ। सायद हिजो राति ढोकामा आएकी त्यही केटी।
फेरि स्क्रोल गरेँ।
अर्को अकाउन्टमा पनि त्यही दृश्य थियो। यसपटक त जेठी छोरी आफैँले भिडियो हालेकी रहिछन्। भ्युज झन् धेरै थियो।
कस्तो अनौठो संयोग !
एकै रातमा ती बालबालिका डिजिटल संसारमा भाइरल भइसकेका रहेछन्।

औँलाको एउटै छुवाइले
भोकलाई ‘कन्टेन्ट’ बनाइदिन्छ
लाखौँ आँखाहरू
करुणाको ऐना फुटाएर
आफ्नै प्रतिबिम्ब हेर्छन्
पर्दामा भोक अडिग रहन्छ
स्क्रोलमा संवेदना बगिरहन्छ ।

म कमेन्टहरू पढ्न थालेँ। ती शब्दहरूमा सहानुभूतिको बाढी थियो, तर त्यसको गहिराइ जोख्ने कुनै तराजु थिएन।
“नानीहरूलाई नयाँ लुगा किनिदिनुपर्छ।”
“उनीहरूलाई घर बनाइदिने व्यवस्था गरौँ।”
“पढाइको सबै खर्च म बेहोर्छु।”
“यो ठाउँ कहाँ हो ? म सहयोग गर्न चाहन्छु।”
“यस्ता बालबालिकाको अनुहारमा खुसी ल्याउन पाउनु नै साँचो पुण्य हो।”
म एकपछि अर्को कमेन्ट पढिरहेँ। हिजो राति दियालोका टुक्रा जोडेर दियो बालिरहेका ती साना हातहरू आज हजारौँ मानिसको भावनाको केन्द्र बनेका थिए। मेरो आफ्नै झिलिमिली घरको भिडियो शून्यको छेउमा उभिएको थियो, जबकि एउटा गरिब चुलोको धुवाँ लाखौँ आँखाको आकर्षण बनिरहेको थियो।
हिजो ती बालबालिकाको घरमा भोक थियो। आज पनि सायद छ। उनीहरूको अभाव हिजो पनि थियो। आज पनि छ। फरक यति मात्र हो कि हिजो त्यो अभाव अँध्यारोमा लुकेको थियो; आज मोबाइलका पर्दामा देखाइँदै छ।

शब्दहरू कति हलुका हुन्छन्,
जब औँलाको टुप्पोबाट झरेर
भर्चुअल हावामा तैरिन थाल्छन् ।
कमेन्टको आकाशमा
‘सहयोग’ र ‘पुण्य’का तारा चम्किन्छन्,
तर भोकको पेटमा
एउटा दाना पनि झर्दैन ।

हिजो उनीहरूका दियोमा तेल थिएन। आज हजारौँ आँखा उनीहरूको ठेगाना खोजिरहेका छन्।

सिर्जु शाह
वीरेन्द्रनगर सुर्खेत

Why is the writer's name hidden?WritingNepal judges entries without looking at the writer's name: connection to the theme, language and craft, originality, and impact on the reader. The name appears when the results are announced.
3shares
Share this Catch:

Comments (0)

No comments yet — be the first to say something.