Catch feed

Catch → दिवाली र तिहार : संस्कृति र जीवनदर्शन

✓ Unlocked — enjoy the rest of the Catch
Articles & Deep Dives

दिवाली र तिहार : संस्कृति र जीवनदर्शन

प्रकाशको पर्वका रूपमा परिचित दिवाली र तिहार हिन्दू धर्मावलम्बीका प्रमुख सांस्कृतिक तथा धार्मिक उत्सव हुन्। दुवै पर्व अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयका प्रतीक मानिन्छन्। घर, आँगन, मन्दिर र सार्वजनिक स्थलमा दीप प्रज्वलन गर्ने, घर सजाउने, विभिन्न देवीदेवताको पूजा गर्ने तथा परिवार र आफन्तसँग खुसी साटासाट गर्ने परम्पराले यी दुवै पर्वलाई उज्यालो र उमङ्गको उत्सव बनाएका छन्। यद्यपि भारतको दिवाली र नेपालको तिहारबीच धार्मिक आधार, मनाउने तरिका र सांस्कृतिक विशेषताका दृष्टिले केही भिन्नता छन्।

‘दीपावली’ शब्द संस्कृतका ‘दीप’ र ‘आवली’ शब्द मिलेर बनेको हो, जसको अर्थ दीपहरूको पङ्क्ति वा लहर भन्ने हुन्छ। ‘दीपदान’ भनेको श्रद्धा र आस्थासहित दीप अर्पण गर्नु हो। त्यसैले दीपावली र दीपदानलाई एउटै अर्थमा बुझ्नु हुँदैन। दीपावली प्रकाशपर्वको नाम हो भने दीपदान त्यससँग जोडिएको धार्मिक कर्म हो। भारत र नेपाल दुवै ठाउँमा दीप प्रज्वलन गर्ने र दीप अर्पण गर्ने परम्परा पाइन्छ। तर नेपालको तिहारमा यमदीपदानलगायतका धार्मिक अनुष्ठानले विशेष महत्त्व राख्छन्।

भारतमा दिवाली सामान्यतः हिन्दू चान्द्रपात्रोअनुसार कार्तिक अमावस्याका दिन मनाइन्छ। भारतका धेरै क्षेत्रमा यसको उत्सव धनतेरसदेखि भाइदूजसम्म पाँच दिन फैलिएको हुन्छ। यद्यपि विभिन्न राज्य र समुदायमा यसलाई मनाउने धार्मिक मान्यता र परम्परा फरक–फरक छन्।

उत्तर भारतका उत्तर प्रदेश र दिल्लीजस्ता क्षेत्रमा दिवालीलाई भगवान् राम चौध वर्षको वनवास पूरा गरी सीता र लक्ष्मणसहित अयोध्या फर्किएको खुसीयालीसँग जोडेर मनाइन्छ। रामको आगमनमा अयोध्यावासीले दीप प्रज्वलन गरी नगरलाई उज्यालो बनाएको धार्मिक मान्यता छ। यही सम्झनामा अयोध्याको सरयू नदीका घाटमा दीपोत्सव आयोजना गरिन्छ।

दक्षिण भारतका तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाजस्ता क्षेत्रमा भने दिवालीलाई भगवान् कृष्णले नरकासुरमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिन्छ। त्यहाँ नरक चतुर्दशीलाई विशेष महत्त्व दिइन्छ। पश्चिम बङ्गाल, असम र ओडिसाजस्ता क्षेत्रमा दिवालीकै अवसरमा कालीपूजा गरिन्छ। गुजरातमा दिवालीको भोलिपल्ट ‘बेस्टु वरस’ अर्थात् गुजराती नयाँ वर्षको सुरुवातका रूपमा मनाउने चलन छ। यसरी भारतमा एउटै पर्व विभिन्न धार्मिक आख्यान, क्षेत्रीय परम्परा र सांस्कृतिक मान्यतासँग जोडिएर विविध स्वरूपमा मनाइन्छ।

नेपालमा भने दिवालीसँग मिल्दोजुल्दो प्रकाशपर्वलाई तिहार वा यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइन्छ। यसको विशेषता दीप प्रज्वलनमा मात्र सीमित छैन। प्रकृति, पशुपक्षी, कृषि, पारिवारिक सम्बन्ध र आत्मसम्मानलाई समेत यस पर्वले समेटेको छ।

तिहारको पहिलो दिन काग तिहार मनाइन्छ। कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्दै पूजा गर्ने र खानेकुरा दिने परम्परा छ। कागले शुभ समाचार ल्याओस् भन्ने कामनासहित उसलाई मीठा खानेकुरा अर्पण गरिन्छ। यमपञ्चकको प्रारम्भसँग जोडिएको अर्को महत्त्वपूर्ण धार्मिक परम्परा यमदीपदान हो। कार्तिक कृष्ण त्रयोदशीको साँझ यमराजको नाममा घरबाहिर दीप प्रज्वलन गरी गरिने दीपदानलाई ‘यमदीपदान’ भनिन्छ। धार्मिक मान्यताअनुसार दीपलाई दक्षिण दिशातर्फ फर्काएर अर्पण गरिन्छ। यसबाट परिवारका सदस्यलाई यमयातना तथा अकाल मृत्युको भयबाट मुक्ति मिलोस् भन्ने कामना गरिन्छ। पञ्चाङ्गअनुसार तिथि र सूर्योदय तथा सायंकालको तिथिको गणनामा हुने भिन्नताका कारण कुनै वर्ष यमदीपदान र काग तिहार एउटै दिन तथा कुनै वर्ष फरक–फरक दिन पर्न सक्छन्।

दोस्रो दिन कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मीठो खानेकुरा खुवाउने गरिन्छ। कुकुरलाई इमानदार साथी, घरको रक्षक र मानिसको विश्वासिलो सहयात्रीका रूपमा सम्मान गरिन्छ। यस परम्पराले मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई उजागर गर्छ।

तेस्रो दिन गाई तिहार र लक्ष्मीपूजा मनाइन्छ। गाईलाई हिन्दू धर्ममा लक्ष्मीको प्रतीक तथा पवित्र पशुका रूपमा पूजा गरिन्छ। साँझ घरको मूलद्वारदेखि पूजाकोठासम्म दियो बालिन्छ। चामलको पिठो वा अन्य परम्परागत सामग्रीबाट लक्ष्मीका पाइला बनाइन्छन्। घरमा धन, ऐश्वर्य, सुख र समृद्धिको आगमन होस् भन्ने कामनासहित लक्ष्मीको पूजा गरिन्छ। यस दिन घरका विभिन्न स्थानमा दीप प्रज्वलन गरी उज्यालो बनाउने परम्पराले तिहारको प्रकाशमय स्वरूपलाई थप आकर्षक बनाउँछ। यहाँ दीप घर सजाउने साधन मात्र नभई आस्था, श्रद्धा र शुभकामनाको प्रतीक पनि बनेको हुन्छ।

चौथो दिन गोरु तिहार, गोवर्धन पूजा र नेवार समुदायमा म्हः पूजा मनाइन्छ। गोरुलाई कृषि कार्यमा सहयोग गर्ने महत्त्वपूर्ण पशुका रूपमा पूजा गरिन्छ। गोवर्धन पूजामा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षा र विपत्तिबाट बचाएको धार्मिक प्रसङ्ग स्मरण गरिन्छ। यस पूजाले प्रकृति, पहाड, जमिन र पर्यावरणप्रतिको सम्मानलाई पनि उजागर गर्छ।

यसै दिन नेवार समुदायमा म्हः पूजा गरिन्छ। ‘म्हः’ को अर्थ शरीर वा आफू भन्ने बुझिन्छ। म्हः पूजामा आफ्नै शरीर, आत्मा र अस्तित्वको सम्मान गर्दै सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरिन्छ। नेपाल संवत्को नयाँ वर्षसँग पनि यसको विशेष सम्बन्ध छ। यसले मानिसले आफ्नो अस्तित्व र जीवनलाई सम्मान गर्नुपर्छ भन्ने सांस्कृतिक दर्शन बोकेको छ।

पाँचौँ दिन भाइटीका मनाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छन्। दाजुभाइले पनि दिदीबहिनीको सुख र सुरक्षाको कामना गर्छन्। यो पर्व टीका लगाउने परम्परामा मात्र सीमित छैन; दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारस्परिक संरक्षणको प्रतीक पनि हो।

नेपालको तिहारमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान विशेष रूपमा अभिव्यक्त भएको पाइन्छ। हिन्दू दर्शनमा प्रकृति, पशुपक्षी, वनस्पति, नदी, पहाड र समग्र जीवजगत्लाई महत्त्व दिइएको छ। भगवान् शिवलाई पशुपतिनाथका रूपमा पुजिनु, भगवान् कृष्णको गोवर्धन पर्वतसँगको सम्बन्ध र विभिन्न पशुपक्षीलाई तिहारमा छुट्टाछुट्टै दिन पूजा गरिनु यसैका उदाहरण हुन्।

कागलाई सन्देशवाहक, कुकुरलाई रक्षक र विश्वासिलो साथी, गाईलाई लक्ष्मीको प्रतीक तथा गोरुलाई कृषि जीवनको सहयोगीका रूपमा सम्मान गरिन्छ। यसले मानिस र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउँछ। जीवजन्तु मानिसका उपयोगका वस्तु मात्र होइनन्, तिनीहरूको पनि आफ्नै महत्त्व र अस्तित्व छ भन्ने सन्देश तिहारले दिन्छ।

यद्यपि भारत र नेपाल दुवै ठाउँमा दिवाली तथा तिहारका अवसरमा पटाका र आतसबाजी गर्ने चलन छ। विशेषतः भारतका केही ठूला सहरमा दिवालीपछि वायु प्रदूषण गम्भीर समस्या बन्ने गरेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ र आवाजले मानिसको स्वास्थ्य, वातावरण तथा पशुपक्षीमा समेत नकारात्मक असर पार्छ। नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। तर नेपाली तिहारको परम्परागत पहिचान दियो, देउसी–भैलो, पूजा, घरको सजावट र पारिवारिक आत्मीयतासँग बढी जोडिएको छ। त्यसैले पटाका र आतसबाजीबाट हुने नकारात्मक प्रभावप्रति सचेत हुँदै आफ्ना परम्पराका सकारात्मक पक्षलाई संरक्षण गर्नु आवश्यक छ।

नेपालको लक्ष्मीपूजामा घरको मूलद्वारदेखि पूजाकोठासम्म लक्ष्मीका पाइला बनाउने र दियो बाल्ने परम्परा छ। भारतका विभिन्न क्षेत्रमा रङ्गोली बनाउने चलन पनि प्रचलित छ। यी दुवै परम्पराका आ–आफ्नै सांस्कृतिक अर्थ र सौन्दर्य छन्। अन्य संस्कृतिका राम्रा पक्षलाई सम्मान गर्नु सकारात्मक कुरा हो, तर त्यसो गर्दा आफ्नो मौलिक परम्परा र पहिचानलाई बिर्सनु हुँदैन।

भारतको दिवाली र नेपालको तिहारबीच समानता र भिन्नता दुवै छन्। दुवै पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र प्रकाशको महत्त्वलाई उजागर गर्छन्। भारतको दिवाली विभिन्न क्षेत्रका धार्मिक आख्यान र स्थानीय परम्पराअनुसार विविध स्वरूपमा मनाइन्छ भने नेपालको तिहार पाँच दिनसम्म पशुपक्षी, प्रकृति, कृषि, आत्मसम्मान र पारिवारिक सम्बन्धलाई समेट्दै अघि बढ्छ। यसैले यी दुई पर्वलाई एउटै मापदण्डमा तुलना गरेर कुनै एकलाई ठूलो वा सानो ठहर गर्नु उचित हुँदैन।

पर्वको वास्तविक उज्यालो दियोको प्रकाशमा मात्र सीमित हुँदैन। मानिसमा प्रेम, करुणा, सद्भाव र सहअस्तित्वको भावना जागृत हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ। प्रकृतिको सम्मान, जीवजन्तुप्रतिको दया, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई व्यवहारमा उतार्न सके मात्र यस्ता पर्वको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व सार्थक हुन्छ।

दीप एउटै उज्यालोको प्रतीक हो, तर त्यससँग जोडिएका सांस्कृतिक अर्थ र जीवनदर्शनले नै हरेक समाजलाई विशिष्ट बनाउँछन्। नेपालको पाँचदिने तिहार हाम्रो यस्तै मौलिक सांस्कृतिक सम्पदा हो।

— अन्जु चालिसे रूपाञ्जली

हाल : क्यानडा

मिति : २५ कार्तिक २०८३

Comments (0)

No comments yet — be the first to say something.