Catch feed

Catch → पर्खाइ

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

पर्खाइ

सधैँझैँ आज पनि चाँडै रात पर्यो। तर हरेक रात काट्न मलाई झन् गाह्रो हुँदै गएको छ। कुनै बेला बिहानझैँ उज्यालो सपना बोकेर आउने रातहरू आजकल सपनाविहीन भएका छन्।

हरेक रात भोलिका लागि केही न केही तयारी गरेर बिताउने मसँग अब कुनै योजना बाँकी छैन। लाग्छ, यादहरूका ती रातहरूले पनि बिस्तारै मेरो साथ छाडेर गएका छन्। अरूलाई सम्झेर बिताउने ती रातहरू आज आफ्नै अस्तित्वको खोजीमा बितिरहेका छन्।

बाहिरबाट हेर्दा सबै कुरा सामान्य देखिन्छ। बिहान हुन्छ, दिन बित्छ, सास चलिरहन्छ र रातले आफ्नै बाटो समात्छ। संसार आफ्नै गतिमा चलिरहेको छ। तर मेरो मनभित्र भने समय अझै पनि कतै रोकिएझैँ लाग्छ।आज पनि आँखामा गहिरो कालो दाग बोकेर मेरो निद्रा खुल्यो। सधैँझैँ बिहानको आफ्नो नियमित यात्रातिर लागेँ। उसको सम्झनाको परछाइँ पछ्याउँदै दुई वर्षदेखि बन्द रहेको त्यही बस स्टेसनसम्म पुगेँ। केही बेर त्यहीँ उभिएर उसको बाटो हेरेँ।

मलाई राम्ररी थाहा छ, ऊ अब कहिल्यै फर्केर आउनेछैन। तैपनि नजाने किन, उसको प्रतीक्षामा अझै पनि आफ्ना सम्झनाहरूलाई समातेर बसिरहेको छु।

सधैँझैँ आज पनि उठ्न ढिलो भयो। घडी हेर्दा बिहानको नौ बजिसकेको रहेछ। कलेज जानका लागि तयार हुँदाहुँदै झन्डै दस बज्यो। कलेज पुग्ने मेरो आफ्नै मोटरसाइकलको इंधन सकियाको थियो। अब हिँडेरै समयमै पुग्न सम्भव थिएन। त्यसैले आफ्नो गन्तव्यतर्फ गइरहेको एउटा बसलाई रोकेँ र त्यसैमा चढेँ।

सायद त्यस दिन मैले गरेको सबैभन्दा ठूलो गल्ती नै त्यही बसमा चढ्नु थियो।

बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। म झ्यालबाहिरका दृश्यहरू हेर्दै यात्रामा हराइरहेको थिएँ। त्यत्तिकैमा एउटा स्टेसनमा बस रोकियो। हतारिँदै एउटी युवती बसभित्र चढिन्। उनी पनि झन्डै मेरै उमेरकी देखिन्थिन्।युवती म बसेकै सिटको छेउमा आएर बसिन्। सुरुमा हामी दुवै मौन थियौँ। बोल्ने इच्छा भएर पनि सायद शब्दहरू भेटिरहेका थिएनन्। छिनछिनमै एकअर्कालाई हेर्ने, नजर जुध्नेबित्तिकै मुस्कुराउने क्रम चलिरह्यो।

केही बेरको मौनतापछि हाम्रो कुराकानी सुरु भयो। उनी यति हतारहतारमा थिइन् कि मैले सहजै सोधेँ, “यति धेरै हतारमा हुनुहुन्थ्यो भने छिट्टै किन नआएको?”

मेरो प्रश्न सुनेर उनी केही बेर रोकिइन्। त्यसपछि कपाल सुक्न अलि समय लागेको बताइन्।

उनको कुरा सुन्दै गर्दा अचानक मेरो नजर उनको कपालतिर पुग्यो। खुला छोडिएको लामो कपाल हावासँगै हल्का हल्लिरहेको थियो। केही बेरमै उनको कपालको मीठो सुगन्ध मेरो नाकसम्म आइपुग्यो।

त्यो सुगन्ध कस्तो थियो, शब्दमा बयान गर्न मलाई मुस्किल परिरहेको थियो। मानौँ, मनभित्र हजारौँ कमलका फूलहरू एकैपटक फुलेका हुन्। ती सबै फूलको सुगन्ध मिसिएर बनेको एउटा सुगन्धित गुच्छा मेरो वरिपरि फैलिएको थियो।

त्यस दिनदेखि भोलिको प्रतीक्षामा जसोतसो दिनहरू बिताउन थालेँ। अर्को बिहान फेरि त्यही बस स्टेसन पुगेँ। आज पनि बस छुट्ने बेलामा मात्र आईपूगीन । मनमा एक किसिमको डर थियो—कतै आज उनी भेटिन्नन् कि!

तर उनलाई देख्नेबित्तिकै मनमा अनौठो राहत महसुस भयो। मानौँ, लामो समयदेखि हराएको कुनै खुसी अचानक फर्किएर आएको होस्।

त्यस दिन हामीले एकअर्कासँग आफ्नो परिचय पनि साट्यौँ। त्यसपछि त उनलाई भेट्नकै लागि म प्रायः त्यही बस स्टेसन पुग्न थालेँ। उनी भने सधैँजसो ढिलो आइपुग्थिन्। बिस्तारै मलाई उनको त्यो बानी पनि परिसकेको थियो।

मनमा हजारौँ प्रश्नहरू थिए। उनीबारे धेरै कुरा जान्न मन लाग्थ्यो, तर सोध्ने आँट भने कहिल्यै जुटाउन सकिनँ।

एक दिन अचानक उनले आफैँ मौनता तोड्दै भनिन्—

“थाहा छ, मेरा आफ्नै आफन्तहरूभन्दा पनि तिमी मलाई बढी प्रिय लाग्न थालेका छौ।”

उनको त्यो एउटा वाक्यले मेरो मनमा कति कुरा जन्मायो, सायद उनी आफैँलाई पनि थाहा थिएन।मनभित्र जति नै खुसी उमङ्गले भरिएको भए पनि मैले त्यसलाई बाहिर देखाइनँ। आफ्ना भावनाहरूलाई मनभित्रै दबाएर राखेँ। सायद म पनि उनलाई उत्तिकै प्रिय मान्न थालिसकेको थिएँ।

अचानक उनले मेरो हात समातिन्। बिस्तारै मेरो काँधमा आफ्नो टाउको अड्याउँदै भनिन्, “मलाई आज कलेज जानै मन छैन। साह्रै निद्रा लागेको छ।”

यति भनेर उनले मेरो काँधलाई सिरानी बनाइन् र निदाउन थालिन्।

कहिलेकाहीँ जीवनमा केही क्षण यस्ता पनि आउँछन्, जसलाई हामी रोक्न त सक्दैनौँ, तर सकिएसम्म लामो बनाउन चाहन्छौँ। हाम्रो बस स्टेसन छुटिसकेको थियो। तर मलाई त्यसको कुनै पछुतो थिएन। बरु, उनीसँग केही समय बिताउन पाउँदा मनभित्र छुट्टै खुसी थियो। सायद आजको दिनभरको बस यात्रा मेरा लागि एउटा सुन्दर सम्झना बन्ने वाला थियो।

तर अचानक टाढाबाट एउटै उमेरको एक युवक बस स्टेसनतिर हतारहतार दौडिँदै आइरहेको देखेँ।

मेरो नजर उसको अनुहारमा पुग्यो।

एकछिन त म स्तब्ध भएँ। उस्तै रूप, उस्तै हाउभाउ, उस्तै चालढाल… तर मान्छे फरक थियो।

त्यो दृश्यले मेरो मनमा कतै पुरानो घाउ फेरि बल्झाइदियो। आँखाबाट आँसुका धारा बग्न थाले। भर्खरैसम्म खुसीले भरिएको मेरो मन एकाएक पीडाले छियाछिया भयो।

जुन प्रतीक्षामा म वर्षौँदेखि बाँचेको थिएँ, आज त्यही प्रतीक्षाको छायाले फेरि मलाई पछ्याउन थालेको थियो।

त्यो बस स्टेसनले झैँ आज उनी पनि मबाट टाढिँदै थिइन्। तर यसपटक दूरी केवल बाटोको थिएन, सायद मनको पनि थियो।फेरि पनि विगतका सम्झनाहरू मनभरि बोकेर म आफ्नै बाटोतिर लागेँ।

उनी राम्री थिइन्। तर उनको चाहना र इच्छा भने निकै साना थिए। उनी सधैँ एउटै कुरा भनिरहन्थिन्, “टाढा नजानू है मलाई छोडेर , मलाई डर लाग्छ।”
म मुस्कुराउँदै जवाफ दिन्थेँ, “म के पागल हुँ र? तिमीलाई छोडेर कतै जान्छु?”
तर समयसँगै ती वाचाहरू पनि सम्झनामा सीमित भए।

साँझ पर्‍यो। बिस्तारै रातले आफ्नो अधीनमा संसारलाई लिन थाल्यो। अब गर्नका लागि केही बाँकी थिएन। म ओछ्यानमा पल्टिएँ र फेरि आफ्नै विचारहरूसँग हराउन थालेँ।

कहिलेकाहीँ जिन्दगीमा यस्तो समय पनि आउँदो रहेछ, जहाँ न त विगततिर फर्केर हेर्न सकिन्छ, न त वर्तमानलाई खुलेर स्वीकार गर्न सकिन्छ। म पनि आजकल त्यही दोबाटोमा उभिएर अलमलिएको छु।

केही भन्न मन लाग्छ, तर शब्दहरू भेटिँदैनन्। कसैलाई सम्झन मन लाग्छ, तर सम्झनासँगै आउने पीडा सहने साहस हुँदैन।

अचम्म लाग्छ, कुनै समय जुन मान्छेसँग घण्टौँ कुरा गर्दा पनि समय अपुग भएको महसुस हुन्थ्यो, आज तिनै मान्छेका बारेमा सोच्नसमेत डर लाग्छ।

यस्तै विचारहरूमा हराइरहेको बेला अचानक रातको समयमा उनको फोन आयो।

म झस्किएँ।

मलाई कहिल्यै रातको समयमा फोन नगर्ने मान्छेले आज अचानक किन फोन गरिन्?

केही सोच्न नपाउँदै फोन आफैँ काटियो।

मैले तुरुन्तै फेरि फोन गर्ने प्रयास गरेँ। तर फोन लागेन। एकपटक, दुईपटक गर्दै हजारौँपटक प्रयास गरेँ, तर उता सम्पर्क हुन सकेन।

मनमा अनेकौँ आशङ्काहरू जन्मिन थाले। कतै केही नराम्रो त भएको छैन? आखिर यति राति किन फोन गरेकी होलिन्?

के गर्ने, कसो गर्ने भन्ने अन्योलमै रात बित्यो।

बिहान हुनेबित्तिकै फेरि उनलाई फोन गरेँ। यसपटक फोन उठ्यो।

उताबाट उनको आवाज सुनियो।

“किन यति बिहानै फोन गरेको? मान्छेलाई डिस्टर्ब हुन्छ भन्ने थाहा छैन?”

उनको त्यो जवाफ सुनेर म केही क्षण मौन भएँ।

जुन आवाज सुन्न रातभरि म व्याकुल भएको थिएँ, आज त्यही आवाजले मलाई अपरिचितझैँ व्यवहार गरिरहेको थियो।अब मेरो मनबाट डरको छायासमेत हराइसकेको थियो। मैले उनलाई फोन गरेर सोधेँ, “आखिर के भएको हो?”

तर उताबाट आएको जवाफले मलाई झन् स्तब्ध बनायो।

“अबदेखि मलाई फोन नगर्नू।”

यति भनेर उनले फोन काटिदिइन्।

म केही बेर फोन हातमै लिएर मौन बसिरहेँ। त्यसपछि सधैँझैँ त्यही बस स्टेसनतिर लागेँ।

तर आजको दृश्य सधैँको भन्दा फरक थियो।

आज उनी कलेजको पोसाकमा थिइनन्। ओठमा सधैँझैँ मुस्कान थिएन। अनुहारमा अँध्यारो छाएको थियो। हातमा एउटा ठूलो झोला थियो। उनको मुहार र हाउभाउमा यस्तो अपरिचित चिसोपन थियो, मानौँ उनी पहिलेकी उनी नै होइनन्।

मलाई देखेर पनि नदेखेझैँ गरिन्। कुनै प्रतिक्रिया नदिई सीधै बसमा चढिन्।

म पनि उनको पछिपछि बसमा चढेँ र छेउको सिटमा गएर बसेँ। तर उनी तुरुन्तै उठेर अर्को सिटमा गएर बसिन्।

म केही बोल्न सकिनँ।

आखिर के भएको थियो? कसले के भनेको थियो? किन उनी यसरी बदलिएकी थिइन्?

मैले केही सोध्ने प्रयास गरेँ, तर कुनै उत्तर पाइनँ।

आज उनको यात्रा मेरो यात्राभन्दा बिल्कुलै फरक दिशातर्फ थियो। उनी सहरभन्दा बाहिर जाने बस चढेकी थिइन्। म पनि उनीसँगै त्यही दिशातर्फ लागिरहेको थिएँ।

अन्ततः एउटा बस स्टेसनमा मैले उनको हात समातेर सोधेँ,

“के भएको छ तिमीलाई? किन नसुनेझैँ गरेर मबाट टाढिँदै छौ? आखिर मेरो गल्ती के हो?”

उनले एक झट्कामा मेरो हात छुटाउने प्रयास गरिन्। तर शरीरमा पहिलेको जस्तो बल थिएन।

मैले फेरि सोधेँ, “कहाँ जाँदै छौ? के भएको हो? केही त बोल!”

सायद उनीसँग बोल्ने शब्द थिएनन्, या बोल्ने इच्छा नै हराइसकेको थियो।

केही बेरको मौनतापछि उनले बिस्तारै भनिन्,

“मलाई छोडिदेऊ… अब मेरो पछि नलाग।”

यति भन्दै गर्दा उनका आँखाबाट आँसुका थोपा झर्न थाले। मेरो हातको पकड बिस्तारै खुकुलो हुँदै गयो। मानौँ, उनलाई मबाट टाढा जान कसैले अदृश्य आदेश दिएको होस्।

उनका आँखा रसाइरहेका थिए। म पनि केही बोल्न सकिरहेको थिइनँ। अन्ततः उनको हात बिस्तारै छोडिदिएँ।

अब उनी न त मसँग बोलिन्, न त एकपटक पछाडि फर्केर हेरिन्।

केवल एउटा अन्तिम वाक्य भनिन्—

“अब मलाई कहिल्यै खोज्ने प्रयास नगर्नू।”

यति भनेर उनी आफ्नो बाटोतिर लागिन्।

म त्यहीँ उभिएर उनलाई पछाडिबाट हेरिरहेँ। उनको हातमा भएको भारी झोला उनी राम्ररी सम्हाल्न पनि सकिरहेकी थिइनन्। तैपनि उनले एकपटक पनि पछाडि फर्केर हेरिनन्।

सायद उनी आफ्ना आँसु लुकाउँदै थिइन्, या मेरो नजरबाट आफूलाई टाढा राख्न खोज्दै थिइन्। मलाई थाहा थिएन।

अब उनलाई बोलाउने हिम्मत पनि मसँग बाँकी थिएन।

केही बेरमै बसले अन्तिम बिदाइको हर्न बजायो। बस बिस्तारै अगाडि बढ्यो। म भने त्यसको पछिपछि उठेको धुवाँ हराउन्जेलसम्म हेरिरहेँ।

त्यसपछि मात्र मन खुलेर रोयो। शरीरमा एकाएक थकान महसुस भयो।

कस्तो विडम्बना!

जुन बसले कुनै दिन हाम्रो पहिलो भेट गराएको थियो, आज त्यही बसले हामीबीचको अन्तिम बिछोड गरायो।

त्यो लामो बस आँखाबाट ओझेल भइसकेको थियो, तर त्यससँगै मेरा मनमा कति कुरा छुटेर गए, त्यसको हिसाब मसँग थिएन।

मलाई एकाएक सबै कुरा सपना हो कि विपना भन्ने छुट्याउनै गाह्रो भयो। मनमा हजारौँ प्रश्नहरू थिए, तर उत्तर दिने कोही थिएन।

कहिले हिँड्न थालेँ, कहिले सहरका गल्लीहरू पार गरेँ, केही पत्तो भएन। जब होसमा आएँ, म हिँडेरै आफ्नो डेरासम्म आइपुगेको रहेछु।

आँसु सुकिसकेको थियो। तर मनभित्रको पीडा अझै ओभाएको थिएन।

सायद जिन्दगी भनेकै यही हो।

केही मान्छेहरू हाम्रो जीवनमा आउँछन्, केही समय हामीसँगै हिँड्छन्, केही सुन्दर सम्झनाहरू छोड्छन् र अन्ततः एउटा अधुरो कथाको अन्तिम पानामा सीमित भएर जान्छन्।

तर एउटा प्रश्न सधैँ मनको कुनै कुनामा जीवित रहिरहन्छ—

के हामी साँच्चै मान्छेहरूलाई बीर्सींछम ? कि उनीहरू बिनाको जीवनसँग बाँच्न मात्र सिकिरहेका हुन्छौँ

१पटक शेयर
यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.