‘तपाईंले पढेको पहिलो उपन्यास कुन थियो? अझै सम्झनुहुन्छ?’ कसैले सोध्नुभयो।
प्रश्न सामान्य थियो, तर यसले मलाई बाल्यकालको एउटा असाध्यै प्रिय सम्झनातिर पुर्यायो।
हजुरबुबा रमेश विकल र बुबा विजय चालिसे दुवै अंग्रेजी, हिन्दी लगायत विभिन्न भाषाका पुस्तकहरू असाध्यै पढ्नुहुन्थ्यो। उहाँहरू आफैँ लेखक–साहित्यकार। भाषाको सीमामा नबाँधिई विभिन्न भाषाका साहित्य पढ्ने उहाँहरूको बानीले मलाई पनि अक्षर राम्ररी चिन्न थालेदेखि नै किताबभित्रको संसारप्रति उत्सुक बनाएको थियो। घरमा किताब पढ्ने वातावरण थियो।
हजुरबुबा र बुबाले मलाई पनि सधैँ ‘पढ, पढ’ भनेर हौस्याइरहनुहुन्थ्यो। तर उहाँहरूको ‘पढ’ त्यतिमै सीमित थिएन—‘पढेको कुरा टिपोट गरेर राख, डायरीमा लेख, कापीमा उतार’ पनि भन्नुहुन्थ्यो। कुनै राम्रो वाक्य भेटियो भने टिपेर राख्ने, मन परेको कुरा लेखेर सुरक्षित गर्ने त्यो बानी पनि सायद त्यही बेलादेखि बस्यो।
आज सम्झँदा लाग्छ, उहाँहरूले मलाई किताब पढ्न मात्र सिकाउनुभएको रहेनछ; पढेको कुरालाई मनमा राख्न, शब्दमा उतार्न र सम्झनालाई अक्षरमा सुरक्षित गर्न पनि सिकाउनुभएको रहेछ।
तर बाल्यकाल न हो—पाठ्यपुस्तक खोल्नासाथ मलाई असाध्यै निन्द्रा लाग्थ्यो। बुबा बेला–बेला कोठामा आएर, ‘पढिरहेको छ कि छैन?’ भनेर जाँच गर्नुहुन्थ्यो।
पढ्नैपर्ने बाध्यता थियो। तर त्यही बाध्यताभित्र मैले आफ्नो एउटा सानो उपाय निकालेकी थिएँ—पाठ्यपुस्तकमुनि अर्को किताब लुकाएर पढ्ने। सायद त्यसै कारण होला, पढाइमा खासै उन्नति गर्न सकिएन।
त्यही क्रममा वेद प्रकाश शर्माको ‘कैदी नं. १००’ हात परेको थियो।
पाठ्यपुस्तक माथि, उपन्यास तल।
बुबा आउनुभयो भने पाठ्यपुस्तक खोल्ने, बुबा जानुभयो भने फेरि ‘कैदी नं. १००’ मा डुब्ने। संगीता, प्रोफेसर दिवाकरजस्ता पात्रहरू मेरा लागि त्यतिबेला किताबका पात्र मात्र थिएनन्, छुट्टै संसारका मान्छेझैँ लाग्थे। उनीहरूका जीवनमा आइपर्ने रहस्य, उतारचढाव र घटनाले मलाई यति तान्थ्यो कि अब के होला भनेर अर्को पाना पल्टाउन मभित्र छुट्टै आतुरता जाग्थ्यो। कथा पढ्दै जाँदा पात्रहरूसँगै हाँस्ने, डराउने र कौतूहलमा डुब्ने त्यो उमेरको अनुभव आज पनि सम्झनामा ताजै छ। सायद जीवनमा पढेको पहिलो उपन्यास भएर होला, त्यसका पात्र र घटनाहरू आज पनि मनको कुनै कुनामा सुरक्षित छन्।
त्यतिबेला टेलिभिजनमा पनि हिन्दी भाषाका कार्यक्रमहरू खासै धेरै चल्दैनथे। अहिले जस्तो YouTube र इन्टरनेटको सुविधा पनि थिएन। हिन्दीका कार्यक्रम चले पनि हामी केटाकेटीलाई विशेष कार्यक्रमबाहेक टेलिभिजन हेरेर बस्ने अनुमति थिएन। हिन्दी बुझ्ने र पढ्ने अरू कुनै स्रोत पनि थिएन।
तर मैले त्यही किताब पढ्दै–पढ्दै हिन्दी बुझ्न थालेँ। कथा बुझ्नकै लागि भए पनि हिन्दीमै पढ्थेँ। पढ्दापढ्दै हिन्दी भाषा कहिले बुझ्न थालेँ, कहिले त्यसका शब्दहरू आफ्नै जस्ता लाग्न थाले—थाहै भएन। किताबले भाषा पनि सिकाउँदो रहेछ भन्ने कुरा त्यतिबेला कहाँ बुझेकी थिएँ र!
आज फर्केर हेर्दा लाग्छ—बाल्यकालमा पाठ्यपुस्तकमुनि लुकाएर पढेको त्यो किताबले मलाई एउटा कथा मात्र होइन, एउटा भाषा पनि सिकाएको रहेछ।
सायद त्यसैले आजकल एउटा कुराले भने मन खिन्न बनाउँछ।
हामी विदेशी भाषा सिकौँ, धेरै भाषा सिकौँ। हिन्दी, अंग्रेजी वा संसारका जुनसुकै भाषा जान्नु हाम्रो ज्ञानको विस्तार हो। तर आफ्नै मातृभाषा नेपाली बोल्दा ‘प्रकृति’ जस्तो सामान्य शब्दलाई पनि ‘परकीति’ भनेर उच्चारण गर्ने, ‘प्रमाण’लाई ‘परमान’, ‘प्रसारण’लाई ‘परसारन’ र ‘प्रमुख’लाई ‘परमुख’ भनेर बोल्ने, ‘प्र’, ‘त्र’, ‘ज्ञ’ जस्ता संयुक्त अक्षरहरू स्पष्टसँग उच्चारण गर्न नसक्ने, सामान्य वाक्य बनाउनसमेत अप्ठ्यारो मान्ने र नेपाली वाक्यमै अनावश्यक रूपमा विदेशी शब्द मिसाएर मात्र आफूलाई आधुनिक देखाउन खोज्ने प्रवृत्ति बढ्दै गएको देख्दा कताकता नरमाइलो लाग्छ।
शब्द केवल उच्चारण गरिने ध्वनि मात्र होइन, त्यसमा एउटा अर्थ, भाव र संस्कृतिसमेत जोडिएको हुन्छ। त्यसैले शब्दको उच्चारण बिग्रँदै जाँदा हामीले केवल बोलीको स्वर बिगारिरहेका हुँदैनौँ, त्यस शब्दको मौलिकता र त्यसमा लुकेको भावलाई पनि कमजोर बनाइरहेका हुन्छौँ।
अझ दुःख त त्यतिबेला लाग्छ, जब साहित्य क्षेत्रमै लाग्ने व्यक्तिहरूले समेत यस्ता शब्दहरूको वाचन गर्दा उच्चारणमा अक्मकिनुभएको सुनिन्छ। भाषा र साहित्यसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूबाटै शब्दको उच्चारणमा यस्तो असावधानी देखिँदा भाषाप्रति चिन्ता लाग्नु स्वाभाविक हो। मैले समाचार वाचन गर्नेहरूका मुखबाट पनि यस्ता शब्दहरू फरक ढङ्गले उच्चारण भएको धेरैपटक सुनेकी छु। जहाँबाट भाषा स्पष्ट, शुद्ध र सही रूपमा सुनिनुपर्ने हो, त्यहीँबाट शब्दको उच्चारण बिग्रँदा त्यसको प्रभाव झन् ठूलो हुन्छ। किनभने समाचारवाचकले केवल समाचार सुनाइरहेको हुँदैन, उसले अनजानमै भाषाको प्रयोग पनि सिकाइरहेको हुन्छ।
‘मुटु’ र ‘हृदय’, ‘नयन’ र ‘आँखा’ जस्ता पर्यायवाची शब्दका अर्थ मात्र होइन, तिनमा लुकेको भाव र स्वाद बुझ्न र बुझाउन सक्नु पनि नेपाली भाषाको समृद्धि हो। एउटै अर्थ बोकेजस्तो लाग्ने शब्दहरूबीचको भावात्मक अन्तर बुझ्न सक्नु, तिनलाई ठाउँ र प्रसङ्गअनुसार प्रयोग गर्न सक्नु र त्यसको मिठास नयाँ पुस्तासम्म पुर्याउन सक्नु हाम्रो जिम्मेवारी पनि हो।
सायद हामीले अहिले किताबभन्दा स्क्रिन धेरै पढ्न थालेका छौँ। पहिले–पहिले इन्टरनेट थिएन, सामाजिक सञ्जाल थिएनन्, हातहातमा मोबाइल थिएन। त्यसैले मानिसहरूको पुस्तक पढ्ने बानी थियो। किताबमा प्रेमकथा पढेझैँ प्रेमलाई जिउने रहर पनि थियो होला। प्रेम नपरे पनि प्रेमीको इज्जत र आबरू बजारमा लिलाम गर्ने चलन थिएन। सम्बन्ध टुट्दा पनि अर्को व्यक्तिको जीवनलाई तमासा बनाउने हतार थिएन।
सायद त्यसैले त्यो बेलाको प्रेममा एउटा गोपनीयता थियो, एउटा मर्यादा थियो, एउटा सम्मान थियो। सायद त्यो बेलामा प्रेम साँच्चै जिउँदो थियो।
कतै यस्तो हुँदै जाँदा हाम्रा नेपाली भाषाका केही सुन्दर शब्दहरू मात्र होइन, तिनले बोकेका भाव र संस्कारहरू पनि हाम्रो प्रयोगबाट हराउँदै जाने त होइनन् भन्ने चिन्ता लाग्छ।
अझ दुःख त त्यतिबेला लाग्छ, जब नेपालीमा राम्रोसँग पढ्न, लेख्न र बोल्न सक्नु सामान्य कुरा होइनजस्तो गरिन्छ।
भाषा केवल सञ्चारको माध्यम होइन। भाषाभित्र हाम्रो स्मृति हुन्छ, संस्कृति हुन्छ, इतिहास हुन्छ, भावना हुन्छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो पहिचान हुन्छ।
हामीले अरू भाषाबाट धेरै कुरा सिकौँ, तर त्यस क्रममा आफ्नै भाषालाई कमजोर नबनाऔँ।
मलाई त लाग्छ, बाल्यकालमा पाठ्यपुस्तकमुनि लुकाएर पढेको त्यो ‘कैदी नं. १००’ ले एउटा सानो पाठ सिकाएको थियो—किताब पढ्दा कथा मात्रै पढिँदैन रहेछ, भाषा पनि पढिँदो रहेछ।
त्यसैले आजका बालबालिकालाई पनि किताब पढ्न दिऔँ। नेपालीका किताब पढ्न दिऔँ, हिन्दी पढ्न दिऔँ, अंग्रेजी पढ्न दिऔँ, संसारका अरू भाषाका साहित्य पढ्न दिऔँ। तर अन्ततः उनीहरूले आफ्नै मातृभाषामा स्पष्ट सोच्न, सुन्दर बोल्न र आत्मविश्वासका साथ लेख्न सकून्।
यो काम सानैदेखि सुरु गर्नुपर्छ। किनभने बालबालिका हुर्किंदै जाँदा उनीहरूको संसार ठूलो हुँदै जान्छ—विद्यालय, साथीभाइ, प्रविधि, सामाजिक सञ्जाल र विभिन्न भाषासँगको सम्पर्क बढ्दै जान्छ। त्यसपछि उनीहरूलाई आफ्नो मातृभाषासँग जोड्न हामीले चाहेर मात्र पनि सजिलो हुँदैन।
सानैमा भाषासँग आत्मीयता बसाल्न सकिएन भने पछि आफ्नै सन्तानलाई मातृभाषाको मिठास, गहिराइ र महत्त्व सम्झाउन खोज्दा हामीले चाहेजति सजिलो नहुन सक्छ। अझ दुःखद कुरा त, उनीहरूले नै आफ्नो मातृभाषाको परिचय र त्यसमा लुकेको शक्ति बुझ्न नसक्ने अवस्था आउन सक्छ।
त्यसैले मातृभाषाप्रतिको प्रेम पनि बाल्यकालकै संस्कार बनोस्।
अरू भाषा सिकौँ, संसार फराकिलो बनाऔँ; तर आफ्नै भाषाको ढोका भने कहिल्यै बन्द नगरौँ।
किनकि अरू भाषा जान्नु हाम्रो क्षमता हो, तर आफ्नो भाषा जोगाउनु भनेको आफ्नै परिचय जोगाउनु हो।
—अन्जु चालिसे (रूपान्जली)
विजय-लक्ष्मी निवास
रमेश विकल प्रतिष्ठान मार्ग,
आरुबारी

Comments (4)
ईमानदार लेख ।
धन्यवाद मिठो कमेन्टको लागि 🙏
आहा दिदि
धन्यवाद भाइ।🙏