Catch feed

Catch → बाटुलो जून : प्रेमको उज्यालोभित्र लुकेको सामाजिक अँध्यारो

✓ Unlocked — enjoy the rest of the Catch
free writes

बाटुलो जून : प्रेमको उज्यालोभित्र लुकेको सामाजिक अँध्यारो

बाटुलो जून : प्रेमको उज्यालोभित्र लुकेको सामाजिक अँध्यारो

एउटा यस्तो कथा, जहाँ प्रेम केवल दुई मुटुको सम्बन्ध होइन, एउटा समय, समाज र चेतनासँगको संघर्ष पनि हो ।

केही चलचित्र मनोरञ्जन दिएर सकिन्छन्, केहीले मनोरञ्जनसँगै प्रश्न छोडेर जान्छन् । अनि केही चलचित्र यस्ता हुन्छन्, जसका दृश्य सकिए पनि तिनले उठाएका प्रश्नहरू दर्शकको मनमा लामो समयसम्म चलिरहन्छन् । भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जून’ त्यस्तै एउटा अनुभूति हो ।

अनमोल केसीलाई नेपाली चलचित्र क्षेत्रमा केवल स्टारडमको आँखाबाट हेर्नु उचित हुँदैन । उनको व्यक्तित्वमा देखिने शालीनता, संयम र आफ्नो कामप्रतिको निरन्तरता पनि युवा पुस्ताले नियाल्नुपर्ने पक्ष हुन् । ‘बाटुलो जून’मा उनको अभिनयले पनि एउटा फरक पात्र र फरक समयलाई आत्मसात् गर्ने प्रयास गरेको देखिन्छ ।

चलचित्रले दर्शकलाई करिब चार दशकअघिको नेपाली ग्रामीण समाजमा पुर्‍याउँछ । त्यो समय, जहाँ शिक्षामा सबैको समान पहुँच थिएन, सामाजिक चेतनाको दायरा साँघुरो थियो र सामन्ती सोचले समाजको ठूलो हिस्सामाथि आफ्नो प्रभाव जमाइरहेको थियो । अशिक्षा, अन्धविश्वास, बोक्सी प्रथा, ऋणको शोषण र सामाजिक विभेद केवल समाजका समस्या थिएनन्, ती सामान्य जीवनका बाध्यता बनिसकेका थिए ।

यही परिवेशमा उच्च शिक्षा हासिल गरेर गाउँ फर्किएको सानुकाजी (अनमोल केसी) एउटा फरक सोच बोकेको पात्रका रूपमा देखा पर्छ । ऊ गाउँमा केवल आफ्नो भविष्य बनाउन फर्किएको हुँदैन, बरु आफूले प्राप्त गरेको ज्ञानको उज्यालो अरूको जीवनसम्म पुर्‍याउने सपना बोकेर आएको हुन्छ ।

गाउँमा शिक्षाको अभावले जन्माएको अन्याय र शोषण देखेपछि उसले बेलुकी पढाइ हुने पाठशाला सञ्चालन गर्छ । तर समाजमा परिवर्तनको कुरा गर्नु र परिवर्तनलाई स्वीकार गराउनु एउटै कुरा होइन रहेछ । सानुकाजीको यो प्रयासलाई आफ्नै परिवारले समेत सहज रूपमा स्वीकार गर्दैन । गाउँका मुखिया, महाजन र पुरानो व्यवस्थाबाट लाभ लिइरहेका वर्गका लागि त्यो पाठशाला ज्ञान बाँड्ने थलो होइन, आफ्नो वर्चस्वमाथिको चुनौती बन्न पुग्छ ।

बुद्धि (रियर राई) लगायतका पात्रहरूको साथ र जून (प्रिन्सी खतिवडा) को अक्षरसँगको पहिलो परिचयले कथालाई अझ जीवन्त बनाउँछ ।

यहाँ एउटा गम्भीर प्रश्न उठ्छ— अशिक्षित मानिसलाई ठग्न सजिलो हुन्छ भने समाजमा शिक्षाको उज्यालो फैलिन नदिन चाहनेहरू को हुन् ?

हजारमा शून्य थपिँदा दस हजार भएको थाहा पाउने गाउँलेहरूका दृश्य केवल चलचित्रका घटनाक्रम होइनन् । ती त अशिक्षालाई आफ्नो स्वार्थको साधन बनाउने प्रवृत्तिमाथिका सशक्त व्यङ्ग्य हुन् ।

चलचित्रको सबैभन्दा सुन्दर पक्ष यही हो कि यसले परिवर्तनलाई केवल भाषणमा सीमित राखेको छैन । एउटा सानो पाठशालालाई सामाजिक क्रान्तिको प्रतीक बनाएको छ । एउटा अक्षर चिन्नु भनेको केवल पढ्न र लेख्न जान्नु होइन, आफ्नो अधिकार चिन्न सक्ने हुनु पनि हो भन्ने सन्देश यसले दिन्छ ।

तर परिवर्तनको बाटो सधैँ सहज कहाँ हुन्छ र !

पुरानो सोच र नयाँ चेतनाबीचको द्वन्द्वले कथालाई विस्तारै गम्भीर मोडमा पुर्‍याउँछ । यही सामाजिक संघर्षभित्र प्रेम, आत्मीयता, आशा र वियोगका भावहरू पनि मिसिएका छन् । जून र सानुकाजीको सम्बन्धले चलचित्रलाई भावनात्मक गहिराइ दिएको छ । शीर्षक ‘बाटुलो जून’ आफैँमा एउटा सुन्दर प्रतीक बनेर आउँछ— टाढाबाट पूर्ण र सुन्दर देखिने जूनजस्तै जीवन पनि बाहिरबाट जति सुन्दर देखिए पनि त्यसको आफ्नै अँध्यारो र अपूर्णता हुन्छ ।

प्रेमको सुन्दरता मिलनमा मात्र हुँदैन, कहिलेकाहीँ अपूर्णताले पनि प्रेमलाई अमर बनाइदिन्छ ।

प्राविधिक र कलात्मक पक्षबाट पनि चलचित्रले आफ्नो छुट्टै प्रभाव छोड्छ । दृश्य संरचना, रङ संयोजन, ध्वनि र छायाङ्कनले कथाको समय, परिवेश र पात्रहरूको मनोदशालाई जीवन्त बनाउन सहयोग गरेका छन् । दृश्यहरूमा देखिने ग्रामीण परिवेश र कलात्मक प्रस्तुतिले चलचित्रलाई केवल घटनाहरूको संग्रह बन्न दिएको छैन, बरु एउटा समयको दृश्यात्मक दस्तावेज बनाउने प्रयास गरेको छ ।

कलाकारहरूको अभिनय पनि स्वाभाविक र प्रशंसनीय छ । अनमोल केसीले सानुकाजीको चरित्रमार्फत आफ्नो अभिनयको अर्को पाटो प्रस्तुत गरेका छन् । रियर राई, प्रिन्सी खतिवडालगायतका कलाकारले पनि कथालाई अगाडि बढाउन राम्रो साथ दिएका छन् । भुवन केसीको निर्देशनसँगै उनको अभिनय पनि कथाको परिवेशअनुकूल देखिन्छ । पुराना पुस्ताका कलाकारदेखि गरिमा पन्तसम्मको उपस्थितिले चलचित्रलाई थप समृद्ध बनाएको छ ।

सामीप्यराज तिमल्सिनाको पटकथाले सामाजिक विषय, प्रेम र वियोगलाई एउटै कथासूत्रमा गाँस्ने प्रयास गरेको छ ।

एउटा कुरा भने मनमा रहिरहन्छ— यति सुन्दर प्रेमकथालाई वियोगान्त बनाउनु आवश्यक थियो कि थिएन ? सायद सुखान्त पनि एउटा विकल्प हुन सक्थ्यो । तर चलचित्रले बोकेको समय, सामाजिक यथार्थ र परिवर्तनका लागि चुकाउनुपर्ने मूल्यलाई हेर्दा वियोगान्त नै कथाको सबैभन्दा प्रभावकारी अभिव्यक्ति बनेको पनि हुन सक्छ ।

किनकि हरेक क्रान्तिको इतिहासमा जित्नेहरूको मात्र कथा हुँदैन, परिवर्तनका लागि आफ्नो खुसी गुमाउनेहरूको कथा पनि हुन्छ ।

‘बाटुलो जून’ हेर्दै गर्दा एउटा कुरा महसुस हुन्छ— समाज बदल्न सबैभन्दा पहिले सोच बदलिनुपर्छ। सोच बदल्न शिक्षा चाहिन्छ र शिक्षाको उज्यालो फैलाउन कहिलेकाहीँ एउटा सानुकाजी नै पर्याप्त सुरुवात बन्न सक्छ ।

आज हामी आधुनिकताको कुरा गर्छौँ, प्रविधिको कुरा गर्छौँ, विकासको कुरा गर्छौँ । तर के हामीले समाजबाट अशिक्षा, अन्धविश्वास, शोषण र विभेदका सबै अवशेष हटाइसकेका छौँ ? यदि छैनौँ भने ‘बाटुलो जून’ले देखाएको समय केवल इतिहास होइन, आज पनि कतै न कतै दोहोरिइरहेको वर्तमान हो ।

अन्ततः, ‘बाटुलो जून’ केवल प्रेम र वियोगको चलचित्र होइन; यो शिक्षाको महत्त्व, सामाजिक चेतना र परिवर्तनको मूल्य सम्झाउने एउटा कलात्मक प्रयास हो ।

केही चलचित्र हेरेर बिर्सिइन्छन्, केही चलचित्र सम्झनाका रूपमा रहन्छन्। तर केही चलचित्रले आफ्नै समाजलाई नयाँ आँखाले हेर्न बाध्य बनाउँछन् ।

‘बाटुलो जून’ त्यही कोटिमा राख्न सकिने एउटा मीठो र अर्थपूर्ण चलचित्र हो ।

समय निकालेर हेर्नुहोला। मनोरञ्जनसँगै एउटा सुन्दर कथा, केही गम्भीर प्रश्न र मनमा बसिरहने अनुभूति लिएर फर्किनुहुनेछ ।

सुरज गैह्रे “विवश”

Comments (0)

No comments yet — be the first to say something.