बौद्धिक क्रान्तिको सपना
त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै आउँदैन; रातसँगै निद्रा आउँछ, र निद्रासँगै एउटा यस्तो सपना, जसले हाम्रो वर्तमान यथार्थसँग गहिरो संवाद गर्छ। मानिस–मानिसका सपना फरक हुनुको कारण उनीहरूको यथार्थ फरक हुनु हो। यहाँ एउटा दार्शनिक शङ्का उठ्छ—यदि दुई जुम्ल्याहा मित्रहरूले समान ज्ञान, अनुभव र दृश्यहरू बाँडेका छन्, र उनीहरूको अवचेतन पनि उस्तै बनेको छ भने, के उनीहरूले एउटै सपना देख्छन्?
कमरेड, त्यो रात मैले जीवनकै सबैभन्दा प्रभावशाली भाषण दिएँ। विश्वव्यापी बौद्धिक क्रान्तिको नेतृत्व गरेपछि, मेरो चेतना र मेरा सहयात्री कमरेडहरूले पृथ्वीको शासन हातमा लिएका थिए। हरेक देशमा हाम्रा समर्थक थिए—धर्म र राष्ट्रियताको सीमाभन्दा माथि उठेर, केवल विचार र विवेकप्रतिको निष्ठामा उभिएका। त्यो सपनामा म अत्यन्त खुसी थिएँ। त्यो ‘जिज्ञासु मन’को विजय थियो।
म सधैं राजनीतिक दलहरूलाई भेडा र कुकुरसँग तुलना गर्छु। भेडा ती अनुयायी हुन्, जो आँखा चिम्लेर नेताको पछि लाग्छन्; कुकुर ती हुन्, जो सिंहासनप्रति मात्रै वफादार हुन्छन्। इतिहासमा एउटै पनि नेता छैन, जसले सबै नागरिकको हितमा निस्वार्थ काम गरेको होस्। उनीहरू आफ्ना नातेदार, धनाढ्य सहयोगी, पार्टीका वफादार कार्यकर्ता र केही देखावटी विकास योजनालाई प्राथमिकता दिन्छन्—मुख्यतः आफ्नो नाम र विरासत फैलाउन। आफ्नै मूर्ति बनाइन्छ, र जनतालाई विश्वास दिलाइन्छ कि यही व्यक्ति राष्ट्रको गौरव र मर्यादा माथि उठाउने देवदूत हो। यस्तो ढोंग!
राजनीतिक व्यक्ति र शासकहरू अत्यधिक महिमामण्डित छन्। जनता उनीहरूलाई देवताजस्तै पूज्छन्। मैले पढेको छु—प्राचीन पश्चिमी सभ्यतामा शासकहरूले आफूलाई नै देवता घोषणा गर्थे। सत्ता सधैं शोषणको औजार बनेको छ—जनताको, श्रमको, र यहाँसम्म कि शरीरको पनि। यो संसारकै सबैभन्दा फोहोर खेल हो। तर कमरेड, म यहाँ उनीहरूको पाखण्ड मात्र उदाङ्ग्याउन आएको होइन। यो क्रान्तिले त्यो काम पहिले नै गरिसकेको छ। अब म संसारलाई बौद्धिकहरूले भरिएको देख्छु।
बौद्धिक क्रान्ति सफल भइसकेको छ। यहाँ श्रमिकको मूल्यांकन उनीहरूको बौद्धिक योगदान, जोखिम, कार्यघण्टा र उनीहरूले त्याग्नुपरेका विलासिताका आधारमा हुन्छ। मेरो क्षेत्रमा स्याउ खेती गरिन्छ। मानौं, कुल १,००० श्रमिक छन्—५०० ढुवानीमा, बाँकी स्याउको हेरचाहमा। सबैले मासिक एक लाख बराबरको पारिश्रमिक पाउँछन्। चोटपटक लाग्ने, बढी जोखिम लिने, वा जसको श्रमले प्रत्यक्ष नाफा बढाउँछ, उनीहरूलाई अतिरिक्त बोनस दिइन्छ। वार्षिक नाफा ५ करोड हुन्छ। त्यसको ५० प्रतिशत बजार विस्तार, नयाँ परियोजना, पूर्वाधार र सामूहिक विकासमा लगानी गरिन्छ। बाँकी ५० प्रतिशत सबै श्रमिकबीच समान रूपमा बाँडिन्छ—अन्य सामाजिक सुविधासहित। यहाँसम्म कि उपभोक्तासमेत नाफाको हिस्सेदार हुन्छ। कमरेड, मेरो क्षेत्रमा असमानता समाप्त भएको छ।
म भीडको गर्जन सुन्छु। करिब एक अर्ब मानिस अनलाइन छन्, र दस लाख मानिस प्रत्यक्ष उपस्थित छन्। म एउटा नयाँ आशा देख्छु—पूर्ण बौद्धिक विकास भएको संसारको, जहाँ भोक, गरिबी र असमानता छैन। सबैलाई आधारभूत आवश्यकता निःशुल्क उपलब्ध छ—ज्ञान, स्वास्थ्य सेवा, भोजन, आवास र वैज्ञानिक फोहोर व्यवस्थापन। मानिसहरू कला, सिर्जनशीलता, विज्ञान, वातावरणीय सन्तुलन र विश्व–भाइचारा तर्फ बढी उन्मुख छन्। “म श्रेष्ठ” र “म तुच्छ” भन्ने अहंकार मरेको छ।
कुनै दिन म यो सबै व्यवहारिक रूपमा कसरी सम्भव हुन्छ भन्ने कुरा लेख्नेछु। तर अहिलेका लागि, मलाई फेरि सुत्न देऊ—ताकि म फेरि त्यो सुन्दर संसारको सपना देख्न सकूँ, जहाँ बौद्धिक क्रान्ति सम्पन्न भइसकेको छ, र जहाँ म इतिहासकै सबैभन्दा महान् नेता बनेको छु ।
Comments (2)
अन्त्यको पंक्ति — "फेरि सुत्न देऊ" — ले सुरुको "सपना" फ्रेमलाई सुन्दर ढंगले बन्द गर्छ, तर उही emoji (🙆) ले पूरै गम्भीर पाठलाई हल्का आत्म-व्यंग्यमा बदलिदिन्छ, जुन अन्त्यसम्म पाठकलाई अनुमान गर्न गाह्रो बनाउँछ — के लेखक साँच्चै यो भविष्यमा विश्वास गर्छन्, कि आफैंलाई पनि हाँसिरहेका छन्?
लेखक विश्वास गर्दछन् उनले देखेको बौद्धिक क्रान्तिको सपना आँखा खोलेर देखेको सपना हो अहिले उनले त्यति हासिल गरेको छैनन केहीनी यसै बारेमा चाँडै किताब नै लेख्ने छन त्यतिन्जेल लाई डेमो मात्र देको हुन् ।