Catch feed

Catch → मेरो सिरानीका तीन किताब

✓ Unlocked — enjoy the rest of the Catch
Editorial

मेरो सिरानीका तीन किताब

केही किताब पढेर सकिन्छन्, केही भने जीवनभर सँगै बस्छन्। तिन दशकदेखि मेरो सिरानीमा रहेका तीन नेपाली उपन्यासको कथा।

अघिल्लो सम्पादकीयमा मैले वाचा गरेको थिएँ, ती किताबका बारेमा लेख्ने, जसलाई मैले लगभग दुई दशकदेखि सम्झिरहेको छु। घर सरेँ, दराज फेरिए, धेरै किताब कसैलाई दिएँ, कति हराए । तर तीन वटा किताब कहिल्यै टाढा गएनन्: ‘पल्लो घरको झ्याल’, ‘चपाइएका अनुहारहरू’ र ‘अविरल बग्दछ इन्द्रावती’। यी तीन सधैँ मेरो सिरानीमै रहे । यदि पश्चिमा पुस्तकको कुरा गर्ने हो भने: दस स्पेक जराथुस्त्र, बिईन एन्ड नथिगंनेस र बियोण्ड गुड एन्ड ईभिल । यी पुस्तकको बारे पनि कुनै दिन चर्चा गरुँला । 

पहिले राईटिगं नेपालको केही कुरा गरूँ । यो सन् २०१० मा कल्पना गरियो केही वर्ष चलायौँ र पाठक अनि लेखकहरूको साथ नहुँदा केही समयको लागि बन्द पनि गरियो । अहिले फेरि उस्तै जोस र जाँगर सहित फर्किएको छौँ, हेरूँ यो पटक कत्तिको साथ पाइने हो । 

अब कुरा पुस्तकमा फर्काऊ । मेरो लागि पल्लो घरको झ्याल: मनभित्र चियाउने एक मानसिक झ्याल पनि हो । गोविन्दबहादुर मल्ल ‘गोठाले’ को यो उपन्यास वि.सं. २०१६ मा प्रकाशित भयो । आकारमा सानो, तर नेपाली उपन्यासमा यसको महत्त्व ठुलो छ । यसैबाट नेपाली उपन्यासमा मनोवैज्ञानिक लेखनले प्रवेश पायो भनेर समालोचकहरू मान्छन् पनि र मेरो व्यक्तिगत विचार पनि त्यही हो । मैले कयौँ पटक यो पुस्तक दोहोराएको छु । 

कथा मिसरीको हो: विवाहित नारी, अस्थिर दाम्पत्य, र पल्लो घरको झ्यालबाट उसलाई हेरिरहने आँखा । प्रेम पत्र आइपुग्दा मिसरीभित्र जुन द्वन्द्व चल्छ, त्यो त्यो युगको काठमाडौँको मध्यम वर्गीय घरमा बाँधिएका धेरै नारीको कथा हो । गोठालेले घटनाभन्दा बढी मनका तरङ्ग लेखेका छन् जसले मलाई छोएको हो । यदि घटना र प्रेमकै प्रसङ्ग बढी हुन्थ्यो भने यो सामान्य कथा बन्थ्यो । 

मैले यो किताब पहिलो पटक बाको दराजमा भेटेर पढे, मिसरीले मलाई त्यस बेलै देखि सम्झिरहन बाध्य बनाई; जब मिसरिले त्यो केटा को प्रेम पत्र पाई त्यसपछि उसको मन भित्र चल्ने द्वन्द्व म कहिले बिर्सन सक्दिन । ‘मेरो पोइ छ, पोइको घर छ’ सायद यो कथामा यति धेरै चोटि दोहरिन्छ कि कतिपय पाठकलाई झर्को लाग्न पनि सक्छ तर मनोविज्ञानको पाटो यहीँ बाट देखिन्छ ।

अर्को पुस्तक हो चपाइएका अनुहार, जुन हो एक थिचिएको मान्छेको अनुहार । दौलत बिक्रमबिष्टका सबै उपन्यासमध्ये समालोचकहरूले ‘चपाइएका अनुहारहरू’ लाई उनका महत्त्वपूर्ण कृतिमा गनेका छन्। पछि ‘ज्योति ज्योति महाज्योति’ का लागि मदन पुरस्कार पाएका विष्टका उपन्यासमा समाजको विसङ्गति, मान्छेमाथि हुने अमानवीयता र त्यसबिच पनि बाँच्न खोज्ने जिजीविषा बारम्बार आउँछ ।  मलाई यसले हरेक दिन जसो झकझकाउँछ । उपन्यासको काव्यात्मक शैली नै बलियो छ । एक फौजी सिपाहिंको को यथार्थवादी कथा नै चपाईको अनुहार हो उपन्यासको नाम आफैँमा एउटा बिम्ब हो: समय, समाज र परिस्थितिले चपाएर छोडेका अनुहार ।

अर्को पुस्तक हो अविरल बग्दछ इन्द्रावती: नदीसँगै बग्ने जीवन को उत्कृष्ट कथा । रमेश विकलको यो उपन्यास वि.सं. २०३९ मा प्रकाशित भयो र धेरैले यसलाई उनको उत्कृष्ट कृति मान्छन् । इन्द्रावती किनारका माझी र दनुवार समुदायको जीवन यसको केन्द्रमा छ: जाल हान्ने, दुवाली फर्काउने, माछा मारेर चुल्हो बाल्ने दैनिकी, र साहु–महाजनको थिचोमिचो । भूमा माझी र बेलौती सम्भबत मेरो दिमागमा आई रहने पात्र हुन् । नेपाली आञ्जलिक उपन्यासको परम्परामा यो किताबले एउटा ठाउँ, एउटा समुदाय र एउटा नदीलाई साहित्यमा अमर बनाइदियो । नदी रोकिँदैन, बगिरहन्छ । उपन्यासको नामले भनेजस्तै, निमुखा मान्छेको सङ्घर्ष पनि अविरल बगिरहन्छ । यो लेखिरहँदा पनि सम्पूर्ण कथा मेरो दिमागमा घुम्दै छ र रोमाञ्चले जिउ सिरिगं हुँदै छ ।

यी तिन कृति हुन् जसले मेरो सिरानीमा बस्ने अवसर पाए, किन यिनै तीन त?

एउटाले मान्छेको मनभित्र हेर्न सिकायो, अर्कोले समाजले थिचेका अनुहार देखायो, र तेस्रोले एउटा नदी किनारको जीवनसँग जोड्यो । मन, समाज र माटो: मेरो लागि नेपाली उपन्यासको पूरा संसार यिनै तीनभित्र छ ।

तपाईँको सिरानीमा कुन किताब छ? 

Comments (1)

अन्जु चालिसे रूपान्जली 1 week ago

यी तीनै कृतिसँग मेरो आफ्नै आत्मीय सम्बन्ध रहेछ। ‘पल्लो घरको झ्याल’ र ‘चपाइएका अनुहारहरू’ पहिल्यै पढिसकेका किताब हुन्; फेरि हात परे दोहोर्‍याएर पढ्ने इच्छा सधैँ रहन्छ। ‘अविरल बग्दछ इन्द्रावती’ त झन् मेरा हजुरबुबा रमेश विकलको कृति भएकाले मेरो लागि किताबभन्दा पनि पारिवारिक विरासतसँग जोडिएको प्रिय धरोहर हो, र यो मसँगै छ। अहिले आफू देशभन्दा टाढा भएकाले चाहेर पनि यी किताबहरू फेरि निकालेर पढ्ने अवसर मिलेको छैन। मन, समाज र माटोलाई यी तीन कृतिसँग जोडेर गरिएको यो आत्मीय चर्चा भने निकै मनपर्‍यो। 🙏

Reply